शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका देविका बन्दनाको जीवन : गीत गाउँदागाउँदै मर्न पाए हुन्थ्यो

शनिबार, ०४ पुस २०७७, १० : ५०
शनिबार, ०४ पुस २०७७

करिब तीन दशकदेखि निरन्तर गायनमै रहेकी देविका बन्दना नेपाली कलाक्षेत्रकी लोकप्रिय गायिका हुन् । एक समय फिल्म होस् वा आधुनिक गीत उनले छोए हिट हुन्थ्यो । धेरैले उनलाई ‘यस्तै रहेछ यहाँ को चलन’ गीतबाट पनि चिन्छन् । सानैदेखि गाउँदै आएकी उनको स्वर रहेको ‘माइली’ फिल्मको गीत ‘भरे आउँछु सपनीमा पर्खिराख है’ अहिले पनि त्यतिकै बज्ने गरेको पाइन्छ । अहिलेसम्म १६ एल्बम ल्याएकी देविकाको भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत आएकमा छन् । आफ्नै नामबाट देश तथा विदेशमा थुप्रै एकल कार्यक्रमसमेत गरेकी उनी सङ्गीतिक क्षेत्रमा पु¥याएको योगदानको कारण करिब ४ दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानितसमेत हुन सफल भएकी छन् । सुमधुर स्वरकी धनी गायिका देविका बन्दनाको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा केलाउने प्रयास गरिएको छ ।

मेरो खाना

नेपाली खाना दालभात, तरकारी र रोटी मनपर्छ । तरकारीमा सब्जी बढी मनपर्छ । माछा र अन्डा बाहेकका मासु खादिनँ ।

साथीभाइ, फ्यामिलीसँग कहिलेकाहीँ रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा बढी मनपर्ने पिजा, मम र चाउमिन हो । पकाउन धेरै रुचि छ । मीठो पकाउन सक्छु । घरमा पनि नियमित म पकाउँछु ।

मेरो फिट्नेस

फिटनेसका लागि सजक छु । त्यसैले हरेक दिन बिहान जुम्बा, डोरी खेल्ने, योगलगायतका एक्सरसाइजका लागि एक घण्टा समय दिन्छु । समय भयो भने बेलुका पनि एक्सरसाइज गर्ने गरेको छु । सानोदेखि अहिलेसम्म एक्सरसाइज भने छोडेकी छैन ।

मेरो पोसाक

कुर्थासुरुवाल, सारीचोलो बढी मनपर्छ । विशेष कार्यक्रम तथा पार्टीहरुमा सारीचोलो लगाउँछु । अन्य समय कुर्था सुरुवाल, पाइन्ट लगाउन सजिलो लाग्छ ।

मेरो मनपर्ने पहिरन कलर ग्रिन र पिङ्क हो । पहिरन कहिले रेडिमेट किन्छु । कहिलेकाहीँ सिलाउएर पनि लगाउँछु । म आफै पनि पहिरनको डिजाइन गर्छु । पहिरनमा धेरै खर्च छ । वार्षिक एक लाखले पनि पुग्दैन ।

मेरो अध्ययन

अहिले पुस्तक नपढेको धेरै भयो । पुस्तक पढ्न मलाई एकदमै अल्छी लागेर आउँछ । अनलाइनमा, पत्रपत्रिकामा भने समाचार र विभिन्न विषयमा पढ्ने गरेको छु ।

मेरो घुमफिर

घुमघाममा एकदमै रुचि छ । फुर्सद भयो कि पोखरा, पाल्पा घुम्न धेरै जाने गरेको छु । गायिका भएकाले मेरो कामले पनि धेरै ठाउँ घुमाउने गरेको छ ।

म आफ्नै कार्यक्रम देविका बन्दना एकल साँझ लिएर देशविदेश पुगेको छु । केही समयअगाडि पनि म थाइल्यान्ड र दुबई कार्यक्रमको सिलसिलामा पुगेर फर्किएको हो ।

कार्यक्रमले गर्दा देशका धेरै ठाउँ पुगिसके । विदेशका अमेरिका, बेलायत, दुबई लगायत १० देशमा पुगे होला ।

मेरो फुर्सद

फुर्सद अलिकति पनि छैन । बिहान सधैँ नित्यकर्म र एक्सरसाइजले बित्छ । त्यसपछि घर सजाउनेदेखि लिएर परिवारलाई आफै खाना बनाएर खुहाउँछु । समय बितेको पत्तै हँुदैन ।

आफन्त, घर भन्दैमा समय छैन । गीत रेकर्डिङ, मिडिया भेटघाटलगायतमा मेरो सधँै २ बजेपछि मात्र हो ।

मेरो खेलकुद

ब्याडमिन्टन मेरो सानैदेखिको मनपर्ने खेल हो । फिजिकल फिट्नेसका लागि पनि यो राम्रो छ । अहिले पनि राम्रो पार्टनर भयो भने खेल्ने गरेको छु ।

फुटबल, क्रिकेटलगायतका गेमसमेत टिभीमा हेर्न मनपर्छ ।

मेरो टिभी

टिभी हेर्न मनलाग्छ । मेरो टिभी हेर्ने समय अहिले नेटमा पनि बाँडिएको छ । टिभीमा रियालटी सोहरु, समाचार हेर्छु । कहिलेकाहीँ फिल्म, सिरियल, म्युजिकल कार्यक्रम र अन्तरवार्ता पनि हेर्छु । नेटमा पनि यस्तै हो ।

मेरो चलचित्र

फिल्म धेरै हेर्न मनलाग्छ, हेर्छु । पहिले त मैले पनि धेरै फिल्मका गीतहरु गाएको थिए । त्यस्तै १०० वटा फिल्मको गीत गाएकी छु जस्तो लाग्छ ।

पछिल्लो समय राम्रा मेकरले बनाएका, नाम चलेका र राम्रा कलाकार भएका फिल्म हेर्ने गरेको छु । त्यसमा हिन्दी, नेपाली दुवै पर्छ ।

पछिल्लो समय टिभीमा पनि राम्राराम्रा फिल्म आउँछन् । धेरैजसो फिल्म हलमा नै हेर्ने मनलाग्छ । हलमा फिल्म हेरेको जस्तो आनन्द घरमा हेर्दा हुँदैन । 

मेरो प्रेम

आजभन्दा करिब २८, २९ वर्षअगाडि मैले प्रेम विवाह गरेको हो । मेरो श्रीमान् बिजनेस गर्नुहुन्छ । एक स्टेज कार्यक्रममा गीत गाउँदा उहाँले पहिलो पटक मलाई देख्नुभएको रहेछ । त्यही समयदेखि प्रेम प्रस्ताव राखेर पछि लाग्नुभयो ।

सुरुमा मलाई उहाँ मनपरेको थिएन । उहाँले अरूमार्फत चिट्ठीसमेत पठाइरहनु हुन्थ्यो । पछि उहाँको बानी बेहोरा सबैबुझ्दा ठीक लाग्यो । अनि परिवारको सहमतीमा उहाँसँगै विवाह गरँे ।

मेरो गीतसङ्गीत

कर्म, धर्म, पेसा जे भने पनि मेरो गीतसङ्गीत नै हो । म सानै उमेरदेखि गीतहरु गाउँथे । व्यावसायिक रूपमा गीतसङ्गीतमा रोजेको तीन दशक भयो होला ।

अहिलेसम्म मेरो १६ एल्बम निस्किएका छन् । गीत एक हजार बढी रेकर्ड भए होला । त्यसमा भजन, फिल्म, आधुनिक, हिन्दीलगायत सबै प्रकारका छन् । मुम्बईबाट हिन्दी गीत पनि गाएकी छु । मैथली, भोजपुरी, नेवारीमा समेत गीत छन् मेरा ।

मेरो जीवन गीतसङ्गीतमै बित्यो । जहिलेदेखि व्यावसायिक रूपमा यो क्षेत्र रोजेँ, अहिलेसम्म पनि ग्याप भएको छैन ।

गीत गाउँदै मर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

गीतसङ्गीत सुन्न पनि मनपर्छ । हरेक किसिमको गीत सुन्छु । त्यसमा मेलोडियस बढी सुन्छु ।

मेरो दुःख

नायक, नायिका, कलाकारलगायतलाई जति दुःख छ । गीतसङ्गीतका गायक, गायिका, सङ्गीतकार लगायतलाई त्यति दुःख छैन । गीत गायो, भिडियो बनायो यति हो काम । पहिले त भिडियो पनि बनाउनुपर्दैैन थियो ।

स्टगलको समय केटी भएर होला अलिकति दुःख धेरै भयो । केही मानिस चिनेपछि र सङ्गीतमा भिज्न थालेपछि भने दुःख र गाह्रो महसुस भएकै छैन ।

मेरो सपना

मेरो धेरै ठूलाठूला सपना छन् । एउटा सपना लन्डनको लोयल अल्बर्ट हलमा देविका बन्दना एकल साँझ गर्ने रहेको छ ।

त्यो हलमा बलिउडका लता, सोनु निगमदेखि धेरै हस्तीले प्रस्तुति दिएका छन् । नेपालको दीप श्रेष्ठलगायत केहीले मात्र कार्यक्रममा गर्नु भएको छ ।

एक पटक लन्डनको कार्यक्रममा जाँदा आफू पवित्र हुने सोचेर त्यहाँ पुगेको थिए ।

मेरो भुल           

भुल नगर्ने मानिस जीवनमा सायदै होलान् । जीवनमा जानी नजानी भुल पनि धेरै भए होलान् । सधैँ सम्झने, पछुताउनुपर्ने भुल त्यस्तो केही छैन अहिलेसम्म ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । किनभने म एक्सरसाइज मज्जैले गर्छु । रोगको उपचार त्यसैले गरेको होला जस्तो लाग्छ ।

कहिले काही साधारण रुघाखोकी, ज्वारो सामान्य नै भयो । केही अगाडि सुगर बोडर लाइनमा पुगेको थियो । एक्सरसाइज र खानपिनले त्यो पनि हरायो ।

मेरो मापसे

मापसे म कहिलेकाहीँ मात्र त्यो पनि हल्का गर्छु । पार्टीहरुमा र घरमा दसैँ, तिहारलगायतको चाडबाडमा मात्र । त्यो पनि वाइन मात्र खाने गरेको छु । कहिलेकाहीँ साथीभाइ, आफन्त जुट्दा खानैपर्ने हुन्छ । हार्ड ड्रिङ्स् कहिल्यै लिन्न ।

अहिले घरमा पनि मापसे सजाएर राख्ने चलन छ । मलाई भने घरमा सजाउन मनपर्दैन ।

मेरो राशि

मेरो राशि कन्या हो । ग्रह दशामा धेरै विश्वास लाग्छ । कुनैकुनै समय हेराउने जुराउने समेत गर्दछु । हरेक दिन पूजापाठ गर्छु । भगवानप्रति आस्था धेरै छ ।

मेरो मृत्यु

मृत्यु एक अन्तिम सत्य हो । कसको कसरी मृत्यु हुन्छ भनेर कसैले भन्न सक्दैन । जन्मिएको मर्न हो । रोगले थलिएर, आफन्तलाई दुःख दिएर मृत्यु नहोस् भन्ने चाहना छ । मृत्युअगाडि सम्झने खालका धेरै राम्रो कर्म गर्न पाइयोस्, सकियोस् भन्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप