शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै

शुक्रबार, १९ मङ्सिर २०७७, १८ : ४४
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । विश्वमै पहिलोपटक नेपालमा ‘मर्यादित महिनाबारी’ कार्यशाला गोष्ठी हुँदै हुने भएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग र दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालको संयुक्त आयोजनामा यहि मंसिर २३, २४ र २५ गते ‘मर्यादित महिनावारी’ कार्यशाला गोष्ठी हुने भएको छ । 

‘महिनावारीका कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा’ भन्ने मूल नारा दिइएको कार्यशाला गोष्ठी विश्वमै पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । 

गत जेठमा हुने भनिएको उक्त कार्यशाला कोभिड १९ महामारीका कारण सरेको थियो । 

१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन अर्थात डिसेम्बर ८ का दिन मनाइन लागिएको दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी दिवस’को अवसर पारेर कार्यशालाको आयोजना गरिएको हो । 

आज एक पत्रकार सम्मेलनमार्फत ‘महिनावारी विभेद नै हिंसा र मानवअधिकारको हनन्’ भन्ने तथ्यलाई आत्मसाथ गर्दै कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिइएको हो । 

विद्युतीय माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा मानवअधिकार आयोगका गोष्ठी संयोजक मन्जु खतिवडाले सारभूत लैंगिक समानता प्राप्तिका लागि महिनावारीलाई मानवअधिकारको आखाले हेर्नुपर्ने बताइन् । 

त्यसैगरी, अभियन्ता अनुपा रेग्मीले लैंगिक हिंसा रोकथाम गर्न दिगो विकास लक्ष्य २०३०का लागि ‘कोहि पनि नछुटुन्’ भन्ने संकल्प पुरा गर्नका लागि एउटा बलियो आधार तयार पार्न सम्पूर्ण सरोकारवालाहरुलाई अपिल गरिन् । उनले महिनावारी नीजि सवाल नभई राजनीतिक र मानवअधिकारको सवाल भएकाले मर्यादित महिनावारी अभियानमा सवैले हातेमालो गर्नुपर्ने बताइन् । 

महिनावारीका सम्बन्धमा भएगरेका कामहरूलाई पुनरावलोकन गर्दै लैंगिक समानता प्राप्तीका लागि पहल गर्नु नै कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रममा सबै महादेशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारका प्रतिनिधी, नीति निर्माताहरुको सहभागिता रहने छ । 

गोष्ठीमा महिनावारीका विभिन्न पक्षहर जस्तो भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य, यौनिक प्रजनन, स्वास्थ्य अधिकार देखि विभेद, लाज, युवाको भूमिका, धर्म, खानपान, सरसफाई, डर, अधिकार, कानून कार्यान्वयनसम्मका हुँदै र भोग्दै आएका विभिन्न पक्षबारे प्यानल, छलफल, प्रस्तुती, डकुमेन्ट्री प्रदर्शन लगायतका कार्यक्रम हुने भएका छन् । 

गोष्ठीको पहिलो दिन मर्यादित महिनावारीसम्वन्धी हाते किताव ‘अ प्राक्टिकल ह्याण्डबुक’ को विमोचन पनि हुनेछ । जुन किताब २० देशका ४४ जना लेखकहरुले लेखेका छन् भने दक्षिण गोलार्दीय मर्यादित महिनावारी संजालकी नेपाल प्रमुख तथा अभियन्ता राधा पौडेलले यसलाई सम्पादन गरी तयार पारेकी हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप