शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आप्रवासी कामदार महासन्धी पारित भए नेपाली महिला कामदारहरुलाई राहत हुने

बिहीबार, ०२ पुस २०७७, १८ : ३७
बिहीबार, ०२ पुस २०७७

आप्रवासी कामदार महासन्धी पारित भए नेपाली महिला कामदारहरुले राहत पाउने सरोकारवालाहरुले बताएका छन् ।

आप्रवासी कामदारको अधिकार दिवसका अवशरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले आप्रवासी महिला कामदारहरुको हक हित संरक्षण गर्न महासन्धीले ठूलो सहयोग गर्ने बताएका हुन् । 

महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धी अनुमोदन भए सबै आप्रवासी कामदार र तिनीहरुका परिवारका सदस्यहरुको अधिकार संरक्षणमा सहयोग पुग्ने बताए । महासन्धीले कामदार उत्पत्तिको देश र रोजगारीका लागि जाने देशको दायित्व र के गर्ने भन्ने कुरा बोलेकोले अनुमोदनको आवश्यकता रहेको उनले बताए ।

आप्रवासी महिला कामदार समूहका अध्यक्ष विजया राई श्रेष्ठले नेपाली महिला कामदारमाथि समय समयमा हुने प्रतिवन्धले समस्या हुने गरेको बताए । प्रतिवन्धका कारण महिला कामदारहरुले धेरै दुःख पाउने गरेको उल्लेख गर्दै उनले महासन्धी अनुमोदन भएपनि महिला कामदारहरुले राहत पाउने बताए ।

महासन्धीमा कुनै पनि राष्ट्र छोड्न पाउने र उत्पत्तिको राष्ट्रमा कुनै पनि समयमा प्रवेश गर्न र रहन पाउने अधिकारको संरक्षण गरिएको छ । यस्तै कामदारको बाँच्न पाउने अधिकार, यातना, क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको अधिकार र दासता विरुद्ध संरक्षणको अधिकार पनि संरक्षण गरिएको छ ।

कठोर श्रमसहित कारावासको सजाय पाएको अवस्थाबाहेक अन्य अवस्थामा अनिवार्य श्रम विरुद्ध संरक्षणको अधिकार, मान्यता, विवेक र धर्मको स्वतन्त्रतासम्बन्धी अधिकार तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकार पनि समेटिएको छ । 

यस्तै गोपनियता, पत्राचार र संचार माथिको स्वेच्छाचारी हस्तक्षेप विरुद्ध संरक्षणको अधिकार राष्ट्रको कन्सुलर वा कुटनीतिक निकायबाट संरक्षण तथा सहयोगको याचना गर्न पाउने अधिकार  र रोजगारी राष्ट्रको नागरिकसरह न्यूनतम् रोजगारीको सहुलियत र सुविधा प्राप्त गर्ने अधिकार पनि महासन्धीमा समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप