ad
केन्द्रीय संस्करण

बैंकरको कोरोना डायरी : मसँग कोठामा थुनिएर बस्नुबाहेक कुनै विकल्प थिएन

person explore access_timeपुस ११, २०७७ chat_bubble_outline0

 

 

कोरोनाबारेमा म आफूलाई जानकार तथा सतर्कता र सावधानी अपनाउने व्यक्ति ठान्थेँ । दैनिक कार्य सम्पादनमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका मापदण्डलाई पालना गर्दथेँ । लकडाउन भएपश्चात् कार्यालय जाँदा÷आउँदा सम्भव भएसम्म आफै गाडी चलाउने, चालक साथमा नलिई हिँड्ने गर्दथेँ । कार्यालयमा पनि मिटिङ गर्दा मिलेसम्म भर्चुअल गर्ने गर्दथेँ । भेट्नै पर्ने मानिसलाई पनि मास्क लगाएर, सामाजिक दूरी कायम गरी भेट्थँे । पर्याप्त सतर्कता अपनाउने भएकाले आपूmलाई त्यति डर पनि लाग्दैनथ्यो । मर्निङ वाक जारी राखेको थिएँ । लकडाउनमा पनि प्रहरीको आँखा छल्दै, कहिले हातमा झोला बोकेर र कहिले सागको मुठा झुण्ड्याउँदै भए पनि मर्निङ वाकमा जान्थेँ । तराईमा एक जनालाई पोजेटिभ देखियो भनेर काठमाडौँमा मान्छे डराउने बेला थियो त्यो । कोरोनाको बारेमा चिकित्सकलाई पनि राम्रो जानकारी नभएको समयमा सर्वसाधारण त्रासमा हुनु स्वाभाविकै थियो । काठमाडौंमा पनि टोल सिल गरेका, घर सिल गरेका समाचारहरु दैनिकजसो आउँथे ।

सावधानी अपनायो भने कोरोना सर्दैन भन्ने कुरालाई राम्ररी आत्मसात् गरेको थिएँ । हेलचक्य्राइँ गर्छ भनेर श्रीमतीजीको गुनासो हुन्थ्यो तर पनि आफ्नो दैनिकीलाई कहिल्यै असर पर्न दिइनँ ।

सावधानी अपनाउने भनेर दसैँमा टीका लगाउन पनि कहीँ गइएन, कसैलाई घरमा पनि स्वागत गरिएन । दसैँलाई आफ्नै घरमा मात्र सीमित राखियो । तिहार पनि दसैँ जसरी नै बित्यो । काठमाडौं बाहिर यात्रा नगरेको त एक वर्ष नै भइसक्यो । दसैँमा बाहिर जाने कि भनेर गरेको सल्लाह पनि स्वास्थ्य सावधानी भनेर रद्द गरियो ।

तिहारको दोस्रो र तेस्रो दिन अर्थात् कात्तिक ३० र मंसिर १ मा राति राम्ररी निद्रा लागेन । निद्रा नलागेपछि टाउको दुख्न थाल्यो । टाउको दुखाइ त्यति धेरै नभए पनि दिनभर निरन्तर दुख्थ्यो । मलाई सामान्यतया टाउको दुख्ने समस्या नभएको हुनाले किन दुख्यो भन्नेचाहिँ लागिरहेको थियो । तिहार सुरु भएपछि नै चिसो सुरु भयो भनेर मर्निङ वाक बन्द गरिसकेको थिएँ । त्यसैले किन यस्तो भयो भन्ने लागि रहे पनि आफ्नो दैनिकी चालू थियो । बिस्तारै टाउको दुखाइसँगै ढाड पनि दुख्न थाल्यो । ढाड दुख्ने पुरानै समस्या भएकोेले घरमै हल्का व्यायाम गर्न थालेँ तर खासै सुधार भएन । दुखाइको कुरा घरमा भन्यो भने बाहिर हिँडडुलमा बन्देज लाग्ला भनेर घरमा पनि केही भनिनँ । भाइटीकाको भोलिपल्ट अर्थात् किजा पुजाको दिन पनि म दिनभरि बाहिरै थिएँ तर बेलुका आएपछि सबै कुरा घरमा सुनाएँ । लगत्तै त्यही बेलुकाबाट स्वनिर्वासनमा बस्नुपर्ने भयो । आवश्यक सामग्री राखेर अट्याच बाथरुम भएको कोठामा बस्न सुरु गरेँ । त्यो रात हल्का ज्वरो आयो । नापेर हेर्दा ९९ जति आएको रहेछ । सिटामोल खाएपछि ज्वरो केही कम भयो तर बिहानदेखि फेरि सुरु भयो । त्यो दिनदेखि अफिस खुलेको थियो त्यसैले अफिस आउन नसक्ने जानकारी गराउन टेक्स्ट पठाएँ । लगत्तै सहकर्मी मित्रले पीसीआर गराउने सल्लाह दिनुभयो । मैले हल्का रुपमा लिएर टेस्ट नगराउने विचार व्यक्त गरेँ । उहाँले अफिसले बनाएको प्रोटोकल अनुसार ज्वरो आएपछि पीसीआर गराउनुपर्छ भनेर सम्झाउनुभयो । साँझमा टेस्ट गराउने विचार गरेँ । त्यो दिउँसो पनि मलाई ज्वरो आयो, सिटामोल खाएर बसेँ । कसैले मलाई सुनायो– सिटामोल खाएर टेष्ट गरायो भने रिपोर्ट नेगेटिभ आउँछ । त्यसले पनि सिटामोल खानलाई प्रोत्साहन गर्‍यो ।

पीसीआर दिएर आएपछि रिपोर्ट नआउन्जेलको समय अलिक तनावपूर्ण नै हुँदो रहेछ । मलाई रिपोर्ट नेगेटिभ नै होलाजस्तो लागेको थियो किनभने राति खाएको फेल्कसनले जीउ नै चंगा बनाएको थियो । भोलिपल्ट बिहान इमेल खोलेर हेरेँ, रिपोर्टको माथि बोल्ड अक्षरले ‘पोजेटिभ’ लेखिएको रहेछ । त्यसको नजिक सिटी भ्यालु लेखिएको रहेछ, नम्बर हेरेँ, जम्मा १३ रहेछ ।

साँझ करिब ४ बजेतिर टेष्ट गराउन छोरोले लिएर गयो । घर फर्केपछि राति फेरि ज्वरो आयो । यो पटक सिटामोलको सट्टा फेल्कसन खाएँ । मलाई ५०० एमजीको सिटामोल त्यति प्रभावकारी जस्तो लाग्दैन ।

पीसीआर दिएर आएपछि रिपोर्ट नआउन्जेलको समय अलिक तनावपूर्ण नै हुँदो रहेछ । मलाई रिपोर्ट नेगेटिभ नै होलाजस्तो लागेको थियो किनभने राति खाएको फेल्कजोनले जीउ नै चंगा बनाएको थियो । भोलिपल्ट बिहान इमेल खोलेर हेरेँ, रिपोर्टको माथि बोल्ड अक्षरले ‘पोजेटिभ’ लेखिएको रहेछ । त्यसको नजिक सिटी भ्यालु लेखिएको रहेछ, नम्बर हेरेँ, जम्मा १३ रहेछ । भर्खरै कोरोना मुक्त भएको अफिसको एक जना भाइलाई तुरुन्तै रिपोर्ट पोजेटिभ आएको कुरा सुनाएँ । सिटी भ्यालु सुनेपछि ल बर्बाद भयो, यो त क्रिटीकल हो भनेर सुनायो । भन्नेलाई त भन्दिए भइगयो, सुन्नेलाई कस्तो असर गर्छ भनेर उसलाई के थाहा ? तनावले होला, अक्सिजनको मात्रा पनि घटेको देखेँ, पल्सरेट पनि बढेको देखेँ । रिपोर्टको कुरा अफिसमा सुनाएँ, सबैले आश्वस्त रहन सुझाए । तुरुन्तै सिइओको फोन आयो । उहाँ पनि पोजेटिभ भएर घरमा बस्नुभएको थियो । मलाई अरु कुराले भन्दा पनि सिटी भ्यालुले मन पोलिरहेको थियो, त्यसैले त्यही कुरा उहासँग गरे । उहाँले सिटी भ्यालु केही पनि होइन, यसको केही प्रासङ्गिकता छैन, त्यसैले डराउनु पर्दैन भनेर सम्झाउनुभयो । उहाँको कुराले केही आश्वस्त भएँ । पछि गुगल खोलेर हेर्दा सिटी भ्यालु (साइकल थ्रेसहोल्ड भ्यालु) कुनै एक भारतीय डाक्टरले सुझाएका रहेछन् । भाइरस सानो भएकोले त्यसलाई एम्प्लीफाई (ठूलो बनाउने) गरेर हेर्नुपर्दो रहेछ । सोही क्रममा कति पटक एम्प्लीफाई गरेर हेर्दा भाइरस देखियो, त्यसैलाई सिटी भ्यालु भन्दा रहेछन् । भाइरस जति चाँडो डिटेक्ट भयो, त्यति नै बढी लोड भएछ भन्ने मान्यता रहेछ । तर सिटी भ्यालु कम वा बढी हुँदैमा त्यसले तात्विक फरक पार्ने रहेनछ भन्ने कुराको जानकारी पाएपछि ढुक्क भएँ ।

अब मसँग कोठामा थुनिएर बस्नुबाहेक कुनै विकल्प थिएन । मैले चार÷पाँच दिनभित्र भेटेका, सँगै हिँडेका, एउटै गाडी चढेका साथीहरुलाई आफू पोजेटिभ भएको कुरा सुनाएँ र साथै आश्वस्त पनि बनाएँ । मैले उहाँहरुलाई भेटेको बेलामा आवश्यक सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएको थिएँ, मास्क, सेनिटाइजर आदि प्रयोग गरेको थिएँ, त्यसैले डराउनु पर्दैन भनेँ तर आवश्यक सावधानी भने अपनाउन सुझाव दिएँ ।

यसैबीचमा धेरैतिरबाट फोन आउने क्रम सुरु भयो । मजस्तै गुगल डाक्टरहरुले विभिन्न औषधि प्रयोग गर्ने सल्लाह दिए । मलाई गुगल डाक्टरको मात्र कुरा सुनेर हुँदैन, एउटा रियल डाक्टरको सल्लाह लिनुपर्छ जस्तो लाग्यो । यस्तो बेलामा पारिवारिक डाक्टरकै कुरा सुन्दा ठिक होला भनेर श्रीमतीजीकी दिदी (जेठी सासू) सँग सम्पर्क गरेँ । उहाँ पेशाले चिकित्सक, कोरोना सम्बन्धी नै काम गरिरहनु भएको र आफू पनि भर्खरै कोरोना मुक्त हुनुभएको थियो । मैले उहाँभन्दा भरपर्दो अर्को मानिस पाउँदिन भनेर उहाँको सल्लाह अनुसार अगाडि बढ्ने निर्णय गरेँ । उहाँले धेरैथरी औषधि सुझाउनुभयो, सबै औषधि मगाएर आफूसँगै राखेँ तर प्रयोग गर्ने बेलामा भने चारवटा मात्र गरेँ । दुखाइ कम गर्ने सिटामोल, भिटामिन डी, जिंकसहितको भिटामिन बी कम्प्लेक्स र भिटामिन सी । मेरो निमोनियाको हिस्ट्री भएकोले एन्टीबायोटिक पनि लेखिदिनुभएको थियो, त्यो मैले प्रयोग नै गरिनँ ।

फोन आउने क्रम सुरु भयो । मजस्तै गुगल डाक्टरहरुले विभिन्न औषधि प्रयोग गर्ने सल्लाह दिए । मलाई गुगल डाक्टरको मात्र कुरा सुनेर हुँदैन, एउटा रियल डाक्टरको सल्लाह लिनुपर्छ जस्तो लाग्यो । यस्तो बेलामा पारिवारिक डाक्टरकै कुरा सुन्दा ठिक होला भनेर श्रीमतीजीकी दिदी (जेठी सासू) सँग सम्पर्क गरेँ ।

मलाई रिपोर्ट आएको पहिलो चार दिनसम्म अलिक गाह्रो भयो । ज्वरो त दोस्रो दिनबाटै आउन छाडेको थियो तर ढाड दुख्ने क्रम चार दिनसम्मै चलिरह्यो । दुखाइ कम गर्न आठ–आठ घण्टाको फरकमा सिटामोल खाइरहेँ । यसले केही कम भयो । चौथो दिन लगभग राति साढे एघार बजेदेखि बिहान तीन बजेसम्म बीस पटकभन्दा बढी डायरिया चल्यो । मैले प्रशस्त पानी र इलोक्ट्रोवियन खाएँ । म उच्च रक्तचापको औषधि खाने भएकोले इलोक्ट्रोवियनको मात्रा कम र पानी धेरै खाएँ । बिहानीपख केही कम भयो र ढाड दुख्न पनि कम भयो । डायरिया भएकोले ४०० एमजीको मेट्रोनिडाजोल दिनको दुई पटक पाँच दिनसम्म खाएँ ।

कोराना भइसकेपछि सबैजसो कुरामा परिवारका सदस्यहरुसँग निर्भर रहनुपर्दो रहेछ । तसर्थ घरका सदस्यहरुलाई गाह्रो होला भनेर निर्वासनकै दिनदेखि आफूलाई चाहिने सामग्री, नियमित प्रयोग गर्ने औषधि, अक्सोमिटर, थर्मोमिटर, ब्लडप्रेसर नाप्ने मेसिन, तातो पानी राख्ने थर्मस, भाँडा सफा गर्ने सामग्री, फोहोर राख्ने प्लास्टिक, बाफ लिने मेसिन, कोठा तातो राख्ने हिटर, टिस्यु पेपर, भाँडा राख्ने प्लास्टिकको बाटा, मोबाइल, ल्यापटप, आवश्यक लुगाफाटा, पढ्ने–लेख्ने पुस्तक–कापी, ड्राइफुड, बिस्कुट आदि आफ्नै कोठामा राखिसकेको थिएँ । घरका सदस्यले मेरो गतिविधि थाहा पाउन् र मलाई चाहिएको सामग्री दिनलाई सजिलो होस् भनेर कोठाको ढोका लगाउनको सट्टा ढोकामा बाक्लो सेतो प्लास्टिक लगाउन लगाएँ ।

आफ्नो शरीरका बारेमा आफैलाई थाहा हुन जरुरी हुन्छ । सल्लाह दिनेहरुले खाना पेल्नुपर्छ भन्छन् । खाना कसरी पेल्ने हो ? आफ्नो रुचिभन्दा बढी कसैले खान सक्दैन । नियमित खाने, थोरै थोरै मात्रामा खाने, झोल र तातो कुरा खाने गर्नुपर्दछ । दिनभरि एउटा कोठामा थुनिएर शारीरिक व्यायाम नभएपछि धेरै रुचि हुने कुरै भएन । आफुलाई व्यस्त राख्न नियमित हल्का व्यायाम, प्राणायाम जारी राखेँ । दिनको तीन पटकसम्म बाफ लिएँ, नुनपानीले गारगेल गरेँ, दिनको एक–डेढ घण्टा घाम तापेँ, कार्यालयको काम तथा  मिटीङहरुमा आफूलाई व्यस्त राखेँ । साँच्चै भन्ने हो भने समय कटेको थाहै भएन ।

कोरोनाको शारीरिकभन्दा पनि मानसिक पाटो गम्भीर र कठिन भएजस्तो लाग्यो मलाई । मन दह्रो बनाएर राख्ने र आफुलाई केही भएको छैन भन्ने कुराको सुझबुझ हुनु अत्यन्तै आवश्यक छ । कसैले पनि यो क्रिटिकल हो, यसले ज्यानै जान सक्छ भन्नेखालको अभिव्यक्ति दियो भने त्यसले बिमारलाई त्यतिकै बढाएर लाने गर्दछ । तसर्थ यो अलिक कडा खालको रुघाखोकी जस्तो हो, यो सजिलै सर्ने भएकोले सावधानी अपनाउनुपर्छ ।

एघारौँ दिनमा पुनः पीसीआर गराउन गएँ । परिणामको रुपमा नेगेटिभ वा पोजेटिभ जे आए पनि मैले आफूलाई मानसिक रुपमा तयार राखेको थिएँ । त्यसैले फेरि पोजेटिभ आउँदा पनि त्यसलाई सामान्य रुपमा नै लिएँ । एघारौँ दिनको रिपोर्टमा पीसीआर भ्यालु २३ आएको रहेछ । फेरि सत्रौं दिनमा स्याम्पल दिएर आएँ, रिपोर्ट नेगेटिभ आउनेमा विश्वस्त थिएँ तर सोचे विपरित फेरि पनि पोजेटिभ नै आयो । यसपटक भने मन अलिक बेचैन भयो । दिक्क लागेर आयो । सोचेँ, कहिलेसम्म यतिकै बस्नु पर्ने हो ! यसपटकको भ्यालु २८ आएको रहेछ । यतिकैमा इन्डियावाट मगाएको पतञ्जलीको कोरोनिल किट पनि घरमा आईपुग्यो । म पतञ्जलीको औषधिमा त्यति विश्वास गर्ने त होइन तर अप्ठ्यारो परेपछि खानै पर्‍यो । अठारौं दिनपछि नियमित रुपमा औषधि खान थालेँ । फेरि बाइसौं दिनमा जचाउँन गएँ, यसपटक भने रिपोर्ट हेर्नै मन लागेन, कसैले हेरेर भनिदिए हुन्थ्योजस्तो लाग्यो । रिपोर्ट पनि ढिला आयो, भोलिपल्ट रिपोर्ट हेर्दा नेगेटिभ आएको रहेछ । मलाई त ठुलै युद्ध जितेजस्तो लाग्यो । यसमा भने शंकाको सुविधा (बेनिफिट अफ डाउट) पतञ्जलीले पाउने देखियो ।

कोरोनाको शारीरिकभन्दा पनि मानसिक पाटो गम्भीर र कठिन भएजस्तो लाग्यो मलाई । मन दह्रो बनाएर राख्ने र आफुलाई केही भएको छैन भन्ने कुराको सुझबुझ हुनु अत्यन्तै आवश्यक छ । कसैले पनि यो क्रिटिकल हो, यसले ज्यानै जान सक्छ भन्नेखालको अभिव्यक्ति दियो भने त्यसले बिमारलाई त्यतिकै बढाएर लाने गर्दछ । तसर्थ यो अलिक कडा खालको रुघाखोकी जस्तो हो, यो सजिलै सर्ने भएकोले सावधानी अपनाउनुपर्छ । हरेक भाइरसको जस्तै यसको आफ्नै जीवनचक्र (लाइफ साइकल) हुन्छ, तसर्थ जीवनचक्र सकिएपछि आफै निष्क्रिय भएर जान्छ भन्ने कुराको जानकारी बिरामीलाई दिनुपर्दछ । यसले बिरामीलाई ढाडस पुग्दछ । बिरामी विभिन्न उमेर समूहका तथा विभिन्न सामाजिक पृष्ठभूमिका हुन्छन् । राम्रो पारिवारिक वातावरण र सरसहयोग भयो भने बिरामीलाई जटिलताबाट जोगाउन सकिन्छ । अहिलेको सानो परिवारमा सदस्यहरु धेरै नहुने र सबै आ–आफ्नै काममा व्यस्त हुने भएकोले घरमा स्याहार गर्ने मानिसको अभाव हुन सक्छ । यस्तो स्थितिमा कार्यालयमा काम गर्ने कर्मचारीहरुका लागि सम्बन्धित कार्यालयले अलिक लचिलो भएर सहयोग गरे राम्रो हुन्छ ।

हालको परिस्थितिमा कोरोना कसरी लाग्छ भन्नु भन्दा पनि कहिले लाग्ने हो र प्रतीक्षा सूचीमा आफू कहाँ छु भन्ने स्थिति छ । धेरै मानिसहरु कोरोना संक्रमित भएको थाहा नपाई अथवा लक्षण भए पनि नजचाई यतिकै हिँडिराखेका छन् । कोही संक्रमित भएर पनि विभिन्न बाध्यताले हिँडिरहेका छन् । यी सबै कोरोनाका वाहक हुन सक्छन् । तपार्इं घरबाहिर जाँदा यस्ता मानिससँग सम्पर्कमा आउन सक्नुहुन्छ र संक्रमित हुन सक्नुहुन्छ । कोही पनि मानिस तपाईंले चिनेका÷नचिनेका, तपाईंसँग दैनिक भेट हुने, सँगै काम गर्ने, परिवारभित्रकै, एउटै घरमा बस्ने जोकोही पनि सार्न सक्ने जोखिम भएका हुन सक्छन् । त्यसैले अत्यावश्यक कामबाहेक घरबाहिर नजाऔँ, मानिससँग सम्पर्क नगरौँ, मिलेसम्म कसैलाई पनि घरमा स्वागत नगरौँ । जति क्रियाकलाप कम भयो, संक्रमण हुने जोखिम पनि त्यति नै कम हुन्छ । घर बाहिर जाँदा आवश्यक स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ । बाहिरबाट घर आइसकेपछि नुनपानी या बेटाडिन जस्ता औषधिले गारगेल गर्ने र बाफ लिनेजस्ता काम गर्दा फाइदै होलाजस्तो लाग्छ । किनकि भाइरस क्रमिक रुपमा फैलने हो, तसर्थ त्यसलाई समयमै निस्तेज पार्न राम्रो हुन्छ । यति गर्दागर्दै पनि कोरोना भइहाल्यो भने कसरी त्यसलाई व्यवस्थापन गर्ने भन्ने कुराको पूर्व तयारी गर्नु बुद्धिमानी हुन्छ ।

(कोरोना सम्बन्धी मेरो अनुभवको यो लेख अरुलाई पनि काम लाग्न सक्छ भनेर पाठकसामु प्रस्तुत गरेको हो ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.