शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘संसद् विघटनमा बाह्य शक्तिको इन्ट्रेस्ट छ, ओलीजीले त्यसै कदम चाल्नुभएको छैन’

ओलीविरुद्ध आन्दोलन गर्दा शक्ति केन्द्रले ज्ञानेन्द्र ल्याइदिन सक्छ : पूर्वमन्त्री डा. नारायण खड्का
शनिबार, ११ पुस २०७७, १८ : ४९
शनिबार, ११ पुस २०७७

काठमाडौँ । संसद् विघटन गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत स्वार्थसँगै शक्ति राष्ट्रको स्वार्थलाई जोडेर विश्लेषण गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काको मत पनि त्यही नै छ । काँग्रेसद्वारा गठित परराष्ट्र मन्त्रालयल समन्वय समितिका संयोजकसमेत रहेका वैदेशिक मामिलाका अध्येता डा. खड्काले प्रधानमन्त्री ओली एक्लैले यो कदम नउठाएको बताएका छन् । डा. खड्कासँग संसद् विघटनको पछाडिको बाह्य चलखेल, अब मुलुकमाथि देखिएको चुनौती र त्यसको सामना गर्दा ध्यान दिनुपर्ने पाटोको विषयमा कुराकानी गरको छौँ । प्रस्तुत छ खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

भारतसँग सम्बन्ध खलबलिने र चीनसँगको घनिष्टता बढ्दै गएको देखिन्थ्यो । चीन कार्ड प्रयोग गरेर हामीलाई कमजोर बनाउने रणनीति भयो भन्ने सोच भारतको भयो । तर भारतले पहिला ओलीलाई आफ्नै मित्र भन्ठानेका थिए । भारतसँग ओलीजीको राम्रै सम्बन्ध थियो । भारतका विश्वास पात्र थिए । तर पछि चीनसँग बढी घनिष्ट हुँदा उनीहरुलाई लाग्यो यो सम्बन्ध यसरी भइराख्यो भने हाम्रो इन्ट्रेस्ट धक्का पुग्न सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटनको तहसम्म पुगेको परिघटनालाई कसरी नियाल्नुभएको छ ?

–यो उहाँको आफ्नो मात्र निर्णय नहोला । किनभन्दा यो निकै ठूलो निर्णय हो । दुरगामी असर पर्ने खालको निर्णय हो । यसको व्यवस्थापन राम्रो भएन भने संविधान पनि जान्छ । लोकतन्त्र खतरामा पर्न सक्छ र भोलि नेपालमा अर्को खालको अवस्था आउन सक्छ । त्यस कारण आधारभूत केही कुराको मूल्याङ्कन प्रधानमन्त्री ओलीजीले नगरेको हैन होला । अहिले हामी जुन अवस्थामा छौँ दक्षिण एसियामा बदलिँदो परिवेश र खासगरी अमेरिका र चीनको रणनीति टकरावको अवस्था छ । एक डेढ महिनाअगाडि अमेरिकका परराष्ट्रमन्त्री भारत आएर टु पलस टु डाइलग गरे । खासगरी सामरिक सूचना आदान प्रदानका साथै रणनीतिक समझदारी गरेका थिए । उनीहरुले इन्डोप्यासिफिकदेखि लिएर चीनको नीतिसम्म उनीहरुले मूल्याङ्कन गरे । त्यसको पनि नेपालमा केही प्रभाव परेको देखिन्छ । यद्यपि अमेरिकी विदेशमन्त्री नेपालमा त आएनन् । तर श्रीलङ्का, माल्दिभ्स, इन्डोनेसिया गए । अहिले यो होल बेल्डमा अमेरिका र भारतबीच रणनीतिक साझेदार र सहकार्य बढ्दो छ । त्यसको उद्देश्य ती क्षेत्रमा चीनलाई एक प्रकारले रोक्नु पनि हो । यता नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीजीको असन्तुलित खालको विदेश नीतिले पनि यो तहसम्म पु¥याएको म देख्छु । स्मरण गराउन चाहन्छु– दुई वर्षअघि सदनमा बैल्ने क्रममा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एकै ठाउँमा आएर बसे । अनि मैले भने संयोगवश प्रधानमन्त्रीजी पनि आउनुभएको रहेछ । हाम्रा प्रधानमन्त्रीले दुई तिहाइ छ भनेर बारम्बार स्थिरता र स्थायित्वको घमण्ड गर्नुहुन्छ । पटक-पटक यी कुरा आएका छन् । पटक-पटक यो डकुमेन्ट आएको छ । तर सभामुख महोदय उहाँलाई यो निवेदन गर्न चाहन्छु– दुई तिहाइ त के तीन चौथाइ भए पनि नेपालको सन्दर्भमा टिक्दैन । जब अन्तरपार्टी र आन्तरिक पार्टी राजनीतिक सन्तुलन बिग्रिन्छ, विदेश नीतिमा असन्तुलन आउँछ, जब आर्थिक विशृङ्खलता आउँछ, जब धार्मिक सांस्कृतिक उतारचढाव हुन्छ र जब ठूलो प्राकृतिक प्रकोप आउँछ यो दुई तिहाइ त के तीन चौथाइ पनि जान्छ । बीपीको पनि दुई तिहाइ थियो । उहाँको टावर पर्सनालिटी थियो र त गयो । तपाईंले सन्तुलन कायम गर्न जान्नु भएन भने जान्छ । अहिले सन्तुलन खलबलिरहेको छ भनेर मैले त्यो बेला भनेको थिए ।

अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा ‘ल इन्डिया तिम्रो आफ्नो बढी इन्ट्रेस्टको एरिया भएकाले यसको व्यवस्थापन तिमी गर’ भनेर समझदारी गरेको हुनसक्छ । किनभन्दा अमेरिकाको परराष्ट्रमन्त्री श्रीलङ्का जाने, इन्डोनेसिया जाने, माल्दिभ्स जाने तर नेपाल नआउने कुराले यस्तो देखाउँछ । ‘नेपाल तिम्रो जोन अफ एरिया र तिम्रो प्रत्यक्ष इन्ट्रेस्टको विषय भएकाल तिमी नै हेर भन्ने भयो कि’ मेरो अनुमान छ ।

जुन बेला तपाईंले ओली सत्तामाथि खतराको आधार देखाउनुभएको थियो । त्यही आधारले आज प्रधानमन्त्री संसद् विघटनको कदम चाल्न बाध्य भएका हुन् त ?

–निश्चय नै । अन्तरपार्टी, आन्तरिक पार्टी, राजनीतिक सन्तुलन खलबलियो र अन्तर्राष्ट्रिय सन्तुलनले गुमाउन पुगेपछि ओलीजी यो कदम चाल्न बाध्य भएको देखिन्छ । जस्तै हिजो बीपी र महेन्द्रको सम्बन्ध बिग्रियो । त्यो पनि एउटा राजनीतिक सम्बन्ध थियो । गोर्खा परिषद् कुनै ठूलो पार्टी थिएन । उहाँको पर्सनालिटीले थिचिहाल्थ्यो । नेपाली काँग्रेसभित्र पनि उहाँको पर्सनालिटीले डोमिन गरेको थियो । तर मुख्य कुरा राजा महेन्द्रसँग सम्बन्ध बिग्रियो, उहाँले चीन र भारतलाई समदूरीमा हेर्न थाल्नुभयो । उहाँले चीनमा गएर माओ त्सेतुङ र चाउ एनलाई भेटर चीनसँग बोडरका समस्या समाधान गर्नेदेखि लिएर चीन र भारतबीच सम्बन्ध बिग्रिँदा मध्यस्तकर्ता गरेको कुरा मन नपेर नेहरु र महेन्द्रको साँठगाँठबाट उहाँ (बीपी)लाई पदच्यूत गराइयो ।

त्यतिखेर मैले अनुमान गरेको थिए– अन्तरपार्टी, आन्तरिक पार्टी, विदेश नीति र आर्थिक सङ्कट आउँदा तपाईं (केपी ओली) जानुहुन्छ । घमण्ड नगर्नु भनेर भनेका थिए । यता ओलीजीको चीनसँग घनिष्ठ सम्बन्ध बढ्दै गयो । यतिसम्म कि २०१९ मा चीनको परराष्ट्र अन्तर्गतको अन्तर्राष्ट्रिय विदेश विभागका डाइरेक्टर सोङ ताओ नेतृत्वमा ५० जना नेपाल आएर सी चिनफिङको थटको बारेमा तालिम दिने कुरासम्म भयो । त्यसपछि अस्ति जुनमा पनि ट्रेनिङ कार्यक्रम गरे । यहाँको हरेक मामिलामा अहिलको चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता, प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाई लगातार भेटवार्ता गर्नुभयो । यता बोर्डरका इस्यु आए । भारतसँग सम्बन्ध खलबलिने र चीनसँगको घनिष्टता बढ्दै गएको देखिन्थ्यो ।

चीन कार्ड प्रयोग गरेर हामीलाई कमजोर बनाउने रणनीति भयो भन्ने सोच भारतको भयो । तर भारतले पहिला ओलीलाई आफ्नै मित्र भन्ठानेका थिए । भारतसँग ओलीजीको राम्रै सम्बन्ध थियो । भारतका विश्वास पात्र थिए । तर पछि चीनसँग बढी घनिष्ट हुँदा उनीहरुलाई लाग्यो यो सम्बन्ध यसरी भइराख्यो भने हाम्रो इन्ट्रेस्ट धक्का पुग्न सक्छ । चाहे सगरमाथाको उचाइ नाप्ने का, फाइबजी नेटवर्क जडान गर्नेदेखि लिएर केके सामरिक कुरा भइरहेको छ । अर्कोतिर भारत र चीनबीच गलवान भ्यालीमा लडाइँ भइराखेको थियो । यो अवस्थामा चीनले बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्समा पनि चीनको वान बेल्ट वान रोडमार्फत हस्तक्षेप बढ्दा हामीलाई कर्नरमा पारियो भन्ने भारतको क्याकुलेसन थियो ।

त्यसो भए प्रधानमन्त्री ओलीले यो कदम चाल्नुमा भारतको इन्ट्रेस्ट र प्रभाव देखिन्छ भन्ने हो ?

–मसँग राम्रो सम्बन्ध भएका नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रायले दी इकोनोमिक टाइम्समा एउटा लेख लेखेका छन् । उनले ‘चीनले ओलीको निरन्तरताभन्दा नेकपाको एकतामा जोडबल गरेको थियो । उसले नेकपा कब्जा गर्दै सरकारलाई प्रभाव पारेर हामीलाई कमजोर पार्ने भन्ने नीति बनाएको थियो । त्यसैले ओलीजीले फेरि भारतसँग सम्बन्ध बढाएको कुराले ओलीजीले चालेको कदम प्रस्ट हुन्छ । परराष्ट्रको सन्तुलन बिग्रिएर नै यो सब भएको हो ।

यो सिनारियोपछि भारत र अमेरिकाको प्रत्यक्ष सक्रियता हुन्छ । चीनको त्यो खालको नीति छैन । यद्यपि राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डजीलाई राजदूत होउ यान्छीले भेट गर्नुभयो । मलाई लाग्छ चीनको प्रभाव रोकिने र खासगरी भारतको प्रभाव बढ्न सक्छ ।

तपाईंको भनाइअनुसार ओलीले संसद् विघटनको कदम चाल्नुका पछाडि अमेरिका र भारतको ब्याक सपोर्ट थियो भन्ने हो ?

यो सरकार यसरी गइरह्यो, चीनको हस्तक्षेप बढ्दै गएको विषयले उनीहरु गम्भीर थिए । उनीहरुलाई  त्यो कुरा रुचिकर पनि थिएन । केही महिनाअघि अमेरिका र भारतबीच भएको टु प्लस टुको मिटिङमा पनि एमसीसी र इन्डोप्यासिफिकको कुरा आएको छ । अमेरिकाले नेपाललाई हेर्ने दृष्टिकोणमा ‘ल इन्डिया तिम्रो आफ्नो बढी इन्ट्रेस्टको एरिया भएकाले यसको व्यवस्थापन तिमी गर’ भनेर समझदारी गरेको हुनसक्छ । किनभन्दा अमेरिकाको परराष्ट्रमन्त्री श्रीलङ्का जाने, इन्डोनेसिया जाने, माल्दिभ्स जाने तर नेपाल नआउने कुराले यस्तो देखाउँछ ।

‘नेपाल तिम्रो जोन अफ एरिया र तिम्रो प्रत्यक्ष इन्ट्रेस्टको विषय भएकाल तिमी नै हेर भन्ने भयो कि’ मेरो अनुमान छ । त्यसैले ओलीजीले विदेश नीति पनि असन्तुलित बनाउनु भयो । उहाँले आफ्नो पार्टीभित्र सन्तुलन कायम राख्न सक्नुभएन । चाहे ओलीजीको अक्षमता होस् या महत्त्वकाङ्क्षा होस् ।

मैले शेरबहादुरजीलाई भन्ने गरेको थिएँ– तपाईं लक्की हो । हाम्रो पार्टीमा तपाईं मात्र एक्लो पूर्व प्रधानमन्त्री हुनुहुन्छ । तपाईं मात्रै अहिले सभापति हुनुहुन्छ । हामीकहाँ पूर्वसभापतिको लाइन छैन । त्यहाँ (नेकपा) त तीन जना पूर्वप्रधानमन्त्री मात्रै छन् । ती कहिले पनि मिलेर बस्न सक्दैनन् । विवाद बढ्छ । दुई पार्टी मिले पनि प्रचण्डको आफ्नै खालको एजेन्डा छ । ओलीको आफ्नै योजना छ । ओली र माधव नेपालको बीचमा पनि कतिपय इस्युमा फरक मत छ । त्यसैले यो धेरै अगाडि नबढ्ला । विस्तार प्रचण्ड र माधव नेपाल सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा बहुमत बढाउँदै गएपछि ओलीजीमाथि प्रत्यक्ष दबाब पर्यो । अनि ओलीले भन्ठाने कि ‘म यसरी कर्नरमा पार्नुको साटो बरु म संसद् विघटन गर्छु’ भन्ने गरे । शेरबहादुरसँग ओलीजीको सम्बन्ध राम्रै छ । तर आन्तरिक सन्तुलन काम राख्न सक्नुभएन । उहाँले विदेश नीतिमा पनि सन्तुलन कायम गर्नु सक्नुभएन । यो दुईवटै फ्याक्टरले गर्दा यो अवस्था आएको जस्तो लाग्छ । आफ्नो यात्रामा आघात पुग्ने बेला कुर्सी नै भाँचिदिन्छु भनेका थिए । अहिले फेरि प्रदेश पनि भङ्ग गर्ने चेतावनी दिइरहेका छन् ।

प्रधानमन्त्री ओलीको कदमपछि कूटनीतिक क्षेत्रमा नेपालाई कस्तो असर पर्छ ?

योबीच मकहाँ केही विदेशी मित्र पनि आएका थिए । सबैको चिन्ता र चासो छ । यो सिनारियोपछि भारत र अमेरिकाको प्रत्यक्ष सक्रियता हुन्छ । चीनको त्यो खालको नीति छैन । यद्यपि राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डजीलाई राजदूत होउ यान्छीले भेट गर्नुभयो । मलाई लाग्छ चीनको प्रभाव रोकिने र खासगरी भारतको प्रभाव बढ्न सक्छ । भारतको प्रभाव कुन हदसम्म बढ्छ हामी देख्दै जाउँला ? यो विषयमा बिहीबार बिहान फोनमार्फत रामचन्द्रजीलाई पनि भनेँ । बिहीबार नै सभापति शेरबहादुर देउवाजीलाई भेटेरै भनेको छु ।

बाहिर देशको इन्ट्रेस्ट बढ्न सक्छ । उनीहरुको टकराव भयो भने भोलि लोकतन्त्र पनि जान्छ, संविधान पनि जान्छ । त्यो खतरा छ । हामीले यसलाई कसरी व्यवस्थापन गर्ने ? त्यो क्षमता हामीले देखाउनुपर्छ । संवाद थाल्नुहोस् । रामचन्द्रजीसँग संवाद गर्नुहोस् । आफ्नो पार्टीको सन्तुलन मिलाउनुहोस् भनेर मैले उहाँलाई आज ( बिहीबार) भर्खर भनेर आएको छु ।

ओलीजीलाई बालुवाटारबाट निकाल्न खोज्यो भने समस्या हुन्छ । अहिले भीडले गएर बालुवाटार प्रदर्शन गर्दा अन्धाधुन्ध गोली चल्छ । अनि त्यो हाम्रो हातमा हुन्छ कि हुँदैन ? बीपीले सधैँभरि आह्वान गर्नहुन्थ्यो– आन्दोलनको नेतृत्व अरू उग्रवादीको हातमा पुग्नसक्छ । त्यो बेला आन्दोलनकर्ताहरुले खबदारी गरेर अगाडि बढ्नुपर्छ । त्यसैले भीडले कसरी संसद् पुनस्र्थापना गर्छ ? दबाब दिने कसलाई, सर्वोच्चलाई ?

त्यसो भए अबको निकास के त ?

अहिले सर्वोच्च अदालतमा रिटहरु पारेको अवस्था छ । सर्वोच्चले अन्तरिम आदेश दिएन । कति दिन लाग्ला, त्यो आफ्नो ठाउँमा छ । सम्मानित अदालतले जुन निर्णय गरे पनि हामी सम्मान गर्छौं । त्यसपछिको विकल्पबारे आन्दोलनको कुरा हाम्रा साथीहरु (रामचन्द्र पौडेल)ले गर्नुभएको छ । बिहीबार पनि मैले रामचन्द्रजीलाई भनेँ– आन्दोलनको गन्तव्य के हो ? आन्दोलनले के गर्छ ? आन्दोलनले नयाँ बानेश्वरको हाम्रो संसद् भवनको ढोका तोडेर अग्नि सापकोटा (सभामुख) लाई कुर्सी राखेर ल बैठक चलाउनुहोस् भन्ने हो कि ? त्यो वैधानिक हुन्छ कि हुँदैन ? वा हामीले प्रधानमन्त्रीजीलाई निकालेर अर्को प्रधानमन्त्री राख्ने हो कि ? त्यो कति वैधानिक हुन्छ ? राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी हुनुहुन्न । उहाँसँग राजकीय सत्ता पनि छैन । जसरी राजा ज्ञानेन्द्रसँग थियो ।

पछि ज्ञानेन्द्रले ०६२/०६३ को आन्दोलनपछि राजकीय सत्ता हुँदा पछि संसद् पुनस्र्थापना गर्नुभयो । त्यसैले आन्दोलनले गर्ने के हो ? आन्दोेलनको गन्तव्य के हो ? अस्ति मैले पार्टी केन्द्रीय कार्यसमितिमा पनि भनेँ । त्यो आन्दोलनले हामीलाई पछाडि छोडेर अर्को भीडले डोर्याएर  लग्यो भने त्यो भीडले कहाँ पुर्याउँछ ? त्यो भीडले ज्ञानेन्द्रलाई पनि ल्याउन सक्छ । त्यो भीडबाट कुनै अरू मान्छे पनि आउनसक्छ । अनि यस्तो बेलामा हामीभन्दा बाह्य शक्तिले खेलिदिन्छन् । बाह्य शक्तिले खेलिदियो भने हामीले नचाहेको कुरामा उनीहरुको स्वार्थको भारी बोक्नुपर्छ ।

०४७ साल र ०६३/०६३ मा पनि त्यो भएको थियो । त्यसकारण लहडमा अन्दोलन गरेर भाषण गरेपछि ताली आउँछ भन्दै भन्ने हो ? त्यो कतिसम्म थेग्छौँ ? भोलि ओलीजीले सङ्कटकाल लगाइ दिनुहोला । अनि हामीले सेना र प्रहरीसँग भीड्नुपर्ला । त्यसको व्यवस्थापन अर्को कुनै शक्ति राष्ट्रले गरिदेला । मेरा इन्ट्रेस्टमा प्रत्यक्ष खलल पर्न गयो । उहाँनिर हाम्रो सामरिक सुरक्षामा पनि असर पर्ने भयो भनेर त्यो गरिदियो भने तपाईं हामी कहाँ हुन्छौँ ? हाम्रो आन्दोलन कहाँ हुन्छ ? अनि कुनै एउटा मान्छे ल्याएर राष्ट्रपति कमचलाउ सरकारको नेतृत्व गराइदिन्छ । यो कुरा बुझौँ । त्यसकारण आन्दोलन गर्ने हो । विरोध गर्ने हो । एक दुई दिन गराँै । म पनि आन्दोलन गर्नुपर्ने पक्षमा छु । तर यो निरन्तर र लगातार होइन । ओलीजीको सर्वसत्तावाद, अधिनावयवाद, अलोकतान्त्रिक, जनमतको अपमान र एक दलीय सम्यवादी चिन्तनबाट ग्रस्त भएको कदम हो भनेर हामीले नङ्ग्याऔँ । तर हामीले लगातार आन्दोलन गरेर जितिँदैन ।

यतिबेला ओली सरकारको विकल्प खोजे समस्या हुन्छ भन्ने तपाईंको मत हो ?

–ओलीजीलाई बालुवाटारबाट निकाल्न खोज्यो भने समस्या हुन्छ । अहिले भीडले गएर बालुवाटार प्रदर्शन गर्दा अन्धाधुन्ध गोली चल्छ । अनि त्यो हाम्रो हातमा हुन्छ कि हुँदैन ? बीपीले सधैँभरि आह्वान गर्नहुन्थ्यो– आन्दोलनको नेतृत्व अरू उग्रवादीको हातमा पुग्नसक्छ । त्यो बेला आन्दोलनकर्ताहरुले खबदारी गरेर अगाडि बढ्नुपर्छ । त्यसैले भीडले कसरी संसद् पुनस्र्थापना गर्छ ? दबाब दिने कसलाई, सर्वोच्चलाई ?  हो, हजारौँको भीड देखेपछि श्रीमान न्यायाधीशहरु सोच्न बाध्य होलान् । अनि त्यो अराजक हुन्छ कि हुँदैन ? त्यसैले बिना उद्देश्य डिफाइन गरेको आन्दोलनले अर्थ राख्दैन ।

म तपाईंलाई कूटनीतितिर जोड्न चाहन्छु । विगतमा पनि बाह्य शक्तिले नेपालमा स्थिरता नचाहेको देखिन्छ । अहिले पनि त्यो देखियो । त्यसका पछाडि रहस्य के हो ?

–स्थिरता नचाहनेभन्दा पनि ठूलो राष्ट्रले आफ्नो इन्ट्रेस्टमा प्रहार हुन थाल्छ वा खतरा देख्छ । तब उसले कुनै नै कुनै भूमिका खेल्छ । अमेरिकाले त सरकार नै फालिदिएको छ ।

आफ्नो इन्ट्रेस्टलाई प्रोटेक्ट गर्ने खालको स्थिर सरकार खोज्छ । बङ्गलादेशमा प्रधानमन्त्री सेख हसिना वाजेदले स्थिर सरकार चलाउनुभएको छ । भारतसँग राम्रो सम्बन्ध छ । तर श्रीलङ्का र माल्दिप्समा सरकार चलेन । भारतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन खोज्छ ।

भारतको स्वार्थभन्दा नेपाल दायाँबायाँ हुँदा नितन्तर खतरा छ भन्न खोज्नुभएको हो ?

–हिजोभन्दा पनि अब बढी क्लोज्ली वाच गर्छ । किनभन्दा चीनसँग उसको सम्बन्ध बिग्रिएको छ । अस्ति भर्खर लडाइँ पनि भयो । भारतका ४२ जना मान्छे गलवान भ्यालीमा मारिए ।

दुई ठूलो हात्ती प्रेम गर्दा र लड्दा दूबो मडारिन्छ भन्ने अफ्रिकामा एउटा उखान छ ।

जब दुई ठूला हात्ती प्रेम गर्छन् दूबो मडारिन्छ, जब दुई ठूला हात्ती लडाइँ गर्छन् दूबो मडारिन्छ भनेजस्तै भारत र चीन मिल्दा पनि असर पर्छ भने नमिल्दा पनि असर पर्छ । भारतको मुख्य स्वार्थ सुरक्षाको हो । नेपाली भूमि आफूविरुद्ध प्रयोग नहोस् भन्ने छ । जुन चीनले पनि चाहन्छ ।

नेकपाभित्र पनि सबै  प्रोचाइनिज छैनन् । सबै प्रोइन्डियन पनि छैनन् । ओलीको ठाउँमा कुनै प्रधानमन्त्री भएको भए भारत र चीनमध्ये कसैले मिलाउँदा मिलाउँदै पनि हट्नुपर्ने अवस्था आयो भने भारत र चीनको स्वार्थभन्दा आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । ओलीमाथि त्यही भयो । चीनले जतिसुकै मिलाउने कोसिस गरे पनि आफ्नोे स्वार्थ हेर्नुभयो । मलाई प्रधानमन्त्रीबाट हटाउने हो भने देखाजाएगा उत्तर कि दक्षिण । म संसद नै भङ्ग गरिदिन्छु भन्नेमा ओलीजी पुग्नुभयो ।

ठ्याक्कै नेपालसँग भारतले चाहेको चाहिँ के हो ?

–भारतको सामरिक र सुरक्षा हितलाई नखलबल्याइ दिओस् भन्ने नै हो ।

ओली सरकारले त्यो गर्न नसकेको हो ?

उनीहरुमा बुझाइ नै गर्न सकेन भन्ने छ । मैले भने चीनले ओली सरकारलाई बचाउनभन्दा पनि नेकपालाई मिलाएर आफ्नो प्रभाव कायम गरिराख्ने योजना भएको कुरा त पूर्वराजदूत रञ्जित रायबाट नै आयो ।

नेकपाको एकता कायम राखेर नेपालमाथि प्रभाव जमाउने कुरामा चीन असफल भएको भारतको बुझाइ रहेको तपाईंको मत हो ?

असफल भयो । नेकपाभित्र पनि सबै  प्रोचाइनिज छैनन् । सबै प्रोइन्डियन पनि छैनन् । ओलीको ठाउँमा कुनै प्रधानमन्त्री भएको भए भारत र चीनमध्ये कसैले मिलाउँदा मिलाउँदै पनि हट्नुपर्ने अवस्था आयो भने भारत र चीनको स्वार्थभन्दा आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । ओलीमाथि त्यही भयो ।

चीनले जतिसुकै मिलाउने कोसिस गरे पनि आफ्नोे स्वार्थ हेर्नुभयो । मलाई प्रधानमन्त्रीबाट हटाउने हो भने देखाजाएगा उत्तर कि दक्षिण । म संसद नै भङ्ग गरिदिन्छु भन्नेमा ओलीजी पुग्नुभयो । आफ्नै स्वार्थमा आघात पुगेपछि उहाँले चीन पनि हेर्नुभएन भारत पनि हेर्नुभएन ।

आफ्नो स्वार्थका लागि यत्रो कदम चाल्दै गर्दा प्रधानमन्त्रीले आगामी चुनौतीको पाटोलाई किन हेरेनन् जस्तो लाग्छ ?

ओली रिस्कटेकर हुन् । कोही रिस्कएभोटर हुन्छ । उहाँले आँखा चिम्लेर ५ गतेको बिहानै उठेर मन्त्रिपरिषदको बैठक बोलाउनु भएको होइन । संसद् विघटनको हल्ला त्यसअघि पनि बाहिर आएको थियो ।

कहीँ न कहीँ एक किसिमको एक्सरसाइज भएको थियो । उहाँले आफूलाई सपोर्ट गर्ने संस्था दलसँग कुरा भएको हुनुपर्छ । त्यसमा पनि जनता समाजवादी पार्टी (जसपा)का केही नेतासँग छलफल भएको हुनुपर्छ भन्ने मेरो अनुमान हो । जसपाले आन्दोलन गर्छु भनेको छ, हेर्दै जाऊँ । जसपाका केही नेतासँग सल्लाह भएको जस्तो लाग्छ ।

अन्तिममा केही कुरा भन्नु छ ?

–मुलुक तरल अवस्थामा पुगेको छ । शक्ति राष्ट्रहरुले कूटनीतिक र राजनीतिमा आएको तरलताको पैदा लिन सक्छन् । यस्तै यहाँकै पनि अलोकतान्त्रिक शक्तिहरु वा राजा फर्काउनुपर्छ भन्ने मान्छेले पनि फाइदा लिन सक्छन् । हामी अत्यन्त जिम्मेवार भएर यो तरल अवस्थाको फाइदा अरूले नलिओस् भनेर बढो सजक हुनुपर्छ । अहिलेको यस अवस्थालाई अवतरण गराई घाइते भएको संविधानलाई उपचार गराउनु छ । हाम्रै साथीहरुको दिमाग भुटिदिएर सडकमा उत्तेजक नारा लिएर अर्को भीड आएर खेलिदिन सक्ने खतरा छ । सबैभन्दा बढी जोखिमा ओलीजी हुनुहुन्छ । हामी पनि छौँ, देश छ । जोखिममा माधव नेपाल र प्रचण्डजी पनि हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु । राजनीतिक चुनौतीको सामना गर्नुहोस् । भोलि आउने विभिन्न खतराको पाटोलाई विश्लेषण गरेर कदम चाल्नुपर्ने हुन्छ । नचाहेर पनि तरल अवस्था आइसक्यो ।

यसमा थप उग्रवाद भएर जानुहुन्छ कि यसको व्यवस्थापन गर्नुहुन्छ ? सर्वोच्चले विघटनलाई संवैधानिक सदर गर्यो भने निर्वाचनमा जानुपर्छ । यदि बदर गर्यो भने संसद् पुनस्र्थापना हुन्छ । हामी फेरि अगाडि बढ्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप