मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्रेभ म्यान’ अर्थात् पुष्कर शाह

शनिबार, २७ मङ्सिर २०७७, ०९ : ०४
शनिबार, २७ मङ्सिर २०७७

विश्व प्रसिद्ध साइकल यात्री ठकुरी बाबुसाहेब पृथ्वीनारायण शाहका खलक भए पनि दोलखा मकैबारीका सिपाही स्व. कृष्णबहादुर बहादुर शाहका पुत्र हुन् । शाह वंशका भए पनि यिनीहरु भने सामान्य आय भएका औसत नेपाली हुन् । राजसी ठाँट, सानभन्दा बाहिरका सामान्य मान्छे तर असामान्य सोच, शैली, सपना अनि कर्मका ताजा उदाहरण पुष्कर शाह स्वप्निल मान्छे, आम मान्छेभन्दा पृथक भएकै कारण भिक्षा मागेर संसार घुम्न सफल बने ।

यी चानचुने आँट र निम्न कोटिका मगन्ते होइनन् । मागेरै संसार घुमेर रेकर्ड बनाउने विश्वकै दुर्लभ मनुवा र खतरनाक मगन्ते यिनको चिनारी बनेको छ ।

सामान्य मान्छेको कल्पना र तागत बाहिरको यात्रा र उद्देश्य बोकेर पुष्कर देश–देशान्तर घुमे । खहरेको हण्डर र ठक्कर खाँदै, पहाडको गुड्ने ढुङ्गो लड्दै समतलमा पुगेर पुज्य शालिग्राम बनेका पुष्करलाई हिमालको माइनस पाँचको चिसोले जमाउन अनि मरुभूमिको प्लस पचासको तातोले गलाउन सकेन । यात्रामा सयौंपटक थाके, विश्राम लिए तर परित्याग गरेनन् आफ्ना सपना र अठोट ।

पुष्कर एकमात्र त्यस्ता जोगी हुन् जसले सात समुन्द्रको पानीले नुहाए, सात समुद्रकै पानी पिए । सातै महादेशका देशहरुमा यायावर बनेर माटो छोए, घुमे । संसारको गरिबी, भोकमरी, अभाव, पीडा, दुःख र भोकका दुर्दान्त कथा देखे । जातीय द्वन्द्वका आला घाउहरु, युद्धका भिषण स्मृति, गृहयुद्धका चपेटाहरु, सीमा विवादका गन्जागोल, लडाई, झै–झगडा सबै सबै एकै मान्छेले एकै समयमा यही जुनीमा देख्न पाए ।

यसो हुनुमा उनको पागलपन, यात्राप्रतिको निष्ठा, समर्पण र मूर्खतापूर्ण साहसको करामत देखिन्छ । विश्व यात्राका क्रममा दर्जन हाराहारी पटक अपहरण परेर पनि नेपाली वीरताको मुक्का बजारेर, अपहरणकारीलाई छक्याएर, पिटेर मुक्त बनेका रोमाञ्चक र साहसिक यात्राका पथिक हुन् शाह । १५० देशमा ४ हजार १५ दिनको यात्राले पृथ्वीलाई साढे पाँच फन्को लगाउन पुग्ने समय व्यतित गरेको छ । शाहले संसारलाई आफ्नो पाउले छोए, संसारभरको माटो चुमे, विविध हावापानीको स्पर्श गरे । यिनको स्पर्श हावापानीमा मात्रै भएन, फरक फरक रङका स्वादसँग पनि जवानीको स्पर्श भोग गरे ।

भन्न त हरेकले आफ्नो जीवनी खुल्ला किताब हो भन्छन् तर पुष्कर साँच्चिकै खुल्ला किताब हुन् भन्नेकुरा यिनको किताब पढ्दा जान्न सकिन्छ । उनको नियात्रा किताबमा संसार अटाएको छ, संसारको विविधता अटाएको छ । विश्वको संस्कृति, भूगोल, रहनसहन, राजनीतिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक र समय संचेतनाले स्थान पाएको छ । पढेलेखेको मान्छेले विश्व घुम्न नसके पनि पढेर जान्न पर्ने अनगिन्ती प्रसंग, रहस्य र विलिक्षण संयोजन पाइन्छ किताबमा ।

संसार विचित्रको छ, अनौठो अनि लोभलाग्दो र डरलाग्दो पनि छ । यी सब हेर्न साधारण मान्छेको एक जुनी अपर्याप्त हुन्छ तर संसारमा कोही त्यस्ता अद्भूत साहस र क्षमताका मान्छे पनि हुन्छन्, जसले आफ्नो यही जुनी त्यो पनि १९९८ अगष्ट १ मा सुरु गरेर २०१० मे १७ मा अर्थात् ११ वर्षमै संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाभन्दा अग्लो भएर विश्व साइकल यात्रा समापन गर्दै नयाँ कीर्तिमान रचे । यिनका नाममा थुप्रै कीर्तिमान बनेका र पहिचान नभएका धेरै पदवी र बिल्ला हुन सक्छन् । तिनको उत्खनन्, अध्ययन र विश्लेषण गरिनुपर्छ । किनकि यो यात्रा साहसमात्रै होइन, दुस्साहस पनि हो, जसलाई सामान्य मान्छेको औकात, पृथ्वीमा रहेका आठ अरब मान्छेको बुताभन्दा माथि देख्न सकिन्छ । हिम्मतका पर्याय पुष्कर आफ्नी आमा नरम शाहले दिएको एक सय रुपैयाँ ‘सिड मनी’ बोकेर संसार साइकलमा घुमे भन्दा पत्याउन अप्ठ्यारो नै लाग्छ । सामान्य मान्छेको चेत र सोचभन्दा फरक भएका हुनाले नै यिनले विश्वयात्रालाई फकिर बनेर सम्पन्न गर्न सके ।

पुष्कर एकमात्र त्यस्ता जोगी हुन् जसले सात समुन्द्रको पानीले नुहाए, सात समुद्रकै पानी पिए । सातै महादेशका देशहरुमा यायावर बनेर माटो छोए, घुमे । संसारको गरिबी, भोकमरी, अभाव, पीडा, दुःख र भोकका दुर्दान्त कथा देखे । जातीय द्वन्द्वका आला घाउहरु, युद्धका भिषण स्मृति, गृहयुद्धका चपेटाहरु, सीमा विवादका गन्जागोल, लडाई, झै–झगडा सबै सबै एकै मान्छेले एकै समयमा यही जुनीमा देख्न पाए । कहिल्यै निको नहुने युद्धका डोब र खाटा बसी नसकेका मान्छेका मर्म र घातहरु छामे । मान्छेहरुको भोक, भोकमरी र शरीर बेच्नुपर्ने व्यथा र कथाहरुको मनोविज्ञान र विश्व पूँजीवादको साम्राज्यमा सीमान्तकृत र किनाराकृत मान्छेहरुको भोग, योग, र वियोगसँग साक्षात्कार गर्न पाए । साम्यवादी मुलुकको गुप्त सेक्स पर्यटनदेखि गुम्बाका भिक्षुको समलिंगी यौन भोक बेहोरे । विश्वका चर्चित र महँगा डान्सबारमा पुगेर कम्मर हल्लाउँदै अलपत्र सडक बासको रातहरु गुजारे । एउटा मान्छेले धेरै गरे÷भोगे । कति अपत्यारिला सत्य, चमत्कारिक असत्य देखेर रोमाञ्चक बन्नुदेखि विष्मयकारी कथाहरु देखेर द्रवित बन्ने नियतिको सिकार भए । अप्रत्यासित र अचम्मका मान्छेहरुको नियति र भेट पुष्करले सँगालेका मानव सभ्यताका दुर्लभ संयोग हुन् । मानवताको प्रस्फुटनदेखि पाषण हृदयका मान्छेहरुसँग पुष्करले सामना गर्नु प-यो । प्रकृतिका अजङ्ग जीव–जीवात्माको संसर्गदेखि भय र डरको कहरमा बाघ, भालु, गोही, सर्प, बिच्छी लगायत अनेकन खतरनाक जीवजन्तुसँग छलिँदै, जोगिदै सभ्य र चेतना भएका भनिएका मान्छेहरुको घातक पन्जामा पर्नु र बच्नु सौभाग्य, संयोग र साहसका खेलहरु बने यिनका लागि ।

पुष्करको व्यक्तित्वको अर्को पाटो हो समाजसेवा । सामाजिक भाव र कार्यमा पुष्कर आफुलाई आनन्दित र खुसी अनि सुखी देख्छन् ।  धादिङ, दोलखा र रामेछापमा ६०० जति विद्यार्थीलाई स्कुलदेखि कलेजसम्म पढाउने अभिभारा लिएर सेवाको हात फैलाएका छन् । गृह जिल्ला दोलखामा रहेको गौरीशंकर अनाथालयलाई निरन्तर सहयोग जुटाउन लागिपरेका छन् ।

जीवन एउटा यात्रा हो, सबै मान्छेको भाग्यमा यस्तो लेखिएको हुँदैन तर भाग्य लेखिने होइन, देखाउने भनेर भाग्य आफै लेख्ने कर्म गरेका अनौठो मानव भनेर चिनिन्छन् यिनी । जस्तोसुकै प्रतिकुलतामा आफ्नो गन्तव्य र मन्जिलमा पुग्न भुलेनन्, बिराएनन् । किन्चित बाटो छोडेका भए थुप्रै अवसर र व्यवस्था, भौतिक सुख सुविधामा यिनको जिन्दगीको यात्रा मोडिन्थ्यो तर आत्मिक सुख र आनन्दको अनुभूति सायद मिल्दैनथ्यो । तसर्थ आज अभावमा पनि पुष्करमा खिन्नता र हीनताबोध छैन । स्वेच्छाले ग्रहण गरेको दुःख पनि सुख नै हो, त्यो सहनु र भोग्नु पर्छ । गाउँको सामान्य केटो पुष्कर शाह उसै आज ख्यातीको शिखर चढेका होइनन्, पुष्करलाई ‘साइकले’ बन्न, यो प्रसिद्धि हासिल गर्न थुप्रै घामपानी, असिना, बादल, आँधीबेहरी, हिम तुषारो, चट्याङ र चड्कनले भकुरेको छ । आगो र घामले खारेको छ ।

नविन काम गर्ने युवा र नौला यात्रीको लागि पुष्कर एउटा विश्वविद्यालयको औपचारिक ज्ञानभन्दा पनि ठूला ज्ञान रहस्य र प्रेरणाका उचाई हुन् । खोतल्न सक्यो भने यी भित्र अनुभव र भोगाईको ज्ञानगंगा नै पाउन सकिन्छ । पुष्करसँग सम्मोहनको सरिता नै बगेकी छिन् सायद । पुष्कर बिरानो मुलुकमा पनि छिटै साथी बनाएर आफ्नो प्रभावमा राख्न खप्पिस छन् । त्यसो नहुँदो हो त घुमन्ते फकिरको यात्रा उहिल्यै ब्रेक लागिसक्थ्यो । पुष्करले आफ्नो घरआँगन छेउको तत्कालीन कुटी डाँडा निमावि, कालिञ्चोक मावि चरिकोट हुँदै शिक्षा संकायमा स्नातक तह महेन्द्ररत्न ताहाचल काठमाडौँबाट गरेका छन् भने ललितकलामा पनि स्नातक हुन् उनी । कलेज जीवनमै २०४६ को जनआन्दोलनमा होमिएर हातमा गोली लागेका पुष्कर जिउँदा सहिद पनि हुन् । सहिद हुने सौभाग्य नपाएको कारण नै आज विश्वमा साहसी साइकल यात्रीको मानक यिनको नामको अघिपछि जोडिएर आउँछ ।

पुष्कर संसारभरका मिडियाले कभरेज दिएका एडभेन्चर्स व्यक्ति हुन् । विश्वका हजारौँ अखबारका पानामा अटाएका छन्, हजारौँ मिडियामा छाएका मान्छे हुन् । करोडौँ मान्छेले पुष्करको साहस र हिम्मतलाई सुनेका छन्, पढेका छन् । पुष्कर नेपालका मात्रै नभएर विश्वकै सेलिब्रेटी हुन् । नेपाल आमाका सुपुत्र संसारकै विरल कोटीका जीवित सम्पदा हुन् । आम नेपालीका गर्वका पात्र हुन् । यद्यपि यिनको ज्ञान, सीप, अनुभव र क्षमतालाई राज्यले आफ्नो संरक्षण र अभिभावकत्व दिएर हुर्काएको छैन । विश्व भाइचारा, शान्ति, सद्भाव र साहसका दूतको रुपमा यिनको ऊर्जा र क्षमता राज्यले सदुपयोग गर्नुपर्छ । पर्यटन, यात्रा र विश्वमा प्रत्यक्ष अनुभव यिनमा जति अरुमा पाउन मुस्किल छ । अथाह ज्ञान, सूचना, अनुभव र जानकारीका इनसाइक्लोपिडिया नै हुन् पुष्कर ।

पुष्करको व्यक्तित्वको अर्को पाटो हो समाजसेवा । सामाजिक भाव र कार्यमा पुष्कर आफुलाई आनन्दित र खुसी अनि सुखी देख्छन् ।  धादिङ, दोलखा र रामेछापमा ६०० जति विद्यार्थीलाई स्कुलदेखि कलेजसम्म पढाउने अभिभारा लिएर सेवाको हात फैलाएका छन् । गृह जिल्ला दोलखामा रहेको गौरीशंकर अनाथालयलाई निरन्तर सहयोग जुटाउन लागिपरेका छन् । कोरोना कष्टमा दिनको ३०० जनालाई खाना खुवाएर कोही भोको बस्न हुँदैन भन्ने सरकारी घोषणालाई नागरिक कर्तव्य निर्वाह गरेर सघाएका छन् । जीवनलाई भौतिक रुपमा सम्पन्नभन्दा सुखी र खुसी राख्नुपर्छ भन्ने यिनको दार्शनिक मान्यता छ ।

धेरैलाई अपत्यारिलो लाग्ने घोषणा गरेर पुष्कर बहुला बने । चिन्तक र दार्शनिकहरु भन्छन्– नबहुलाउने मान्छेले अपत्यारिला काम गर्ने सामर्थ्य र हिम्मत जुटाउन सक्दैनन् । मान्छेहरुको लागि बहुला बन्नुनै अर्थात् अरुले जे भने पनि बेपर्वाह गरेर अघि बढ्दा सफलताको चुचुरोमा पुग्छ ।

देशको झन्डा साइकलमा फहराएर नेपालको माटो झोलामा राखेर, माटोको टीकालाई पवित्र चन्दन सम्झने पुष्कर देशको माया मुटुमा बोकेर साइकलबाट संसार दगुरे । विश्वलाई नेपाली झन्डा चिनाए । आफ्नो पहिचानलाई झण्डासँग जोडे, नेपाललाई माया गरे । पर्यटनको उचित गन्तव्य भनेर भेटेजति मान्छेलाई नेपालको भौगोलिक विविधता, हावापानी, संस्कृति, धर्म, संस्कार र नेपालीपन र मनको बारे बताए । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको शान्ति प्रियता अनि सर्वोच्च शिखर सगरमाथाबारेको भ्रम चिरेर ती नेपाली माटोका धरोहर भएको जानकारी पस्के । पर्यटनको लागि संसारमै नेपाल अब्बल रहेको सूचना सम्प्रेषण गरिरहे । एक व्यक्तिको प्रयास र इच्छाबाट विश्वलाई नेपाल चिनाउने प्रयास सम्भवतः योभन्दा अघि कसैले यसरी गरेको छैन । सरकारी औपचारिक प्रयासभन्दा लाखौ गुणा बढी छ देश चिनाउने पुष्करको योगदान र एकल प्रयास । यिनले देशलाई धेरै दिए तर देशले, राज्यको औपचारिक निकायले यिनलाई केही दिनु त परै जावस्, यिनको क्षमता र पहिचान, ज्ञान र अनुभवलाई सदुपयोग गर्न पनि सकेको छैन । विश्वभर यिनलाई सद्भावना दुत बनाएर पर्यटनको विकासमा इँटा थप्न शान्ति, सद्भाव, सहअस्तित्व र भाइचाराको भरिया बनाउन राज्यले हिच्किचाउनु पर्छ र ?

आफ्नो बैंसको ऊर्जा देश चिनाउन खर्चिएका पुष्कर साइकल पर्यटन र साइकल लेन बारेमा चिन्ता गर्छन् । ‘संसारमा म जहाँजहाँ पुगेँ, त्यहाँ एकै सुर्य, एकै चन्द्र, एकै आकास र एकै धर्ती देखेँ यसर्थ धर्ती मान्छेको साझा घर हो, यहाँ कोही आस्था, बिश्वास, भूगोल अनि जन्म र रुप रङले ठुलो/सानो छैन,’ उनी भन्छन्, ‘प्रकृतिले हामीलाई विभाजन गरेको छैन । मानवीयता भुलेर कृत्रिम विभाजन गर्नु हुन्न । मानवीयता अविभाजित र अविभाज्य रहन्छ ।’

संसारमा अरबौ सकारात्मक तरङ्ग आउँछन् जान्छन् । त्यस्तै सकारात्मक तर एकदमै साहसिक तरङ्ग पुष्करको मस्तिष्कमा तरङ्गित हुन पुग्यो र त्यसले घर ग¥यो । तब छ्याङ खाएकै बेला पुष्करले मात्तिएर घोषणा गरे– म साइकल चढेर विश्व भ्रमणमा निस्कन्छु ।

धेरैलाई अपत्यारिलो लाग्ने घोषणा गरेर पुष्कर बहुला बने । चिन्तक र दार्शनिकहरु भन्छन्– नबहुलाउने मान्छेले अपत्यारिला काम गर्ने सामर्थ्य र हिम्मत जुटाउन सक्दैनन् । मान्छेहरुको लागि बहुला बन्नुनै अर्थात् अरुले जे भने पनि बेपर्वाह गरेर अघि बढ्दा सफलताको चुचुरोमा पुग्छ ।

विश्वका बहुरूप, ढंग, ताल बेताल, बुझ्न यात्राका अनेकन छुट शृंखला बुझ्न किताबको बिस्कुन भएर पुष्कर संसारभर छरिनु पर्छ । पुष्करका अनुभव, अनुभूति र ज्ञान दर्शन अनि भोगाई, भागभोग सबै विभिन्न भाषामा अनुवादित गरेर विश्वले नेपाली सपुतको साहस, कृति, चार्म र नाम बुझोस् । उनको यात्राको हिस्सेदार नेपालीमात्र होइन, सारा विश्वका जिज्ञासुहरु बन्न सकून् । आम मान्छे सीमित अनन्त यात्राका यात्री हौं, तर पुष्कर अनेकन असीमित यात्राका अनन्त यात्री हुन् ।

पुष्करले विश्वका अति विशिष्ट मान्छेहरुसँग हात मिलाउने अवसरदेखि अति निक्रिष्ट र निच मान्छेहरुसँग भेटने दुर्भाग्यलाई पनि जीवनको अभिन्नताभित्र राखे । शिष्ट मान्छे, सभ्य, अशिष्ट मान्छे र असभ्यताको स्वाद र वेस्वाद दुवै चाखे । उन्नत सामाजिक मर्यादा, अनुशासन र इमानको परिचय भएका ठाउँमा परीक्षण गर्नदेखि अमानवजस्ता लाग्ने मानव बस्तीमा पनि आफ्नो पाइला राखेर सकुशल फर्किए । रोचक त्रासदीपूर्ण अवस्था, मुटु हल्लने प्रसंग र घटनाका साक्षी र भोक्ता पुष्कर विश्व कै शक्तिशाली महाराष्ट्र अमेरिकामा रंगिन मान्छेको लुटाइबाट बालबाल बचे । दस डलर पनि नहुने मान्छे संसारमा के बाँच्नु भन्ने लुटेराको पेस्तोल कन्चटमा राख्दाको स्थिति कति बिडम्बनापूर्ण र मुटु काँप्ने लाग्छ– दस डलरको जिन्दगीमा २० डलर दिएर उम्केको प्रसंग । दुर्भाग्यवस यी हरितन्नम फकिरसँग अरु कैयन बेला झैँ त्यो बेला एक डलर पनि नभएको भए सायद पुष्करको कहानी छोटो किस्सा बन्थ्यो, विस्मृतिको गर्तमा पुरिन्थ्यो । सौभाग्य, पुष्कर जिउँदै छन् र आज उनको नाम अघिल्तिर ब्रेभ म्यान, सन्काहा, लहडी, साहसी, जिउँदो मान्छे, बहुला, मुर्ख, नेपालको ब्राण्ड एम्बेसडर, वीर गोर्खाली, रियल ठकुरी, झोंकी, सेक्सी, जड्याहा लगायत अनेकन पगरी, बिल्ला, उपनाम, निकनेम र तक्मा पदक पाउन सफल छन् ।

साम्यवाद, पुँजीवाद, समाजवाद, राजतन्त्र, गणतन्त्र, प्रजातन्त्र सबै, सबै विश्वमा स्थापित राजनीतिक मान्यता सिद्धान्त र पद्धति आचरण र ब्यबहार पनि पुष्करले देखे भोगे । अविवाहित पुष्करले यात्राको दौरानमा थरिथरिका प्रेमिका पाए, प्रेमिल स्पर्श र भोग, सम्भोग गरे । अगणित माया गर्ने प्रेमिका र बेहिसाब मन पराउने आत्मीय मान्छेहरु पाए । यात्रा सहज र अविस्मरणीय बनाउन थुप्रै हृदयालु मन र मुटु भएका देश विदेशका मान्छेहरु अनि नेपाली दाजुभाइ दिदीबहिनीको गुणको सम्मोहनमा रहे । थ्यांकफुल छन् पुष्कर । आफूलाई सहयोग गर्ने, सम्झने सबैकाप्रति यिनको कृतज्ञता सुन्न पाइन्छ । आफू हिँडेको बाटो भुल्ने र आफूलाई सहयोग गर्नेको गुन बिर्सने परम्पराभन्दा पृथक छन् यिनी । पुष्कर निकै रसिक र सौखिन छन् बियरमा, तसर्थ झन्डै १८ सय प्रकारको बियरको स्वाद लिएँ भन्छन् । माइतीघरको छ्याङको नशामै विश्व साइकल यात्री बन्ने उद्घोष गरेका पुष्करलाई बियर पानी बराबर छ । पुष्करले यात्राको क्रममा ३ साइकल, २७० टायर, १९५ ट्युब, १४० साइकल चेन, २६ जोडी पेडल, १४ हेल्मेट, ५३ जोडी पन्जा र ११४ जोडी साइक्लिङ्ग कस्ट्युमको सहायताले आफ्नो अभियानलाई पूर्णता दिएको लेखेका छन् । संसार घुम्न साँच्चिकै छ्याङ् खाएरभन्दा बढी बहुलाउनु पर्छ । निष्ठा, अठोट, समर्पण, त्याग र साहसको भोकले मात्तिनु पर्छ । पुष्करले एउटा नियात्रा, यात्रा संस्मरण निकालेका छन् तर पुष्करभित्र यथेस्ट अरु पुस्तक र संस्मरणहरु छन् । तिनीहरु ‘संसारलाई साढे पाँच फन्को’ पुस्तकको पुरक र परिपुरक भागको रुपमा आउनुपर्छ ।

विश्वका बहुरूप, ढंग, ताल बेताल, बुझ्न यात्राका अनेकन छुट शृंखला बुझ्न किताबको बिस्कुन भएर पुष्कर संसारभर छरिनु पर्छ । पुष्करका अनुभव, अनुभूति र ज्ञान दर्शन अनि भोगाई, भागभोग सबै विभिन्न भाषामा अनुवादित गरेर विश्वले नेपाली सपुतको साहस, कृति, चार्म र नाम बुझोस् । उनको यात्राको हिस्सेदार नेपालीमात्र होइन, सारा विश्वका जिज्ञासुहरु बन्न सकून् । आम मान्छे सीमित अनन्त यात्राका यात्री हौं, तर पुष्कर अनेकन असीमित यात्राका अनन्त यात्री हुन् । पुष्करले नवौं विश्व साइकल सम्मेलन काठमाडौँमा भर्चुअल रुपमा सम्पन्न गरि १९ सेप्टेम्बरदेखि २२ सम्म साइकल सम्बन्धी फिल्म, भिडियो, डकुमेन्ट्री, चित्रकला र फोटो प्रदर्शनी तथा साइकल सम्बन्धी बहस र अन्तरक्रिया चलाए । काठमाडौँलाई साइकल सिटी बनाउने पुस्करको सपना छ । कोभिड १९ ले थला परेको पर्यटन ब्यवसायलाई साइक्लिङ मार्फत ब्युँताउन पुस्करको नेतृत्वमा कार्तिक १७ गते महेन्द्रनगरको झोलुंगे पुलबाट सुरु गरिएको साइकल यात्रा २२ दिनमा १६२४ किलोमिटर दुरी पार गर्दै इलामको श्रीअन्तु पुगेर सम्पन्न गरी आन्तरिक पर्यटनको विकासमा उनले हातेमालोको प्रयास गरेका छन् । साइक्लिङ स्वास्थ्य, खेलकुद र वातावरणको लागि सहयोगी भएकोले यसको प्रवर्द्धन आवश्यक देख्छन् पुष्कर । साहसलाई चुनौती दिएर सामना गर्न सक्ने नेपाली रत्न पुष्करबारे जति लेखे पनि कम हुन्छ । साइकलमा देश बोकेर हिँड्ने डुलुवा, एउटा मान्छेभित्रका थुप्रै मान्छे पुस्कर साइकले, साहसी, सेक्सी, सन्काहा, समाजसेवी, सुरवीर के के हुन् के के ?

तस्विर: फेसबुकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जिव कार्की
सञ्जिव कार्की
लेखकबाट थप