शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : पार्टी एकीकरणका बाबजुद मुख्यमन्त्री नफेरिने

आइतबार, २१ मङ्सिर २०७७, १५ : ३५
आइतबार, २१ मङ्सिर २०७७

काठमाडौं । प्रदेश २ को सत्तारुढ गठबन्धन तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भए पनि सो प्रदेशका मुख्यमन्त्रीमा लालबाबु राउत नै कायम रहने भएका छन् । पार्टी एकतासँगै साबिकका सत्तारुढ दुई दलका संसदीय दलसमेत समायोजन गरी जनता समाजवादी पार्टीको संसदीय दल गठन हुने र संसदीय दलको नयाँ नेता प्रदेश सरकारको मुख्यमन्त्री बन्ने चर्चा चलेको थियो । तर जनता समाजवादी पार्टीले तत्काल मुख्यमन्त्री नफेर्ने मनस्थिति बनाएको छ ।

संघीय सरकारको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको जनता समाजवादी पार्टीले प्रदेश २ मा नेकपाकै जस्तो समस्या नदेखियोस् भन्नेमा सतर्कता अपनाउँदै आन्तरिक कलह बढ्ने कुनै पनि कदम नउठाउने निर्णय गरेको हो । प्रदेश २ सरकारको नेतृत्व गरेको सो पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गर्दा आन्तरिक कलह बढ्न सक्ने र प्रदेशमा अस्थिरता निम्तिन सक्ने आँकलन गरी एकीकृत संसदीय दलको नेतामा पनि राउतलाई नै कायम राखेर प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिन चाहेको हो ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद देखेर जसपा नेपालका नेताहरु आफ्नो दलभित्र पनि यस्तै विवाद बढ्ने त होइन भन्नेमा त्रसित हुन थालेका छन् । प्रदेश २ मा सरकार सञ्चालन गरिरहेको जसपाले तत्काल प्रदेश सरकारमा परिवर्तन गर्नासाथ पार्टीमा विवाद उत्पन्न हुने आँकलन गरी वर्तमान सरकारलाई नै निरन्तरता दिने सोच बनाएको स्रोत बताउँछ ।

तत्कालीन समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका राउतलाई विस्थापन गर्ने पक्षमा केही नेता देखिएका थिए । पार्टी एकीकरण भएका कारण सरकार परिवर्तन हुनुपर्छ भनेर राजपा नेपालका नेताहरुले आवाज उठाउँदै आएका थिए । प्रदेश २ को मुख्यमन्त्री नै फेरेर नयाँ मन्त्रीमण्डल बनाउनुपर्ने भन्दै तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका केही नेताले जसपा नेपालको शीर्ष नेताहरुको ध्यानाकर्षण पनि गराएका थिए । तर शीर्ष नेताहरु मुख्यमन्त्री फेर्नेमा सहमत हुन सकेका छैनन् ।

स्रोतका अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री तथा केही मन्त्रीले सरकार परिवर्तन गरेर देखाउन पार्टी नेतृत्वलाई नै चुनौती दिँदै आएका छन् । कतिपय मन्त्रीले सरकार परिवर्तन गर्ने प्रयत्न भएमा पार्टी विभाजन हुने चेतावनीसमेत दिएका छन् ।  प्रदेश २ जसपा नेपालको सबैभन्दा बलियो जनाधार भएको प्रदेश हो । सो पार्टीका अधिकांश शीर्ष नेता प्रदेश २ बाटै प्रतिनिधित्व गर्दछन् । केही तलमाथि भयो भने पार्टी विखण्डन हुने र आफ्नो जनाधारसमेत गुम्ने भय नेताहरुमा छ । यस अतिरिक्त लालबाबु राउतलाई हटाएर कसलाई मुख्यमन्त्री बनाउने भन्ने चुनौती पनि नेताहरु समक्ष खडा हुन्छ ।

मुख्यमन्त्री परिवर्तन गर्ने अवस्था आउनासाथ दावेदारहरुको लाइन लाग्ने देखिन्छ । जितेन्द्र सोनल, विजय यादव, मनिष सुमन, योगेन्द्र राय यादव, कौशलकुमार यादव, उपेन्द्र महतो, शैलेन्द्र साह लगायतका नेताले मुख्यमन्त्रीका लागि दावेदारी प्रस्तुत गरिसकेका छन् । पछिल्लो समय तत्कालीन राजपा नेपालका नेताहरु नै मुख्यमन्त्री फेर्न नहुने निष्कर्षमा पुगेको अवस्थामा तत्कालीन समाजवादी पार्टीका नेताहरुले मुख्यमन्त्री राउतको विकल्प खोज्नुपर्ने कारण नै नरहेको जसपा नेपालका एक नेताले बताए । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि लालबाबु राउतलाई ढुक्क भएर काम गर्न भनिसकेको स्रोतले जनाएको छ । सुरुमा मुख्यमन्त्री फेरिने कुरा उठेपछि राउतले अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको र यादवले मुख्यमन्त्री फेर्नेबारे पार्टीमा कुरा नउठेको जवाफ दिएर मुख्यमन्त्री राउतलाई ढुक्क भएर काम गर्न निर्देशन दिएको स्रोत बताउँछ ।

जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर पनि प्रदेश २ को मुख्यमन्त्री फेर्ने पक्षमा छैनन् । अहिले मुख्यमन्त्री फेर्न थालेमा पार्टीमा विवाद उत्पन्न हुने सम्भावना रहने भन्दै उनले पनि राउतलाई नै निरन्तरता दिनुपर्ने ठहर गरेको बताइन्छ । मुख्यमन्त्री परिवर्तन गर्नासाथ अन्य मन्त्रीहरु पनि फेर्न दबाब बढ्ने र त्यो अवस्थामा पार्टीभित्र अनेकथरी दबाब बढ्न सक्ने भन्दै शीर्ष नेताहरु प्रदेश २ सरकारलाई कुनै असर नहुनेगरी पार्टी समायोजनको काम टुंग्याउन प्रयासरत रहेको स्रोतले जानकारी दिएको छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य दानबहादुर चौधरीले प्रदेश २ को मुख्यमन्त्री नफेरिने लगभग निश्चित भएको बताए । उनले भने, ‘मुख्यमन्त्री परिवर्तन गर्न पार्टीमा व्यापक कुरा उठेको थियो तर अहिले त्यसलाई मिलाउने काम पार्टीका शीर्ष नेताहरुले गर्नुभएको छ । दुवै पार्टीका नेताहरुले आपसमा कुराकानी गरी मिलाईसक्नु भएको छ । अब त्यहाँका मुख्यमन्त्री परिर्वतन हुँदैन । एक÷दुईजना मन्त्री फेरिन सक्छ, नभए त्यो पनि हुँदैन ।’

प्रदेश सभाको कार्यकाल करिब दुई वर्षमात्र बाँकी छ । त्यसैले पनि पार्टीले कुनै जोखिम उठाउन नचाहेको जसपा नेपालका एक वरिष्ठ नेताले बताए । ‘चुनावको मुखमा पार्टीमा विवाद ल्याउनु राम्रो होइन, जसोतसो यही सरकारलाई निरन्तरता दिने सोच बनेको छ तर निर्णय भएको छैन,’ उनले भने, ‘प्रदेशमा समायोजन हुन बाँकी छ । यदि समायोजन भयो भने लालबाबु राउतलाई प्रदेश २ प्रदेशसभाका संसदीय दलका नेता बनाउने सोच बनेको छ ।’  संसदीय दलको नेता बनाउन झन्झट भयो भने प्रदेशसभाको यो कार्यकाल यथास्थितिमै पूरा गर्ने सोच पनि पार्टी नेतृत्वले बनाएको जसपा स्रोतले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप