ad
केन्द्रीय संस्करण
कोरोना कहर

‘गाँडमाथि खटिरा’ : कोरोनाको नयाँ संक्रामक रुप कति खतरनाक ?

तीब्र रुपमा फैलिँदै नयाँ रुपकाे ‘बेलायती’ कोरोनाभाइरस : अफ्रिकामा पनि अर्को रुपको कहर

person explore access_timeपुस १२, २०७७ chat_bubble_outline0

 

 

गाँड आफैं त मानिसको लागि असजिलो, अप्ठ्यारो हुन्छ, अझै त्यसमा नै खटिरा आयो भने कस्तो होला ? अहिले त्यही भनाइलाई चरितार्थ गर्दै, चीनको ऊहान उत्पत्ति थलो मानिएको, सार्स–कोभ– २ नाम दिइएको कोरोनाभाइरसले हाहाकार मच्चाइरहेको बेलामा बेलायतमा कोरनाभाइरसको नयाँ डरलाग्दो रुप फेला परेको र त्यो तीब्र रुपमा फैलिइरहेको खबरले विश्वलाई फेरि भयाक्रान्त बनाइदिएको छ । त्यसो त षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थ्योरी)मा विश्वास राख्नेहरुले यो कुरालाई खोपको महत्व स्थापित गर्ने चक्करमा फैलाइएको ‘इन्फोडेमिक’ भनेर नकार्ने पनि गर्छन् । तर पछिल्ला तथ्य–तथ्यांकहरुलाई हेर्दा भाइरसको यो नयाँ प्रजाति र त्यसको संक्रामतालाई नकार्ने स्थिति भने पक्कै पनि छैन । खासगरी बेलायतमा देखापरेको यो भाइरसका विरुद्ध विश्वका अधिकांश देशहरुले उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि यसले बेलायतको सीमा नाघिसकेको छ । यो भाइरस जर्मनी, फ्रान्स, स्पेन, स्वीडेन, लेवनान र जापानमा समेत पुगिसकेको छ ।

उता दक्षिण अफ्रिकामा पनि कोरोनाभाइरसको नयाँ संक्रामक रुपमा देखापरेको छ । यो पनि बेलायतमा देखापरेको कोरोनाभाइरसजस्तै अत्यन्तै संक्रामक प्रकृतिको छ । दक्षिण अफ्रिकामा देखापरेको भाइरसको रुपलाई ५०१–भी२ (501-V2)  नामकारण गरिएको छ ।

बेलायतबाट देखापरेको कोरानाभाइरसको यो नयाँ रुपलाई अहिले  ‘बी.१.१.७’ (B.1.1.7) नाम अस्थायी रुपमा दिइएको छ । यो अलग्गै नयाँ किसिमको भाइरस नभई सार्स–कोभ–२ कै नयाँ रुप हो । सार्स–कोभ–२ ले अहिलेसम्म २३ वटा म्युटेसन (रुप परिवर्तन) भइसकेका छन् ।  तीमध्ये पनि आठ वटाको त मानिसको कोषमा प्रवेश गर्ने र बाँधिएर बस्ने स्पाइक प्रोटिनमै पनि म्युटेसन भइसकेका छन् ।   

सबैभन्दा पहिले यो भाइरस बेलायतको केन्ट काउन्टीमा सेप्टेम्बर २१ मा देखापरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार, नोभेम्बर महिनामा यो बेलायतमा फैलिएको थियो ।

त्यसयता कोरानाभाइरसको यो रुप नै बेलायतमा संक्रमण फैलाउने प्रमुख भाइरस बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत अक्टोबरदेखि डिसेम्बर १३ सम्ममा बेलायतमा देखिएका कोरोनाभाइरस संक्रमितहरुमध्ये ५० प्रतिशतभन्दा बढीमा यो नयाँ प्रजातिको भाइरस फेला परेको छ ।

कसरी आयो यो भाइरस?

यो भाइरस बेलायतमा कसरी देखापर्यो भनेर अहिले नै ठोस रुपमा भन्न सकिने स्थिति छैन । तर केही वैज्ञानिकहरुको विचारमा यो भाइरस शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएका एक व्यक्तिबाट आएको हुन सक्छ । अरु फ्लू भाइरसहरुले जस्तै सार्स–कोभ–२ भाइरले पनि आफूलाई बृद्धि गर्दै जाँदा आफ्ना कमी कमजोरीहरुलाई सच्चाउने क्रममा रुप परिवर्तन गर्ने क्षमता राख्छ । सामान्यतः हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताले अधिकांश भाइरसका विरुद्ध प्रतिजैविक रसायन –एन्टिबडी) उत्पादन गरेर तिनलाई नष्ट गरिदिन्छ । तर शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा त्यस्तो हुन पाउँदैन र तिनको शरीरमा लामो समयसम्म भाइरस सक्रिय रहिरहन सक्छ । यो भनेको भाइरसको लागि निक्कै अनुकूल अवस्था हो । त्यस स्थितिमा भाइरसले आफ्नो पुनरुत्पादन (संख्या) बढाउनका लागि रुपमा परिवर्तन गर्ने मौका पाउँछ ।

यसरी भाइरसले आफ्नो रुप परिवर्तन गर्नु सामान्य कुरा हो । तर अहिले बेलायतमा देखापरेको परिवर्तित रुपको भाइरसले कस्तो असर गर्ला भन्ने बारे चाहिँ यसै भनिहाल्न सक्ने अवस्था छैन । तर पनि वैज्ञानिकहरुले यस भाइरसको घातकतामा परिवर्तन आइहाल्ने स्थिति भने नदेखिएको बताएका छन् ।

संक्रमण दर भने उच्च

तर यस भाइरसको संक्रमण दर भने उच्च देखिएको छ ।  विज्ञहरुका अनुसार, नयाँ रुपको यो भाइरसको संक्रमण यसका अरु रुपहरुभन्दा ५० देखि ७० प्रतिशतसम्म बढी रहेको पाइएको छ । यसको संक्रमणदरको आधारमा आगामी मध्य जनवरीसम्ममा बेलायतमा देखापर्ने नयाँ संक्रमणमध्ये ९० प्रतिशत यही रुप बदलिएको कोरोनाभाइरस जिम्मेवार हुने अनुमान गरिएको छ ।

अहिलेसम्मको अध्ययनहरुले भाइरसको यो प्रजातिको घातकता बढी नदेखिए तापनि यसको संक्रमण दर भने उच्च रहेको पाइएको छ । यसको सोझो अर्थ के हो भने धेरैभन्दा धेरै मानिसहरु संक्रमणको चपेटमा परेर अस्पताल भर्ना हुनुपर्ने स्थिति निम्तिन सक्छ । सीएमएमआइडीले गरेको एक अध्ययनको नतिजाले  पनि यो कुरालाई समर्थन गरेको पाइएको छ ।

चिन्ता: खोपले काम गर्ला कि नगर्ला?

जुन दरमा यो बेलायतमा फैलिइरहेको छ र यसले बेलायत बाहिर पनि फैलिएको देखिएको छ, यो अवस्थामा स्वभाविक रुपमा अहिले बनिरहेको वा बन्ने क्रममा रहेका खोपहरुले यसका विरुद्ध काम गर्ला कि नगर्ला भन्ने प्रश्नलाई पनि जन्म दिएको छ । तर कोरोनाभाइरसले आफ्नो रुप परिवर्तन गरे पनि त्यसको आधारभूत संरचनामा खासै परिवर्तन नआएकोले नयाँ खोपहरु त्यसका विरुद्ध काम गर्ने विश्वास विज्ञहरुले व्यक्त गरेका छन् । उनीहरुका अनुसार, खोपले कोरोनाभाइरसका विरुद्ध हाम्रो प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याउने काम गर्छ । त्यसअनुसार, हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले कोरानाभाइरसका विभिन्न हिस्साहरुलाई नष्ट गर्ने, निष्क्रिय तुल्याउने वा बन्दी बनाउने लडाकु कोषहरु (arsenal of cells) निर्माण गरिदिने गर्छन् । यस अर्थमा कोरनाभाइरसका केही हिस्सामा आएके परिवर्तनकै कारण खोपले काम गर्दैन भन्ने कुरामा दम नरहेको कुरा अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्स (सीडीसी)ले पनि जनाइसकेको छ ।

वायोएनटेकका कार्यकारी अधिकृत उगुर साहिनले बताएअनुसार, उनीहरुले विकसित गरेको एमआरएन प्रविधिमा आधारित फाइजर–बायोएनटेक खोपले लक्षित गर्ने कोरानाभाइरसका प्रोटिनहरु नयाँ रुपका भाइरसमा पनि ९९ प्रतिशत विद्यमान छन् । यो स्थितिमा उक्त कम्पनीले विकसित गरेको खोपले यो नयाँ रुपको भाइरसविरुद्ध पनि मज्जाले काम गर्नेछ ।

तर भाइरसले नयाँ नयाँ रुप बदल्दै जाँदा भ्याक्सिनको प्रभावकारिता कम हुँदै जाने आशंका पनि गरिएको छ । विशेषतः फ्लू विरुद्ध निर्माण गरिएका भ्याक्सिनविरुद्ध भाइरसले आफूलाई नयाँ नयाँ रुपमा परिमार्जन गर्दै जाँदा वर्षेनी भ्याक्सिनमा समेत परिमार्जन गर्दै जानुपर्ने हुन्छ । यस्तो स्थितिमा पनि कोरोनाविरुद्ध बनाइएको एमआरएन भ्याक्सिनमा ६ हप्ताको समयावधिमै परिमार्जन गर्न सकिने उगुर साहिनले बताएकी छिन् ।

फैलिन नदिन के गर्न सकिन्छ?

अहिले रुप बदलिएको कोरोनाभाइरस पनि यसको प्रारम्भिक रुपको भाइरसकै तरिकाले फैलिने हो । यसको अर्थ के हो भने यसलाई नियन्त्रण र रोकथाम गर्नको लागि अपनाउने तरिका पनि उही हो– जनस्वास्थ्यका नियमहरुको कडीकडाउन पालना तथा संक्रमितको पहिचानका लागि परीक्षणको दायरा बढाउनु । यसको लागि सार्वजनिक स्थानहरुमा भौतिक दूरीको पालना, मास्कको अनिवार्य प्रयोग, नियमित रुपमा साबुनपानीले हात धुनु, अनावश्यक रुपमा भीडभाड हुने स्थानहरुमा नजानु । कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिइरहेका स्थानहरुको पहिचान गरेर ती क्षेत्रहरुमा लकडाउन तथा फेरि पनि परीक्षण गरी संक्रमितको पहिचान गर्नु नै यो भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी उपाय हुनेछ । 

एजेन्सीहरुको सहयोगमा

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.