ad
केन्द्रीय संस्करण
अर्थतन्त्र

धमाधम बढ्न थाल्यो आयात, निर्यातमा ‘स्टेगनेशन’

विमानस्थलको आयात घट्दा रेमिट्यान्स बढ्दै

person explore access_timeपुस ९, २०७७ chat_bubble_outline0

 

काठमाडौं । पूर्वाधार निर्माणको सिजन सुरु भएसँगै आयात उच्च रुपले बढ्न थालेको छ । कोरोनाभाइरसको महामारीसँगै देशको आयातमा देखिएको शिथिलतालाई चिर्दै आयात निरन्तर बढ्न थालेको हो । असोज र कात्तिकमा महिनामा उपभोग्य वस्तुका कारण बढेको आयात मंसिरमा विकास निर्माणका सामानहरुका कारण बढेको छ ।

मंसिर महिनामा भन्सार विन्दुहरुबाट कुल १ खर्ब २३ अर्ब रुपैयाँ बराबरका वस्तु तथा सेवाहरु नेपाल भित्रिएका छन् । यो आकार कोभिड–१९ पछि सिर्जित परिस्थिति पछिकै बढी हो । लकडाउनपछि वैशाख महिनामा सबैभन्दा कम ४२ अर्ब ६० करोडको मालसामान आयात भएका थिए । जेठमा यो आकार ७५ अर्ब ६८ करोड पुगेको थियो भने असारमा ९५ अर्ब ९९ करोड पुगेको थियो ।

साउनपछि भने आयात केही घटेको थियो । साउन महिनामा ८५ अर्ब ८१ करोड र भदौमा ९३ अर्ब ४ करोडको आयात भएकोमा चाडवाडमा खपत हुने उपभोग्य वस्तुका कारण असोज र कात्तिक महिनामा क्रमशः १ खर्ब १३ अर्ब ४२ करोड र १ खर्ब १० अर्ब २२ करोडको आयात भएको थियो । मंसिर महिनामा आयात बढेर १ खर्ब २३ अर्ब १ करोड रुपैयाँ पुगेको हो । 

यद्यपि साउनदेखि मंसिरसम्मको कुल आयात अघिल्लो वर्षको सोही समयको तुलनामा ९.५९ प्रतिशत कम रहेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको मंसिरसम्म ५ खर्ब २५ अर्बको वस्तु तथा सेवा आयात भएको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि मंसिरसम्म कुल ५ खर्ब ८१ अर्बको वस्तु तथा सेवा आयात भएका थिए ।

मंसिर महिनामा भएको आयातको यो आकार अघिल्लो आर्थिक वर्षको सोही महिनाको आयातभन्दा ६.११ प्रतिशतले कम हो । अघिल्लो वर्षको मंसिर महिनामा १ खर्ब ३१ अर्बको मालवस्तु आयात भएकोमा यो वर्षको सोही महिनामा १ खर्ब २३ अर्बको आयात भएको छ । आयातको आकार बढ्दै जाँदा आयात गिरावटको समग्र दरमा संकुचन आइरहेको छ ।

यो अवधिमा नेपाल आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य सामानहरु, मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु, कच्चा सोयाबिन तेल, चामल लगायतका वस्तुहरु रहेको पाइएको छ ।

निर्यातमा स्टेगनेशन

आयात बढ्दै जाँदा नेपालबाट बाहिरिने मालवस्तुहरु बढ्न सकेका छैनन् । चालु वर्षको मंसिर महिनामा ९ अर्ब ८५ करोडको सामान भन्सार विन्दुबाट बाहिरिएका छन् । अघिल्लो वर्षको मंसिर महिनामा ११ अर्ब ३३ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

यद्यपि चालु वर्षको साउनदेखि मंसिरसम्म भएको कुल निर्यात भने अझै पनि अघिल्लो वर्षको निर्यातभन्दा धेरै रहेको विभागले जनाएको छ । अघिल्लो मंसिरसम्म ४७ अर्ब ६१ करोडको निर्यात रहेकोमा यो वर्षको मंसिरसम्म यो आकार ५० अर्ब ५ करोड पुगेको देखिएको छ ।

कोभिड–१९ पछि सिर्जना भएको आपूर्ति तथा निकासी व्यवस्थापन अहिले सहज भइसकेको छ । तर, बैशाखदेखि हालसम्मको तथ्यांक हेर्दा नेपालको निर्यात क्षमता बढ्न नसकेको देखिन्छ । यो स्टेगनेशनको अवस्था हो ।

ढुवानी अवरोधका कारण बैशाख महिनामा नेपालबाट ३ अर्ब २४ करोडको सामान मात्रै निर्यात भएको थियो । जेठ महिनादेखि यसमा सुधार हुँदै जाँदा सो महिनामा ५ अर्ब ९४ करोड र असारमा ९ अर्ब ७१ करोडको निर्यात भएको देखिएको छ । चालु आर्थिक वर्षको साउनमा ९ अर्ब ६२ करोड, भदौमा १० हर्ब ८२ करोड, असोजमा १० अर्ब ६० करोड, कात्तिकमा ९ अर्ब १५ करोड र मंसिर महिनामा ९ अर्ब ८५ करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।५ महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी निर्यात सोयाविन तेलको भएको छ । यो अवधिमा १३ अर्ब ५० करोड रुपैयाँ बराबरको सोयाबिन तेल भारत गएको देखिएको छ । त्यस्तै, कार्पेट र टेक्सटाइल, अलैँची, चिया लगायतका सामानहरु मुख्य रुपमा बाहिरिएका छन् ।

यो अवधिमा समग्रमा ४ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । ५ महिनाको समग्र आयात घटेको र समग्र निर्यात बढेका कारण यो अवधिमा व्यापारघाटा १० प्रतिशतले घटेको पाइएको छ ।

वीरगञ्जको परनिर्भरता घट्दै

भन्सार विन्दुबाट हुने आयातमध्ये वीरगञ्ज नाकाबाट हुने आयात यो वर्ष घटेको छ । अघिल्लो वर्ष १ खर्ब ९६ अर्बको आयात गरेको वीरगञ्जबाट चालु वर्षमा १ खर्ब ६४ अर्बको मात्रै मालसामान आएको छ । यो करिब २० प्रतिशत कम हो ।

वीरगञ्जको आयात घट्दै गर्दा विराटनगर र भैरहवा नाकाको आयात भने बढेको छ । विराटनगरले अघिल्लो वर्षको मंसिरसम्म ६० अर्ब ६७ करोडको आयात गरेकोमा यो वर्ष ६४ अर्ब ९ करोड पुगेको छ । उता, भैरहवाले अघिल्लो वर्षको ५ महिनामा ९७ अर्ब ८५ करोडको आयात गरेकोमा यो वर्ष १ खर्ब ३ अर्ब ५ करोड पुगेको छ । योसँगै नेपालका प्रमुख ३ नाकाहरु वीरगञ्ज, भैरहवा र विराटनगरको आयात हिस्सा क्रमशः ३१.३५, १९.७० र १२.२० प्रतिशत पुगेको छ । सुख्खा बन्दरगाहबाट हुने आयात सामान्य बढेर ६५ अर्ब ९१ करोड पुग्दा आयात हिस्सा १२.५४ प्रतिशत रहेको छ । प्रमुख नाकाहरुमध्ये मेची भन्सार र नेपालगञ्ज भन्सारको आयात यो अवधिमा बढेर गएको छ ।

यो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट हुने आयातमा ६४.४ प्रतिशतले गिरावट देखिएको छ । ५ महिनाको अवधिमा टीआईएबाट ४६ अर्ब ४७ करोडको आयात भएको छ । अघिल्लो वर्ष १ खर्ब ८ अर्ब ५२ करोडको आयात भएको थियो । कोभिडका कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएको तथा विदेशबाट आउनेहरुले पनि मालसामान ल्याउने विषय प्राथमिकतामा नराखेका कारण यो नाकाबाट मात्रै ६२ अर्बका आयातहरु घटेको छ ।

यो भन्सार विन्दुबाट हुने आयात कम हुँदा यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखिएको छ । पछिल्लो समय रेमिट्यान्स उच्च रुपमा बढ्दै गएको छ । मंसिर महिनामा मात्रै ७८ अर्बको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनी अहिले रेमिट्यान्स बढ्नमा हवाई मार्गबाट नेपाल भित्रने व्यक्तिले ल्याएको सामानमा आएको नियन्त्रण प्रमुख कारण रहेको बताउँछन् । ‘विदेशमा गरिने सपिङ कल्चर घटेकोले यसले रेमिट्यान्स बढाएको हो,’ पंगेनी भन्छन्, ‘महामारीको बेला मान्छे मात्रै आए हुन्छ, सामान ल्याउनुपर्दैन भन्ने मानसिकता विकास भयो, यसले आयात घटायो, रेमिट्यान्समा सकारात्मक प्रभाव पार्यो ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.