शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईश्वरको दौडधुप : खुमलटारदेखि शीतल निवाससम्म !

शुक्रबार, १९ मङ्सिर २०७७, १५ : १५
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको अन्तरसंघर्ष चुलिएका बेला ओली पक्षका नेताहरुको दौडधुप चलेको छ । सोही क्रममा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि राष्ट्रपति विद्यादेवी भण्डारीसमेतलाई भेटेका छन् ।

यसअघि बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि ओलीको सन्देश बोकेर खुमलटार पुगेर प्रचण्डलाई प्रस्ताव फिर्ता लिँदै सहमतिमा आउन आग्रह गरेका थिए । सचिवालय बैठकको मिति नजिकिएसँगै त्यसको भोलिपल्ट शुक्रबार मन्त्री पोखरेल पनि खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका छन् । तयसलगत्तै पोखरेल राष्ट्पतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

ती भेटमा पोखरेलले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको सन्देश आदान प्रदान गरेको बुझिएको छ । ओलीले दुवै प्रस्ताव फिर्ता गरेर संयुक्त प्रस्ताव ल्याउनेमा प्रचण्डले सहमति नजनाए जस्तोसुकै कदम चाल्न बाध्य हुने सन्देश प्रबाह गरिरहेका छन् ।  तर, यसपटक प्रचण्ड आफ्नो प्रस्ताव कुनै हालतमा फिर्ता गर्ने पक्षमा छैनन् ।

नेकपाको विवादमा राष्ट्रपति भण्डारीले समेत चासो देखाउदै आएकी छन् । श्रोतका अनुसार राष्ट्रपतिले पार्टी विभाजनबाट रोक्न नेताहरुलाई जस्तोसुकै ‘त्याग’ गर्नुपरेपनि गर्न सुझाव दिएपनि ओली त्यसो गर्न तयार नभएकाले आफै समस्यामा पर्न लागेको गुनासो गर्न थालेको बुझिएको छ ।

बिहीबारमात्रै राष्ट्पति भण्डारीले अध्यक्षद्वय ओली र प्रचण्डलाई कार्यालयमा बोलाएर नेकपा विवादबारे चासो व्यक्त गरेकी थिइन् ।

गत कार्तिक २८ पछि  नेकपाभित्र बढेको आन्तरिक किचलोले वारपारको स्थिति पैदा भएको छ । सचिवालयका बहुमत नेताहरुले ओलीले निकास दिनुपर्ने बताइरहेका बेला ओली भने उनीहरुको भनाइमा सहमत हुन सकिरहेका छैनन् ।

यो विवादमा निकासको अर्थ ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने प्रचण्ड–नेपाल समुहको बटमलाइन बन्न सक्ने एक नेताको भनाइ छ । तर ओली पार्टी कमिटीको बहुमतको निर्णय छल्ने तथा नेताहरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ कि भनेर कसरत तीव्र बनाइरहेका छन् ।

ओलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टा छलफल गरेका थिए ।

‘तपाईंले दायाँबायाँ गर्ने होइन’

बिहीबार राष्ट्रपतिसँग छलफलपछि प्रधानमन्त्री ओलीले आफु निकटका नेताहरुलाई बालुवाटारमा ब्रिफिङ गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुुन निर्देशन दिएका थिए । पर्यो भने संसद विघटनदेखि दल फुटाउनेअध्यादेश सम्म ल्याउनुपर्ने भन्दै त्यही अनुसार अघि बढ्ने निर्देशन आएको स्रोतको दावी छ । राष्ट्रपतिसँगको भेटमा समेत आफुले सोही कुराबारे छलफल गरेको ओलीले आफु निकटका नेताहरुलाई बताइसकेका छन् । ‘मलाई सहयोग गर्नुपर्छ, तपाईंले दायाँवायाँ गर्ने होइन । मैले राष्ट्रपतिलाई पनि यही कुरा भनेको छु’ ओलीले राष्ट्पति समेत आफुले भनेको मान्न तयार रहेको भन्दै मदन भण्डारी फाउन्डेसनमार्फत आफ्ना क्रियाकलाप जारी राख्न निर्देशन दिएको फाउन्डेसनका एकजना सदस्यले बताए ।

ओलीले राष्ट्रपतिलाई यस्तो दबाब दिएपछि उनले बिहीबारै अध्यक्ष प्रचण्डलाई भेटवार्ताका लागि बोलाएको बुझिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपतिले आफुमाथि आएको दबाबबारे सङ्केत गरेकी मात्रै थिइन् ।

बादलको छुट्टै प्रस्ताव ?

नेकपाको नौ सदस्यीय सचिवालयमा कतैपनि नखुलेका नेता हुन् गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ । बादल सुरुमा प्रचण्डको कोटाबाट मन्त्री भएपनि अहिले ओलीनिकट देखिएका छन् । बाहिर मात्रै होइन, सचिवालय बैठकमा समेत कमै मात्र बोल्ने थापाले गत मंसिर १६ गतेको सचिवालयमा ‘प्रचण्डले पनि प्रस्ताव ल्याउनु ठीक थिएन’ भनेका थिए । त्यस दिन वादलको कुरा सुनेर ओली र प्रचण्ड दुवै आश्चर्यचकित भएका थिए । थापाले यसअघि सचिवालयमा आफ्नो छुट्टै प्रस्ताव आउने समेत बताएका थिए । ‘छुट्टै प्रस्ताव छ भन्नुहुन्छ तर कहिल्यै ल्याउनुपनि हुन्न र देखाउनुपनि हुन्न,’ एक सचिवालय सदस्य भन्छन्, ‘थापाको बानी नै त्यस्तो छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप