शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहाना प्रधान र म गैरगणतान्त्रिक लेखक

शनिबार, २० मङ्सिर २०७७, ०८ : ५२
शनिबार, २० मङ्सिर २०७७

सहाना प्रधानलाई राजा वीरेन्द्रले फलामजस्तै कडा (Iron Lady) अनि सिद्धान्तवादी नारी हुकुम भएको थियो । उनी कडा र सिद्धान्तवादीका अतिरिक्त नेपाली कम्युनिस्ट आन्दोलनलाई शिखरमा पु-याउन मद्दत गर्ने एउटी वीराङ्गना पनि थिइन् । नेपाल कम्युनिस्ट पार्टीका बौद्धिक, देशभक्त र शिखर गुरु डा. मोदनाथ प्रश्रितका शब्दमा भन्नुपर्दा ‘‘नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल पछाडि सहाना प्रधानको नै ऐतिहासिक पृष्ठभूमि रहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइपु-याउन सहाना भाउजूको पनि उत्तिकै भूमिका रहेको छ ।”

वास्तवमा सहानाकै कारणसमेत जोडिनाले नेपाल राष्ट्रमा पटक पटक कम्युनिस्टहरूले शासन गर्ने मौका पाएका थिए । तर आफूले ज्यानै सुम्पेको कम्युनिस्ट पार्टी शक्तिशाली भएताकाको समय समयमा नै उनले अपहेलनाको पात्र पनि बन्नुपरेको थियो । त्यस्ती नारीलाई पनि दबाउन विविध चरणमा अनेक षड्यन्त्र भएका थिए । किनभने उनी नेपालवादी थिइन् । उनको प्राणमा नेपाल बसेको थियो । नेपालवादी कम्युनिस्टमा स्थापित नारायणमान बिजुक्छेँ ‘रोहित’का शब्दमा पनि ‘सहाना प्रधान देशभक्त थिइन् । बाँचुन्जेल उनले राष्ट्रभक्तिप्रतिको धर्म निर्वाह गरिरहिन् ।’ त्यसैले उनलाई जतिले थाङ्नामा सुताउन खोजे पनि उनी गलिनन् । अन्ततः तिनै मान्छेहरूको नै मुखुण्डो क्रमशः उघ्रिँदै जाने क्रम भइरह्यो । वास्तवमा उनलाई होच्याउनु भनेको एउटा सिद्धान्त, एउटा जागरण र एउटा वाद नै होच्याउने काम थियो । त्यसो भए पनि गुटवादहरूले उनलाई माथिल्लो तहमा ढिम्किन नै दिएका थिएनन् । नेपालमा कम्युनिस्टकै बाहुल्य हुँदाहुँदै पनि उनी तिनीहरूद्वारा नै बडारिन पुगेकी थिइन् ।

नेपाली कम्युनिस्टहरूको इतिहास केलाएर हेर्दा सहाना प्रधानको नाउँ माथिल्लो पङ्क्तिमा आउने गर्छ । त्यस बेलादेखि यस बेलासम्मकै हिसाब गरेर त्यस पार्टीको शिखर नेतामध्ये तीन जनाको नाउँ मात्र छान्नुपर्दा पुष्पलाल, मनमोहन अधिकारी र सहाना प्रधानकै नाउँ अघिल्लो पङ्क्तिमा आउने गर्छ । शासनको आसनमा पुग्न मनमोहन अधिकारीलाई जसरी चिट्ठा परेको थियो, त्यसै गरेर सहाना प्रधानको योगदानलाई उनको सत या भनौँ उनी सती हुनुको तात्पर्यले खप्लक्क निलिदिएको थियो । यदि सरल, सौम्य र अनुशासित भएको फल नै नारीले भोग्नुपर्ने थियो भने त्यो फल सहानाको भागमा पनि नपर्नुपर्ने थियो । तर त्यसो नभएर खोस्ने, खोसिने, बोक्ने र बोकिने राजनीतिको अभ्यास भएकै कारण जोडिएर पनि नेपालको राजनीतिको शिखर पदको आरोहण गर्न नसक्ने परिभाषाभित्र सहाना प्रधानको नाउँ पनि इतिहासमा लेखिन गयो । कम्युनिस्ट पार्टीमा राजनीतिक संस्कारको अविकसित रूपरेखाको बोलवालाका कारण धेरै मोदनाथ प्रश्रितहरूले सडकछापमै पनि चित्त बुझाउनु प¥यो । तर सत्ताले जुनसुकै मार्काको टाँचा लगाइदिन खोजे पनि सहाना प्रधान पनि राजनेता नै थिइन् ।

नेपालमा २०४६ सालको आगमनपछि दलगत राजनीतिको शक्तिशाली प्रवेशताका नेपाली काँग्रेसले नै पार्टीगत धारामा व्यक्तिवादी हिसाब प्रारम्भ गराएको थियो । वास्तवमा भन्ने हो भने गणेशमान सिंहले आफ्ना श्रीमती, छोराछोरीलाई नेपाली काङ्ग्रेस गणेशमानको नै पेवा हो भन्ने अनुभूत नगराइदिएको भए उनी नेपालका गान्धी हुन सक्थे । तर दुर्भाग्यको कुरा नेपालमा आजसम्म एक जना पनि निःस्वार्थ नेता जन्मन नै सकेनन् । गणेशमान सिंहजस्ता पदीय लोलुपताविहीन व्यक्ति पनि परिवारको मोह, प्रभाव र दबाबमा डुबेर धृतराष्ट्रकै छाया बन्न पुगे । अनि त्यही गणेशमानीय मोहपाठ गिरिजाप्रसाद कोइरालाले पनि पढे र विदेशी भइसकेकी आफ्नी छोरीलाई स्वदेशीको टाँचा नै लगाइदिए ।

उनले त आफैँ प्रधानमन्त्री भएका बेला आफ्नी छोरीलाई उपप्रधानमन्त्री नै बनाइदिए । अनि त्यसपछिका प्रायः प्रधानमन्त्रीहरूले पनि गणेशमान र गिरिजाप्रसादलाई नै गुरु थापेको देखियो । परिणामस्वरूप उनीहरुले आफ्ना पत्नी, छोराछोरी, बुहारी, भाइभतिजा, सालासाली र कुटुम्बलाई समेत दाइजोका रूपमा मन्त्री, माननीय, राजदूत, मेयर र विविध आयोग, परियोजना र ठूलै आयस्ता हुने ठाउँहरु बाँढ्न थाले ।

नेपालमा विश्वेश्वरप्रसाद कोइराला पनि प्रधानमन्त्री नै भएका थिए । तर उनको प्रधानमन्त्रित्वको पदभन्दा नाउँ नै ठूलो भइदियो । भनौँ उनको राष्ट्रप्रतिको बफादरीका कारण बीपी कोइराला नै काफी भयो । त्यसैले प्रधानमन्त्री हुनेबित्तिकै कोही महान् चाहिँ हुँदैनन् भन्ने पनि हाम्रो नेपालमा प्रधानमन्त्रीको कुर्सी ओगटाइएका प्रधानमन्त्रीहरूको स्वरूपबाट प्रमाणित भएको देखियो । उदाहरणका लागि भन्ने हो भने नगेन्द्रप्रसाद रिजाल र लोकेन्द्रबहादुर चन्दको भन्दा विश्वबन्धु थापा र राजेश्वर देवकोटाकै राजनीतिक चिन्तन, योगदान र हैसियत गह्रुँगो थियो । त्यसै गरी एक दर्जन विद्यादेवी भण्डारी या खड्गप्रसाद ओलीभन्दा सहाना प्रधानकै सिद्धान्त, बौद्धिकता र कर्म भारी थियो । पछिल्ला दिनहरूमा ओलीहरू भनेका कस्ता देखिए भने यदि रामनाथ दाहाल र शिवप्रसाद शिवाकोटी बाँचेका भए उनीहरू पनि खड्गप्रसाद ओलीकै कार्यकर्तामा रूपान्तर भइसकेका हुन्थे । वास्तवमा ओली भन्नु दाहाल र शिवाकोटीकै गाँस, बास र कपास अनि बुद्धि, विवेक र निर्देशनमा राजनीतिमा स्थापित भएका थिए । राजनीतिमा यस्ता डरलाग्दा मान्छे घुसे पनि इतिहास भन्ने विषय दरिद्र, निर्धाे र टुहुरो कदापि हुँदैन । अन्ततः इतिहासले समयको बिम्बको मूल्य, मान्यता र योगदानलाई नै खोज्ने हो । त्यसरी खोजिँदा नै सहाना प्रधान सधैँ, सधैँ र सधैँ सफा राजनीतिज्ञका रूपमा विराजमान हुने नाउँ हुन सकेको हो । यिनै कारण जोडिन जानाले नै उनी जुनै राजनीतिक सिद्धान्तकी भए पनि उनीबारे उनको विपरीत राजनीतिधारको मजस्तो गैरगणतान्त्रिक लेखकले समेत इमानपूर्वक घोत्लिनै पर्छ भन्ने समयले नै निर्देश गरिदियो ।

सहाना प्रधानजस्ती चोखी राजनीतिज्ञको जीवनकथा अहिलेको बिटुलिएको राजनीतिक वातावरणमा जनमाझ पु¥याएर मैले उनीप्रति पनि न्याय नै गरेँ भन्ने मलाई लागेको छ । हुन त म पूर्वकम्युनिस्ट थिएँ । बाह्र वर्षअघिकै उमेरमा मलाई कम्युनिस्ट बनाउने नेता नन्दकुमार प्रसाईं थिए । अनि झापा विद्रोहका नायक शिवप्रसाद शिवाकोटीसँग विद्रोहका प्रारम्भिक दिनमा त्यसै विद्रोहमा म लहसिएको थिएँ । २०५१ सालको कुरा हो– नेपालका प्रायः कम्युनिस्टहरूको राजसी हाजिरी देखेर शिव दाइ तीन छक्कै परेका थिए । त्यति बेला उनी कमरेडहरूको चालामाला देखेर रोएका थिए । त्यस बेला उनले मलाई भनेका थिए– ‘भाइ ! हामीले जनउत्थान र देशको समृद्धिका लागि ज्यानको बाजी लगायौँ, माटो गुमायौँ र जनधन नै पनि गुमायौँ । २०४६ साल आउँदा मैले त केही न केही रूपमा जनताको शासन आयो भन्ठानेको थिएँ तर होइन रहेछ । कमरेड ठानिएकाहरूलाई पैसा, पद र कुर्सी मात्र नै चाहिएको रहेछ । शिर ठाडो पारेर हिँडेको कम्युनिस्टको सिद्धान्तलाई २०४६ सालपछि मूर्छित पारिएको रहेछ । अब त म आफूलाई कम्युनिस्ट भन्न पनि ग्लानि हुने भयो । तिमीले बेलैमा कम्युनिस्टको सिद्धान्त छाडेर मुक्ति लिएछौ । मैले पहिला गरेको कृत्यउपर मलाई पछुतो र लाज हुने काम यिनीहरूको चालचलनले पारिदिएको छ । तर पनि मेरो मनभित्र एउटा झिनो आशा भने टाँस्सिएकै छ– ‘कुनै दिन मेरो सिद्धान्तको कम्युनिस्ट बहुरिएर पनि आउन सक्ला !’ अनि मेरा अर्का कम्युनिस्ट गुरु नन्दकुमार प्रसाईं “खाऊँ भने कान्छा बाबुको अनुहार र नखाऊँ भने दिनभरिको सिकार” भनेर अहिलेको राजनीतिमा वितृष्णको थुक निल्दै हिँड्ने गरेको पनि म देखिरहेको छु ।

म एउटा गैरगणतान्त्रिक लेखक हुँ । त्यस्तो सिद्धान्तको लेखकले अर्का गणतान्त्रिक राजनेताको जीवनी लेख्ता कस्तो हुन्छ कुन्नि ! अनि सहाना प्रधानको जीवनी लेख्तै म पनि त्यही स्वादमा डुबिरहेको छु । अरूहरूलाई चित्त बुझोस् या टाउको दुखोस्, लेखनका मामलामा छिरेपछि म निष्पक्ष हुने प्रयास गर्छु । यति हुँदाहुँदै पनि कतै भूल गरेर म चिप्लिहालेँ भने मलाई सतर्क गराइदिन हुन समस्त पाठकसँग अनुरोध गर्दछु ।

विगतमा सहाना प्रधानको जीवनी कुनै दिन लेखौँला भनेर मैले एक प्रतिशत पनि सोचेको थिइनँ । तर उनीबारे अध्ययन गर्दै जाँदा उनले मेरी आमा भागीरथा प्रसाईंको झैँ कठोर दुक्ख पाएकी रहेछिन् । उनको जीवनले पनि मेरी आमाको झैँ सुनजस्तै सुख र पित्तलजस्तै दुक्ख भोगेको रहेछ । त्यति मात्र नभएर उनी देश र जनताका लागि आधा शताब्दीभन्दा धेरै समयसम्म भोकतिर्खै हिँडेकी रहेछिन् । अनि मैले उनको जिन्दगानी पढेर त्यसलाई नाघेर हिँड्न पनि सकिनँ । त्यसैले मैले उनीबारे लेख्न थालेँ । मेरो गच्छे, स्रोत र विवेकले भ्याएसम्मको मैले उनीबारेको खोज, अन्वेषण र अनुसन्धान गरेँ । अनि मैले ‘ढुङ्गाको कापमा झाङ्गिएको पीपल नै सहाना प्रधान हुन्’ भन्ने निष्कर्ष निकालेँ ।

“ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान” मैले मेरै मनमा गाँठो पारेर राखेको थिएँ । अनि त्यो वीजारोपण गर्ने पनि एक जना मेरी छोरी थिइन्– लोग्शरी कुँवर । उनैले सहाना प्रधानबारे लेख्न मलाई बाध्य पारिन् । मैले सहाना प्रधान लेख्न थालेँ तापनि उनी मलाई हुटहुटी लगाउन मेरो घरमा धाइरहिन् । उनले बराबर नकराएकी भए सायद मेरो मनबाट सहाना प्रधान मेरै अल्छीपनमा नै बिलाएर पनि जान सक्थ्यो होला । त्यसैले मैले लोग्शरीलाई ‘प्रिय छोरी तिमीलाई धन्यवाद’ भन्नै पर्छ ।

“ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान”को बारेमा मेरो लेखनीको सार्वजनिक रूपमा बयान गरिदिने आदरणीय दाजु वामदेव गौतम र प्रिय बहिनी रामकुमारी झाँक्रीलगायत तमाम पाठकगणप्रति म अनुगृहीत छु ।

मेरा मित्र जिवेन्द्र सिम्खडा ‘अन्नपूर्ण पोस्ट’को प्रधान सम्पादक भएका बेला त्यस पत्रिकामा स्तम्भकार भएर मैले पाँच वर्ष नियमित लेखेको थिएँ । त्यही कालखण्डमा त्यस पत्रिकामा मैले महाकवि देवकोटाको जीवनी पनि लेखेथेँ । अनि ‘अन्नपूर्ण पोस्ट’मा छापिएका ती सबै लेख बटुलेर २०६६ सालमा मैले ‘देवकोटाको जीवनशैली’का नाउँमा सो ग्रन्थ प्रकाशनमा ल्याएको थिएँ । त्यस बेला ‘अन्नपूर्ण पोस्ट’मा त्यसरी लेख प्रदान गर्न मलाई हुटहुटी लगाउने चाहिँ मेरा प्रिय भाइ राजकुमार रेग्मी हुन् ।

रातोपाटीमा सम्पादक भएपछि जिवेन्द्र सिम्खडाबाट मलाई एउटा न्यानो प्रस्ताव आएको थियो ‘देवकोटाको जीवनशैली’ जस्तै केही नयाँ रचनात्मक काम गरौँ न !’ सिम्खडाबाट आग्रह भएपछि ‘ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान’को चित्र धारावाहिक रूपमा रातोपाटीमा नै छाप्ने हामीमाझ वाचा बन्धन भयो । अनि २०७७ साल असार २७ गते सहाना जयन्तीदेखि साप्ताहिक रूपमा रातोपाटीले मेरो यो जीवनीकृति प्रकाशनमा ल्याउन थालेको थियो ।

 ‘ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान’को लेखनको इतिहास भ्रुण पनि बेग्लै छ । कुरा के हो भने– ‘तिमी नारीवादी साहित्यकार पनि हौ । त्यसैले तिमीले स्वच्छ छविकी, नैतिकशील र राष्ट्रवादी विदुषी सहाना प्रधानको समेत जीवनी लेख्नै पर्छ’ भनेर जबरजस्ती गर्ने मेरी पुरोधिका इन्दिरा प्रसाईं हुन् । उनले मेरा कृति बढोत्तरी गर्न यस्तै खाले एकएक बहाना गर्ने गरेकी हुन्छिन् । उनको त्यही बहानाको प्रतिफलका कारण पनि मैले यस कृतिलाई जनमाझ ल्याउन सकेको हुँ । साथै मेरो लेखनलाई गर्व मानेर मलाई थप जाँगरिलो पार्न मेरो छोरो डा. कञ्चनजङ्घा प्रसाईं उद्धत भइरहने कारण मैले चाहेको समयपूर्वै साहना प्रधानको बिट मार्न सकेको हुँ ।

मैले प्रत्यक्ष चिनेका र मेरा प्रिय अनाम पाठकहरू मेरा लागि अजस्र प्रेरणाका स्रोत भएको कुरा म सधैँ सम्झने गर्छु । ती पाठकबाट मैले पाउँदै आएको स्नेह, प्रेरणा र आशीर्वाद मेरो लेखनका ऊर्जा भएका छन् । मेरा सम्पूर्ण पाठकप्रति म सदा अनुगृहीत पनि छु ।

(नरेन्द्रराज प्रसाईंकृत सहाना प्रधानको जीवनी समाप्त भएको छ । “ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान”नामक कृतिको प्रतीक्षा गर्नुहोला ।) 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप