बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘फुटको दस्तावेज बन्न सक्छन् ओली–प्रचण्डका दस्तावेज’

वरिष्ठ नेता खनाल भन्छन्, कुनै हालतमा पार्टी फुट्दैन
मङ्गलबार, १६ मङ्सिर २०७७, ०८ : ०६
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को आज मङ्गलबार बस्ने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदनमाथि निणार्यक छलफल हुँदैछ ।

दुवै प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि नेकपाभित्रको विवाद कसरी अघि बढ्छ भन्ने दिशा तय हुने नेताहरुको भनाइ छ ।

कात्तिक २८ गते अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले मङ्सिर १३ को बैठकमा जबाफी प्रतिवेदन पेश गरेका थिए । ओलीले आफ्नो जबाफी प्रतिवेदनमा प्रचण्डको प्रतिवेदन अस्वीकार मात्रै होइन खारेज नै गर्नुपर्ने बताइसकेका छन् । उनले उक्त प्रतिवेदन खारेज नगेर पार्टी एकता टुट्ने सङ्केत गरेको र प्रस्ताव फिर्ता गर्न प्रचण्ड सहमत नभएको अवस्थामा नेकपाको आगामी यात्रा कसरी अघि बढ्छ भन्ने चासो नेता कार्यकर्ता पङ्क्तिमा बढ्दै गएको छ ।

यद्यपि कतिपय नेताहरुले दुई अध्यक्षका फरक फरक प्रतिवेदनले पार्टी थप बलियो बन्ने दाबी गरेका छन् ।

पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका ओली र प्रचण्ड मङ्सिर १६ को सचिवालय बैठकपछि कसरी अघि बढ्ने भन्ने भित्री रणनीति बनाउन व्यस्त छन् । यदि ओली सहमतिमा नआए प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै डकुमेन्टहरु स्थायी कमिटीमा लैजाने मनस्थितिमा पुगेको छ । ओली पक्ष भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउदै अघि बढ्नुपर्ने छ ।

‘यदि सहमतिमा नआउने हो भने डकुमेन्टहरु स्थायी कमिटी र केन्द्रीय कमिटीमा अवस्य जान्छन्,’ स्थायी समिति सदस्य मात्रिका यादवको भनाइ छ ।

सचिवालय बैठकको माग गर्दै पाँच नेताले लेखेको पत्रको जबाफमा कात्तिक २५ गते प्रधानमन्त्री ओलीले प्रचण्डलाई जबाफी पत्र लेखेपछि नेकपामा पत्रयुद्ध सुरु भएको थियो ।

कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जबाफसहित १९ पेजको प्रस्ताव पेस गरे । प्रचण्डको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका ओलीले त्यसको जबाफमा मङ्सिर १३ गते बसेको सचिवालयमा ५३ बुँदे काउन्टर जबाफी प्रस्ताव पेस गर्दै प्रचण्डलाई प्रतिप्रश्न समेत गरेका थिए । नेताहरुबीचको अन्तरद्वन्द्वले पार्टी फुटमा जाने हो कि भन्ने नेता कार्यकर्ताको बुझाइ बढ्दै गएका बेला दुवै प्रस्तावमाथि आजको बैठकमा छलफल हुँदैछ । वरिष्ठ नेता झलनाथ खनाल भने यो अन्तरद्वन्द्वले पार्टी नफुट्ने दाबी गर्छन् । अन्तरसङ्घर्षले पार्टी थप एकताबद्ध बनाउन सहयोग पुग्ने खनालको विश्वास छ ।

‘अन्तरसङ्घर्ष बढेको छ, त्यो सत्य हो । तर यसकै कारण पार्टी नै फुट्छ भन्ने हल्ला चलिरहेका छन्, त्यो सत्य होइन’, वरिष्ठ नेता खनाल भन्छन्, ‘यो त आन्तरिक समस्या हल गर्नका लागि छलफल भएको मात्र हो । अन्तरसङ्घर्षले पार्टीलाई अझ मजबुत बनाउँछ ।’ दुई अध्यक्षका प्रतिवेदनको छिनोफानो सचिवालयले गर्छ कि तल्ला कमिटीमा पुग्छ त ? भन्ने प्रश्नमा खनाल मङ्गलबारको बैठक कुर्न सुझाव दिन्छन् । ‘मङ्गलबार बैठक बस्दैछ त्यसपछि के हुन्छ भन्ने टुङ्गो लाग्छ’, प्रचण्ड पक्षमा उभिएका खनालको भनाइ छ ।

नेकपा स्थायी समिति सदस्य सत्यनारायण मण्डल पार्टीभित्र  विवाद नरहेको तर सचिवालयका नेतामा मात्रै विवाद रहेको बताउँछन् । ‘यी नेताहरुले देश र जनताका लागि राजनीति गरेको हो भने आत्मालोचनाका अघि बढ्नुपर्छ । पद्धतिको कुरा गर्ने होे भने ५ जना नेताको स्वीकृतिमा पेश गरेको प्रस्ताव कुन सिद्धान्तका आधारमा गरेको हो ? त्यसको जबाफ दिनुपर्छ’, मण्डलको भनाइ छ । उनले केपी ओलीलाई प्रचण्डले भ्रष्टाचारीको नाइके भनेर आरोप लगाएपछि कि त्यसको पुष्टि गर्नुपर्ने कि माफी मागेर अध्यक्ष पदबाट राजीनामा गर्न चुनौती दिए ।

अर्का स्थायी समिति सदस्य हरिबोल गजुरेल सचिवालयबाट निकास आउने सम्भावना कम रहेको देख्छन् । ‘मुख्य कुरा जनस्तरमा भएका आलोचनालाई नेताहरुले रियलाइज गर्नुपर्छ । त्यसो गरेमा समस्या समाधानतर्फ जान्छ । तर मेरो गोरुको बाह्रै टक्का भन्ने हो भने केही हुँदैन र सचिवालयले हल गर्ला भन्ने मलाई लाग्दैन’, गजुरेलको भनाइ छ । ‘नेताहरुले व्यवहारबाट देखाउने हो अनि मात्रै उनीहरुले लेखेको र बोलेको कुरा जनताले पत्याउँछन् । त्यसका लागि उहाँहरुले व्यवहार पनि त्यही किसिमले देखाउनसक्नुपर्छ’, पूर्व मन्त्रीसमेत रहेका गजुरेलको निष्कर्ष छ । 

तर केन्द्रीय सदस्य विष्णु रिजाल दुवै अध्यक्षका प्रतिवेदनमा कमीकमजोरी समेत केलाएकाले समस्या समाधान हुन सक्ने अवस्था अझै पनि रहेको बताउँछन् ।

‘कमीकमजोरीलाई सहज ढङ्गले आलोेचना आत्मालोचनाको पद्धतिबाट जान सक्ने ठाउँ अझै छ । शतप्रतिशत आफूले भनेजस्तो नभए पनि यो यो कमजोरी छ र सँच्च्याऊ भन्दा दुवै पक्षका समस्या देखाइएका पनि छन्’, रिजालको भनाइ छ ।

यद्यपि नेता रिजाल दुवै प्रतिवेदन एकताको आधार पनि बन्नसक्ने अवस्था कायमै रहेको बताउँछन् । ‘त्यसैले उठेका प्रवृत्तिहरुको समाधान गरौँ र एउटै दस्तावेज बनाएर नयाँ एकताका साथ जाऊँ भन्दा एकताको आधार पनि बन्न सक्छ’, उनको भनाइ छ ।

रिजालले त्यो बाटो नहिँडेर नेताहरु नमिल्ने र विभाजनतिरै जाने मनस्थितिमा भए दुवै दस्तावेजहरु फुटका दस्तावजका रूपमा पनि प्रमाणित हुनसक्ने सम्भावना पनि रहेके बताउँछन् । ‘चाहँदा एकताको दस्तावेज बन्ने आधार पनि छन्, नभए फुटका दस्तावेज बन्ने आधार पनि छन् । त्यसैले मूल रूपमा नेतृत्वले निर्णय गर्नुपर्छ कि हामी कता जाने भनेर ।’ रिजालको बुझाइ छ ।

नेता रिजाल नेकपामा दस्तावेज आएर समस्या आएको नभई समस्या आएर दस्तावेज आएको दाबी पनि गर्छन् । समस्या छ भन्ने कुरा पहिले नै थाहा भएको भन्दै उनले दस्तावेजले समस्या नल्याएको दाबी गरे । ‘दस्तावेज समस्या नै होइन, समस्या आएपछि दस्तावेज आएका हुन्’, रिजालको ठोकुवा छ ।

नेताहरुबीच सहमति नभए दुवै दस्तावेज सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा लैजाने केही नेताहरुको भनाइ छ । यसरी फरक दस्तावेज तल्ला कमिटीमा पुग्दा थप समस्या आउने हो कि भन्ने प्रश्नमा रिजालको बुझाइ फरक छ । ‘तल पुग्दैन । माथि नै यसको टुङ्गो लाग्छ । अलगअलग जाने हुनुभयो भने पनि तल पुगुन्जेल कुर्ने नेताहरुको धैर्य छैन । एकता हुने भयो भने पनि तलको सुझावका आधारमा हुँदैन । किनभने तलका नेता कार्यकर्ताले कसैले पनि फुट्नुपर्छ भनेका छैनन्’, रिजालको विश्लेषण छ ।

 रिजालले विवादमा ओली र प्रचण्ड मात्रै मिलेर पनि समस्या समाधान नहुने बताए । भदौ २६ लाई ‘कट अफ डेट’ बनाए पनि समस्या बल्झिएको उदाहरण दिँदै उनले त्यो टिक्न नसक्नु सिद्धान्त र पद्धतिमा आधारित नभएर भएको बताए । ‘दुई जनाको लेनदेनजस्तो मात्रै भएकाले समस्या पुनः बल्झिएको हो । त्यसैले फेरि लेनदेनको विषय बनाइयो भने एक दुई महिना टरे पनि बल्झिने भएकाले कमिटीबाटै निकास खोज्नुपर्ने हुन्छ’, उनको जोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप