शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सयभन्दा बढी हिट दिने बलिउडका एकमात्र स्टार धर्मेन्द्रबारे ५० रोचक जानकारी

मङ्गलबार, २३ मङ्सिर २०७७, १० : १६
मङ्गलबार, २३ मङ्सिर २०७७

१. ८ डिसेम्बर १९३५ मा पंजाबमा जन्मिएका फिल्म अभिनेता तथा निर्माता धर्मेन्द्रको पूरा नाम धरम सिंह देओल हो ।

२. धर्मेन्द्रका पिता विद्यालयका प्रधानाध्यापक थिए ।

३. आफ्नो गाउँभन्दा निकै टाढा धर्मेन्द्रले एक सिनेमाघरमा सुरैयाको फिल्म ‘दिल्लगी’ हेरे र उनी यसबाट यति प्रभावित भए कि उनले आफ्नो करियर फिल्ममा बनाउने निश्चय गरे ।

४. धर्मेन्द्रले ४० दिनसम्म दैनिक ‘दिल्लगी’ हेरे र यो फिल्म हेर्न निकै टाढा पैदलको यात्रा गरे ।

५.धर्मेन्द्रलाईृ जब फिल्मफेयर नामको पत्रिकाले नयाँ प्रतिभाको खोजी गरिरहेको छ भनेर थाहा भयो तब उनले फर्म पठाए ।

६. धर्मेन्द्रले कतैबाट पनि अभिनय सिकेनन् तर पनि उनले थुप्रै प्रतिभाशाली मानिसहरुलाई पछि पारेर उक्त ट्यालेन्ट हन्टमा छानिए ।

७. धर्मेन्द्रलाई लाग्यो कि अब उनलाई फिल्ममा अघि बढ्न कसैले पनि रोक्न सक्दैन । तर यो उनको सपना मात्रै भयो । उनले असाध्यै संघर्ष गर्नुपर्यो । कति दिन त उनले चना मात्र खाएर बेन्चमा रात गुजार्नु पर्यो ।

८. फिल्म निर्मातालाई अफिसमा भेट्नका लागि उनी पैदल नै यात्रा गर्दथे, यसो गरेर उनी यात्राको पैसा जोगाउन चाहन्थे ।

९. एकपटक धर्मेन्द्रसँग खानाका किन्न पैसा थिएन । थाकेका–हारेका उनी आफ्नो कोठामा पुगे जहाँ उनका रुम पार्टनरले एक प्रकारको औषधीय गुण भएको झारको प्याकेट राखेका थिए । भोक मेट्नका लागि धर्मेन्द्रले त्यो पूरा प्याकेट एकैपटक खाइदिए । बिहान उनको स्थिती खराब भयो र उनलाई अस्पताल पुर्याइयो । डाक्टरले उनको सबै कुरा सुनेपछि उनलाई औषधीको नभई खानाको आवश्यक भएको बताए ।

१०. अर्जुन हिंगोरानीको फिल्म दिल भी तेरा हम भी तेरे (सन् १९६०) बाट धर्मेन्द्रले आफ्नो करियरको सुरुवात गरे । हिंगोरानी परिवारलाई धर्मेन्द्रले जीवनभर कृतज्ञता व्यक्त गरे र उनको थुप्रै फिल्ममा काम गरेबापत् उनले नाम मात्रको पैसा लिए ।

११. माला सिन्हा, नूतन, मीना कुमारीजस्ता त्यतिबेलाका चर्चित नायिकासँग धर्मेन्द्रले काम गरे ।

१२. धर्मेन्द्रको जिउडाल पहलवानको जस्तो थियो । यो देखेर थुप्रै निर्माताले उनलाई अभिनय छोडेर अखडा जान सल्लाह दिए । कतिले त ‘पहलवान, गाउँ फर्किउ’ समेत भने ।

१३. फूल और पत्थर धर्मेन्द्रको करियरको पहिलो ठूलो हिट थियो । यसमा उनले शर्टलेस भएर दर्शकलाई चकित पारिदिए तर यसका लागि उनले आलोचना पनि खेप्नुपर्यो ।

१४. फूल और पत्थरको सुटिङका बेला फिल्म अभिनेत्री मीना कुमारीसँग उनी नजिकिएको भनेर चर्चा बन्यो । मीना कुमारीसँगको संगतमा उनलाई सायरीको शौख लाग्यो र उनलाई सयौं सायरी याद हुन्थ्यो ।

१५. धर्मेन्द्र र मीना कुमारीको निकटताले मीनाका श्रीमान् कमाल अमरोही रिसाए । वर्षौंपछि उनले धर्मेन्द्रलाई लिएर ‘रजिया सुल्तान’ बनाए । एक दृश्यमा उनले धर्मेन्द्रको मुख कालो पारिदिए । उनले यस्तो दृश्य जानीजानी फिल्ममा समावेश गरेको बताइन्छ र

१६. धर्मेन्द्रलाई एक्सन हिरोको रुपमा चिनिन्थ्यो तर धर्मेन्द्रले थुप्रै हास्य र रोमान्टिक फिल्ममा पनि काम गरेका छन् ।

