शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के खोपको दौडमा चीन पछि परेको हो ?

शुक्रबार, १९ मङ्सिर २०७७, १६ : ३१
शुक्रबार, १९ मङ्सिर २०७७

बेलायतले फाइजर र बायोएनटेकद्वारा निर्मित कोभिड–१९ भ्याक्सिनलाई बुधबार अनुमति दिइएको छ । यससँगै कोरोनाभाइरसविरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वमै पहिलो देश बनेको छ ।

मोडर्ना र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्मित एस्ट्राजेनेकाले पनि अनुमति पाएपछि युरोप र अमेरिकामा पनि व्यापक मात्रामा खोप अभियान चलाइनेछ ।

अमेरिकामा फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले डिसेम्बर १० मा बैठकको आयोजना गर्दैछ जसमा फाइजर–बायोएनटेक भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने नदिने बारे निर्णय हुनेछ । यता मोर्डर्नाले पनि स्विकृतिका लागि एफडीए समक्ष निवेदन पेश गरेको छ ।  

यी दुई भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको डाटाले देखाएको छ । यद्यपि, प्रतिरोधी क्षमता कहिलेसम्म रहन्छ भन्ने प्रश्नको जवाफ भने भेटिएको छैन ।

युरोपेली चिकित्सा एजेन्सी त्यसको भोलिपल्ट आपतकालीन प्रयोगको मापदण्ड के हो भनेर छलफल गर्नका लागि बैठक बस्नेछ ।  फाइजर र बायोएनटेकले पनि सशर्त मार्केटिङ अनुमोदनका लागि निवेदन पेश गरेको छ ।

अक्सफोर्ड÷एस्ट्राजेनेकालाई पनि बेलायती नियामकले मूल्यांकन गरिरहेको छ । यद्यपि, डाटा प्रकाशित गरिएको तरिकामाथि र सहभागीलाई किन फरक डोज दिइयो भन्ने बारे प्रश्न उठिरहेको छ ।

तर युरोप र अमेरिकाका जनताले आफ्नो देशमा कोरोनाको भ्याक्सिन चाँडै नै उपलब्ध हुने आशा गरिरहेका बेला चिनियाँ औषधी कम्पनीले भने आफ्नो ट्रायल डाटा अझै पनि पेश गर्नै बाँकी छ । अनुसन्धानका बेला चीन पनि अग्र पंक्तिमा थियो ।

त्यसो भए के चीन खोपको दौडमा पछि परेकै हो त ?

अमेरिकाका ग्लोबल हेल्थ एट द काउन्सिल अन फरेन रिलेसन्सका वरिष्ठ अधिकारी हुवाङ्ग याङ्झोङले बेलायती भ्याक्सिनले चाँडै नै युरोप र अमेरिकामा व्यापक संक्रमण फैलिएका कारण यसले मञ्जुरी पाएको हुनसक्ने बताइएको छ ।

तेस्रो चरणको ट्रायलमा वैज्ञानिकले औषधी सेवन गरेका र भ्याक्सिन लगाएका स्वयंसेवकमा संक्रमणको कस्तो भिन्नता छ भनेर दाँजेका छन् । ट्रायलको क्रममा जति बढी संक्रमण देखियो त्यति नै डाटा संकलन हुने गर्दछ ।

‘चीनको लागि सबैभन्दा ठूलो चुनौती भनेको चीनको भ्याक्सिनसँग काम गर्ने अन्य केही देशमा सोचेभन्दा कम संक्रमित भेटिए,’ उनले भने । उनले संयुक्त अरब इमिरेट्समा सिनोफार्मद्वारा निर्मित भ्याक्सिनको व्यापक ट्रायल गरिएको जानकारी दिए ।

फाइजर–बायोएनटेकले आफ्नो भ्याक्सिनको उच्च प्रभावकारिताबारे जानकारी दिँदै डाटा प्रकाशित गरेको भोलिपल्ट नोभेम्बर ११ मा सिनोफार्मले आशा गरेभन्दा राम्रो नतिजासहित आफ्नो क्लिनिकल ट्रायल केही दिन भित्रै सम्पन्न हुने बताएको थियो ।

गत हप्ता सिनोभ्याकद्वारा निर्मित अर्को चिनियाँ भ्याक्सिनले ब्राजिलमा पर्याप्त डाटा संकलन गरिसकेको र यो हप्ता यसबारे घोषणा गरिने बताइएको थियो ।

यो खोज चीनको भ्याक्सिन डिप्लोमेसी र दक्षिणपूर्वी एशियामा यसको प्रभाव विस्तार गर्ने प्रयासमा निकै महत्वपूर्ण साबित हुनेछ ।

गत महिना इन्डोनेशियाले ब्राजिलको डाटा उपलब्ध नभएका कारण सिनोफार्मलाई यसवर्ष आपतकालीन प्रयोगको अनुमति नदिने बताएको थियो ।

ह्वाङ्गका अनुसार अन्य अनुसन्धाताले डाटा सार्वजनिक गरेपछि यसले चीनमाथि दबाब पारेको छ किनभने चीनले अन्य देशलाई पनि भ्याक्सिन प्रदान गर्ने बाचा गरेको थियो । र उनीहरु आफै डाटाको प्रतिक्षामा छन् ।

‘खोपको दौड चलिरहेको छ, हामी यो कुरालाई नकार्न सक्दैनौं । जब चीनले भ्याक्सिन बनाउन सुरु गर्यो तब उनीहरुले आफ्नो उद्देश्य लुकाएनन् । उनीहरु भ्याक्सिन बनाउने दौडमा पहिलो हुन चाहन्थे,’ उनले भने ।

‘उनीहरुले यसलाई राष्ट्रिय गौरवको रुपमा हेरेका थिए र प्रविधिमा चीनको पहुँच कतिसम्मको उच्च छ भनेर पनि जोडेका थिए ।’

फाइजर र मोर्डर्नाले आफ्नो परिणाम सार्वजनिक गरेको केही दिन पछि नै चीनको सरकारी मिडियाले सिनोफार्मले दुईवटा भ्याक्सिनको सशर्त मञ्जुरीका लागि प्रक्रिया सुरु गरिसकेको जानकारी दियो ।

चिनियाँ नियामकहरुले पनि अन्तिम क्लिनिकल परीक्षण समाप्त हुनुभन्दा केही महिनाअघि सिनोफर्म र सिनोवाक उत्पादनहरुको आपतकालीन प्रयोगलाई अनुमोदन गरेर १० लाखभन्दा बढी मानिसहरुलाई यो खोप दिइसकिएको छ ।

चिकित्सा विशेषज्ञले युरोप र अमेरिकामा विकसित भएका उत्पादनले चिनियाँ उत्पादनभन्दा अघि नै विश्व स्वास्थ्य संगठनबाट मञ्जुरी पाउने आशा व्यक्त गरेका छन् । – साउथ चाइना मर्निङ पोस्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप