शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लयमा फर्कंदै ठमेल र दरबार मार्ग

मङ्गलबार, १६ मङ्सिर २०७७, ०७ : ३०
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौँ । कोरोना सङ्क्रमण (कोभिड–१९) महामारीका कारण विगत आठ महिनादेखि बन्द राजधानीको ठमेल र दरबार मार्ग क्षेत्रका होटल, रेस्टुराँ, पप तथा लाइभ म्युजिक बार र डिस्को खुल्न थालेका छन् ।

रात्रिकालीन मनोरञ्जन डान्स र दोहोरी बाहेक अन्य मनोरञ्जन क्षेत्र खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । खुला भएका व्यवसायका लागि पनि राति ९ः३० बजेसम्मको समयावधि तोकिएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला जीवनप्रसाद दुलालले रात्रिकालीन मनोरञ्जन दोहोरी, डिस्को, व्यायामशालाबाहेक अन्य व्यवसाय खुला गरिएको जानकारी दिए । यस क्षेत्रका पसल तथा सुपरमार्केट पूर्ण रूपमा खुलेका छन् ।

रात्रिकालीन मनोरञ्जनलगायत बाक्लो भीड लाग्ने अन्य व्यवसाय खोल्नका लागि मन्त्रिपरिषद्को निर्णय आउनुपर्छ, उनले थपे, “अन्य व्यवसाय स्वास्थ्य सुरक्षा सतर्कता अपनाई खोल्न कुनै समस्या छैन । ” विशेष गरी युवालाई लक्षित मनोरञ्जन व्यवसायहरू डिस्को, पपबार, क्लब, लाइभ म्युजिक रेस्टुराँ समूहगत डान्स तथा भीडभाड नहुने गरी आवश्यक दूरी कायम राखी सञ्चालनमा कुनै बाधा नपुग्ने भनाइ स्थानीय प्रशासनको छ ।

कोरोना महामारी सङ्क्रमण नियन्त्रणका लागि व्यवसायीले स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले मापदण्ड बनाएर नै व्यवसाय सञ्चालन गरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप