शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा नन्–कोभिड बिरामीको चाप

आईसीयू र भेन्टिलेटर कक्ष कोरोना संक्रमितले भरिए
बुधबार, ०८ पुस २०७७, १३ : ०४
बुधबार, ०८ पुस २०७७

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा नन्–कोभिड बिरामीको चाप बढेको छ । कोभिड र नन्–कोभिड बिरामीको उपचार एउटै अस्पतालमा हुँदै आएपछि जनरल वार्डमा भर्ना पाउन मुस्किल हुन थालेको छ । गत चैत यता कोरोना संक्रमितसँगै तत्काल भर्ना हुनुपर्ने बिरामीमात्रै अस्पताल धाउँथे । तर, अन्य बिरामी भने कोरोनाको त्रासले उपचार गर्न कमैमात्र जान्थे ।

पछिल्लो समय उपत्यकाका प्रायः सबै अस्पतालमा नन्–कोभिड बिरामीले बेड भरिन थालेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको जनरल वार्डमा उपचार गराउने बिरामीको चाप बढेको अस्पतालका कोभिड संयोजक डा.सन्तकुमार दासले बताए । बिरामीको चाप बढेपछि अस्पतालमा भर्ना हुने नयाँ बिरामीले बेडको लागि पालो कुर्न बाध्य हुनु परेको उनको भनाइ छ ।

यता, ललितपुरस्थित पाटन अस्पतालमा उपचारका लागि आउने नन्–कोभिड बिरामीको संख्या ह्वात्तै बढेको छ । तिहार र छठपछि नन्–कोभिडका बिरामी जनरल वार्डमा दैनिक करिब ६ सय जनाले सेवा लिँदै आएको अस्पतालका निर्देशक डा. रवी शाक्यले बताए ।

गत चैत यता कोरोना संक्रमण हुने डरले शारीरिक र मानसिक समस्यालाई घरमै थामथुम पारेर बसेका बिरामीहरु अचेल धमाधम उपचारका लागि अस्पताल आउन थालेको उनले बताए ।

पाटन अस्पतालमा कोभिड र नन्–कोभिडका बिरामीलाई उपचार गर्ने भवन छुट्टाछुट्टै भएकाले पनि अन्य अस्पतालको तुलनामा यहाँ नन्–कोभिडका बिरामी उपचारका लागि विगतदेखि नै बढी आउने गरेको उनको भनाइ छ ।

यता, सशस्त्र प्रहरी बल अस्पतालका प्रमुख डा. प्रवीण नेपालका अनुसार लामो समयदेखि उपचारबाट बञ्चित देशका सुगमदेखि दुर्गमसम्मका सशस्त्र प्रहरी परिवारका सदस्यहरु उपचारका लागि आउन थालेका छन् । विगत तीन महिना यता कोभिडभन्दा नन्–कोभिडका बिरामीको चाप बढेको उनले बताए । 

सरकारले संक्रमितको संख्या कम हुँदा उपचारका लागि केही अस्पताललाई कोभिड उपचारका लागि तोकेको थियो । तर, संक्रमितको संख्या बढेपछि अनिवार्य रुपमा सम्पूर्ण अस्पताललाई कोभिड र नन्–कोभिड गरी दुवैथरी बिरामीको उपचार गर्न सरकारले निर्देशन दियो । कोभिड र नन्–कोभिड बिरामीको उपचार एउटै अस्पतालमा हुन थालेपछि कोरोना त्रासले बन्दाबन्दीको समयमा नन्–कोभिड बिरामीहरु अस्पताल जान हिचकिचाउने गरेका थिए । त्यतिबेला अस्पतालहरुमा नन्–कोभिड बिरामीको संख्या शून्यजस्तै थियो ।

सामान्य लक्षण देखिएका संक्रमितहरु अस्पतालमा भर्ना हुने क्रम रोकिएपछि हाल करिब ४ हजार ५ सय ८ जना संक्रमित होम आइसोलेशनमा छन् । पछिल्लो समय संक्रमित भएर स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीमात्रै अस्पताल पुग्ने गरेको टेकुस्थित शुक्रराज तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् ।

कुन अस्पतालमा कति बिरामी ?

टेकु अस्पताल— मंगलबार संकलन गरिएको विवरणअनुसार टेकु अस्पतालमा ८ जना आईसीयूमा छन् भने १० जना सामान्य वार्डमा उपचाररत छन् ।

अस्पतालमा आईसीयू क्षमता भने २० जनाको रहेको डा.बास्तोलाले बताए । सो अस्पतालमा ५४ बेड कोभिड बिरामीका लागि छुट्याइएको छ ।

पाटन अस्पताल— ललितपुरस्थित पाटन अस्पतालमा कोभिडका बिरामीका लागि १ सय बेड छुट्याइएको छ । हाल १६ जना आईसीयूमा उपचाररत रहेको निर्देशक डा. शाक्यले बताए । पाटन अस्पतालमा नन्–कोभिड बिरामीका लागि ६ सय बेड छुट्याइएको छ । नन्–कोभिडतर्फ दैनिक ६ सय बिरामीले सेवा लिने गरेको उनले बताए ।

टिचिङ— त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा कोभिड बिरामीको उपचारको लागि २ सय बेड छुट्याइएको कोभिड संयोजक डा. दासले बताए । कोभिडका कारण गम्भीर स्वास्थ्य समस्या भएका ४५ जना बिरामीको उपचार भइरहेको उनको भनाइ छ । नन्–कोभिड बिरामीको लागि ६ सय ६० बेड अस्पतालले तोकेको उनले बताए ।

सशस्त्र प्रहरी बल अस्पताल— सशस्त्र प्रहरी बल अस्पतालमा १३ जना कोरोना संक्रमितलाई आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ । कोभिड संक्रमित बिरामीको उपचारका लागि सो अस्पतालमा २० आईसीयू र भेन्टिलेटर छुट्याइएको अस्पतालका प्रमुख डा. नेपालले बताए । सो अस्पतालमा ४ सय बेडमध्ये १ सय २० बेड कोभिड बिरामीको उपचारका लागि छुट्याइएको छ ।

वीर अस्पताल— वीर अस्पतालमा कोभिडका ३० जना बिरामी आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जनरल वार्डमा दैनिक ८ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । आपतकालीन सेवा (इमर्जेन्सी) तर्फ दैनिक सरदर ३५ जना उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप, जनरल वार्ड रित्तै

कोरोना संक्रमितको दर घट्दै गए पनि आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ । अस्पतालहरुमा कोभिड बिरामीका लागि छुट्याइएको बेड खाली छन् भने आईसीयू, भेन्टिलेटर भरिभराउ छन् । देशका विभिन्न अस्पतालमा पुस ६ गते अर्थात् सोमबारसम्म आईसियूमा २ सय ७९ जना छन् भने भेन्टिलेटरमा ५७ जना उचाररत् छन् । संक्रमितको संख्या घट्दै गए पनि आईसीयू र भेन्टिलेटरमा भर्ना हुने दीर्घरोगी र वृद्धावृद्धको संख्यामा कमी नआएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणजस्तो लक्षण देखिएर पनि परीक्षण गराउनेको  संख्यामा कमी आएको वीर अस्पतालका निर्देशक डा. सेन्चुरी बताउँछन् । संक्रमणको जस्तै लक्षण देखिँदा सामान्य रुघाखोकी ठानेर होम आइसोलेशनमा बसेका बिरामी एक्कासी श्वासप्रश्वासमा समस्या देखियो भन्दै अस्पताल आउने गरेको उनले सुनाए ।

डा.बास्तोलाका अनुसार, दीर्घरोगी, वृद्धावृद्धाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अन्दाजको भरमा कोरोना संक्रमण भयो भन्दै उपचार गर्न आउनेहरुको संख्या पनि उल्लेख्य छ । स्वास्थ्यमा धेरै समस्या देखिएर अनुमानको भरमा उपचार गराउन आउने प्रायःलाई पीसीआर तथा एन्टिजोन परीक्षण गर्दा संक्रमण पुष्टि हुने गरेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप