शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण सामाग्रीमा चर्को मूल्य वृद्धि, महासंघले गुहार्‍यो सरकार

आइतबार, १४ मङ्सिर २०७७, १४ : ३४
आइतबार, १४ मङ्सिर २०७७


कोभिड १९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयान निर्माण सामाग्रीहरुमा एकतर्फी रुपमा कार्टेलिङ गरी अत्याधिक रुपले मूल्य वृद्धि गरिएको निर्माण व्यवसायी महासंघले आरोप लगाएको छ । फलामजन्य निर्माण सामाग्रीहरु विभिन्न साइजका डण्डी, पाता, पत्ति, जी.आई तार, ग्याविन तार उत्पादक कम्पनीहरुले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीहरुले अत्याधिक मूल्य वृद्धि गरेको महासंघले जनाएको छ ।
 “फलामजन्य निर्माण सामाग्री उत्पादक कम्पनीहरुले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मुल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्याधिक रुपले मूल्यबृिद्घ गरी मिलोमतो गरेको देखिएको छ ” महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

अहिलेको मुल्यवृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ । त्यसैगरी देशको कुनैपनि स्थानबाट नदीजन्य सामाग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । 

गृहको निर्णय बमोजिम निर्माणाधीन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भइ परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासंघले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको छ । 

नेपाल सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रुपले क्रसरहरु बन्द हुन गएको र यसबाट अभाव सिर्जना हुन गइ खानीजन्य निर्माण सामग्रीहरुमा सिमित व्यवसायीहरुको मिलोमतोमा अत्याधिक मूल्यवृिद्घ गराई कालोबजारी गरेको गुनासो महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । 

केही महिना अगाडिको मूल्य र हालको मूल्यमा डण्डी (प्रति केजी) मा रु. १५ देखि रु.२० सम्म मूल्य वृद्धि भएको र ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मूल्य वृद्धि भएको महासंघले जनाएको छ । 

परिस्थितिकाबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासंघले सरकारलाई आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप