शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल र खनालको योगदानलाई ओलीले बिर्सेकै हुन् ?

सोमबार, १५ मङ्सिर २०७७, १३ : १७
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको आफ्नो ५३ बुँदे प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डलाई जवाफ दिनुभन्दा धेरै प्रतिप्रश्न गरेका छन् । आफ्नो प्रतिवेदनमा पार्टीमा विवाद आउनुमा प्रचण्डको अस्थिरतालाई मुख्य कारण देखाएका ओलीले विगतमा आफूले गरेका घोषणा र प्रतिवद्धता कार्यान्वयन नभएकामा भने कहीँकतै खुलाउन चाहेका छैनन् । 
त्यसक्रमा ओलीले संविधान निर्माणदेखि वाम गठबन्धनको पनि चर्चा गरेका छन् । प्रतिवेदनमा उनले खर्चेका शब्दहरुमा आफूमा कुनै कमजोरी नै नभएको जस्तो गरेपनि समस्या ओलीबाटै सिर्जना भएको भन्नेमा नेकपाका बहुमत नेता कार्यकर्ताको बुझाइ छ ।

त्यतिमात्रै होइन ओलीले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम लिएर कम्युनिष्ट आन्दोलन राजनीतिक प्रणाली, अर्थतन्त्र र सामाजिक प्रबन्ध र सांस्कृतिकस्तरको तुलना गरेका छन् । ‘दुःखको कुरा, नेपाली कम्युनिष्ट आन्दोलनमा यस संस्कारको विकास हुन सकेको छैन । कुनै बेला कमरेड पुष्पलालले ‘गद्दार’ को आरोप बेहोर्नु प¥यो, मनमोहन अधिकारी अपमानित हुनु प¥यो, मदन भण्डारी झण्डै नेतृत्व अवसरबाट बञ्चित हुनु प¥यो’ओलीले आफ्नो प्रतिवेदनको दुइ नम्बर बुँदामा लेखेका छन् । 

त्यसैगरी ओलीले आफ्नो प्रतिवेदनको आठ नम्बर बुँदामा सहमतिका साथ अगाडि बढ्ने यावत् प्रयास र प्रस्तावलाई प्रचण्डले लत्याएको, आफ्नै पार्टी सम्मिलित सरकारका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न आफ्ना मन्त्री साथीहरुलाई झण्डा हल्लाउँदै जान निर्देशन दिएको आरोप पनि लगाएका छन् । 

उनले यसमा प्रचण्डलाई नैतिकताको प्रश्न गर्दै स्थानीय चुनावमा सारा घेराबन्दीलाई तोड्दै नेकपा (एमाले) पहिलो शक्तिका रुपमा उदाउनुमा आफ्नैमात्रै पहलले सम्भव भएको दावी गरेका छन् । त्यसक्रममा पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरुको योगदानलाई समेत ओलीले वेवास्ता गरेका छन् । 

‘स्थानीय चुनावमा एमाले पहिलो पार्टी बन्ने कुरा होस् या एमाले र माओवादी केन्द्र मिलेर नेकपा हुदै पछि सवैभन्दा ठुलो पार्टी बन्नुमा नेताहरु माधव नेपाल नेपाल र झलनाथ खनालको योगदान ओलीको भन्दा कम छैन । तर ओलीको प्रतिवेदनमा आफैले गर्दामात्रै भएको हो भन्ने भाव देखिन्छ त्यो विल्कुल गलत हो’, एक सचिवालय सदस्य भन्छन्, ‘इतिहास र योगदान सवैको छ । त्यो बिर्सन मिल्दैन । अहिले सवै मेरै कारणले यो सबै भएको भन्नु मुर्खताबाहेक अरु केही होइन ।’ 

ती सदस्यका अनुसार ओलीले तत्कालीन एमाले हुँदा नेता वामदेव गौतमलाई संसदीय दलको नेता बनाउने भनेर गरेको घोषणा र कार्यान्वयनमा नदेखाएको चासोका बारेमा प्रतिवेदनमा केही नखुलाएर आफ्नै घोषणाप्रति वेखबर बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप