शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामग्राम र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध

आइतबार, १४ मङ्सिर २०७७, १५ : २१
आइतबार, १४ मङ्सिर २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई नगरबीच असल अभ्यास तथा अनुभव आदानप्रदान, आपसी समन्वय, सहकार्य गर्ने र समृद्ध नगर निर्माणमा साझेदारी गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गरिएको हो । 

रामग्राम भगवान् गौतम बुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल प्राचीन रामग्राम स्तूप रहेको नगर हो भने काठमाडौँ महानगरपालिका सङ्घीय राजधानीका साथै ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा साँस्कृतिक शहरका रुपमा परिचित छ । 

शनिबार साँझ आयोजित विशेष समारोहमा दुई नगरबीच २१ बुँदे सहमति पत्रमा हस्ताक्षर भई भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरिएको हो । सहमति पत्रमा रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ता र  महानगरप्रमुख प्रमुख विद्यासुन्दर शाक्यले हस्ताक्षर गरे । रामग्रामसँग भगिनी सम्बन्ध स्थापना गर्न महानगर प्रमुख शाक्यसहितको टोली परासी आएको थियो । 

यसअघि विदेशी नगरसँग मात्र भगिनी सम्बन्ध र उपत्यकाका नगरबीच साझेदारी गर्दै आएको काठमाडौँ महानगरपालिकाले देशभित्रकै स्थानीय तहमध्ये पहिलोपटक रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरेको महानगर प्रमुख शाक्यले जानकारी दिए । 

“हामीले देशभित्रकै स्थानीय तहमध्ये पहिलोपटक प्राचीन रामग्रामसँग ऐतिहासिक भगिनी सम्बन्ध स्थापना गर्न पाउँदा ज्यादै नै खुशी लागेको छ, यसबाट हामीबीच थप प्रगाढ सम्बन्ध, आपसी सहकार्य तथा साझेदारी हुनेछ, एकअर्काका अनुभव,समस्या समाधान, असल अभ्यासको सीप आदानप्रदान गरी कार्यसम्पादनमा सहजता हुनेछ”, उनले भने । 

महानगरपालिकाले उपत्यकाका ११ नगरपालिकासँग नगर–नगर साझेदारी गर्दै आएकामा उपत्यका बाहिर रामग्राममा भगिनी सम्बन्ध नै कायम गरी पहिलो परियोजनाका रुपमा कोलिया शान्ति उद्यानमा साझेदारी गर्न लागेको र लुम्बिनीमा यसअघि नै बौद्ध विहार निर्माणका लागि साझेदारी गरिएको उनले उल्लेख गरे । 

दुई नगरबीचको भगिनी सम्बन्धले देशैभरिका स्थानीय तहमा नयाँ सन्देश प्रवाह भएको रामग्राम नगरपालिकाका प्रमुख गुप्ताले बताए । “सम्बन्ध गाँस्न ठूलो सानो भन्ने हुँदैन, मुख्य कुरा असल अभ्यासको आदानप्रदान हो”, उनले भने ।  स्थानीय सरकार सञ्चालन ऐनमा अन्तर स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रावधान रहेको छ ।

दुई नगरको बीचमा अनुभव आदानप्रदान गर्ने, साझा प्रयत्नबाट संस्थागत प्रणाली सृदृढीकरण तथा सबलीकरण गर्न काठमाडौँ महानगरपालिकाको गत कात्तिक ५ गते र रामग्राम नगरपालिकाको कात्तिक २५ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार भगिनी सम्बन्ध स्थापना गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिए । 

“यस सम्बन्धबाट दुवै नगरबीच मैत्रीपूर्ण तथा दीगो संस्थागत समन्वय स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसीहित र सहकार्यलाई बढवा दिने, असल अभ्यास र अनुभवको आदानप्रदान गरी समृद्ध नगर निर्माणमा समन्वय र सहकार्य गर्ने सहमति गरेका छौँ”, उनले भने ।

दुई नगरबीच समृद्ध नगर, दीगो शान्ति, सुशासन, संस्थागत सुदृढीकरण, गुणस्तरीय सेवा प्रवाह, दीगो स्थानीय स्वायत्त शासन तथा विकास आयोजनामा एकआपसमा सहकार्य र साझेदारी गर्ने समझदारी भएको छ । साथै शिक्षा, स्वास्थ्य र सरसफाइ, कृषि, पर्यटन, आर्थिक विकास, विपद् जोखिम न्यूनीकरण, भाषा,कला, संस्कृति संरक्षणलगायत विविध क्षेत्रमा आपसी सहकार्य, समन्वय र साझेदारी गरिने जनाइएको छ । 

“दुई नगरबीच आपसमा विचारविमर्श तथा अन्तक्र्रिया गर्ने, स्थानीय विकास र समृद्धिका लागि आपसी सहकार्य संस्थागत गर्ने, दुई नगरका साङ्गठनिकस्वरुप, संरचना, शासकीय प्रणालीलाई सबल, सुदृढ र प्रभावकारी बनाउन एकआपसमा अनुभव, कार्यशैली, असल अभ्यास र उपलब्धि आदानप्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ”, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले भने । दुवै नगरलाई मानवीयताको नगर बनाउन सडकमा रहेका अनाथ, असशक्त, असहाय नागरिकको व्यवस्थापन तथा सामाजिक सुरक्षा र गरिबी निवारणमा पनि सहकार्य गर्ने समझदारी भएको छ ।

स्थानीय न्यायिक समितिलाई सबल बनाउँदै मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने कार्यलाई संस्थागत गर्ने, कार्यपालिका, नगरसभा, वडा, समिति, उपसमितिलाई प्रभावकारी बनाउन क्षमता विकासका कार्य सञ्चालन गर्ने तथा अन्य विविध पक्षमा नतिजामुखी क्रियाकलाप सञ्चालन गर्ने समझदारी दुवै नगरबीच भएको छ । 

यसैबीच रामग्राम नगरपालिका–१८ पण्डितपुरमा निर्माण गर्न लागिएको कोलिया शान्ति उद्यानमा काठमाडौैँ महानगरपालिकाले पनि साझेदारी गर्ने भएको छ । कोलिय गणराज्यको राजधानी पण्डितपुरमा निर्माण हुने उद्यानका लागि महानगरपालिकाले रु एक करोड ५० लाख साझेदारी गर्ने गरी दुवै नगरका प्रमुखबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । 

रामग्राममा महानगरको चिनोका रुपमा चालु आवमै शुरु गरी आगामी आवमा निर्माण सम्पन्न गर्ने गरी उक्त परियोजनामा साझेदारी गर्ने सम्झौता गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप