शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कविता

म पचाल झरना

शनिबार, २० मङ्सिर २०७७, ०९ : ०२
शनिबार, २० मङ्सिर २०७७

  

 

 

 

–प्रकाश न्यौपाने

जति अग्लो भएर झरेको छु
जति ठूलो भएर उँधो खसेको छु
त्यति नै
उभा ठडिएका
ठूला दुःख छन् मेरा,
त्यति नै 
अग्ला व्यथा छन् मेरा 
सुन्न र सुनाउन बाँकी कैयौँ
कथा छन् मेरा 
 म पचाल झरना ।

देख्नेका आँखाहरूले 
फगत पानी बगेको देख्छन्
तर
म पानी हैन
आँशु बनेर युगौँदेखि
खसिरहेछु
विश्वास लागेन भने
चाखेर हेर्नुहोस् हुजुर
मेरो नुनिलो स्वाद 
 म पचाल झरना ।

हेरिरहेछु म वर्षौंदेखि
मेरै आँखा अगाडिबाट
फाटेका कुर्कुच्चा बोकेर
हिँडेका भरियाहरूलाई
तर
अहँ...
कहिल्यै फर्केर एक टक 
मतिर हेरेर सुस्ताउने समय मिलेन उनीहरूलाई
सायद
विचरा... तिर्खाएका छन् उनीहरू पनि 
म जस्तै सागर भेट्न
म पचाल झरना ।

नआएका होइनन्
हातमा फित्ता र औजार बोकेर
देशलाई दिमाखले नाप्नेहरू
तर 
नापेर गए मेरो टुप्पो र छेउ
खै..
कसले नाप्ने मेरो गहिराइ
र त
सदियौँदेखि  म गुमनाम छु 
म पचाल झरना ।

आफ्नै आँगनको सरकारले
 चिनेन हुजुर मलाई
त्यो परको सिंहदरबारले के चिन्थ्यो ।
अनि 
सुनेको छु मेरै नाम बेचेर
मैभन्दा अग्ला रहर खडा गरेका छन् अरे
सहरतिर
तर
आज पनि म भने 
आँखा अगाडि साँघुरिँदै गएको
 आँगन देखेर रोइरहेछु 
म पचाल झरना ।

अचेल 
आउँछन कहिलेकाहीँ
देश दर्शन गर्न 
यही बाटो भएर बटुवाहरू
घरि मलाई हेर्छन्, घरि छेउको बस्ती हेर्छन
घरि छेउको बस्ती हेर्छन्, फेरि मलाई हेर्छन् 
घरि आहा...! गर्छन्
घरि कठै...! गर्छन् 
म भने यता
बस्तीमा पसेको भोकमरी र गरिबी 
देखेर खसिरहेछु,
आँखा अगाडि साँघुरिँदै गएको
 आँगन देखेर रोइरहेछु 
हो
म गुमनाम– बेखबर पचाल झरना ।

रास्कोट नपा, कालिकोट, कर्णाली 

(कालिकोट, कर्णाली प्रदेशमा रहेको पचाल झरना नेपालको मात्र नभएर एसियाकै अग्लो झरना रहेको दाबी गरिएको छ । तर यसको उचित व्यवस्थापन, प्रचार प्रसार र संरक्षण नगरिँदा गुमनाम छ ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा