शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजसेवामा सक्रियता बढाउँदै दिलाशा

मङ्गलबार, ३० मङ्सिर २०७७, ०८ : ०८
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । १३ वर्षको उमेरमा परिवारसँगै क्यानाडा पुगेकी काठमाडौँको जितपुरकी दिलाशा जमकटेलले यतिबेला समाजसेवामा सक्रियता बढाउन थालेकी छिन् ।  मनोविज्ञानमा स्नातक गर्दै गरेकी दिलाशा आफ्नो लक्ष्य भनेकै नेपालमा समाजसेवा गर्ने भएको बताउँछिन् । जसअनुसार उनले नेपालका दुई गाउँहरुको सहयोगका लागि च्यारिटी सञ्चालन गरिसकेकी छिन् । 

विद्यार्थी त्यसमाथि पनि आप्रवासी दिलाशालाई आफ्नै बलिबुँतामा च्यारिटी सञ्चालन गर्नु सहज काम पक्कै होइन । तर, पहिल्यैदेखि विदेशमै बसेर भएपनि देशको लागि केही गर्ने अठोट लिएकी दिलाशालाई प्रयास नगरी हार मान्नै मन लागेन । 

पैसा जम्मा गर्नलाई आफूले पार्ट टाइम जब गरिरहेका ठाउँमा उनले अतिरिक्त समय दिन थालिन् । त्यहीँबाट जम्मा गरेको केही रकमले उनले फ्रिडम सोसल फाउन्डेसन नामक नेपालमै दर्ता भएको सामाजिक संस्थासँग समन्वय गरेर ‘फिड अ भिलेज’नामक अभियान सञ्चालन गरिन् ।

सोही अभियान अन्तर्गत लकडाउनका दौरान घलेखर्क र कानेगाउँ नामक पोखरानजिकका दुई विकट ‘दलित वस्ती’का ९६ वटा परिवारमा खाद्यान्न वितरण गरेको उनले बताइन् । ‘त्यसअघि त्यो ठाउँमा कोही पनि सहयोगी मन नपुगेकाले होला गाउँका सबै मानिसले हाम्रो निकै उत्साहका साथ स्वागत गर्नुभयो,’ केहीअघि नेपाल आएकी उनले भनिन्, ‘प्रत्यक्ष रुपमा देखेपछि थाहा भयो त्यहाँ दुई छाक खानसमेत धौधौ हुने मान्छेहरु हुनुहुँदो रहेछ ।’ 

जे होस् दिलाशाले केही अनुभव बटुलेर फर्किएकी छिन् । त्यस भ्रमणले आफूमा नेपाल र नेपालीलाई झन् सहयोग गर्ने इच्छा थपेको बताउँछिन् उनी । ‘अब क्यानाडा फर्किएर झन् बढी मिहिनेत गर्नुछ, झन् बढी काम गर्नुछ,’  उनले भनिन् ।

अबको आफनो लक्ष्य भनेकै क्यानाडाका सहयोगी मनहरुलाई समेटेर, उनीहरुको सहयोगलाई नेपालीसम्म पुर्‍याउनु भएको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप