शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालको आन्दोलन केका लागि ?

सोमबार, १३ पुस २०७७, १४ : ४६
सोमबार, १३ पुस २०७७

काठमाडौं । जुन संसदले संविधान संशोधन गर्न सकेन, त्यसको पुनःर्स्थापनाको माग किन ? जुन संविधानलाई स्वीकार गरिएको छैन, कागजको खोस्टा भन्दै यसलाई रद्दीको टोकरीमा फ्याल्नुपर्छ भन्नेले संविधानको रक्षाका लागि आन्दोलन किन ? जनता समाजवादी पार्टी नेपालमाथि यी दुई प्रश्न अहिले तेर्सिएका छन् ।

समाजिक सञ्जालदेखि चोक चोकको चिया पसलमा यसको चर्चा हुने गरेको छ । तर मधेशको बौद्धिक जगत भन्छ, ‘जसपाको आन्दोलन संविधानको रक्षा र संसद पुनःर्स्थापना भन्दा लोकतन्त्रको रक्षाको लागि हो ।’ जुन तरिकाले प्रतिनिधिसभा विघटन भएको छ, त्यो आधारमा लोकतन्त्र खतरामा रहेको बुझ्न गाह्रो छैन, त्यसैले लोकतन्त्रको रक्षाका लागि जसपा नेपालले आन्दोलन गरिरहेको बताइएको छ । 

पत्रकार एवं राजनीतिक विश्लेषक चन्द्रकिशोरले भने, ‘जसपा नेपालले संविधानको जति विरोध गरेपनि आन्तरिक रुपमा संविधान स्वीकार गरिसकेको छ, चुनावमा जानु, प्रदेशमा सरकार नै निर्माण गर्नु, संघीय सरकारमा सहभागी हुनु संविधानको स्वीकार्यता नै हो, संविधानमा त्रुटि छ, त्यसलाई सुधार गर्नुपर्छ भन्नु अलग कुरा हो तर जसपाले संविधानलाई स्वीकार गरिसकेको हो ।’ 

जसपा नेपालले संविधानको रक्षाभन्दा पनि लोकतन्त्रको रक्षाका लागि आन्दोलन गरिरहेको उनले बताए । लोकतन्त्र बाँकी रह्यो भने फेरि फेरि आफ्नो अधिकारका लागि आन्दोलन गर्न सकिन्छ, संविधान संशोधनको मुद्दा उठाउन सकिन्छ, लोकतन्त्र नै रहेन भने पाएका अधिकार पनि गुम्न सक्ने उनले बताए । ‘सडकमा उभिएर सरकारको विरोध गर्न सक्ने अवस्था छ, यो ठूलो कुरा हो, लोकतन्त्र गुम्यो भने बोल्न पनि पाइँदैन, त्यसैले अहिले लोकतन्त्रको रक्षा आवश्यक छ’ उनले भने ।

यस्तै धारणा पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णको पनि रहेको छ । उनले पनि अहिले देशको लोकतन्त्र नै खतरामा रहेको बताए । ‘मधेशवादी दलको अधिकार प्राप्त नभएको कुरा सही हो, यो संसदले संविधान संशोधन गरेन, त्यो पनि सही हो । जुन संसदले संविधान संशोधन गर्दिएन त्यसको पुनःर्स्थापना किन गर्ने तर्क पनि सही हो तर जब लोकतन्त्र नै खतरामा पर्छ भने यी मागहरु गौण हुन्छन्’ उनले भने, ‘संविधान संशोधन राजनीतिक मुद्दा हो, यसका लागि अहिलेको राजनीति जीवित रहनुपर्छ, यो लोकतन्त्र जीवित रहनुपर्छ अनि मात्र पुनः संविधान संशोधनको माग गर्न सकिन्छ ।’

जनता समाजवादी पार्टी नेपालले पहिलो चरणको आन्दोलन सम्पन्न गरेको छ । दोस्रो चरणको आन्दोलनका लागि पार्टीमा छलफल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र गैरसंवधानिक रहेको भन्दै जसपा नेपालले आन्दोलन थालेको हो । जसपा नेपालले अहिले संविधान संशोधनको मुद्दा उठाएको छैन । अहिले संसद पुनःर्स्थापनाको माग गरिरहेको छ । संसद पुनःर्स्थापना भयो भने अपहरण भएको लोकतन्त्र फिर्ता हुने बुझाई जसपा नेपालका नेताहरुको रहेको छ । 

अर्का राजनीतिक विश्लेषक एवं प्रध्यापक डा.सुरेन्द्र लाभले अहिलेको अवस्थामा मधेशको माग गौण भएको टिप्पणी गरे । अहिले लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रिय मुद्दा हो । मधेशी, आदिवासी जनजाति, पिछडिएको माग पुरा भएको छैन, त्यसका लागि संघर्ष गर्ने काम त छँदैछ, तर अहिले लोकतन्त्रको रक्षा आवश्यक रहेको उनले बताए । काँग्रेस र कम्युनिष्टका कारण मधेशी जनताको चाहनाअनुसार संविधान संशोधन हुन नसकेको तर अहिले भने ती दलको विरोध गर्नुको सट्टा मिलेर लोकतन्त्रका लागि संघर्ष गर्नु आवश्यकता रहेको उनले भनाई छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पनि आफूहरुको माग यथावत रहेको बताउँदै त्यसका लागि संघर्ष जारी राख्दै अहिलेको मुख्य आवश्यकता लोकतन्त्रको रक्षाका लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको छ, यसबाट प्रष्ट हुन्छ कि लोकतन्त्र खतरामा छ ।’ लोकतन्त्र बचाउन सकियो भने पुनः मधेशको लागि आन्दोलन गर्न सकिन्छ लोकतन्त्र नै रहेन भने प्राप्त उपलब्धी पनि गुम्ने भएकाले अहिलेको आन्दोलन भइरहेको उनको प्रस्टोक्ति थियो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप