बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा समिति अध्यक्षको कार्यकाल एक महिनापछि सकिँदै

नयाँ अध्यक्षमा झण्डै एक दर्जन नाम चर्चामा
बिहीबार, १८ मङ्सिर २०७७, ११ : ५९
बिहीबार, १८ मङ्सिर २०७७

बीमा कम्पनीहरुको नियामक बीमा समितिमा अबको एक महिनापछि अध्यक्ष पद खाली हुँदैछ । समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल यही पुस १४ गते सकिन लागेको हो । पूर्वमाओवादी निकट चापागाईं पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेला अध्यक्ष बनेका थिए । उनको कार्यकाल सकिने दिन नजिकिदै गर्दा समितिको अध्यक्षको आकाङ्क्षीहरु पनि बढ्दै गएका छन् । आकाङ्क्षीहरु आफुलाई सो पदमा कसरी आसिन गराउने भन्दै तयारी थालेका छन् । यसैबीच बीमा क्षेत्रमा सरोकार राख्नेहरु धेरैले कसैले खुलेरै र कसैले भित्रभित्रै तयारी थालेका छन् ।

बीमा समितिको अध्यक्ष बन्ने चर्चाका यी नाम

समितिका हालका अध्यक्ष चिरञ्जिवी चापागाईं पनि पुनः कार्यकाल दोहोर्याउन चाहन्छन् । अहिले पनि उनीनिकट प्रचण्ड नेकपाका अध्यक्ष छन् । तर, उनले पुनः माथिल्लो तहको आशिर्वाद पाउने सम्भावना त्यति देखिदैन ।

यता, कहिले राष्ट्र बैङ्कको गर्भनर तकहिले बीमा समितिको अध्यक्षको दौडधुपमा रहेको चर्चा चल्ने नेपाल राष्ट्र बैङ्कका डेप्युटी गर्भनर चिन्तामणि शिवाकोटीले गभर्नरको पद नपाएपछि उनी समितिको अध्यक्ष बन्न इच्छुक देखिएको बुझिन्छ । उनलाई प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् ।  प्रधानमन्त्रीनिकट भएकाले गभर्नरको पद नपाएका शिवाकोटीले समितिको अध्यक्ष पाउन सक्ने सम्भावना देखिएको छ ।

यस्तै चर्चाको अर्को नाम कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाको हो । यद्यपि, आफु कुनै दौडधुपमा नरहेको उनले रातोपाटीसँगको कुराकानीमा भनिसकेका छन् । तर अध्यक्ष पद पाए खाने मनसाय भने उनको देखिएको छ ।

यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ । तर उनले आफु राजनीतिक तहबाट सपोर्ट पाउनसक्ने अवस्थामा त अध्यक्ष बन्न नसकेको र अहिले आफ्नो माथिल्लो राजनीति साइनो कसैसँग नभएको बेला अध्यक्ष बन्न नसकिने बताउँछन् । डा. रवीन्द्र घिमिरे पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर हुन् ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंको नाम पनि चर्चामा छ । उनले पनि नियुक्तिका लागि राजनीतिक पहुँच खोजिरहेको बुझिएको छ । उनी पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिन्छन् । कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ ।

यता, नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्साल पनि अध्यक्षका आकांक्षी हुन् । उनले भने आफु अध्यक्ष बन्न इच्छुक रहेको बताए । तर अहिले नै दौडधुप भने शुरु नगरिएको उनले भने । बीमा क्षेत्रको जानकारका नाताले उनी आफु पनि योग्य उम्मेदवार ठान्छन् ।

राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गङ्गाराम कँडेल, नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष टंक पनेरु, बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्त पाएका श्रीमान् कार्की, बिजय शाहलगायतको नाम चर्चामा छ । चर्चामा भएकाहरुले आफू दौडधुपमा लागेको खुलेर भन्दैनन् तर कतिपयले भित्रभित्रै आफ्ना पावरहरु पनि प्रयोग गर्न थालेका छन् ।

समितिको अध्यक्ष पदलाई महत्त्वपूर्ण मानिन्छ । नियामकहरुमा नेपाल राष्ट्र बैङ्कको गर्भनरमा बढी आकर्षण छ भने दोस्रोमा पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षको आकर्षण छ । त्यसपछि बीमा कम्पनीहरुको नियामक बीमा समितिको अध्यक्षलाई महत्त्वपूर्ण मानिन्छ ।

अहिले नेपालमा २० ओटा निर्जीवन बीमा कम्पनी, १९ ओटा जीवन बीमा  कम्पनी र एक पुर्नबीमा कम्पनी गरी ४० वटा बीमा कम्पनी रहेका छन् । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान  रहेको छ । यसमा योग्यताका साथसाथै राजनीतिक पावर बढी हावी हुने भएकाले कतिपयले यसलाई राजनीतिक नियुक्तिको संज्ञा दिन्छन् । तर बीमासँग सरोकार राख्नेहरु राजनीतिक शक्तिभन्दा पनि बीमा क्षेत्रमा राम्रो ज्ञान भएकाहरुलाई अध्यक्ष पद दिनुपर्ने तर्क गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप