बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तथ्याङ्कमा घट्यो कोरोना संक्रमण तर जोखिम यथावत

‘तत्काल संक्रमण दर घट्यो भन्नलाई हतार हुने’
शुक्रबार, २६ मङ्सिर २०७७, १० : ५५
शुक्रबार, २६ मङ्सिर २०७७

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड—१९)  संक्रमितको दर घट्दै गएको छ । कुनै समय दैनिक ५७ सयभन्दा बढी संक्रमितको संख्या पुगेको थियो भने अहिले घटेर हजार÷एघार सयमा सीमित छ । अझ पछिल्लो एक हप्ताको तथ्याङ्कलाई हेर्दा संक्रमण दर झन् घटेको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कमा घटेजस्तै यथार्थमा संक्रमण दर नघटेको जनस्वास्थ्यविज्ञहरु बताउँछन् । पहिलो लकडाउनपछि ह्वात्तै संक्रमण दर उच्च भएको थियो । पछिल्ला दिनमा बजार, उद्योग, कलकालखाना, शैक्षिक संस्थाहरु पूर्ववत् अवस्थामा संचालन हुन थालेका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना नगरिकन शहरी क्षेत्रमा पैदल हिँड्ने, सवारीमा यात्रा गर्ने, सभा–सम्मेलन, प्रदर्शन गर्नेको कमी छैन । तर, अचम्मको कुरा, कोरोना संक्रमण दर दिन प्रतिदिन घट्दै गएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गर्दै आएको छ । पछिल्लो एक हप्ताको तथ्याङ्कलाई हेर्दा १७ गते बुधवार ८ हजार ३ सय वटा पिसिआर परीक्षण गर्दा १ हजार ४ सय ९० जना संक्रमित भएका थिए ।

यस्तै, बिहीबार ९ हजार २ सय ८९ वटा पिसिआर गरिएको थियो भने १ हजार ३ सय ४२ संक्रमित भए । १९ गते शुक्रबार ८ हजार ३१ वटा पिसिआर गर्दा १२ सय ६२ संक्रमित भएको पुष्टि भयो । यस्तै शनिबार पिसिआर परीक्षण घटेर ६ हजार ७४ पुग्दा १ हजार २४ संक्रमित पाइए । आइतबार ६ हजार ४ सय ९५ पिसिआर परीक्षण गर्दा १ हजार ९६ लाई पोजेटिभ देखियो ।

यस्तै, २२ गते सोमबार ६ हजार २ सय वटा पिसिआर परीक्षण गर्दा १ हजार १४ जनामा संक्रमण पाइएको थियो । मंगलबार  ८ हजार ९ सय ४७ वटा पिसिआर गर्दा १ हजार ३ सय ८२ मा संक्रमण पुष्टि भयो । २४ गते बुधबार ६ हजार २ सय ८६ वटा पिसिआर परीक्षण गर्दा १ हजार ७५ कोरोना संक्रमण पाइयो ।

संक्रमणको लक्षण देखिए पनि बिरामीले पिसिआर परीक्षण गर्न छाडेको शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । लक्षण देखिएको ४–५ दिनमा पनि निको नभइ गाह्रो भएपछि मात्रै कोरोना परीक्षण गर्न जानेको संख्या बढ्दै गएको उनी बताउँछन् ।

तथ्याङ्कमा संक्रमितको दर ओरालो लागिरहँदा संक्रमणकै कारण अस्पतालहरुमा आइसियू र भेन्टिलेटरमा भर्ना हुने बिरामी र मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । संक्रमणको लक्षण देखिए पनि बिरामीले पिसिआर परीक्षण गर्न छाडेको शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । लक्षण देखिएको ४–५ दिनमा पनि निको नभइ गाह्रो भएपछि मात्रै कोरोना परीक्षण गर्न जानेको संख्या बढ्दै गएको उनी बताउँछन् ।

कोरोनाको लक्षण देखिएर अक्सिजन लगाएर बस्दासमेत  बिरामीहरु कोरोना परीक्षण गर्न नजाने गरेको उनले सुनाए । ‘विगतमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आउनेहरुको सम्पर्कमा आएका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरिन्थ्यो,’ उनले भने, ‘अहिले ट्रेसिङ गर्ने काम सेलाउँदै जाँदा संक्रमण दर घटेको हो ।’ 

पछिल्लो समय कोरोना संक्रमण हुँदा देखिने लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि घरमै बस्नेको संख्या बढेको छ । लक्षण देखिए पनि परीक्षण शुल्क महँगो भएकाले हत्तपत्त सबैले परीक्षण गर्न आँट्न नसक्ने जनस्वास्थ्यविद् रविन्द्र पाण्डेको धारणा छ । कोरोना संक्रमण भइहाले पनि औषधि उपचार छैन भन्ने मानसिकताको विकास भएकाले परीक्षण नगरिकन होम आइसोलेशनमा बस्नेको संख्या धेरै रहेको उनको भनाइ छ ।

परीक्षणको दायरालाई बढाउँदा नेगेटिभ रिपोर्ट आउन थाल्यो भने बल्ल संक्रमण दर घट्यो भन्न सकिने डा. पुनको ठम्याइ छ । नेपालमा कोरोना संक्रमण कुन दरमा फैलिएको छ भनेर थाहा पाउनका लागि एन्टिजोन मार्फत परीक्षण नगरेर एन्टिवोडीबेसमा परीक्षण गर्दा प्रष्ट भन्न सकिने उनले बताए ।

कोरोना फैलदाको सुरुवाती चरणमा सुरु गरिएको आरडिटी परीक्षण अहिले समुदायस्तरमा परीक्षण गरेको खण्डमा संक्रमण दर घटेको वा बढेको थाहा पाउन सकिने सरुवा रोग विशेषज्ञ डा.पुन बताउँछन् । उनका अनुसार कोरोना संक्रमणको कारण ६० वर्षभन्दा माथिका व्यक्तिहरुको मृत्यु भइरहेकोले अझै संक्रमण समुदायस्तरमा क्रमशः फैलने क्रममा छ । त्यसैले तत्काल संक्रमण दर घट्यो भन्नलाई हतार हुने उनी ठान्छन् । 

पहिलो लकडाउनपछि दश हजारको परीक्षण गर्दा मर्नेको संख्या भन्दा अहिले ६ हजारवटा नमुना परीक्षण गर्दा मर्नेको संख्या बढी भएकाले कोरोना संक्रमण दर घटेको भन्न नमिल्ने जनस्वास्थ्यविद् डा. पाण्डे बताउँछन् । सरकारले सार्वजनिक गर्ने संक्रमित र मृत्यु हुनेको संख्याबारे उनले आशंका व्यक्त गरे ।

पहिलो लकडाउनपछि दश हजारको परीक्षण गर्दा मर्नेको संख्या भन्दा अहिले ६ हजारवटा नमुना परीक्षण गर्दा मर्नेको संख्या बढी भएकाले कोरोना संक्रमण दर घटेको भन्न नमिल्ने जनस्वास्थ्यविद् डा. पाण्डे बताउँछन् । सरकारले सार्वजनिक गर्ने संक्रमित र मृत्यु हुनेको संख्याबारे उनले आशंका व्यक्त गरे ।

यता, अर्का जनस्वास्थ्यविद् डा‍. बाबुराम मरासिनी भने फरक मत राख्दै संक्रमणका दर घटेको अनुमान लगाउँछन् । भारतमा कोरोना संक्रमण दर घटेकाले नेपालमा पनि घटेको हुन सक्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यका बाहेक तराई र पहाडी क्षेत्रमा संक्रमण दर घटेको उनको भनाइ छ । ‘नेपालीहरुको प्रमुख पर्व सकिएको छ,’ उनले भने, ‘तराई र पहाडमा खेतबारीको काम सकिएसँगै संक्रमणकै डरले टाढाको यात्रा भएका छैनन्, त्यसैले संक्रमण फैलिएको छैन ।’

डा‍. बाबुराम मरासिनीका अनुसार उपत्यका क्षेत्रमा घरबाहिर निस्कनेमध्ये धेरैले  पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण भित्रभित्र फैलिएको हुन सक्छ । समुदायस्तरमा परीक्षण नगरी वास्तविकता थाहा नहुने उनले बताए ।

उनका अनुसार, उपत्यका क्षेत्रमा घरबाहिर निस्कनेमध्ये धेरैले  पूर्णरुपमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण भित्रभित्र फैलिएको हुन सक्छ ।

डा. पाण्डे भने कोरोना संक्रमणको दर घट्यो भनेर ढुक्क भने भइहाल्न नमिल्ने बताउँछन् । वैदेशिक रोजगारीमा जाने, संक्रमण भएपछि पटकपटक परीक्षण गर्ने, आर्थिक अवस्था बलिया हुने र पहुँचमा भएका व्यक्तिहरुले दोहोर्याएर पिसिआर परीक्षण गर्ने भएकाले परीक्षणको संख्या बढे पनि समुदायस्तरमा परीक्षण नगरी वास्तविकता थाहा नहुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप