बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसद विघटनविरुद्ध नेकपाले वडा तहसम्म संघर्ष समिति गठन गर्ने

बिहीबार, १६ पुस २०७७, १२ : ३६
बिहीबार, १६ पुस २०७७

काठमाडौं । संसद विघटनविरुद्ध गठित नेकपाको संघर्ष समितिले वडा तहसम्म नै संघर्ष समिति गठन गर्ने भएको छ ।  नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समिति सचिवालयको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको असंवैधानिक बिघटनका विरुद्ध शुरु गरिएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २०७७ साल पौष १४ गते आयोजना गरिएको विरोध प्रदर्शन भव्यरुपमा सम्पन्न भएको निश्कर्ष पनि निकालेको छ । साथै बैठकले विरोध प्रदर्शनका क्रमका कहिँ कतै उच्छृंखल र अमर्यादित नाराहरु पनि लगाइएको जनगुनासो सुनिएकाले अबका कार्यक्रमहरुमा कडाइका साथ निगरानी गर्ने निर्णय गरेको छ । 

त्यस्तै प्रदेश, जिल्ला, गाउँ/नगर पालिका र वडातहसम्म एक हप्ताभित्रमा संघर्ष समिति गठन गर्ने, विभिन्न जनवर्गीय संगठनहरूले आ–आफ्नो तहबाट रचनात्मक ढंगले संघर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईको संयोजकत्वमा डा.विजयकुमार पौडेल, विष्णु रिजाल र महेश्वर दाहाल रहेको केन्द्रीय संघर्ष प्रचार–प्रसार समिति गठन समेत गरेको छ । 

त्यसैगरी सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुले आ–आफ्नो कार्यक्षेत्रमा प्रतिगमन विरोधी संघर्ष सञ्चालन बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने छन् । विभिन्न क्षेत्रमा स्थापित महानुभावहरु, नागरिक समाजका अगुवाहरु, अधिवक्ताहरु, साहित्यकार, कलाकार, बुद्धिजीवी, शिक्षक–प्राध्यापक, मानवअधिकारकर्मी, उद्योगी–ब्यवसायी, यातायात ब्यवसायी, सञ्चारकर्मी, सञ्चारउद्यमी, चिकित्सक तथा स्वास्थ्यकर्मी, मजदूर तथा किसानका संगठनहरु, विभिन्न क्षेत्रका पेशाकर्मीहरु, विभिन्न सामाजिक संघ–संस्थाकाअगुवा महानुभावहरु, महिला संगठनहरु, विद्यार्थी तथा युवा संगठनहरु सबैलाई प्रतिगमन विरोधी संघर्षमा दृढताका साथ सामेल हुन अनुरोध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप