शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषि विश्वविद्यालयः ८० प्रतिशत फेल भएपछि विद्यार्थी आन्दोलित

परीक्षा छानबिन गर्न विद्यार्थी सङ्गठनको माग
आइतबार, १४ मङ्सिर २०७७, ११ : १३
आइतबार, १४ मङ्सिर २०७७


चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान पहिलो सेमेस्टरका अधिकांश विद्यार्थी फेल भएपछि आन्दोलित बनेका छन् ।

यही मङ्सिर ९ गते प्रकाशन भएको परीक्षाफलमा झन्डै ८० प्रतिशत हाराहारी विद्यार्थी फेल भएपछि उनीहरुले परीक्षाको छानबिन हुनुपर्ने र पुनः उत्तरपुस्तिका परीक्षणको माग गरेका छन् । उनीहरुले विश्वविद्यालयमा उत्तरपुस्तिका परीक्षण गर्न हालसम्म पनि मापदण्ड नबनाएको भन्दै अन्य विश्वविद्यालयको जस्तै कार्यविधि बनाउन माग गरेका छन् ।

परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले परीक्षा नियन्त्रक नारायण जोशीलाई भेटेर परीक्षामा पास हुनेगरी उत्तर लेखेका विद्यार्थी किन फेल भए भनेर प्रश्न गर्दा उत्तर पुस्तिका परीक्षण गर्ने कार्यविधि नभएको र शिक्षकहरुको लापरबाहीका कारण धेरै फेल भएको पीडित विद्यार्थीहरुले रातोपाटीलाई बताए । 

परीक्षा नियन्त्रक जोशीले विद्यार्थीहरुलाई भने, ‘तिमीहरुको रिजल्ट देखेर मलाई नै अचम्म लागेको छ, मैले गर्न सक्ने केही पनि हैन । विश्वविद्यालयमा उत्तर पुस्तिका कार्यविधि नै छैन । यो त शिक्षकहरुको नै गल्ती हो’ ।

निमित्त डीन कल्याणी मिश्रले शिक्षकहरु र परीक्षा नियन्त्रकको गल्तीका कारण धेरै विद्यार्थी फेल भएको बताएको विद्यार्थीहरुले बताए ।

विद्यार्थी भर्नाका बेला प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नै फेल हुने, प्रयोगात्मक परीक्षामा सहभागी विद्यार्थी नै नतिजामा एब्सेन्ट देखिने लापरबाही भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

परीक्षा छानबिन गर्न विद्यार्थी सङ्गठनको माग

एक वर्षभित्रमा परीक्षाफल प्रकाशन हुनुपर्नेमा कृषि सङ्कायअन्तर्गत पहिलो सेमेस्टरको परीक्षा डेढ वर्ष लगाएर प्रकाशन नभएको थियो । प्रकाशित नतिजालाई लिएर नेकपा निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको भन्दै परीक्षाको छानबिन गर्न माग गरेको छ ।

विश्वविद्यालयअन्तर्गत विभिन्न विषयको ५० पूर्णाङ्कको सैद्धान्तिक र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्कभार छ । ५० पूर्णाङ्कमध्ये १० नम्बरको आन्तरिक परीक्षा हुने गरेको छ । बाँकी ४० पूर्णाङ्कको वार्षिक परीक्षा लिने गरिएको छ  । १० नम्बरको आन्तरिक परीक्षा भने वार्षिक परीक्षाभन्दा अगाडि नै हुने गरेको छ । यो नम्बर पहिले नै परीक्षा नियन्त्रण कार्यालयमा पठाइन्छ । आन्तरिक परीक्षामा पास भएका विद्यार्थीलाई मात्र वार्षिक परीक्षा दिन पाउने व्यवस्था छ ।

आन्तरिक परीक्षामा १० पूर्णाङ्कमा शिक्षकले आफूखुसी ४, ५, नम्बर पठाएर वार्षिक परीक्षाको नतिजामा जोडिएर आएको अनेरास्ववियुका केन्द्रीय क्याम्पस कमिटीका कार्यबाहक अध्यक्ष कृतिम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनले क्षमतावान र प्रवेश परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पनि फेल भएको उनले बताए ।

श्रेष्ठले भने– ‘सबै मिलाएर आएका विद्यार्थीको पनि १० पूर्णाङ्कमा ४ नम्बर दिएर पठाएको छ । वार्षिक परीक्षामा पनि जसले लगभग सबै प्रश्नको उत्तर मिलाएर लेखेको छ । उसलाई पनि फेल गराइएको छ । हामी उदाहरणका रूपमा लिन सक्छौँ, प्रवेश परीक्षाको टपर कपिल सिम्खडाको २ वटा विषयमा ३ नम्बर मात्र आएको छ । विद्यार्थी के भन्छन् भने, मेरो कापी पुनः परीक्षण होस, फेरि त्यति नै नम्बर आउँछ भने विश्वविद्यालय नै छोडिदिन्छु भन्छन् । उता बर्दिवासमा रहेको आङ्गिक क्याम्पसमा ५० जनामा ४ जना मात्र पास भएका छन् । उता टीकापुरमा पनि २३ जना फेल निकालेको छ । विश्वविद्यालयका शिक्षकले बिना मापदण्ड आफूखसी उत्तरपुस्तिका जाँच गर्दा समस्या सिर्जना भएको छ ।’

परीक्षाको पुनरमूल्याङ्कन गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारेको उनले बताए ।

विद्यार्थी सङ्गठनले विश्वविद्यालयको स्थापनको दिनबाटै देखिँदै आएको शैक्षिक तथा प्रशासनिक बेथिति, ढिलासुस्ती, लापरबाही र गैरजिम्मेवारपनाको निरन्तरता स्वरूप पछिल्लो परीक्षाफल प्रकाशित भएको उल्लेख गरेको छ ।

विद्यार्थी सङ्गठनले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘विगतदेखि नै विश्वविद्यालयको शैक्षिक नतिजाको विश्वसनीयता, वैज्ञानिकता र निस्पक्षतामाथि प्रश्न उठ्ने गरेको कसैबाट लुकेको छैन । आन्तरिक र प्रयोगात्मक परीक्षामा अवैज्ञानिक र बिना मापदण्ड गरिने अङ्क वितरणबाट आजित भएका र ती परीक्षाहरुको कार्यविधि तोक्न विभिन्न ब्याचले पटक पटक ध्यानाकर्षण गराएको पनि घामजस्तै छर्लङ्ग छ । यति हुँदाहुँदै पनि विद्यार्थीका प्रश्नको कुनै उत्तर दिन नसक्नु र कार्यविधि आउन नसक्नुले विश्वविद्यालयको गैरजिम्मेवारीलाई थप प्रमाणित गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ– ‘प्रयोगात्मक परीक्षामा अङ्कको अनुपात हेर्ने हो भने विश्वविद्यालयको मूल्याङ्कन प्रणालीमा त्रुटि भएको प्रष्ट रूपमा देख्न सकिन्छ । आन्तरिक मूल्याङ्कनमा ८० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सैद्धान्तिक रूपमा कसरी अनुत्तीर्ण हुनसक्छन् ? कि त विश्वविद्यालयले सम्पूर्ण प्रयासले उच्च गुणस्तरीय शिक्षा र वैज्ञानिक मूल्याङ्कन प्रदान गर्दागर्दै स्वयं विद्यार्थीहरुको कमजोरीका कारण उनीहरु असफल भएका हुन भन्न सक्नुप¥यो कि त विद्यार्थीले उठाएका प्रश्नको नैतिक जिम्मेवारी लिँदै चित्तबुझ्दो वैज्ञानिक जबाफ दिन सक्नुप¥यो । यदि दुईवटै काम गर्न नसक्ने हो भने आउँदा दिनमा विश्वविद्यालयप्रतिको विश्वास झनै घट्दै जाने प्रष्ट देख्न सकिन्छ ।’

अनेरास्ववियुले कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति, परीक्षा नियन्त्रक र डीनको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै परीक्षाफलको छानबिन गरी आफ्नो धारणा सार्वजनिक गर्न, कोही दोषी पाइए दोषीउपर नियमबमोजिम कारबाही गर्न, पुनरमूल्याङ्कन गर्न र भविष्यमा यस्ता घटना नदोहो¥याउनका लागि परीक्षाको कार्यविधि यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

छानबिन समिति बनाउँदैछौँ : भीसी पुण्यप्रसाद रेग्मी

परीक्षामा धेरै विद्यार्थी फेल भएपछि विश्वविद्यालयले छानबिन समिति बनाउन लागेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका भीसी पुण्यप्रसाद रेग्मीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने– ‘यो पटक धेरै विद्यार्थी फेल भएछन्, छानबिन समिति बनाएर केही त्रुटि भएको छ भने त्यसलाई सच्याउने कुरा हुन्छ । आइतबार मैले एउटा छानबिन समिति बनाउँदैछु । यो गम्भीर विषय हो, विश्वविद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा  छन् । धेरै विद्यार्थी फेल भएका छन्, यसको छानबिन गर्छांै । समितिले सबैभन्दा पहिला कमिकमजोरी केके भएको छ, त्यो पत्ता लगाउँछ । त्यसलाई कसरी सुधार गर्ने त्यसको सुझाव दिन्छ । समितिले तयार पारेको रिपोर्टका अधारमा हामी अगाडि बढ्छौँ ।’

विश्वविद्यालय धेरै बिग्रिएको बताउँदै भीसी रेग्मीले धेरै कुरा सुधार गर्नुपर्ने बताए । आफूले जिम्मेवारी सम्हालेको २ महिना मात्र भएको र अब सुधार गर्न लागिपर्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप