शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा भेन्टिलेटर बैंक स्थापना अभियान सुरु

सोमबार, १५ मङ्सिर २०७७, १५ : १३
सोमबार, १५ मङ्सिर २०७७

कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ ।  हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए । पालिखेले गम्भीर प्रकृतिका कुनै पनि बिरामी मर्न नपरोस् भनेर आफुहरुले भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । “हामीले अहिले १० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउने लक्ष्य छ, हामीले २० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउन सक्ने छौ”, पालिखेले भने ।

उनका अनुसार पोखरामा ती साधन ‘स्टक’ राख्ने र जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराइनेछ । सोको लागि सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत एक हजार, सामुदायिकमा दुई हजार र निजी अस्पतालमा प्रयोग गरेवापत तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ  । त्यसैगरी सरकारी अस्पातालमा दैनिक क्यानुला प्रयोग गरेवापत तीन सय, सामुदायिकमा पाँच सय र निजीमा सात सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसका लागि तालीम प्राप्त स्वास्थ्यकर्मी आवश्यक हुनेभएकाले आगामी शनिबार पोखरामा तालीम गर्न लागिएको सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

संस्थाको उक्त अभियानको लागि पोखराका विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उक्त अभियानमा पोखराका युवा व्यवसायी सुिनल गोशलीले एक लाख, नेपाल युवा उद्यमी मञ्चले दुई लाख, संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले एक लाख, होटल बाराहीका सञ्चालक विप्लव पौडेलले एक लाख र रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबबाट एक लाख दिने घोषणा गरेका छन् ।

डा.सरोज पोख्रेलले हाईफ्लो नोजल क्यानुलाको प्रयोगले भेन्टिलेटरमा लैजान नपर्ने अवस्थामा यसको प्रयोग निकै प्रभावकारी हुने भएकोले भेन्टिलेटर भन्दा पहिला यसको प्रयोग गर्दा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई लाभ हुने बताए । रोटरीका गभर्नर किरणलाल श्रेष्ठले क्लबको पहलमा भेन्टिलेटरसहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुट गराउने प्रतिबद्धता व्यक्त गरे । ‘प्रोटेवल भेन्टिलेटर’ ६ लाखमा भित्र्याउन सकिने  र मा गरेको दुई महिनासम्ममा भेन्टिलेटर पोखरामा ल्याउन सकिने उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप