बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा संसद् विघटन, दिल्लीमा खुसियाली !

बिहीबार, ०९ पुस २०७७, १३ : ३१
बिहीबार, ०९ पुस २०७७

यो सङ्क्षिप्त टिप्पणीमूलक आलेखको आरम्भ दोस्रो विश्वयुद्ध ताकाका बेलायतका चर्चित प्रधानमन्त्री विल्सन चर्चिलको कूटनीतिसम्बन्धी एउटा मजाको टिप्पणीबाट गर्न चाहन्छु । उनले एक ठाउँमा भनेका छन्, “कूटनीतिको काम आफ्ना विरोधीलाई कलात्मक तरिकाले यस प्रकार नर्क पठाउनु हो कि त्यहाँ जाने बाटो पनि उसले तपाईंसँगै सोधोस् ।”

नेपालसित निकटको सरोकार राख्ने दिल्लीका चार जना आधिकारिक र सर्वाधिक महत्त्वपूर्ण प्रतिनिधि हालैका दिनहरुमा एकपछि अर्को गरी लर्को लागेर नै औपचारिक भ्रमणमा नेपाल आए । यी सबै भ्रमण ओलीजीको निमन्त्रणामा वा अनुमोदनमा भएका थिए :

– भारतीय गुप्तचर प्रमुखको २१ अक्टोबरमा काठमाडौँ आगमन । राति ८ बजेदेखि मध्यराति १२ बजेसम्म बालुवाटारमा ओलीजीसित गोप्य भेट । पार्टीको शीर्ष तहको नेतृत्व अनभिज्ञ ।

– भारतीय सेना प्रमुख जनरल नरवाने ४, ५, ६ नोभेम्बर २०२० मा तीन दिवसीय राजकीय भ्रमणमा आए । “यो सामान्य औपचारिक भ्रमण थिएन । भारत र चीनबीच सीमामा मुठभेड भइरहेको अवस्थामा नरवानेको भ्रमण नेपाल र भारतका सेनाबीच सम्बन्ध सुदृढ गर्नमा केन्द्रित” भन्ने भारतीय अखबारहरुको टिप्पणी ।

– भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाको नोभेम्बर २६ र २७ मा काठमाडौँको भ्रमण ।

– भारतको सत्ताधारी शक्तिशाली भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले डिसेम्बर १० र ११ मा काठमाडौँ भ्रमणमा । प्रधानमन्त्री ओलीसित भेटघाट । पार्टीको विदेश विभाग अनभिज्ञ ।

– प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्र«पतिबाट डिसम्बर २० मा अकस्मात संसद विघटन ।

दिल्लीका दूतहरुको यही ओहोरदोहोर चलिरहेको ६०औँ दिनमा अर्थात् डिसेम्बर २० तारिख ओलीजीले संसद विघटनको प्रस्ताव गर्नुभयो । राष्ट्रपतिबाट विज्ञहरुको परामर्शका लागि दुई चार दिन त परै जाओस् दुई–चार घण्टा पनि नपर्खीकन सो प्रस्तावलाई अनुमोदन गरियो । साथीहरुले हजारौँ तर्क गर्न सक्नुहोला कि संसदको विघटन ओलीजीको बाध्यता थियो । उहाँको हातखुट्टा पार्टीभित्रैबाट बाँधिएका थिए । यो पनि तर्क हुन सक्ला कि हातखुट्टा बाँधिदिएर “स्वेज नहर पौडिएर पार गर् कि गर्” भन्नु सही थिएन । योबाहेक पनि अनेकौँ तर्क हुन सक्लान् । तर तर्कभन्दा माथिका तथ्यहरु चिच्याई–चिच्याई बोलिरहेका छन् कि संसद विघटनका तार कहाँको टावरमा जोडिएका छन् । घटनाको शृङ्खला हेर्दा यो भन्दा अर्को निष्कर्ष निकाल्न सकिँदैन ।

सतहमा हेर्दा माथि उल्लेख भएका भ्रमण दुई मुलुकबीच चिसिएको सम्बन्ध सुधार्नका लागि भएजस्तो देखिए पनि पृथक्–पृथक् जस्ता देखिने ती भ्रमणको अन्तर्निहित उद्देश्य नेपाललाई दिल्लीको राडारभित्र राखिराख्नु नै थियो भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।

संसद विघटन गर्ने ओलीजीको कदम मुलुकका लागि आत्मघाती रहेको छ । यो ५ वर्षका लागि जनताले नेकपालाई दिएको आम जनमतको मात्र होइन नेपाली काँग्रेसलगायत जनताको आवाज बोकेर संसदमा उपस्थित भएका सबै राजनीतिक दलहरुलाई जनताले ५ वर्षका लागि दिएको मतको पनि घोर अपमान हो । यो आत्मघाती कदमले गणतन्त्रमाथि नै व्यङ्ग गरेको छ । यसले लाखौँ जनता र हजारौँ सहिदको बलिदानको अवमूल्यन गरेको छ । यसले नेपाली जनताको शान्ति, स्थिरता, सुशासन र विकासको आकाङ्क्षामाथि निर्मम प्रहार गरेको छ । पुस ५ इतिहासमा कालो दिवसको रूपमा अङ्कित रहने छ ।

 संसद् विघटनबाट सारा नेपाली जनता दुःखी छन् । नेपालका सबैजसो राजनीतिक दल र बौद्धिक जगत दुःखी छ । आम जनता र पार्टीका आम नेता कार्यकर्ताहरुका शान्ति, स्थिरता विकास र समृद्धिका सपना धुजा धुजा भएका छन् । सबैभन्दा दुःखी पार्टी पङ्क्ति छ जसले दिन रात एक गरेर, हाडछाला घोटेर पार्टीलाई दुई तिहाई नजिकको विजय गराएको थियो । तर पनि पार्टीसामु भताभुङ्ग भएको पार्टीको संरचना र मुलुकलाई नयाँ शिराबाट सङ्गठित गर्नु र नयाँ दिशा दिनुको विकल्प छैन । अध्यक्षद्वय प्रचण्ड र माधवजीको वास्तवमा अग्निपरीक्षा अब सुरु भएको छ ।

काठमाडौँमा संसद् विघटन भैरहँदा उता दिल्लीमा भने अव्यक्त प्रसन्नता छाएको देखिन्छ । भारतीय सञ्चार माध्यमहरुको अवलोकनबाट जोकसैले पनि सहजै यो निष्कर्ष निकाल्न सक्छन् । प्रधानमन्त्रीको यो असंवैधानिक कदमबाट वामपन्थीहरुप्रति जनतामा घृणा र वितृष्णा पैदा हुने कुरा त छँदैछ यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेलिदिएको छ । तसर्थ ओलीजीले चाल्नु भएको यो कदम अक्षम्य छ । ओलीजीको अदम्य दृढता, जीजिविषा, वाकचातुर्यता लगायतका गुणहरुको म प्रशंसक हुँ । उहाँ एकजना नेपाली राजनीतिको अद्भुत पात्र हो । तर उहाँको यो कदमको कुनै पनि सद्दे राजनीतिक मान्छेले प्रशंसा गर्न सक्दैन ।

 प्रधानमन्त्रीको यो अविवेकी कदम दिल्लीको दक्षिणपन्थी भारतीय जनता पार्टीको लागि नयाँ वर्ष २०२१ को एउटा भव्य उपहार पनि हो । यो दिल्लीका लागि कुचोले गर्ने काम बतासले गरेसरह भएको छ भनेर निष्कर्ष निकाल्नु सर्वथा उपयुक्त हुनेछ । ओलीजीले यस्तो आत्मघाती नर्कको बाटो किन रोज्नु भयो अब यो प्रश्न असान्दर्भिक भइसकेको छ । जे होस्, ओलीजी पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि राजनीतिको गोटीचालमा असफल हुनुभयो भन्नका लागि प्रशस्त ठाउँ छन् । 

लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन् ।

(यो लेखकको निजी विचार हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप