शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो लकडाउनमा बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या ३० प्रतिशतले कम भयो : अध्ययन

सोमबार, १५ मङ्सिर २०७७, २१ : ४६
सोमबार, १५ मङ्सिर २०७७

बेलायतमा दोस्रो लकडाउनमा कोरोनाभाइरस संक्रमितको संख्या ३० प्रतिशतले कम भएको अध्ययनकर्ताहरुले बताएका छन् । रियल टाइम एसेसमेन्ट अफ कम्युनिटी ट्रान्समिसन (रियाक्ट) का अनुसार १ लाख ५ हजारभन्दा बढी व्यक्तिहरुमा गरिएको स्वाब परीक्षणबाट कोभिड–१९ को संक्रमणमा कमी आएको पाइएको हो । 

गत नोभेम्बर १३ देखि २४ मा घरमा पुगेर गरिएको कोरोनाभाइरसको परीक्षणको नतिजा उक्त अध्ययनमा समावेश गरिएको छ । यसमा प्रत्येक १ सय जनामध्ये १ जनामा भाइरसको संक्रमण देखिएको पाइएको थियो ।
‘यसले यसअघि गरिएको अध्ययनभन्दा संक्रमण करिब ३० प्रतिशतले कम भएको पाइएको छ । नोभेम्बर २ मा प्रत्येक ८० जनामध्ये १ जनामा भाइरसको संक्रमण देखिएको थियो,’ इम्पेरियल कलेज लण्डन र इप्सोस मोरीका अध्ययनकर्ताहरु बताउँछन् ।  

नोभेम्बर ५ बाट लागू गरिएको चार हप्ता लामो लकडाउन यही बुधबार सकिँदैछ । बेलायतमा, विशेष गरेर उत्तरी भागमा, कोरोनाभाइरसको दोस्रो लहर देखिएपछि बेलायतमा लकडाउन लागू गरिएको थियो । 

त्यसमाथि स्थानीय तहमा यसलाई व्यवस्थापन गरिएको थियो र संक्रमित बढी भएका क्षेत्रमा कडा प्रतिबन्ध लगाइएको थियो । तह गतरुपमा प्रतिबन्धहरुलाई व्यवस्थापन गरिएको थियो । 

‘हामी राष्ट्रियस्तरमा कोरोनाभाइरसको संक्रमणमा कमी देखिरहेका छौँ । विशेष गरेर सबैभन्दा प्रभावित क्षेत्रमा पनि संक्रमणमा कमी देखिएको छ । तहगत रुपमा लागू गरिएको प्रतिबन्धले संक्रमणलाई नियन्त्रण गरेको र लकडाउनले थप त्यसमा मद्दत गरेको देखियो,’ इम्पेरियलमा कार्यक्रमा निर्देशक पाउल एलियटले भने ।

हटस्पट बनेका उत्तरी भागमा नाटकीयरुपमा संक्रमण कम भएको जहाँ ५० प्रतिशतले संक्रमण कम भएको अध्ययनकर्ताको भनाइ छ ।

 लण्डन र इस्ट मिडल्याण्डमा खासै फरक नदेखिएपनि राजधानी र दक्षिणमा अक्टोबरको अन्त्यतिर देखिएको संक्रमण दरमा व्यापक बृद्धि कम भएको छ । अहिले वेस्ट मिडल्याण्डमा सबैभन्दा बढी संक्रमण देखिएको छ । त्यहाँ जनसंख्याको १.५५ प्रतिशतमा संक्रमण भेटिएको छ । 

अध्ययनका अनुसार आर–नम्बर (रिप्रोडक्सन नम्बर, जसले हरेक संक्रमितले कतिजनालाई भाइरस पास गर्छ भन्ने देखाउँछ) १ भन्दा कम ०.८८ को आसपासमा पुगेको देखाउँछ यसले महामारी फैलिनेभन्दा कम हुँदै गएको संकेत गर्ने अध्ययनकर्ताहरु बताउँछन् ।

 हाल लण्डनमा सबैभन्दा बढी आर–नम्बर ०.९५ रहेको भने उत्तरपश्चिम र उत्तरपूर्वमा सबैभन्दा कम ०.७६ र ०.७८ रहेको छ ।
स्कूल जाने उमेरबाहेक सबै उमेरसमूहमा संक्रमण कम देखिएको अध्ययनकर्ताहरुले बताएका छन् । दोस्रो लकडाउनमा विद्यालयहरु भने खुला रहेका थिए । तर, भाइरसबाट बालबालिकाहरु कम मात्र सिकिस्त हुने गरेको पाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप