शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रारामा आउन थाले विदेशी चरा

बुधबार, १७ मङ्सिर २०७७, १५ : ३१
बुधबार, १७ मङ्सिर २०७७

–विजय रावत 
खलङ्गा । मुगुस्थित रारा राष्ट्रिय निकुञ्जमा चिसो छल्न विदेशी चराहरू भित्रिन थालेका छन् । युरोप, साइबेरिया, तिब्बत र भारतलगायत देशबाट चराहरू आउन थालेका हुन् । कमकुट, वाटरफल्ब, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोयाहाँस, कैलोटाउके हाँस, चखेवा–चखेवी, क¥याङकुरुङ मरुललगायत विदेशी चराहरू जाडो छल्न आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

हाल साइबेरिया, युरोप, मङ्गोलिया र मानसरोवरबाट पाँच प्रजातिका चरा मौसमी बसाइँसराइ गरी आएको कार्यालयका रेन्जर सरोज खड्काले जानकारी दिए । उनले भने, “निकुञ्जमा गत वर्ष करिब १८ प्रजातिका चरा चिसो छल्न रारा आएका थिए ।” मङ्सिर दोस्रो साताभित्रै पङ्खथोप्ले तितु, कालो कन्ठे, चाचर नामका नयाँ प्रजातिका चरा देखिएन थालेको रेन्जर खड्काले जानकारी दिए ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चरा रारा आउने गरेका हुन् । बाहिर देशबाट आउने चरा कम्तीमा पाँच महिना बस्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको मिलीचौर, ठाकुरज्यूला मन्दिर, ओखर बोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुटलगायत प्रशस्त पाहुना चरा देखा परेको कार्यालयले जनाएको छ । 

गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम

स्वास्थ्य संस्थामा सुत्केरी हुने दरलाई बढाउनेदेखि घरमा सुत्केरी हुने कार्यलाई निरुत्साहित गर्न र मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि तिला गाउँपालिकाले गर्भवती आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।  गाउँपालिकाले गत वर्षबाट शुरु गरेको यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्ष २०७७/०७८ मा निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए ।

गत वर्षभन्दा यो वर्ष कार्यक्रम परिमार्जित गरेर गर्भवती आमालाई राहत हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनको भनाइ छ । उनले गर्भावस्थाको विशेष समयमा महिलालाई अतिरिक्त स्वास्थ्य सेवा, पोषण, स्याहार र सरसफाइ आवश्यक हुने हुँदा त्यसको सन्देश प्रवाहका लागि यो कार्यक्रम शुरु गरिएको बताए ।

यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नियमित गर्भजाँच गराउन सरकारी स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यामा वृद्धि भई मातृशिशु स्वास्थ्य प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयवासीको छ । गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउने महिलालाई विभिन्न ‘उपहार’ दिने व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

धान उत्पादनमा वृद्धि     

कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।  गत वर्षको तुलनामा यो वर्ष छ हजार मेट्रिक टन बढी धान उत्पादन भएको कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार यो वर्ष कर्णालीमा एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख १४ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस वर्ष सुर्खेतमा ४२ हजार ८०३, सल्यानमा २८ हजार ९००, रुकुम पश्चिममा आठ हजार ९७६, दैलेखमा चार हजार ४४९,  जाजरकोटमा १० हजार ६६५, डोल्पामा ६०५, जुम्लामा दुई हजार ९००, कालिकोटमा ९ हजार ४८९, मुगुमा सात हजार ५७६ र हुम्लामा ७९० मेट्रिक टन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।  

किसानको मिहिनेतसँगै यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले बताए । “यो वर्ष धैरै वर्षा हुँदा किसानले समयमै धान रोप्न पाएका थिए”, उनले भने, “प्रदेश सरकारले उत्पादन वृद्धिका लागि किसानलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेती गर्नुजस्ता कारणले पनि धान उत्पादन बढेको हो ।” 

धान उत्पादनमा वृद्धि भए पनि लक्ष्यअनुसारको वृद्धि हुन नसकेको कृषि विकास निर्देशनालयले जनाएको छ । वर्षायाममा किसानले समयमा नै रासायनिक मल नपाउनु र सलह कीराको प्रकोपका कारण अपेक्षाअनुसारको धान उत्पादन हुन नसकेको उनको भनाइ छ । यसअघि वर्षायामको समयमा कोरोना महामारीका कारण कर्णालीमा पनि रासायनिक मल आयात भएको थिएन । धान रोप्ने र गोडमेल गर्ने समयमा रासायनिक मल नपाउँदा अपेक्षा गरेअनुसार धान उत्पादन नभएको निर्देशनालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप