केन्द्रीय संस्करण

भानुका जङ्गलका २५ चितुवा भेटिए

person explore access_timeमंसिर १६, २०७७ chat_bubble_outline0
file photo

तनहुँ । तनहुँको भानु नगरपालिकाका जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् ।  डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जङ्गलमा राखिएका क्यामरामा ती सङ्ख्यामा चितुवाका तस्वीर कैद भएका हुन् ।

वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानु नगरपालिका–२, ३, ४, ५ र ६ का सामुदायिक वनमा ६५ वटा क्यामरा जडान गरिएको छ । गत कात्तिक २२ गतेदेखि १५ दिनसम्म जङ्गलमा क्यामरा जडान गरिएकामा चितुवाका तस्वीर कैद भएको र उक्त तस्वीरको अध्ययन भइरहेको उनले जानकारी दिए ।

“कतिपय चितुवा दोहोरिएका छन्, चितुवाको तस्वीर हेरेर छुट्याउने काम भइरहेको छ,” उनले भने, “केही दिनभित्रै अध्ययनको प्रतिवेदन सार्वजनिक गर्छौ ।”  बाइस सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिएको थियो । यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको थियो । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा चितुवा गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने जनाइएको छ । 

कार्यालय प्रमुख बरालका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने  र आगामी दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ ।  वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको बताए । 

जिल्लामा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समयलगायतका विषयमा उपभोक्तालाई सचेतनामूलक कार्यक्रम अगाडि बढाइएको छ । “चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै हो, तर जीवजन्तु मानिसले खाइदिन थाले, चितुवाले जङ्गलमा खाना पाउँदैन अनि बस्ती छेउ आएर गाईभैंसी, बाख्रा हुँदै मानिसलाई पनि आक्रमण गर्न थालेको छ,” उनले भने, “चितुवालाई बाँच्ने अवस्था सिर्जना मानिसले गरिदिनुपर्छ ।”

 ३३४ एचआइभी सङ्क्रमित

जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ । 

शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिए ।  गत आर्थिक वर्षमा जिल्लामा ३२८ सङ्क्रमित रहेकामा १६१ पुरुष, १३९ महिला, २७ बालबालिका र एक जना तेस्रो लिङ्गी थिए । 

एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका अध्यक्ष श्रीराम कँडेलले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिए । “समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,” उनले भने, “संस्थाले उनीहरुलाई सहजीकरणको काम गरिरहेको छ ।” कोभिडका कारण भएको बन्दाबन्दीका समयमा संस्थाले एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि पुर्याउने व्यवस्था मिलाएको थियो । 

जिल्लाका केही एचआइभी सङ्क्रमित छिमेकी जिल्लामा गएर उपचार गर्ने गरेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए ।“नजिकैको अस्पतालमा उपचारका लागि गएका बेला अरुले देखेर चिन्ने त्रासमा एचआइभी सङ्क्रमित उपचार गर्न आउन डराउछन्,” उनले भने, “अहिले पनि सङ्क्रमित रोग लुकाएर बस्न बाध्य छन् ।” अस्पतालबाट एचआइभी सङ्क्रमितलाई निःशुल्क औषधि वितरण भइरहेको छ । 

अस्पतालको सेवा बन्द

शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोर फूलबारी शहीद अस्पतालको सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि सेवा स्थगित गरिएको हो ।

अस्पतालमा कार्यरत कर्मचारी सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाले कोरोना परीक्षणका लागि अस्पतालको सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा.प्रतिक्षा आलेले जानकारी दिए । उनका अनुसार ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राखी स्वाब परीक्षण गरिनेछ । 

समुदायबाट सञ्चालित उक्त अस्पताल गत वर्षको वैशाख १ गतेदेखि शुक्लागण्डकी नगरपालिका मातहत सञ्चालनमा आएको थियो । अस्पतालमा शुक्लागण्डकी नगरपालिकाले मेडिकल अधिकृतसहित कर्मचारी नियुक्त गरेको थियो ।  जर्मनी स्वंयमसेवीहरुको संस्था इभी कास्यलको सहयोगमा सञ्चालित सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

विसं २०५५ फागुनमा सो सस्थाको सहयोगमा छब्दी र भक्कलमा फूलबारी सेवा केन्द्रका रुपमा सञ्चालित अस्पताल एक दशकयता साँखेबाट सञ्चालित थियो । अस्पतालबाट शुक्लागण्डकी नगरपालिका र स्याङ्जाको बिरुवा, हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकावासीले सेवा लिँदै आएका छन् । 

योजनाको टुङ्गो 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि क्षेत्र नं २ मा मोटरमार्ग, खानेपानी र भवनलाई प्राथमिकता दिएर योजना छनोट गरिएको छ । प्रत्यक्ष निर्वाचित सांसद सदस्य रहेको समितिले तनहुँ क्षेत्र नं २ का लागि मोटरमार्ग कालोपत्र, स्तरोन्नति, खानेपानी विस्तार र सामुदायिक तथा विद्यालय भवन निर्माणका लागि प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो ।

सांसद केदार सिग्देलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका अन्तर्गत रु चार करोडका लागि ३० योजना छनोट गरेका हुन् । ब्यास नगरपालिकाका दुई वडा, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिकामा विभिन्न योजना छनोट भएका छन् ।


गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं १ प्रदेश (क) मा सडक र भवन निर्माणलाई प्राथमिकता दिँदै विकास योजना टुङ्गो लागेको छ । उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्यक्षतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ संयोजक तथा समानुपातिक सांसद सरिता गुरुङ, डोबाटे विक सदस्य र पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गाना सदस्य सचिव रहेको समितिले विभिन्न योजनाको टुङ्गो लगाएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.