१७. हिन्दी फिल्म इतिहासका सबैभन्दा सुन्दर हिरोमध्ये एकमा धर्मेन्द्र पनि पर्छन् । उनको स्वास्थ्य र अनुहारको चमक देखेर अभिनेता दिलिप कुमारले पनि एकपटक भनेका थिए, ‘म अर्को जनममा धर्मेन्द्र जस्तो विशेषता पाउन चाहन्छु ।’

१८. धर्मेन्द्रले दिलिप कुमारको असाध्यै इज्जत गर्छन् । उनी दिलिपलाई आफ्नो दाइ मान्छन् र धेरैजसो दिलिप कुमारको खुट्टामा बस्छन् । दिलिप कुमारलाई भेट्नका लागि उनी नियमित अन्तरालमा उनको बंगलामा गइरहन्छन् ।

१९. गोबिन्दा धर्मेन्द्रका निकै ठूलो प्रशंसक हुन् । जब गोबिन्दाकी श्रीमती गर्भवती थिइन् तब उनले श्रीमतीलाई धर्मेन्द्रको फोटो दिएका थिए ता कि उनीहरुको सन्तान धर्मेन्द्रजस्तै सुन्दर देखियोस् । यो कुरा धर्मेन्द्रलाई थाहा भएपछि उनको आँखामा आँसु आएको थियो ।

२०. ऋतिक रोशन पनि धर्मेन्द्रका प्रशंसक हुन् । वाल्यकालमा उनको कोठामा धर्मेन्द्रको एउटा ठूलो पोस्टर राखिएको थियो । केही वर्ष अघि ऋतिकको मस्तिष्कको शल्यक्रिया भएको थियो । ठिक भएपछि सबैभन्दा पहिले उनले धर्मेन्द्रलाई नै फोन गरेका थिए ।

२१. धर्मेन्द्र सलमान खानका पनि प्रिय हुन् । धर्मेन्द्रले पनि थुप्रै पटक भनिसकेका छन् कि सलमान र उनमा थुप्रै समानता छन् र उनी पनि जवानीको दिनमा सलमान जस्तै थिए ।

२२. सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’ मा काम गरेबापत् धर्मेन्द्रले एक पैसा पनि लिएनन् । फिल्मको लामो आउटडोर तालिका थियो । सलमानका पिता सलिम खानले आफ्नो छोरालाई धर्मेन्द्रको विशेष ध्यान दिन भनेका थिए ।

२३. सन् २००४ मा धर्मेन्द्रले भारतीय जनता पार्टीको टिकटबाट बिकानेरबाट चुनाव लडेका थिए र उनी विजयी पनि भएका थिए ।

२४. धर्मेन्द्रले पहिलो विवाह १९ वर्षको उमेरमा प्रकाश कौरसँग गरेका थिए । धर्मेन्द्रले आफ्नी श्रीमतीलाई मिडियाबाट सधैं टाढा राखे ।

२५. धर्मेन्द्र र हेमा मालिनीको जोडी बलिउड इतिहासको चर्चित जोडीमध्ये एक हो । दुबैले लगातार थुप्रै सुपरहिट फिल्म दिए ।

 २६. लगातार हेमा मालिनीसँग काम गरेपछि धर्मेन्द्रले हिमा मालिनीलाई मन पराउन थाले । त्यतिबेला हेमालाई संजीव कुमार र जितेन्द्रजस्ता अभिनेताले पिछा गरेका थिए । तर उनीहरु सबैलाई पछि पार्दै धर्मेन्द्रले बाजी मारे र हेमालाई आफ्नो बनाए ।

२७. जितेन्द्र र हेमा मालिनी विवाह गर्ने तयारीमा भएका बेला धर्मेन्द्रले जितेन्द्रको अर्की प्रेमिकाबारे कुरा लगाइदिएर विवाह रोकिदिएको पनि बताइन्छ ।

 २८. शोलेमा उनी ठाकुरको भूमिका निभाउन चाहन्थे तर निर्देशक रमेश सिप्पी धर्मेन्द्रले वीरुको भूमिका निभाउन् भन्ने चाहन्थे । धर्मेन्द्र नमान्दा रमेशले हेमा मालिनीको भूमिका संजीव कुमारलाई दिने धम्की दिए । धम्कीले काम गर्यो, धर्मेन्द्र तत्काल वीरुको भूमिका निभाउन तयार भए ।

२९. शोलेको रोमान्टिक सुटिङका बेला धर्मेन्द्रले जानीजानी गल्ती गर्दथे, हेमासँग धेरै समय बिताउने लोभमा । उनी स्पट बोयलाई पनि गल्ती गर्नका लागि पैसा दिन्थे ।

३०. धर्मेन्द्रले हेमासँग विवाह गर्न धर्म परिवर्तन गरे र इस्लाम अपनाए ।

३१. धर्मेन्द्रले आफ्नो लामो करियरमा विभिन्न चर्चित निर्देशकसँग काम गरे । जसमा बिमल रोय, ऋषिकेश मुखर्जी, यश चोपडा, बीआर चोपडा, रमेश सिप्पी, मनमोहन देसाईजस्ता दिग्गज समावेश छन् ।

३२. धर्मेन्द्रलाई टाइम म्यागजिनले संसारका १० सुन्दर पुरुषमा स्थान दिएको थियो ।

३३. ८० र ९० को दशकमा धर्मेन्द्रले एक्सन भूमिका निभाए र उनले बोलेको संवाद ‘कुत्ते तेरा खून पी जाऊँगा’ निकै चर्चित भयो ।

३४. जेठी श्रीमतीबाट धर्मेन्द्रका दुई छोरी (विजयेता र अजिता) तथा दुई छोरा (सनी र बबी) छन् । दोस्री श्रीमतीबाट उनका दुई छोरीहरु (ईशा र आहना) छन् ।

३५. बबी देओलले त आफ्नो एक छोराको नाम धरम राखेका छन् ।

३६. चार पटक फिल्मफेयर पुरस्कारका सर्वश्रेष्ठ अभिनेताको श्रेणी, एकपटक श्रेष्ठ सहायक अभिनेताको श्रेणी र श्रेष्ठ कमेडियनको श्रेणीमा नामांकन भयो तर उनले कहिले पनि यी पुरस्कार पाएनन् । उनले फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्डको क्रममा भनेका थिए, ‘यसपटक त अवार्ड पाउँछु भनेर मैले धेरै पटक नयाँ सुट सिलाएँ तर कहिल्यै पाइनँ ।’

३७. धर्मेन्द्रलाई बलिउडका हिम्यान, एक्सन किङ र गरम धरम भनिन्छ ।

३८. धर्मेन्द्रलाई असाध्यै छिटो रिस उठ्छ र उनको रिसका थुप्रै किस्सा चर्चित छन् । उनलाई जति छिटो रिस उठ्छ त्यति नै छिटो शान्त पनि हुन्छ ।

३९. हिरोको रुपमा धर्मेन्द्रले इन्डष्ट्रिमा लामो समय राज गरे । एक समय यस्तो पनि थियो जब बाउ छोरा दुबै हिरोको रुपमा आउँथे र धर्मेन्द्र आफ्ना छोराभन्दा निकै अघि थिए । सनीका हिरोइन (अमृता सिंह, डिम्पल कपाडिया, श्रीदेवी, जया प्रदा) को पनि उनी हिरो बनेका थिए ।

४०. मल्टिस्टारर फिल्मलाई उनले कहिल्यै अस्विकार गरेनन् र थुप्रै सेलिब्रिटीसँग उनले स्क्रिन सेयर गरे ।

४१. ७० को दशकमा उनी सबैभन्दा महँगा सेलिब्रिटीमध्ये एक थिए ।

४२. शालीमार र रजिया सुल्तानजस्ता महँगा फिल्म नराम्रोसँग फ्लप भएपछि धर्मेन्द्रको करियर समाप्त हुने अनुमान गरिएको थियो तर उनले धमाकेदार फिर्ती गरे ।

४३. एक अध्ययनका अनुसार ‘हाइएस्ट ग्रसिङ स्टार अफ अल टाइम’ को सूचीमा धर्मेन्द्रको स्थान चौथो छ ।

४४. सन् १९८७ मा ५२ वर्षको उमेरमा धर्मेन्द्रका ११ फिल्म रिलिज भए जसमध्ये ७ सफल रहे ।

४५. गुलजारले धर्मेन्द्रलाई लिएर ‘देवदास’ सुरु गरेका थिए जुन केही दिनको सुटिङपश्चात् बन्द भएको थियो ।

४६. धर्मेन्द्रले आफ्नो लामो करियरमा थुप्रै हिट फिल्म दिए र देश विदेशमा आफ्नो करोडौं प्रशंसकलाई फिल्ममार्फत् मनोरञ्जन दिए ।

४७. रक्सी धर्मेन्द्रको कमजोरी हो र रक्सीको विवषयमा उनका थुप्रै किस्सा छन् ।

४८. धर्मेन्द्रले केही बी ग्रेडका फिल्ममा पनि काम गरेका छन् । जब आलोचना छोरा सनी देओलसम्म पुग्यो तब सनीको आग्रहमा उनले यस्ता फिल्ममा काम गर्न बन्द गरे ।

४९. नृत्य सधैं नै धर्मेन्द्रको कमजोरी रह्यो । उनी गीतमा आफ्नो शैलीमा नाच्दथे । उनका केही सिग्नेचर मुभ्स छन् जसको नक्कल थुप्रै सेलिब्रिटीले गरेका छन् ।

५०. आफ्ना दुई छोरा सनी र बबीसँग धर्मेन्द्रको निकै बलियो सम्बन्ध छ । धर्मेन्द्रले आफ्ना छोराहरुसँग यमला पगला दिवाना र यमला पगला दिवाना टुमा काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप