शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब केटाले केटालाई नै सिन्दुर हालेर बिहे गरे, पण्डित नै भए आश्चर्यचकित (फोटो/भिडियो)

फेसबुकमा लभ, भेटेपछि बिहे
शुक्रबार, १९ मङ्सिर २०७७, १८ : ११
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । समाचारको शीर्षक पढेपछि तपाईलाई कौतुहल लाग्यो होला । केटा केटाको पनि बिहे ? त्यो पनि नेपालमा ? विदेशमा केटा–केटा वा केटी–केटीबीच बिहे भएकोबारे तपाईले कतै पढ्नु सुन्नु भएकै थियो होला । नेपालमा पहिलोपटक धार्मिक विधि अनुसार केटा केटाको नै बिहे भएको छ । यो समाचार लेख्दै गर्दा बेहुली बनेका केटा आफ्ना केटा श्रीमानको घरमा भित्रिइसकेका छन् ।

यस्तो बिहे शुक्रबार ललितपुरको कुपण्डोलमा भएको हो । रामेछाप घर भई हाल काठमाडौं थानकोट बस्ने सौरभ तामाङ (बेहुला)ले झापाका सुरज खत्री (बेहुली)लाई सिन्दुर हालेर बिहे गरेका हुन् । सौरभले सिन्दुर मात्र हालेनन्, बिहेको जग्गेमा मंगलसुत्र पनि पहिर्याइदिएका छन् । जसरी बिहे मण्डपमा केटा र केटीबीच बिधिपूर्वक बिहे हुन्छ उनीहरुले पनि बिधि पुर्याएर बिहे गरेका हुन् ।  

बिहेमा बेहुलीले साडी चोलो घुम्टो केही लगाएका थिएनन् । बेहुला बेहुली दुवैले कोट, पाइन्ट, चस्मा र तामाङ समुदायले लगाउने टोपी लगाएका थिए । जग्गेमा पण्डितले मन्त्र पढ्दै बिधिपूर्वक उनीहरुको बिहे गराइदिए । सौरभ र सुरज दुबैजना समलिङ्गी अर्थात ‘गे’ हुन् । 

फेसबुकमा लभ, भेटेपछि बिहे

फेसबुकबाट चिनजान भएर एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले केही आफन्त र साथीभाई जम्मा भएर बिहे गरेका हुन् । बिहेमा सहभागी बेहुलाकी आमा मनकुमारी तामाङ निकै खुसी भएकी थिइन् । बेहुली सुरजका बुबाआमा भने सहभागी थिएनन् । झापामा सुरजकी आमा बिरामी भएका कारण बिहेमा आउन नसकेको उनले बताए । 

बिहेपछि एकअर्कालाई साथ सहयोग गर्दै श्रीमान श्रीमतीको भूमिकामा बस्ने उनीहरुले बताए । तर उनीहरुलाई नेपालको कानूनले श्रीमान श्रीमतीको रुपमा कानूनी मान्यता भने दिने छैन् । कानूनले हालसम्म समलिङ्गी बिहेलाई मान्यता दिएको छैन् । कानून बनेर आफ्नो विवाह दर्ता हुनेमा आशावादी रहेको उनीहरुले बताए । बिहेपछि उनीहरुले सन्तानका रुपमा धर्मपुत्र राख्ने योजना बनाएका छन् । 

बिहेमा सहभागी सौरभकी आमा मनकुमारी तामाङले केटा–केटा भएपनि छोरा बुहारीको सम्बन्ध लामो समय राम्रो होस् भनेर कामना गरिन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘उनीहरुले आफ्नो जीवन बिताउने हो, उनीहरुको सम्बन्ध नछुटोस्, सँधै राम्रो होस्, उनीहरुको बिहेलाई मेरो साथ छ ।’  उनले छोरा सौरभ ‘गे’ भएको थाहा पाएपछि १५ वर्षअघि उनका श्रीमान अर्की श्रीमती बिहे गरेर हालसम्म बेपत्ता भएको गुनासो समेत गरिन् ।

बेहुली सुरज मेकअप आर्टिष्ट हुन् भने बेहुला सौरभ पनि जागिरे छन् ।  वर्षअघि फेसबुकमा भेटेपछि दुबै जनाबीच कुराकानी हुन थालेको थियो । पहिलोपटक सुरजले सौरभलाई प्रेम प्रस्ताव राखेका थिए ।  बिहेको पहिलो प्रस्ताव भने सौरभले गरेका थिए । सुरजले सौरभको प्रस्ताव सम्झिए– ‘तिमी धेरै राम्रो छौ, मनको पनि राम्रो छौ । हामी बिहे गरेर बसौं भन्नुभयो अनि मैले पनि हुन्छ भनेँ ।’ 

सौरभले भने– ‘हामीले १ वर्षसम्म एक अर्कालाई बुझेर नै बिहे गर्ने निर्णय गरेका हौं । एक अर्कालाई बुझ्नका लागि समय दिएर नै आज बिहे गरेका हौँ ।’ सुरजले भने–‘मलाई उहाँको बानी बेहोरा सबै मसँग मिल्ने राम्रो लाग्यो । मेरो सबै कुरा बुझ्नुहुन्छ । मैले नभनेपनि पहिलेनै मेरो कुरा बुझ्नुहुन्छ ।’

सौरभको नराम्रो बानी भनेको छिट्टै रिसाइहाल्ने रहेको सुरजले बताए ।  सुरजको बिहान ढिलो उठ्ने बानी नराम्रो रहेको सौरभले बताए । उनले भने–‘बिहान ढिलो उठ्ने यसको बानी छ । सबैभन्दा पहिला मामु उठ्नुहुन्छ, त्यसपछि म उठ्छु, सबैभन्दा ढिला बिहान १० बजे चाहीँ यो उठ्छ् । अहिले छिटो उठ्ने बानी गर्दैछ ।’

बिहेअघि झन्डै २५ दिन उनीहरु घरमा सँगै बसे । कुचो लगाउने, भाडाँ धुने लगायतका घरधन्दाको काम सुरजले गर्ने गरेका छन् । सौरभकी आमाले भनिन्– ‘छोरी मान्छेले जस्तै सुरजले घरको सबै काम गर्छ ।’ फेसबुकमा १ वर्ष प्रेम गरेपछि २५ दिन अघि काँकडभिट्टाबाट सुरज सौरभलाई भेट्न काठमाडौं आएका थिए । भेटेपछि एक अर्काले झनै मन पराएको र यति छिट्टै बिहे भएको उनीहरुले बताए ।  

दुई परिवारमा कुरा गरेर पारिवारिक सहमतिअनुसार नै बिहे गरेको उनीहरुले बताए । सुरजको परिवारले पनि उनको बिहेलाई स्वीकार गरेका छन् । ‘तेरो जे ईच्छा छ, जे गर्दा खुसी हुन्छस् त्यही गर’ भनेर सहमति दिएको उनले बताए ।  सौरभले भने आफ्नी बहिनीले यो बिहेलाई अस्वीकार गरेको कारण आफ्नो चित्त दुखेको बताए ।

उनले भने–‘आजको दिनमा हल्का खुसी पनि छु, हल्का नर्भस पनि छु, आज सबैभन्दा मैले मेरो बहिनीलाई सम्झिरहेको छु । किनभने बहिनीले मलाई कहिले पनि स्वीकार गर्नुभएन् । म अलिकति दुःखी पनि छु । बहिनीले इग्नोर गरेको कुराले दुःख लाग्छ तर ममी साथमा हुनुहुन्छ, मलाई यो भन्दा के चाहियो । चेलीबेटी भनेको दाजुभाईसँग रिसाइहाल्छ फेरि बोलिहाल्छ त्यही आशामा छु । आमाले बुहारी भनेर अपनाईसकेपछि एकदिन भाउजु भनेर कसो नअपनाउला ?’

बिहे गराउने पण्डित थिए त्रिलोचन पौडेल । जीवनमा कहिल्यै पनि केटा केटाको बिहे नगराएका उनलाई सुरुमा कसो गर्ने के गर्ने अनौठो लाग्यो । पछि एक जनालाई बर र अर्को जनालाई बधु बनाएर बिहे गराए ।    यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि काम गर्दै आएको परिचय समाज नेपालका पदाधिकारीहरुले सुरजको कन्यादान गरे ।

बिहेपछि संस्थाका कार्यक्रम संयोजक मनोरञ्जन बैद्यले सरकारले छिटै समलिङ्गी बिवाहलाई मान्यता दिने कानून बनाउन आग्रह गरे । मानिसले आफ्नो लिङ्गअनुसार व्यवहार गर्न पाउने भन्ने सर्वोच्च अदालतले २०६४ सालमा गरेको फैसलाअनुसार समलिङ्गीहरु सँगै बस्ने तथा बिहे गर्ने गरेको उनले बताए । बिहेपछि बेहुली बनेका सुरजले अरु ‘गे’हरु पनि खुलेर बाहिर आउनुपर्ने बताए । साथै समाजलाई पनि स्वीकार गर्न आग्रह गरे । उनीहरुले उनीहरुको बिहेलाई कानूनी मान्यता दिन सरकारलाई पनि आग्रह गरे ।   यसअघि समलिङ्गी पुरुष सुरेन्द्र र तेश्रोलिङ्गी महिला राम गुरुङ (माया)ले बिहे गरेपनि नेपालमा समलिङ्गी केटा केटाबीच भने यो पहिलो बिहे भएको हो । 

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप