बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको मिलोमतोमा करोडौंको काम पेटी ठेकेदारले गर्दै

गुणस्तरहीन काम र समयमा निर्माण पूरा नहुने गुनासो बढ्दै
सोमबार, १५ मङ्सिर २०७७, १४ : ५८
सोमबार, १५ मङ्सिर २०७७

रौतहट । सहरी विकास तथा भवन डिभिजन कार्यालय बीरगंजका कर्मचारीको मिलोमतोमा विकास निर्माणका करोडौंको काम नियमिविपरीत पेटी ठेकेदारले गरिरहेका छन् । मुल ठेकेदारले टेण्डर पारेबापत मोटो कमिसन लिएर सरकारको करोडौं लगानीमा निर्माण हुने संरचनाको जिम्मा स–साना पेटी ठेकेदारलाई दिइएका कारण रौतहट जिल्लामा बेथिति बढ्दै गएको छ ।

२०७४ फागुन महिनामा सहरी विकास तथा भवन डिभिजन कार्यालय बीरगंजबाट रौतहटको कटहरिया नगरपालिका अन्तर्गत नाला र बाटो निर्माणका लागि मूल ठेकदार नागेन्द्र साहले टेण्डर प्रक्रियापछि जिम्मेवारी पाएका थिए ।
जिम्मेवारी लिएको एक वर्षसम्म केही काम नगरी बसेका ठेकेदार साहले टेण्डर बापत कमिसन लिएर गत वर्ष पेटी ठेकेदार सुवोध यादवलाई सडक र नाला निर्माणको जिम्मा दिएका हुन् । तीन वर्षको अवधिमा समेत सडक र नाला निर्माण पूरा नहुँदा कटहरियावासीले भने सास्ती खेप्नु परेको छ ।

यस अतिरिक्त पेटी ठेकेदारले गरेका काम गुणस्तरहीन पाइएको गुनासो पनि बढ्न थालेको छ । रमन, आश्रय तथा साह निर्माण सेवाले कटहरिया,सहरी विकास तथा भवन डिभिजन बीरगंजबाट बिर्ती, हंथियाही हुँदै जमुनियासम्मको बाटो निर्माण तथा केही ठाउँमा नाला निर्माण गर्न २५ करोड रुपैयाँको टेण्डर घटाघटमा १९ करोड मा ठेक्का लिएका छन् ।

तीनवटै निर्माण सेवाले संयुक्त रूपमा लिएको उक्त ठेक्काको काम आफैले नगरेर पेटी ठेकेदारमार्फत गराउँदा हालसम्म २५ प्रतिशत काम पनि पूरा भएको छैन । कटहरिया–४ बहादुरपुरदेखि बजार हुँदै कटहरिया गाउँसम्म नाला निर्माण तथा बजारको मुख्य बाटो हुँदै जमुनिया गाउँसम्मको बाटोमा कालोपत्रे तथा केही स्थानमा ढलान गर्नुपर्ने योजना छ ।

पेटी ठेकेदार यादवले एक वर्षभन्दा बढी समयमा केही स्थानमा नाला र केही स्थानमा बाटो ढलान गरेको र महिनौँदेखि काम छोडेर बेपत्ता भएको कटहरियाका एकजना ब्यापारी जयमंगल साहले बताए ।
कटहरिया बजार क्षेत्रको मूलबाटोमा कालोपत्रे निर्माण गर्न ६ महिना अघि पेटी ठेकेदार यादवले पुरानो कालोपत्रे जोतेर मिक्स ग्रेभल राखेका थिए । तर ६ महिना बित्दा पनि बाटो कालोपत्रे हुन सकेको छैन । बजारको मुख्य बाटोमा मिक्स ग्रेभल राखेको कारण पानी पर्दा जताततै पानी र हिलो जम्ने, पानी नपर्दा बजारभरी धुलै धुलो हुने गरेको छ ।

समयमै बाटो निर्माण गर्न पटकपटक ठेकेदार नागेन्द्र साह र पेटी ठेकेदार सुवोध यादवलाई आग्रह गर्दा कुनै वास्ता नगरेको अर्का ब्यापारी नसरुद्दिन अन्सारीले गुनासो गरे । 
कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले ठेकेदारले नियतबस सडक र नाला निर्माणमा ढिलाइ गरेको आरोप लगाए । ठेकेदार साहले नियम बिपरित पेटी ठेकेदारलाई निर्माणको जिम्मा दिएकाले पनि निर्माणको काम समयमा पूरा नभएको र गुणस्तरहीन हुने गरेको उनको भनाइ छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय बीरगंजका साईट ईन्जिनियर कमलमणि खतिवडा र ठेकेदार नागेन्द्र साहको मिलोमतोकै कारण नियम बिपरित करोडौंको काम पेटी ठेकेदारमार्फत भइरहेको मेयर कुश्वाहाले बताए ।
यता, इन्जिनियर खतिवडाले लकडाउनका कारण कटहरियाको सडक र नाला निर्माणको काम पूरा गर्न नसके पनि फागुन मसान्तसम्म पूरा गर्ने बताए ।
करोडौंको ठेक्का पेटी ठेकदारलाई दिन नमिल्ने कानुनी ब्यवस्था रहेको स्वीकार्दै उनले कामको बारेमा आफूले पनि बुझ्ने प्रतिक्रिया  दिए । 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले कुनै पनि टेण्डर लिएर ठेकदारले लिखित सम्झौता गरी निर्माणको जिम्मा सहायक ठेकदारलाई दिन सक्ने बताए । तर सहायकले राम्रो–नराम्रो गरेको सबै कामको जिम्मा मूल ठेकेदारले लिनुपर्ने उनको भनाइ छ । तर मौखिक रुपले पेटी ठेकेदारलाई निर्माणको जिम्मा दिनु नियमसंगत नभएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप