बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिप्पणी : ओलीको साइकलवादी हर्कत

आइतबार, ०५ पुस २०७७, ११ : १५
आइतबार, ०५ पुस २०७७

कृष्णप्रसाद कोइराला नेपालका समाजसुधारक तथा राजनीतिज्ञ थिए । उनका ३ छोराहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला विभिन्न कालखण्डमा प्रधानमन्त्री बने । 
कृष्णप्रसादका ३ छोरामध्ये कान्छा थिए, गिरिजाप्रसाद  । उनै गिरिजाप्रसादका मिल्ने साथी थिए– विश्वबन्धु थापा । उसो त थापालाई कृष्णप्रसादले छोराजस्तै मान्थे । 

एक दिनको कुरा हो–कृष्णप्रसादले छोरा गिरिजाप्रसाद र छोराजस्तै मानेका विश्वबन्धु थापालाई खेल्नका लागि साइकल किनिदिए । साइकल रोटेशन (पालैपालौ) अनुसार चलाउनुपथ्र्यो यी दुईले । गिरिजाप्रसादले एक दिन साइकल पालोअनुसार विश्वबन्धुलाई हस्तान्तरण गर्नु त परै जाओस् । उनले पर खेतको डिलमा लगेर एकाएक साइकललाई कच्याककुच्चुक बनाएर फालिदिए । कृष्णप्रसादले के गरेको बाबु तैँले भनेर प्रश्न गर्दा मैले चढ्न सँधै चढ्न नपाएपछि त्यो साइकलको के काम ? भन्दै उनले कृष्ण प्रसादलाई उत्तर दिए । 

त्यतिबेला गिरिजाप्रसादको साइकलवादी चरित्रको आफै, रमाऔं, आफै रवाफ देखाउँ भन्ने नै थियो । आफ्नो हालीमुहाली नहुने भएपछि त्यो साइकलको के काम ? भन्ने कुनियत त देखियो नै त्यही कुनियतले साइकलनै ध्वस्त हुन पुग्यो । 

गिरिजाप्रसादको त्यही साइकलवादी चरित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि देखिएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पेश गरेका छन् । हताठ र आवेगमा ओलीले गरेको यो निर्णयको परिणाम भोलिका दिनमा निश्चय नै देखिने त छ नै राजनीतिक स्वार्थपूर्तिका लागि कतिसम्म फोहोरी खेल हुँदोरहेछ भन्ने एकपटक पुनः प्रमाणित भएको छ । 

दुई तिहाइ बहुमत नजिकको सरकार, त्यसमाथि जहाँबाट उनी निर्वाचित भएर देशलाई समृद्ध बनाउने कसम खाँदै अघि बढे, त्यसलाई चटक्कै भुलेर उनले आफ्ना बाचालाई पनि रसातलमा पुर्याएका छन् । 
अर्थात गिरिजाप्रसादले साइकल कच्याककुच्चुक पारेजस्तै प्रधानमन्त्री ओलीले संसदलाई कच्याककुचुक पार्न विघटनको वाटोतिर लागेका छन् । यो ओलीको साइकलवादी प्रवृत्ति हो ।

प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि पार्टीभित्र तीव्र असन्तुष्टि थियो । जसका कारण उनी अल्पमतमा पर्दै पदबाटै राजीनामा दिनुपर्नेसम्मको अवस्था आएपछि संसद विघटनको निर्णयमा ओली पुगेका हुन् भन्नेमा दुईमत छैन ।  
हुकुमीशैलीमा पार्टी चलाएको, राजनीतिक नियुक्तिमा मनपरी गरेको, पार्टी निर्णय नमानेको जस्ता आरोप लगाउँदै सचिवालयका बहुमत सदस्य ओलीको विपक्षमा रहँदै आएका थिए । निर्वाचनबाट दुई तिहाइ नजिक मत ल्याएको पार्टीबाट प्रधानमन्त्री बनेका ओलीले संसद विघटन गर्नु कीमार्थ स्वीकार्य छैन । स्वार्थपूर्ति र व्यक्तिगत सनकले देश अस्थिरतातर्फ जाने खतरा बढ्दै गएको छ नै यस खालको निर्णयबाट जनमतमाथिको कुठाराघात पनि भएको छ । 
ओलीको यो कदम प्रतिगमनकारी छ, संविधानविद्हरुका अनुसार गैरसंवैधानिक पनि छ । अझै पनि ढिला भएको छैन, साँच्चै ओली प्रवृत्तिलाई रोक्ने हो र साँच्चै आफ्नो पदीय गरिमा बढाउने हो भने राष्ट्रपतिले उचित निर्णय लिन सक्नुपर्छ । यो राष्ट्रपतिको पनि परीक्षाको घडी हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप