शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतद्वारा पोखरी सौन्दर्यीकरणको शिलान्यास

आइतबार, १४ मङ्सिर २०७७, २० : २४
आइतबार, १४ मङ्सिर २०७७

जनकपुर । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।

आइतबार महोत्तरीको बनौली गाउमा मुख्यमन्त्री राउतले प्रदेश सरकार प्रदेश भित्रका धार्मिक साँस्कृतिक धरोहरहरुको संरक्षणमा सम्बर्द्धन प्रती प्रतिबद्ध रहेको बताए । अधिकार र पहिचानको आन्दोलनबाट स्थापित भएको प्रदेश सरकारले धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

जानकी मन्दिरको सौन्दर्यीकरणबाट आफ्नो अभियानको शुरुवात गरेको मुख्यमन्त्री राउतले बताउदै उनले प्रदेश सरकारले महोत्तरीको विद्यापति डिह, रौजा मजार, सप्तरीको छिन्नमस्ता भगवती लगायतका धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षणमा स्थापनाकाल देखि नै सरकारले कार्य गर्दै आएको स्पष्ट पारे ।

उनले केहि संघसंस्थाले धनुषामा मात्र विद्यापतीको स्मृति दिवस मनाउँदै आएकोमा आगामी वर्षदेखि प्रदेशको आठवटै जिल्लामा मनाउने घोषणा समेत गरे ।

कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको शिलान्यास कार्यक्रममा भर्चुअल माध्यमबाट शुभकामना दिएका छन् ।

महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको १२ करोड ७२ लाखको योजना रहेकोमा ८ करोडको टेन्डर मात्र यस वर्ष भएको र बाँकी आगामी वर्षको योजनामा काम गरिने जनाइएको छ । यस पोखरी सौन्दर्यीकरण ३ वर्ष भित्र सम्पन्न गरिने प्रदेश सरकारको लक्ष्य राहेको छ ।

यस कारण संरक्षण

तत्कालिन मिथिला अन्तर्गत गणराज्य मध्ये एक राज्यका राजा शिव सिंहले राज्य गरेका राज्यमा मुगल शासकले आक्रमण गरि राजा सिंहलाई नियन्त्रणमा लिई दिल्ली लगेका थिए । 

त्यतिबेला शिव सिंहका दरबारिया कवि विद्यापती थिए । कवि विद्यापतीले राजा सिंहका धर्मपत्नी रानी लखिमालाई राजा सिंहका मित्रराजा पुरादित्यको राज्यमा मुगल शासकबाट बचाएर संरक्षण गरि अहिलेको महोत्तरीको बनौलीमा १२ वर्षसम्म लुकाएर राखेका थिए । 

उनै रानिका लागि बनौलिमा लखमी पोखरी उत्खनन गरिएको थियो । जसलाई अहिले प्रदेश सरकारले संरक्षण गर्ने योजना अनुसार शिलान्यास गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप