ad
केन्द्रीय संस्करण
कोरोना र मानसिक समस्या

महामारीको दुस्परिणाम : तीनमध्ये एकमा मानसिक समस्या देखापर्ने खतरा बढ्यो !

person explore access_timeपुस ६, २०७७ chat_bubble_outline0

 

 

अब मेरो पसलको सामान कसैले किन्दैनन्, साहुले मलाई सामान उधारोमा दिँदैनन्, मैले केही गर्न सक्दिनँ, अब ऋणमा चुर्लुम डुब्ने भए । यस्ता यावत ख्याल काठमाडौं उपत्यकाका व्यवसायी नाम परिवर्तन ‘रमेश श्रेष्ठ’ के मनमा निरन्तर आउन थाल्यो । व्यवसाय ठप्प हुँदा मनमा अनेक कुराहरु एकहोरो रुपमा खेलाउँदा खेलाउँदै घरमा बस्ने क्रममा उनलाई मरौँ मरौैँ लाग्न थाल्यो । बन्दाबन्दीले व्यवसाय ठप्प भएसँगै आशाका किरणहरु निराशामा बदलिँदा निद्रा नपर्ने, खाना खान मन नलाग्ने, परिवारका सदस्य अनि व्यवसायिक कारोवार गर्ने व्यक्तिहरुसँग बिना कारण झर्किन थाले ।

उनको मनमा एकहोरो व्यवसाय ठप्प हुने भयो ऋणमा चुर्लुम डुब्ने भए, अब सडकमा आउने भए जस्ता नकारात्मक कुरा बारम्बार आउन थाल्यो । उनी जिन्दगीदेखि निरास हुन थालेपछि  श्रीमतीलाई सम्पूर्ण व्यवसायको जिम्मेवारी दिने र मर्ने तयारी गर्न थालेको उनकी श्रीमतीले डायरीमार्फत थाहा पाइन् । यस महामारीको समयमा श्रेष्ठलाई मात्रै होइन, बुढानिलकण्ठका ६१ वर्षीय नन्दलाल शर्मालाई वृद्धवृद्धा र दीर्घरोगीलाई कोरोना संक्रमण हुँदा मरिहाल्छन् भन्ने भ्रमित  सन्देशहरुले मनमा नकारात्मक कुराहरु खेल्न थल्यो ।

उनले काठमाडौंभरि कोरोना फैलियो अब म बाँच्दिनँ भन्दै घरबाहिर रहेका सदस्यलाई ‘मलाई छिट्टै भेट्न आऊ’ भन्दै एकोहोरो अत्ताउन थाले । यति मात्रै होइन, उनले आफूले गरेको लेनदेनका कोरोवार समेत परिवारलाई धमाधम बताउन थाले । त्यसो त उनलाई हालसम्म कोरोना संक्रमण भएको छैन ।

०००

बाँसवारीस्थित गंगालाल अस्पताल नजिकै बस्दै आएका १७ वर्षीय बसन्त कुँवरको एसइई दिने तयारी गरिरहेका थिए । बन्दाबन्दीको करिब दुई महिनासम्म उनी पूर्णतः स्वस्थ थिए । तर पछि उनमा पनि त्यसको मानसिक असर देखापर्न थाले ।  विस्तारै उनमा कोठामा अध्ययनका लागि भनेर एक्लै बस्न रुचाउने, आफु बस्ने कोठामा परिवारका सदस्यलाई समेत डिस्ट्रब हुन्छ भन्दै छिर्न नदिने तथा परिवार तथा साथीसंगीसँग कम बोल्ने प्रवृत्ति देखापर्न थाल्यो । त्यो बढ्दै जाँदा उनले सानोसानो कुरामा पनि रिसाउने झर्किने, वरिपरिका सामग्री फाल्ने गर्न थाले । तर,  तत्कालै उनमा गल्तीबोध हुन्थ्यो र एकैछिनमा पछुताउथेँ । उनका अभिभावकले कक्षा ११ मा भर्ना गराउनका लागि  करिब ५ वटा विद्यालयमा पुर्याइसके उनले आफूलाई त्यसमा समायोजन गर्न सकेका छैनन् । उनका परिवारजनहरु विद्यायलय परिवर्तन गर्दागर्दै हत्तुभइसकेको छन् तर हालसम्म पनि उनी पढाइमा सरिक हुन मानेका छैनन् ।

यी त केही प्रतिनिधिमूलक घटनाको चित्रण हो । यसले महामारीकालमा व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुमा परेको मानसिक प्रभावको प्रतविम्बन गर्छ । त्यसो त यस महामारीले कोरोना संक्रमणको जोखिम भएका लक्षित समूह मात्रै नभएर बालमस्तिष्कहरु समेत नराम्रोसँग प्रभावित भएका छन् ।

 

कोरोना महामारीको त्रासले  गरिएको बन्दाबन्दी अनि कोरोनाको महाव्याधिले चर्को रुप लिँदै जाँदा प्रायः धेरै व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक पीडा पुर्याएको मनोविश्लेषक बासु आचार्य बताउँछन् । उनी भन्छन् : ‘शरीरको उमेर बराबर मनको उमेर हुँदैन,’ उनले भने, ‘१४ वर्षको बच्चाले ४० वर्ष व्यक्ति जस्तो विवेकी पनि भएर बसेका छन्, ५५ वर्षको मानिसले १० वर्षको बच्चाको जस्तो कच्चा बानी व्यवहार देखाउन सक्छन् ।’ 

कोभिड—१९ कालमै लामो समयसम्मको बन्दाबन्दीले महिला, किशोरकिशोरी, बालबालिका, व्यवसाय गर्ने व्यक्ति पछिल्ला समय परार्मश केन्द्रमा धाउने बढिरहेको उनी बताउँछन् ।

ललितपुरस्थित पाटन अस्पतालका प्रमुख डा. रवि शाक्यका अनुसार गत चैत्र यता अन्य रोगको औषधि सेवन गर्नेभन्दा मानसिक रोगको औषधि सेवन गर्ने व्यक्तिको संख्या बढ्दै गएको छ । लकडाउनको समयमा नियमित रुपमा मानसिक रोगको औषधि सेवन गर्न नपाउँदा झन रोग बल्झिएको पनि उनले बताए । कोरोना महामारीकै कारण विभिन्न खालका  मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल आइपुग्ने बिरामी ११÷१२ प्रतिशत बढेको उनले जानकारी दिए ।

महामारीले मानिसहरुको सोच, काम, व्यवहार, शरीरिक क्रियाकलाप, अन्तरव्यक्तित्व सम्वन्ध, दैनिकी, बुझाइ, व्यवहार, तर्क, सहन सक्ने क्षमता (जस्तै आवेग नियन्त्रणमा, रिस कुण्ठा) मा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पुर्याएको मनोविलेश्षक आचार्य बताउँछन् ।

 विस्तारै उद्योग व्यवासाय, यातयात, शैक्षिक संस्था लगायतका विभिन्न क्षेत्रहरु  खुल्दै गएपछि मानसिक रुपमा विभिन्न खालका समस्या देखिए मनोपरामर्श लिन जानेको संख्या बढेको उनी बताउँछन् ।

कोरोनाले मानसिक, शारीरिक, व्यवहारिक, सामाजिक रुपमा धेरै परिर्वतन ल्याएकाले मानसिक रोगीको संख्या नेपालमा मात्रै नबढेर विश्वमै बढेको उनले बताए ।

लामो समयसम्म परिवारमै सीमित हुँदा र सधै बाहिरी काममा मात्रै सीमित हुँदामा मानिस खुसी हुन नसक्ने मनोविद् सनम पौडेल बताउँछिन् । मानिसलाई मानसिक रुपमा स्वस्थ भएर बाँच्नका लागि विविधता चाहिने उनको भनाइ छ । बन्दाबन्दीको समयमा एकातिर कोरोना संक्रमणको त्रास अर्कोतिर सबै क्षेत्र ठप्प हुँदा धेरै मानिसमा  विभिन्न खालका मानसिक समस्या भोग्न बाध्य भएकाले तुलनात्मक रुपमा मानसिक रोगीको संख्या बढ्दै गएको उनको ठम्याइ छ ।

यसरी बढिरहेको मानसिक समस्यालाई कम गर्नका लागि राज्यले विशेष कदम चल्नुपर्ने सम्बन्धित विज्ञहरु बताउँछन् । शारीरिक रोगलाई जति प्राथामिकता राज्यले दिन्छ, त्यहीअनुसारको प्राथमिकता मानसिक रोगलाई पनि दिनुपर्ने उनीहरुको भनाइ छ ।

अहिलेको अवस्थालाइ समयमै सम्बोधन र व्यवस्थापन गर्न नसकिएमा २०३० पछि  ३ जनामध्ये १ जनालाई मानसिक समस्या देखिन सक्ने भनेर आँकलन गरिएको छ  ।  हाल ४ जनामध्ये १ जनालाई मानसिक रोग समस्या देखिँदै आएको छ ।  भुकम्प, कोरोना महामारी लगायतका विभिन्न खालका महामारीले गर्दा नेपालमा २०२५ तिरै ३ जना मध्ये १ जनालाई मानसिक रोगसम्धन्धी विभिन्न समस्या देखिन सक्ने सम्भावना रहेको मनोविलेश्षक आचार्य बताउँछन् ।

प्राणघातक रोगको मध्ये ७ नम्बरमा मानसिक रोग पर्छ । कोरोना कालमा मानसिक रोगीका संख्या बढ्यो भनेर मनोविद तथा मानसिक रोग विशेषज्ञहरुले बताउँदै आएपनि यस विषयमा अझैसम्म व्यवस्थित अध्ययन भने भएको छैन ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.