शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ यूकेद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

बुधबार, ०१ पुस २०७७, १७ : ३६
बुधबार, ०१ पुस २०७७

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित  ‘पत्रकार आपत्कालीन राहत कोष’ मा २३ लाख रुपियाँ जम्मा गरेको छ । उक्त सहयोग रकममध्ये २० लाख रुपियाँ महासंघको अक्षय कोषमा राखिने र बाँकी ३ लाख रुपैयाँ कोरोना महामारीका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गरिने गत साउनमा बसेको बैठकमा शाखाका अध्यक्ष नरेश खपांगीमगरले बताएका थिए ।

पत्रकार महासंघ यूकेले सन् २०१७ आयोजना गरेको एक च्यारिटी कार्यक्रममा संकलन गरेको रकममध्येबाट २३ लाख  रुपैयाँको सहयोग गर्ने निर्णय गरेको थियो । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिसकिएको छ ।

संघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो कोषको अवधारणामा युके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् । कोरोना महामारीजस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्नसक्ने प्रभावबाट राहत दिन १ करोड रुपैयाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो ।

कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा हजारौं पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि सैयौंको संख्यामा पत्रपत्रिका लगायत थुप्रै एफएम रेडियो स्टेशनहरु बन्द भएका छन्  । रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ । 

यसअघि पनि तत्कालिन अध्यक्ष चिरन शर्माको कार्यकालमा भूकम्प पीडित पत्रकारको लागि नेपाल पत्रकार महासंघको आपतकालिन कोषमा  बेलायत शाखाको तर्फबाट  १३ लाख रुपैयाँ सहयोग गरिएको  थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप