ad
केन्द्रीय संस्करण
अर्थतन्त्र

बैङ्कहरुले किन घटाए निक्षेपको ब्याजदर ?

person explore access_timeपुस ४, २०७७ chat_bubble_outline0

 

काठमाडौं । विश्वव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोपको परीक्षण सफल बन्दै गर्दा यतिबेला कोरोना महामारी अन्त्यको आशा जाग्दै गएको छ । नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न राष्ट्रहरुले संक्रमणविरुद्ध खोप दिन सुरु गर्ने बताउँदै आएका छन् ।

नेपालले पनि कोभिड–१९ को खोपलाई तत्कालै ल्याउन कुटनीतिक संवादलाई तीव्रता दिएको जनाएको छ । शुक्रबार मात्रै अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमै आयोजित कार्यक्रममा तत्कालै खोप ल्याउने र नागरिकहरुलाई निःशुल्क रुपमा वितरण गर्ने बताएका छन् ।

अहिले कोरोना संक्रमणविरुद्ध नागरिकमा कन्फिडेन्ससमेत बढ्दै गएको छ । महामारीका कारण भयभित भएका नागरिकहरु अहिले सामान्य जनजीवनमा फर्किसकेका छन् । एकजना संक्रमित हुँदा लकडाउन गर्ने राज्यले अहिलेले दैनिक हजारौँ सङ्क्रमण थपिँदा पनि यसलाई सामान्य रुपमै लिँदै आएको छ ।

अवस्था सामान्य बन्दै गएपछि यतिबेला बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको समेत बढ्दै गएको छ । भविष्यमा थप बढ्दै जाने सम्भावना देखिएको छ । यसले कोभिडका कारण घट्दै गएको निक्षेपको ब्याजदरलाई अप्रत्यक्ष रुपमा माथि लैजाने आम निक्षेपकर्ताको अपेक्षा समेत थियो ।

तर, व्यवहार फरक देखिएको छ । निक्षेपको ब्याजदर बढ्नुको सट्टा पुसदेखि लागु हुनेगरी अधिकांश बैङ्कहरुको निक्षेपको ब्याजदर घटेको छ । २७ वटा वाणिज्य बैङ्कमध्ये २६ वटा बैङ्कको बचत खाताको ब्याजदर घटेको छ । मुद्दति खाताको पनि केही बैङ्कहरुको बाहेक ब्याजदर घटेको छ ।


किन घट्यो ब्याजदर ?

अर्थतन्त्रको अवस्था सहज भएर ऋणको माग समेत बढ्दै जाँदा बैङ्कहरुले किन ब्याजदर घटाए त ? यसमा सरोकारवालाहरुको फरक फरक मत छ । कसैले राष्ट्र बैङ्कको नीतिका कारण यस्तो ब्याजदर घट्दै गएको बताउँछन् । कोही भने अहिले पनि बैंकिङ क्षेत्रमा कर्जाको माग पर्याप्त नभएकोले समस्या रहेको बताउँछन् । उता, कसैले भने निक्षेपको ब्याजदर परिवर्तनमा हुने स्वभावका कारणले पनि बैङ्कहरुको ब्याजदर नघटेको बताउँछन् ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले बचत तथा मुद्दति निक्षेपको ब्याजदरको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गर्यो । यो व्यवस्थाको मुख्य कारण बचत निक्षेपको ब्याजदर एउटा सीमामा रहोस् भन्ने हो । तर, समीक्षा सार्वजनिक भएलगत्तै बैङ्कहरुले नयाँ महिनाका लागि लागु हुनेगरी बचत तथा मुद्दती निक्षेप दुवैको ब्याजदर घटाइदिए ।

राष्ट्र बैङ्कको यो व्यवस्थाका कारण बैङ्कहरुले बचतको ब्याजदर बढाउनुको सट्टा मुद्दती निक्षेपको ब्याजदर घटाइदिएको नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन् । राष्ट्र बैङ्कले ब्याजदरलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्नेमा यसलाई कडाइ गर्न खोजेपछि ब्याजदरमा यसको साइड–इफेक्ट देखिएको उनले बताए । 

बैंकिङ क्षेत्रका विश्लेषक तथा पूर्व बैङ्कर अनलराज भट्टराई भने ब्याजदर घट्नुको कारण फरक देख्छन् । उनका अनुसार अहिले पनि बजारमा ऋणको माग पर्याप्त छैन । व्यवसायिक क्षेत्रबाट ऋणको माग नभएको र नयाँ परियोजना आउनसमेत नसकेका कारण क्रेडिट डिमान्ड बढ्न नसकेकोले ब्याजदर घट्दै गएको उनको भनाई छ ।

‘मार्केट खुले पनि अहिले पनि व्यवसायिक क्षेत्रले क्रेडिटको डिमान्ड गरेको छैन । राजश्व तिर्न असोज महिनामा अलिकति क्रेडिट बढेको देखिएको थियो । त्यसपछि फेरि यो कम भयो । यही भएर ब्याजदर घटेको हो,’ भट्टराईले भने, ‘बजारमा क्रेडिटको डिमान्ड भएर अधिक तरलताको समस्या समाधान हुँदा मात्रै ब्याजदर बढ्छ ।’

पहिले बैंकिङ क्षेत्रमा २ सय अर्ब भन्दा बढी तरलता थियो । अहिले यस्तो तरलता १ सय १० अर्बको हाराहारीमा रहेको राष्ट्र बैङ्कको तथ्यांक छ । राष्ट्र बैङ्कले बजारमा अधिक तरलताको समस्या समाधान हुँदै गएको बताउँदै आएको छ । अझै पनि किन बैंकिङ ब्याजदर घट्दै छ त ? विश्लेषक भट्टराई भन्छन्, ‘तरलता घट्दैमा ब्याजदर बढ्छ भन्ने हुँदैन । त्यो तरलता कहाँ गयो भन्ने हुन्छ । अहिले क्रेडिट डिमान्ड भएर तरलता बढेको अवस्था होइन ।’

बैंकिङ क्षेत्रको अधिक तरलता घट्दै जाँदा सरकारी ट्रेजरीको तरलता गएको उनी बताउँछन् । पुँजीगत खर्च उल्लेख्य रुपमा हुने हो भने यसले फेरि बैंकिङ क्षेत्रमा तरलता थप बढाउने भएकोले अहिले ब्याजदर बढ्ने अवस्था नभएको उनले बताए । राष्ट्र बैङ्कको नीतिकै कारण ब्याजदर घटेको भन्नसक्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

ब्याजदरमा ‘ल्यागिङ इफेक्ट’

अहिले निक्षेपमा ब्याजदर बढ्नुको सट्टा झनै घट्नुको कारण ब्याजदरको ढिलो प्रतिक्रिया दिने स्वभाव रहेको समेत कतिपय विश्लेषक बताउँछन् । बैंकिङ ब्याजदरले तरलताको ‘ल्यागिङ इन्डिकेट’को रुपमा रहेका कारण तरलता सहज भए पनि यसले ब्याजदरलाई माथि तान्न समय लाग्ने उनीहरुको भनाइ छ ।

‘बैङ्कको ब्याजदर सेयर बजारजस्तो पब्लिक सेन्टिमेन्टसँग जोडिने विषय होइन, तरलता सहज हुँदै गए पनि त्यसको प्रभाव ब्याजदरसम्म आइपुग्न केही समय लाग्छ,’ राष्ट्र बैङ्कसम्बद्ध एक अधिकारी भन्छन्, ‘अर्थशास्त्रको भाषमा यसलाई ल्यागिङ इफेक्ट भनिन्छ । यस्तो सूचकमा प्रभाव पर्न समय लाग्छ ।’

लकडाउन सुरु भएपछि बैंकिङ क्षेत्रमा अधिक तरलताको अवस्था निम्तियो । तर, ब्याजदर विस्तारै मात्रै तल झर्यो । ऋणको माग बढेर तरलता सहज हुँदै गर्दा ब्याजदर पनि विस्तारै बढ्दै जाने उनको विश्वास छ । क्रेडिट डिमान्ड अपेक्षित रुपमा नबढेका अधिक तरलता घट्दै गएको महशुस बैंकिङ क्षेत्रमा नपरेकोले पनि ब्याजदर घटेको हुनसक्ने ती अधिकारीको अनुमान छ ।

तर, राष्ट्र बैङ्कको बचत र मुद्दति निक्षेपको ब्याजदरको अन्तरसम्बन्धी नियमकै कारण मुद्दति निक्षेपको ब्याजदर घटेकोमा ती अधिकारी सहमत छैनन् । उनी भन्छन्, ‘राष्ट्र बैङ्कले सर्कुलर नआउँदै यो नियम लागु हुँदैन । बैङ्कहरुले त सर्कुलर आउनुभन्दा अघि नै ब्याजदर घटाइसकेका थिए । राष्ट्र बैङ्कको निर्देशन लागु नै नभइ यही निर्देशनको कारण मुद्दतिको ब्याजदर घट्यो भनेर त कसरी भन्न सकिन्छ र !’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.