शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुस्तक अंश : गोप्य प्रतिवेदन

मङ्गलबार, १६ मङ्सिर २०७७, १४ : १२
मङ्गलबार, १६ मङ्सिर २०७७

सन् १९०० नोभेम्बरमा भिन्सेन्ट ए. स्मिथ एउटा प्रतिवेदन हेर्दै थिए । प्रतिवेदनमा टिप्पणी गर्नुभन्दा उनलाई त्यस प्रतिवेदनमा राख्नु पर्ने आफ्नो अग्रलेख मिलाउन निकै समस्या परिरहेको देखिन्छ । स्मिथलाई अर्कै एउटा प्रतिवेदनले समस्या पारेको पाइन्छ जसलाई उनले आफू एउटा प्रतिवेदनको खोजीमा रहेको अग्रलेखको दोस्रो वाक्य (दोस्रो अनुच्छेद पनि त्यही हो) मा नै जनाएका छन् । त्यसैको अभावमा उनलाई अग्रलेख मिलाउन समस्या परि रहेको थियो । त्यसरी समस्यामा पार्ने व्यक्तिको उनले नाम पनि उल्लेख गरेका छन् – मेजर वाद्देल । अर्थात् मेजर एल. ए. वाद्देल ।

स्मिथले मिलाउँदै गरेको प्रतिवेदन थियो बाबु पूर्णचन्द्र मुखर्जी (पी.सी. मुखर्जी) को ‘अ रिपोर्ट अन अ टुर अफ एक्स्प्लोरेसन अफ दि एन्टिक्विटिज इन दि तराई, नेपाल, दि रिजन अफ कपिलवस्तु, फेब्रुअरी एन्ड मार्च, १८९९’ । त्यसैमा उनले अग्रलेख लेखिरहेका थिए । स्मिथले लेखेका छन् ‘मैले मेजर वाद्देलले प्रस्तुत गर्ने वचन दिएको प्रतिवेदनमाथि पनि छलफल गर्न समर्थ हुने अपेक्षा गरेको थिएँ तर दुर्भाग्यवस उनीबाट कुनै प्रतिवेदन प्राप्त भएन ।’
स्मिथले यसो भनेर लेखिरहँदा उनी आफैँले ‘गोप्य पत्र’ लेखेर पठाएको एउटा टिप्पणीलाई यात बिर्सेका थिए या अग्रलेखमा उल्लेख नै गर्नु उपयुक्त ठानेनन् । वास्तवमा त्यसलाई सरकारी सङ्ग्रहमा संरक्षण नगरिएको चाल्र्स एलेनले उल्लेख गरेका छन् । चाल्र्सले लेखेका छन् – ‘स्मिथले गोप्य पत्रसहित जवाफ दिए, (तर) दुखद्, जसको विषय वस्तु (मूलपाठ) संरक्षण गरिएको छैन ।’

चाल्र्सको यो भनाइ त्यही प्रतिवेदनमाथि थियो जुन प्रतिवेदन स्मिथ खोजिरहेका थिए र त्यो नआइपुग्दा आफूलाई अग्रलेख लेख्न समस्या भएको उल्लेख गरिरहेका थिए । वास्तवमा वाद्देलले मुखर्जीभन्दा पहिले सन् १८९९ मार्च २२ मा नै कलकत्ताबाट प्रतिवेदन बुझाइ सकेको पाइन्छ । तर उक्त प्रतिवेदन उत्तर–पश्चिम प्रान्त तथा अवध सरकार वा स्मिथ कसैसमक्ष नभई भारत सरकारको राजस्व तथा कृषि विभागका सचिवसमक्ष प्रस्तुत गरिएको थियो । त्यो प्रतिवेदनको एक प्रति उत्तर–पश्चिमी प्रान्तहरु तथा अवध सरकार समक्ष पठाइएको थियो । तर घुमिफिरी त्यो प्रतिवेदन स्मिथकै टेबुलमा आइपुगेको थियो र उनले आफ्नो अख्तियारीको अनधिकृत प्रयोग गर्दै ‘गोप्य’ घोषित गरिदिएका थिए ।

वास्तवमा वाद्देल उत्तर–पश्चिम प्रान्त तथा अवध सरकार वा स्मिथ कसैसमक्ष प्रतिवेदन प्रस्तुत गर्न बाध्य पनि थिएनन्, किनकि उनलाई काममा खटाउने समक्ष नै उनले प्रतिवेदन बुझाएका थिए । उनलाई आफ्नो नियुक्तिमा अवरोध गर्ने समक्ष प्रस्तुत गर्नु पर्ने कुनै बाध्यता पनि थिएन । वाद्देल मुखर्जीलाई नेपाल पठाउनका लागि नियुक्त गरिएपछि आफूले लुम्बिनी र कपिलवस्तु क्षेत्रको पहिले नै पहिचान गरिसकेको दावी गर्दै त्यहाँ हुने उत्खननमा आफू जान पाउन पर्छ भनेर लागि परेको पाइन्छ । त्यसमा बङ्गाल सरकारको समेत समर्थन रहेपछि मुखर्जीले ‘डाक्टर वाद्देलसँगको संयोजन र निर्देशनमा रहेर’ काम गर्ने सहमति भएको पाइन्छ ।

त्यो सहमति उत्तर–पश्चिमी प्रान्तहरु र अवध सरकार र केन्द्रको भारत सरकारबिच भएको देखिन्छ । त्यसको पृष्ठभूमिको एउटा कारणमा स्मिथ र फुहररबिचको अन्तःविरोध रहेको पाइन्छ । यसो भए पनि सहमतिमा भनिए जस्तो सहज अवस्था कार्य क्षेत्रमा थिएन, जसलाई मुुखर्जीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् –

“फुहररको अवकाशपछि अन्वेषणलाई निरन्तरता दिन उत्तर–पश्चिमी प्रान्तहरु र अवध सरकारबाट म खटाइएको थिएँ । अनुसन्धानमा सहभागी हुन मेजर वाद्देल, आई.एम.एस., ले पनि भारत सरकारबाट अनुमति प्राप्त गरे । ती महाशयले स्वतन्त्र रूपमा काम गर्न रुचाए; र यस प्रतिवेदनमा उल्लेख गरिएका अनुसन्धानका लागि म एकल रूपमा जिम्मेवार छु ।”

यसरी मुखर्जीले प्रतिवेदनबारे एकल रूपमा सम्पूर्ण जिम्मेवारी लिई रहँदा स्मिथ भने त्यही प्रतिवेदनलाई पूर्णता दिन भनेर लेखेको आफ्नो अग्रलेखमा वाद्देललाई खोज्दै थिए । वास्तवमा यो खोजी उनी आफ्नै थिएन, केन्द्रको थियो । किनकि स्मिथलाई त्यो अग्रलेख लेख्न भारत सरकारले लगाएको थियो भनी उनी आफैले उल्लेख गरेका छन् । तथापि उनले आफ्ना एजेन्डा त्यसमा छिराएकै पाइन्छ ।

उनको अर्को अभिप्राय आफ्नो अन्तःविरोध रहेका फुहररलाई नेपालको तराई उत्खननमा जसरी पनि जालसाज स्थापित ठहर गर्नु र उनले गरेका लुम्बिनी र कपिलवस्तुका स्थानबारे प्रश्न उठाउनु रहेको हुनसक्ने देखिन्छ । त्यसका लागि उपयुक्त व्यक्ति वाद्देद थिए किनकि फुहररसँग वाद्देलको पुरानो झगडा थियो । त्यसैले, फुहररलाई गलत मान्दा पिप्रहवालाई कपिलवस्तु भनेर स्थापना गर्न स्मिथलाई सजिलो त हुन्थ्यो तर स्मिथले नै गोप्य भनेर उल्लेख गरेर पठाएको पत्रसम्बन्धी वाद्देलको प्रतिवेदनले भने तिलौराकोटलाई नै कपिलवस्तु मानिसकेको थियो । उनले प्रतिवेदनमा लेखेको कुरालाई उल्लेख गर्दै चाल्र्स एलेनले लेखेका छन् –

“अन्ततः मैले चिनियाँ तीर्थयात्रीहरुले वर्णन गरे जस्तै कपिलवस्तुको एकत्रित स्थलगत विशेषता भएको स्थान पत्ता लगाएको छु । .... र मैले कनकमुनि स्तम्भको वास्तविक रूप जस्तो लाग्ने (आधार) पनि पत्ता लगाएको छु ।”
एलेनले यस भनाइलाई दुराशयपूर्ण र अविश्वसनीय रूपमा स्मिथले उल्लेख गरेको दावी गरेका छन् ।

वाद्देलको उक्त प्रतिवेदनको अझ गम्भीर पाटो अर्कै रहेको देखिन्छ, जसमा नेपाल तराई उत्खननको ‘खेदजनक तरिका, जसबाट यस महत्त्वपूर्ण ऐतिहासिक खोजीमा सरकार (साम्राज्यिक÷केन्द्र) लाई गुमराहमा पारिएको’ बारे सरकार (साम्राज्यिक÷केन्द्र)को ध्यान आकर्षण गरिएको छ । उनले यस अवस्थामा यस उत्खननलाई ‘साम्राज्यिक÷केन्द्र विषयका रूपमा व्यवहार गरिनु पर्ने न कि प्रान्तीय विषयका रूपमा’ भन्ने सुझाव पनि दिएका थिए । एलेनको विचारमा यो उत्तर–पश्चिमी प्रान्तहरु र अवध सरकारबाट नभई भारत सरकारबाट हल गरिनु पर्ने सुझाव थियो ।

त्यसैले वाद्देलले उत्तर–पश्चिमी प्रान्तहरु र अवध सरकारबाट खटाइएका मुखर्जीलाई तत्काल फिर्ता बोलाउन पनि प्रतिवेदनमा सुझाव दिएका थिए । यसबारे एलेनले लेखेका छन् – 

“त्यति नै बेला उनले अनुरोध गरे – ‘उत्तर–पश्चिमी प्रान्तहरुका सर्वेयर’ – बाबु पूर्णचन्द्र मुखर्जीलाई भनिएको – ‘जो अहिले अनावश्यक रूपमा स्थलहरुको उत्खनन गर्दै नेपाल सरकारलाई अनावश्यक दुःख दिइरहेका छन्, उनलाई ढिलाई नगरी फिर्ता बोलाइनु पर्दछ ।’ उनले ‘मैले गर्नु परेको ठुलो अनपेक्षित यात्रा गर्दा भएको खर्चको’ शोधभर्नाका लागि ४५० रुपियाँ (भारतीय) माग पनि गरेका थिए ।”

डा. वाद्देलले त्यतिको रकम शोधभर्ना माग्दा मुखर्जीले भने जम्मा तिन सय रुपियाँ मात्र खर्च भएको हिसाब देखाएका छन् । जबकि धेरै काम मुखर्जीले नै गरेका थिए । 
सम्भवतः यस्तै विषय वस्तु रहेका कारण र पूर्व सन्दर्भ एवम् भावी परिणतिको आँकलन गर्दै त्यसमा स्मिथले गोप्य भनी पत्र लेखेका थिए । यस अवस्थामा आफैले नै गोप्य भनेर उल्लेख गरिसकेपछि त्यसबारे त्यसपछि लेखिँदै गरेको आफ्नो अग्रलेखमा त्यसको उल्लेख गर्नु उपयुक्त पनि हुँदैन थियो । र, स्मिथले त्यही गरे उनलाई जे गर्नु पर्ने थियो – अर्थात् फुहररलाई जालसाज घोषित गर्नु र पेप्पेलाई स्थापित गर्नु । यसो गर्दा फुहररले देखाएको लुम्बिनी र कपिलवस्तुका बारेमा समेत विवाद हुनसक्थ्यो र आफ्नो सरोकार रहेको पिप्रहवालाई ती स्थानका रूपमा स्थापित गर्न सकिन्थ्यो । त्यो प्रतिवेदन समेत समावेश गरेको भए मुखर्जीको प्रतिवेदन र त्यसमाथिको आफ्नो अग्रलेख नै अर्कै हुन सक्थ्यो, जुन रूपमा अहिलेसम्म पढ्ने गरिएको छ ।

यति गर्दा पनि स्मिथ आफैलाई आफ्नो अग्रलेख पूर्ण नलागेको पाइन्छ । त्यसै कारण सुरुमा लेखिएको झन्डै आठ महिनापछि सन् १९०१ जुन ३ मा उनले त्यसको परिशिष्ट लेखेको पाइन्छ । 
यस परिशिष्टिमा उनले पूर्वप्रकाशित होइन भविष्य (अर्को महिना, जुलाई) मा रोयस एसियाटिक सोसाइटीको जर्नलमा प्रकाशन हुने प्राध्यापक रिस डेभिड्स्को लेख ‘अशोक एन्ड दी बुद्ध–रेलिक्स’को सन्दर्भ उल्लेख गरेका छन् । वस्तुतः त्यो लेख दुवैको सल्लाहमा लेखिएको थियो । त्यसमा विलियम क्लाक्स्टन पेप्पेले पिप्रहवा स्तूपको ‘सावधानीपूर्वक उत्खनन’ गरेको तर ‘यस घटनामा जालसाजीको परिकल्पना समान्य रूपमा गर्नै नसकिने’ रिस डेभिड्सले उल्लेख गरेका छन् । तर स्मिथले भने यसमा फुहररको जालसाजी रहेको देखेका थिए । 

पिप्रहवा भग्नावशेष समूहमा नै कपिलवस्तु हुने दावी गर्दै स्मिथले रिस डेभिड्सको स्वतन्त्र अध्ययनले पनि त्यही निष्कर्ष निकालेको उल्लेख गरेको पाइन्छ । रिस डेभिड्स्ले सन् १९०० जनवरीमा तिलौराकोट र पिप्रहवाको भ्रमण गरेका थिए । त्यस भ्रमणमा स्मिथ र पिप्रहवा उत्खनन गर्ने विलियम क्लाक्स्टन पेप्पेका भाइ जर्ज पेप्पे पनि थिए । जर्ज पेप्पे पहिले नै बर्दपुर मौजा छाडेर बेलायततिरै रहेका थिए । पिप्रहवा उत्खननपछि मात्र उनी ब्रिटिस इन्डिया आएका हुन् । 

यहाँ के कुरालाई पनि जोडेर हेर्नु सान्दर्भिक देखिन्छ भने रिस डेभिड्सको यो भ्रमण भारत सरकारका साथ रोयल एसियाटिक सोसाइटीले नेपाल सरकारलाई दवाव दिनु पर्दछ भन्ने स्मिथकै भनाइ अनुसार उनकै डिजाइनमा भएको थियो ।

(लुम्बिनी कपिलवस्तु दिवस डिसेम्बर १ को अवसर पारेर मंगलवार सार्वजनिक भएको केदार वाशिष्ठको अनुसन्धानात्मक कृति नेपाल विद्या : सिद्धान्त र प्रयोगबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप