शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिनावारी अनियमित किन हुन्छ ?

महिनावारीका बारेमा महिलाले जान्नैपर्ने यी कुरा
मङ्गलबार, २३ मङ्सिर २०७७, ०९ : ५१
मङ्गलबार, २३ मङ्सिर २०७७

काठमाडौं । शारीरिक विकास एउटा चरणमा पुगेपछि महिलामा रजस्वला सुरु हुन्छ । यसलाई ‘महिनावारी’ पनि भनिन्छ । साधारणतया किशोरी अवस्थामा पुगेपछि महिलामा महिनावारी सुरु हुन्छ । महिनावारी सुरु हुनुलाई महिला शारीरिक रुपमा परिपक्व भएको प्राकृतिक संकेतका रुपमा पनि बुझिन्छ ।

गर्भाशयले बनाएको रगतको तह योनीमार्ग हुँदै शरीरबाट बाहिर निस्कन्छ । यो प्रक्रिया सामान्यतया २८ दिनको अन्तरमा चलिरहन्छ । तर यो नियमित नै हुन्छ भन्ने होइन । पहिलो पटक महिनावारी भइसकेपछि कतिपयमा यो चक्र अनियमित पनि हुन सक्छ ।

नियमित समयमा महिनावारी हुनुलाई नियमित महिनावारी भन्ने गरिन्छ । नियमित महिनावारी भन्नाले प्रत्येक २८ दिनमै हुनुपर्छ भन्ने होइन । कसैमा महिनावारीको अन्तराल २८ दिनभन्दा कम पनि हुन सक्छ भने कसैमा त्योभन्दा बढी पनि हुन सक्छ । महिनावारीको अन्तराल समान रुपमा भइरहन्छ भने त्यसलाई नियमित महिनावारी भनिन्छ ।

३ देखि ५ हप्ताको अन्तरालमा महिनावारी हुनुलाई सामान्य मानिन्छ । तर, औसत महिलाहरुमा ४ हप्ताको अन्तरालमा यो चक्र पूरा हुने भएकाले यसलाई ‘महिनावारी’ भनिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयको अन्तरालमा महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । त्यसैगरी कहिले धेरै छिटो र कहिले धेरै ढिलो रजस्वला हुनुलाई पनि अनियमित महिनावारी भनिन्छ ।

कतिपयमा महिनावारी बन्द भइसकेपछि पनि अनियमित रुपमा रगत बग्ने गर्दछ । तर त्यसलाई महिनावारी भन्न नमिल्ने डा. कृतिपाल सुवेदी बताउँछन् । योनीमार्गको सतह पातलो भइ रक्तकोषिका फुटेर रगत जानुलाई चिकित्सकीय भाषामा ‘भजाइनल एट्रोफी’ भनिन्छ । पाठेघरको भित्रको सतह पातलो भएर रगत बग्नुलाई ‘एट्रोफिक इन्डोमेट्राइटिस’ भनिन्छ । पाठेघर र पाठेघरको मुखको क्यान्सर हुँदा यसरी रगत बग्न सक्ने डा. सुवेदी बताउँछन् ।

महिनावारी हुन सुरु भएदेखि रजनोवृत्ति नहुन्जेल र रजनोवृत्ति भएपछि पनि कतिपय महिलाहरुको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखापर्ने उनी बताउँछन् ।

महिनावारी किन गडबड हुन्छ भन्नेबारे धेरैले वास्ता गरेको पाइँदैन । तर जानकारीको अभावमा धेरैले पछि गएर ठुलो समस्या झेल्नु परेको पाइन्छ ।

प्रस्तुत छ, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. कृतिपाल सुवेदीका शब्दमा महिनावारी र यससँग सम्बन्धित सामान्य जानकारी–

महिनावारी किन गडबड हुन्छ ?

—किशोरीमा शारीरिक परिपक्वतामा ढिलो/छिटो हुँदा महिनावारीको चक्र प्रभावित हुन सक्छ । किशोरीको मेच्युरिटी नपुगेर पहिलो पटक महिनावारी भएपछिको एक÷ढेड वर्षसम्म पनि महिनावारी नहुने वा अनियमित हुन सक्छ ।

—महिनावारी ढिलो÷छिटो हुँदा औषधि सेवन गरेमा महिनावारी झन् अनियमित हुन सक्छ । किनभने औषधि विक्री गर्ने सबैलाई हर्मन कसलाई कति दिने भन्ने थाहा हुँदैन ।

—परिवार नियोजनको अस्थायी साधनका रुपमा औषधि सेवन गर्नेहरुले बीचमै छाड्दा पनि महिनावारी गडबड हुन्छ ।

—परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग र साइड इफेक्टले पनि महिनावारी अनियमित हुन्छ ।

—गर्भपतन गराउँदा, सुत्केरी हुँदा र सालबाट उत्पन्न हुने ट्युमरहरुका कारण पनि महिनावारी अनियमित हुन्छ ।

—यौन अंगमा संक्रमण वा प्रजनन् अंगमा ट्युमर पलाउँदा महिनावारी अनियमित  हुन सक्छ ।

रजनोवृत्ति हुने क्रममा महिनावारी किन गडबड हुन्छ ?

महिनावारी बन्द हुने क्रममा पनि यो अनियमित हुन्छ । नेपालमा महिलाहरुको महिनावारी कुन उमेरमा बन्द हुन्छ भनेर प्रभावकारी ढंगले अनुसन्धान भएको छैन । एउटा पुरानो अनुसन्धानले ४७ देखि ५० वर्षसम्मको उमेरमा महिनावारी बन्द हुन सक्ने देखाएको छ ।    

—महिनावारी सुरु भएदेखि बन्द नहुँदासम्मको अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द हुने  महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ ।

— महिनावारी नियमित रुपमा हुँदै आएको महिलामा एकै पटकमा बन्द वा रजनोवृत्ति हुन पनि सक्छ ।

—केही महिलामा रजनोवृत्ति हुनुभन्दा अघि अनियमित महिनावारी हुन्छ । जस्तै, एक–एक महिनामा भएको महिनावारी सरेर तीन–तीन महिनामा हुने, त्यसपछि पुनः सरेर सात–सात महिनामा हुने, अनि बल्ल महिनावारी बन्द हुन सक्छ ।

—रजनोवृत्ति हुनु पूर्व महिनावारी हुँदा कहिले धेरै रगत बग्ने र कहिले कम रगत बग्ने पनि हुन्छ । त्यसपछि महिनावारी सुक्छ ।

रजनोवृत्ति बन्द भएपछि यस्ता समस्या देखापर्न सक्छ

महिनावारी बन्द हुनु भनेको अण्डासयले काम गर्न छाड्नु हो । त्यसैले यस्तो अवस्थामा निम्न समस्या देखा पर्न सक्छ ।

—रजनोवृत्ति भएपछि मुटु ढुकढुक भएर डर लाग्ने पनि हुन्छ ।

—एकैछिनमा जाडो भएजस्तो हुने, एकैछिनमा गर्मी भएकोजस्तो अनुभव हुन सक्छ

— यौनाङ्ग सुखा हुने, पोल्ने, चिलाउने आदि अल्पकालीन समस्या पनि देखिन सक्छ ।

—रजनोवृत्ति भएपछि दीर्घकालीन समस्याको रुपमा हड्डी खिइन थाल्छ । सामान्य तरिकाले ठोक्किँदा, लड्दा हड्डी फुट्ने, भाँचिने हुन्छ ।

– रजनोवृत्ति भइसकेपछि यौन क्षमतामा ह्रास आउने, यौनाङ्ग सुखा हुने, पोल्ने, चिलाउने, चिटचिट हुने आदि समस्याका कारण केही महिला डिप्रेसनमा पुग्ने गरेको पनि पाइन्छ ।

महिनावारी अनियमित हुनबाट बच्ने उपाय

—महिनावारी धकेल्न वा रोक्नका लागि औषधि सेवन नगर्ने ।

—चिकित्सकसँग सल्लाह गरेरमात्रै गर्भनिरोधक औषधि सेवन गर्ने ।

—महिनावारी गडबड भएमा विशेषज्ञको सल्लाहविना कुनै हार्मोन वा औषधि सेवन नगर्ने ।  

—नियमित रुपमा शारीरिक अभ्यास गर्ने ।

—महिनावारी हुँदा पेट, कम्मर दुखेमा हटवाटर ब्यागले दुखेको भागमा सेक्ने । पेट दुखेर गाह्रो भएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने ।

– सफा पानीले नियमित रुपमा यौनाङ्ग सफा गर्ने ।

—महिनावारी हुँदा तरल पदार्थ बढी सेवन गर्ने र नियमित रुपमा आइरन, भिटामिन र पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप