शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीर गोर्खालीद्वारा चितवनमा मोटरसाइकल र्‍याली

शनिबार, २० मङ्सिर २०७७, १५ : ४५
शनिबार, २० मङ्सिर २०७७

काठमाडौँ । राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम हुन थालेको छ । 

वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिकहरु देशमा पुनः राजसंस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेको राजावादीहरुको भनाइ छ । 

सोही क्रममा वीर गोर्खाली अभियानले पनि चितवनमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्‍याली प्रदर्शन गरेको छ । ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै शनिबार मोटरसाइकल र्‍यालीसहित विशाल प्रदर्शन भएको हो । 

राष्ट्रिय झण्डा र पूर्व राजारानी (ज्ञानेन्द्र–कोमल) शाहको तस्बिर अंकित टिसर्ट लगाएर भरतपुरस्थित पारस बसपार्कबाट चौबिसकोठी, पुल्चोक हुँदै बाइपास रोड, मालपोत चोकबाट पुनः पारस बसपार्कमा पुगेर र्‍याली कोणसभामा परिणत भएको हो । 

र्‍यालीमा करिब ५ हजारभन्दा धेरै मोटरसाइकल सहभागी रहेको आयोजकको दाबी छ । र्‍यालीपछि पारस बसपार्कमा भएको कोणसभामा बोल्दै वीर गोर्खाली अभियन्ता बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबी गरे । 

उक्त कार्यक्रममा अभियन्ताहरु नगेन्द्र देउजा, बिपिन तण्डुकारलगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।

कार्यक्रम सञ्चालक सौरभ भण्डारीले अहिलेको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।

विगतदेखि राजसंस्था र राष्ट्रियताका लागि आवाज उठाउँदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघसंस्थाहरुलाई एकै ठाउँमा संगठित गर्ने काम वीर गोर्खाली अभियानले गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप