ad
केन्द्रीय संस्करण
लोकसेवा तयारी

विषयगत प्रश्नोत्तर : सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के–कस्तो हुनुपर्छ ?

person explore access_timeपुस १, २०७७ chat_bubble_outline0

कर्मचारीको व्यवहार कस्तो ?

१. सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के–कस्तो हुनुपर्छ ? लेख्नुहोस् ।
सेवाग्राही सेवा प्रापक हो, कर्मचारी सेवाप्रदायक हो । सेवाप्रदायकले सेवाग्राहीप्रति असल व्यवहार र आचरण प्रदर्शन गर्नुपर्छ । जुन
निम्नअनुसार हुनुपर्छ ः
– सेवाग्राहीको काम समयमै गर्नुपर्ने, समयमै काम हुन नसकेमा त्यसको आधार र कारण दिनुपर्ने,
– सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, जवाफ दिँदा शिष्टतापूर्वक दिने,
– सेवाग्राहीप्रति उत्तरदायी रहने, सेवाग्राहीको हितलाई ध्यानमा राखी काम गर्ने,
– वृद्ध, अशक्त, अपाङ्ग, गर्भवती महिला, बालबालिका, असहायलाई प्राथमिकता दिनुपर्ने,
– सरल र सहज भाषामा सेवा दिने,
– सेवा प्रवाहमा सेवाग्राहीको पहँुच बढाउने,
– सेवा प्राप्तिको प्रक्रिया, लाग्ने समय, लागतबारे सेवाग्राहीलाई यथासमयमै जानकारी गराउने,
– आफ्नो पदअनुसारको आचरण पालन गर्ने,
– निष्पक्ष रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने,
– छिटोछरितो सेवा प्रवाह गर्ने,
– सेवा प्रवाहमा पारदर्शिता र मितव्ययिता कायम गर्ने,
– आफ्नो परिचयपत्र र तोकिएको पोशाकसहित सेवा प्रवाह गर्ने ।

२. सूचना प्रविधिको परिचय, नेपालमा गरिएको व्यवस्था र यसको महŒवबारे छोटकरीमा चर्चा गर्नुहोस् ।
 सूचनाको व्यवस्थापन गर्न कम्प्युटर प्रणाली र यसको सफ्टवेयर, हार्डवेयर तथा इन्टरनेटलगायतका विद्युतीय उपकरणहरूको प्रयोग गर्ने कार्य सूचना प्रविधि हो । यो कम्प्युटरसँग सम्बन्धित कार्य हो, जसमा इन्टरनेट, सर्भर, हार्डवेयर, सफ्टवेयर, प्रिन्टर, टीभी, टेलिफोनजस्ता उपकरणहरूको प्रयोग गरिन्छ । यो हार्डवेयर तथा सफ्टवेयरहरूको डिजाइन हो । यो डाटा प्रोसेसिङको कार्य पनि हो ।
– यसले सूचनाको प्रशोधन, भण्डारण एवम् संरक्षणको कार्य गर्छ । यसले कार्यक्षमता बढाउन, लागत कम गर्न, स्रोत साधनको उच्चतम उपयोग गर्न तथा चुहावट एवम् हिनामिना रोक्न मद्दत गर्छ । यसबाट अनलाइन सेवा प्रदान गर्न, विद्युतीय सरकार, विद्युतीय व्यापार, विद्युतीय शिक्षा, विद्युतीय सिकाइ, विद्युतीय प्रवेशाज्ञाजस्ता अवधारणा लागू गर्न सकिन्छ । हरेक क्षेत्रमा स्वचालित प्रणालीको स्थापना गरी भ्रष्टाचार नियन्त्रण गर्न यसले मद्दत गर्छ । त्यसैले सूचना प्रविधिलाई भ्रष्टाचार नियन्त्रणको एक प्रमुख औजारका रूपमा लिन सकिन्छ ।
नेपालमा गरिएको व्यवस्था
– विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ र विद्युतीय कारोबार नियमावली–२०६४ लागू गरिएको, यस ऐनले विविध व्यवस्था गरेको छ । कम्प्युटरसम्बन्धी कसुरहरूको व्यवस्था गरी उक्त कसुरको सुरु कारबाही र किनारा गर्न सूचना प्रविधि न्यायाधीकरणको गठनसम्बन्धी व्यवस्था गरेको छ । सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ जारी गरिएको,
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र यसअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रको स्थापना,
– राष्ट्रिय सूचना आयोगको गठन,
– सूचनाको हकसम्बन्धी ऐन–२०६४ र नियमावली–२०६५ जारी गरिएको,
– सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका–२०६८ ल्याइएको ।
सूचना प्रविधिको महŒव
– विश्वलाई एक गाउँ बनाउन सहयोग पुग्ने,
– ज्ञानमा आधारित समाज निर्माणमा सहयोग पुग्ने,
– सूचना प्रविधिको उच्चतम उपयोगबाट पारदर्शिता बढ्ने, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायममा सहयोग पुग्ने,
– नयाँ आविष्कारको आधार सूचना प्रविधि हुने,
– अन्तर्राष्ट्रिय प्रयास तथा विकासमा पहुँच पुग्ने,
– आर्थिक, सामाजिक एवम् व्यापारिक उद्योग एवम् प्रतिष्ठानको उत्पादन तथा उत्पादकत्व बढाउन मद्दत पुग्ने, ज्ञानमा आधारित उद्योग स्थापना हुने,
– रोजगारीको खोजी तथा सिर्जनामा सहयोग पुग्ने,
– अध्ययन अनुसन्धान एवम् लेखन कार्यमा सहयोग पुग्ने,
– प्राकृतिक प्रकोपको पूर्वतयारी, न्यूनीकरण तथा उद्धारमा सहयोग पुग्ने,
– सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन मद्दत पुग्ने ।

३. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिकाबारे उल्लेख गर्नुहोस् ।
 जनताका प्रतिनिधिहरूद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधि भएकाले लोकतन्त्रमा शासन व्यवस्था चलाउने प्रमुख पात्र यिनै राजनीतिक दल हुन् । राजनीति सबै नीतिको मूल नीति भएको र समग्र मुलुकको प्रशासनिक नेतृत्वको अगुवासमेत भएकाले लोकतन्त्रमा राजनीतिक दलको भूमिका बहुआयामिक हुने गर्छ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
– देश–विदेशमा देश र जनताको प्रतिनिधित्व गर्ने,
– देश, काल, परिस्थिति अनुकूल ऐन नियम तर्जुमा गर्ने, ऐन नियमको पूर्ण पालना गरी ऐन नियम कार्यान्वयन गर्न प्रशासनलाई पूर्ण सहयोग गर्ने,
– जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
– देश र जनताप्रति गरेको प्रतिबद्धता इमानदारीपूर्वक पूरा गर्ने,
– लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
– दलगत र व्यक्तिगत स्वार्थमा नभई, राष्ट्रिय स्वार्थमा कार्य गर्ने, विकासमुखी राजनीतिक चरित्र निर्माण गर्ने,
– शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
– समग्रमा लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण हुँदै विकास एवम् समृद्धिमार्फत जनतालाई लोकतन्त्रको प्रतिफल उपलब्ध गराउनेसम्मको हुने गर्छ ।

४. नेपालको संविधानमा राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी के–कस्तो नीति छ ? उल्लेख गर्नुहोस् ।
 नेपालको संविधानको धारा ५१ मा राज्यका नीतिहरूअन्तर्गत राजनीतिक तथा शासन व्यवस्थासम्बन्धी निम्न नीतिको व्यवस्था गरिएको छ ः
– राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्ने,
– मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्दै विधिको शासन कायम राख्ने,
– नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन गर्ने,
– सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने,
– आमसञ्चारलाई स्वच्छ, स्वस्थ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने,
– सङ्घीय इकाइबीच जिम्मेवारी, स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने ।

५. जनसङ्ख्या वृद्धि हुने कारणहरू के–के हुन् ? लेख्नुहोस् ।
 जनसङ्ख्या वृद्धि हुने कारणहरू निम्न छन् ः
– उच्च जन्मदर,
– चेतनाको कमी,
– कम उमेरमा विवाह,
– बहुविवाह,
– छोराको आस,
– धार्मिक अन्धविश्वास,
– परिवारनियोजनका कार्यक्रमहरूको कम प्रभावकारिता,
– बसाइँ–सराइ
– खुला सिमाना ।

६. नेपाल परराष्ट्र सेवामा रहने नियोग र नियोग प्रमुखबारे छोटो परिचय दिनुहोस् ।
 नेपाल परराष्ट्र सेवामा रहने नियोगले विदेशस्थित नेपाली राजदूतावास, स्थायी नियोग, नेपाली महावाणिज्य दूतावास, वाणिज्य दूतावास र नेपाल सरकारले समय–समयमा विदेशमा प्रतिनिधित्व गर्न खडा गरेको अन्य कुनै निकायलाई जनाउने व्यवस्था छ ।
त्यसैगरी नियोगमा निम्न नियोग प्रमुख रहने व्यवस्था छ ः
(१) राजदूत,
(२) स्थायी प्रतिनिधि,
(३) महावाणिज्यदूत,
(४) कार्यवाहक राजदूत,
(५) कार्यवाहक स्थायी प्रतिनिधि,
(६) वाणिज्यदूत,
(७) नेपाल सरकारले तोकेका अन्य अधिकारीहरू ।

७. नक्साको महŒवबारे उल्लेख गर्नुहोस् ।
 पृथ्वीको सतह वा यसको कुनै निश्चित अंशलाई प्रतिनिधित्व गर्नका लागि कुनै कागज वा अन्य यस्तै वस्तुमा कोरिएको चित्र नक्सा हो । यसमा भौतिक पक्षलाई देखाउने नक्सालाई भौतिक नक्सा र राजनीतिक पक्षलाई देखाउने नक्सालाई राजनीतिक नक्सा भनिन्छ । ठाउँ अभावका कारण नक्सामा विभिन्न कुराहरू देखाउन सङ्केत प्रयोग गरिन्छ । सामान्यतया नक्सामा उत्तर दिशालाई माथि फर्काएर तयार पारिन्छ । नक्सा सूचनाको स्रोत हो । ज्ञानको भण्डार पनि हो । यसबाट धेरै कुराको जानकारी हुन्छ । यसको महŒवलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– उपलब्ध प्राकृतिक स्रोत साधन देखाउन, देशको जनसङ्ख्या वितरण प्रस्तुत गर्न,
– विकास निर्माण तथा सेवा सुविधाको विस्तार र सञ्चालनका लागि कार्यालयहरूको भौगोलिक अवस्था चित्रण गर्न,
– पर्यटकहरूलाई देशको भौगोलिक अवस्था, बाटोघाटो, सेवा सुविधा आदिका बारेमा जानकारी दिन, विद्यालय तथा विश्वविद्यालयमा अध्ययन अध्यापनका लागि सजिलो बनाउन,
– विश्व नघुमीकनै विश्वबारे विविध जानकारी हासिल गर्न ।

८. जैविक विविधता संरक्षण गर्ने पाँचवटा उपायहरू उल्लेख गर्नुहोस् ।
 जैविक विविधता संरक्षण गर्ने पाँचवटा उपायहरू निम्न छन् ः
१. जीवित प्राणी एवम् वनस्पतिहरूको वासस्थान र तिनको वंशाणुगत गुणको संरक्षण गर्ने,
२. विभिन्न भौगोलिक क्षेत्रमा अवस्थित जैविक विविधताको अध्ययन अनुसन्धान गरी सोहीअनुसार संरक्षणका कार्यक्रम तर्जुमा गरी लागू गर्ने, यसमा स्थानीय सङ्घ संस्था, समुदायको सक्रिय सहभागिता बढाउने,
३. वन–जङ्गल जोगाउने, हरियाली बढाउने, वातावरण संरक्षण गर्ने,
४. वनसम्पदाको प्रयोगमा कटौती गरेर,
५. रासायनिक मल एवम् कीटनाशक औषधिको कम प्रयोग ।

९ . नेपालमा उपभोक्ता स्वास्थ्यमा देखिएका समस्याहरू के–के छन् ?
उपभोग्य वस्तुहरूको गुणस्तर, उपभोग अवधि, लाभ–हानिलगायत स्वास्थ्यसँग सम्बन्धित विषयहरूको जानकारी राख्नु उपभोक्ता स्वास्थ्य हो । नेपालका उपभोक्ताहरू यी विषयमा सचेत नहुनु ठूलो समस्या हो । स्वास्थ्य सचेतना एवम् ज्ञानको अभावले यससम्बन्धी विभिन्न समस्याहरू देखिएका छन् । जुन निम्न छन् ः
– उपभोक्ताहरू आफ्नो स्वास्थ्यप्रति सजग नहुनु,
– वस्तु तथा सेवाको गुणस्तर पत्ता लगाउन नसक्नु,
– वस्तु तथा सेवाको उपभोग अवधि, लाभ–हानिलगायतका विषयमा पर्याप्त जानकारी नुहुनु, वस्तु तथा सेवाको वास्तविक मूल्य थाहा नपाएर ठगिनु,
– उपभोक्ताहरू वस्तुको सही छनोट गर्न नसक्नु, उपभोक्ता शिक्षाको अभाव हुनु,
– उपभोक्ताहरूले आफ्नो अधिकार र दायित्वको ख्याल नगर्नु,
– उत्पादकलाई वस्तु तथा सेवाको गुणस्तरप्रति प्रतिबद्ध गराउन नसकिनु,
– उपभोग्य वस्तुको कृत्रिम अभाव एवम् कालो बजारी नियन्त्रण गर्न नसक्नु,
जागरुक उपभोक्ताको अभाव हुनु ।

-गोरखापत्रबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.