बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ क्षेत्रमा समावेशी सहभागिता : महत्त्वपूर्ण जिम्मेवारी महिलालाई सुम्पिँदै नबिल बैङ्क

बिहीबार, १६ पुस २०७७, १३ : ४७
बिहीबार, १६ पुस २०७७

काठमाडौं । सन् १९९१ मा नबिल बैङ्कमा प्रवेश गर्नुअघि अन्तर्वार्ता दिन जाँदा नमिता दीक्षितलाई लागेको थियो, ‘म पनि यहाँ काम गर्न सक्छु होला र ?’ जागिरको लाइनमा निकै कममात्रै महिला देख्दा उनलाई त्यतिबेला अप्ठ्यारो महशुस भएको थियो । तर, त्यो समयमा  पनि उनको क्षमता र योग्यतालाई नबिल बैङ्कले पत्यायो ।

करिब ३० वर्षदेखि नबिल बैङ्कमार्फत् बैंकिङ सेवा गर्दै आएकी दीक्षित अहिले बैङ्कको जोखिम व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीमा छिन् । नबिल बैङ्कमा प्रवेश गरेपछि उनलाई दायाँबायाँ सोच्नै परेन । नबिल बैङ्कभित्र आफुले गर्न पाएको बैंकिङ अभ्यास, वृत्ति विकासको अवसर र सेवा सुविधाको उत्कृष्टताका कारण सो बैङ्क अहिले बैंकिङ क्षेत्रको पहिलो आकर्षण बनेको दीक्षितको अनुभव छ । ३ दशकको सेवामा विभिन्न विभागीय जिम्मेवारी निर्वाह गरिसकेकी दीक्षितलाई आज पनि आफ्नो बैङ्क र कामलाई उत्तिकै माया र लगाव छ । भन्छिन्, ‘आई स्टिल प्राउड टु बी अ नबिलियन ।’

दीक्षितलाई सबैभन्दा खुसी चाहिँ बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिँदै गएको महिला सहभागितादेखि लाग्छ । बैंकिङ क्षेत्रको जागिर खुल्दा अन्तर्वार्ताको लाइनमा महिलाहरुको उल्लेख्य सहभागिता दिँदा उनलाई ३० वर्षअघि आफ्नो अन्तर्वार्ताका दिनहरुको याद आउँदो रहेछ । दीक्षित भन्छिन्, ‘अन्तवार्ता दिने लाइनमा महिलाको उल्लेख्य सहभागिता देख्दा म आफ्ना दिनहरु सम्झन्छु । आजको प्रगतिमा निकै आनन्द महशुस हुन्छ ।’

त्यस्तै, अनुभव सम्झना श्रेष्ठको पनि छ । उनी पनि सन् १९९१ मै नबिलमा प्रवेश गरेकी हुन् । नबिल परिवारमा प्रवेश गरेपछि उनलाई पनि अर्कोतिर जाने सोचाई कहिलै आएन । श्रेष्ठ भन्छिन्, ‘व्यवहारिक रुपमा पुरुषलाई भन्दा महिलालाई पक्कै पनि गाह्रो हुन्छ । पुरुषजत्तिकै सक्रिय रहन महिला सक्दैनन् । तर, नबिल बैङ्कभित्र त्यसको अनुभव नै हुँदैन । यो वातावरणको निर्माण गर्नसक्नु नै यो बैङ्कको विशेषता हो ।’

बैंकिङ क्षेत्रमा महिला सहभागिताको अवस्था

नेपालका २७ वाणिज्य बैङ्कहरुमा अहिले करिब ३८ हजार कर्मचारीहरु कार्यरत रहेको नेपाल बैङ्कर्स संघको तथ्यांक छ । त्यसमध्ये करिब १५ हजार महिला कर्मचारी छन् । यो करिब ४० प्रतिशत हो ।

पछिल्लो वर्षहरुमा बैंकिङ क्षेत्रमा महिला सहभागिताको क्रम निकै बढ्दै गएको छ । नयाँ नियुक्त हुने कर्मचारीमा आधाभन्दा बढी हिस्सा महिलाको छ । छोडेर जाने वा अवकाश पाउने कर्मचारीहरु महिलाभन्दा पुरुष बढी रहेकोले अबको केही वर्षमा यो क्षेत्रमा महिलाभन्दा पुरुषको संख्या बढी हुनसक्ने संघले जनाएको छ ।

बैङ्कमा महिला सहभागिता यसरी बढ्नुको केही कारणहरु छन् । पहिलो, अघिल्लो दशकदेखि नै विद्यालय भर्ना हुने विद्यार्थीमा महिला र पुरुषको संख्या उत्तिकै रहेको पाइएको छ । यसको सकारात्मक प्रभाव विद्यालय वा विश्वविद्यालय शिक्षासम्मै परेको छ । यतिबेला विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको संख्यामा पनि महिलाकै वर्चस्व देखिन थालेको छ । यसको प्रभाव स्वभाविक रुपमा श्रम बजारमा परेको छ । बैंकिङ क्षेत्र श्रम बजारको एउटा आकर्षक क्षेत्र पनि हो ।

दोस्रो महत्वपूर्ण कारण चाहिँ अर्को छ । बैंकिङ क्षेत्रलाई महिला र महिला कर्मचारीका लागि बैंकिङ क्षेत्र दुवै आकर्षणको विषय हो । बैंकिङ एकप्रकारले हस्पिटालिटी क्षेत्र नै भएकोले यो यो क्षेत्रको सेवामा पुरुष भन्दा महिला नै बढी प्रभावकारी हुने प्रमाणित भइसकेको नबिल बैङ्क रणनीतिक विभागकी म्यानेजर अञ्जुली श्रेष्ठ बताउँछिन् । श्रेष्ठ भन्छिन्, ‘महिलाहरुले विषयवस्तुलाई संवेदनशील ढंगले बुझ्छन् । ग्राहकका समस्यालाई आफ्नै समस्याको रुपमा ग्रहण गर्छन् र समाधानको पहल गर्छन् । यो महिलाहरुको प्राकृतिक स्वभाव हो । त्यसैले ग्राहक सेवामा महिला कर्मचारीहरु बढी प्रभावकारी हुन्छ भन्ने बुझिसकेका छन् ।’

महिलाहरुका लागि पनि बैंकिङ क्षेत्र प्रमुख आकर्षणको क्षेत्र हो । प्रायः कार्यालयभित्रै बसेर काम गरिने र धेरै शारीरिक परिश्रम गर्नु नपर्ने भएकोले यो क्षेत्रका कर्मचारीलाई ‘ह्वाइट कलर वर्कर’ पनि भनिन्छ । यस्तो प्रकृतिको काम गर्ने चाहना जोकोहीलाई हुन्छ । तर, महिलाहरुलाई भने यही प्रकारको काम निर्विकल्प जस्तै हुन्छ । त्यसैले पनि यो क्षेत्रमा महिलाको उच्च सहभागिता देखिएको हो ।

२४ वर्षदेखि नबिल बैङ्कमा कार्यरत रहँदै आएकी नबिल बैङ्ककी ट्रेजरी विभाग प्रमुख भिनिशा श्रेष्ठ महिलाहरुले पनि रोजगारी गर्नुपर्छ भन्ने चेतना विकास हुँदै जाँदा र समाजले पनि महिला रोजगारीलाई स्वभाविक रुपमा ग्रहण गर्दै जाँदा महिला सहभागिता उल्लेख्य रुपमा बढ्दै गएको अनुभव गर्छिन् ।

बैङ्कको पूर्वाधार तथा आयोजना ऋण विभागकी रिलेसनसिप म्यानेजर सरिना श्रेष्ठको अनुभवमा पछिल्लो समय महिला हरेक क्षेत्रमा प्रतिस्पर्धी बनेका कारण पछिल्लो समयको सहभागिता सम्भव भएको हो । ‘जिम्मेवारी पाउनु र जिम्मेवारी सम्हाल्नुमा आकाश जमिनको फरक छ । तर, महिलाहरुले पछिल्लो समय आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेका छन्, रिजल्ट पनि राम्रो आएको छ । यही पर्फमेन्सको कारण व्यवस्थापनलाई पनि महिलाले पनि काम गर्न सक्छन् भन्ने कन्फिडेन्स बढेको छ ।’

महिला सहभागितामा र वृत्ति विकासमा नबिल

नबिल बैङ्कका अहिले १ हजार १ सय २० कर्मचारी छन् । तीमध्ये ४ सय ७ जना महिला छन् । यो करिब ३६.३४ प्रतिशत हो । नबिलमा उच्च तहमा रहेर हाल २८ जना महिलाहरुले विभिन्न विभाग तथा शाखाहरु हाकिरहेका छन् । यो संख्या समग्र बैंकिङ क्षेत्रको भन्दा केही कम रहेको देखिँदा लाग्न सक्छ, महिला सहभागितामा नबिल बैङ्क पछाडि रहेछ ! तर वास्तविकता त्यसो नभएको बैङ्ककै महिला कर्मचारीहरु बताउँछन् ।

त्यसो त, नेपालको वाणिज्य बैङ्कमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत रहेकी अनुपमा खुञ्जेली पनि नबिल बैङ्ककै उत्पादन हुन् । त्यस्तै, क्लिन इनर्जी डेभलपमेन्ट बैङ्ककी तात्कालिन प्रमुख कार्यकारी अधिकृत वर्षा श्रेष्ठ पनि सुरुमा नबिल बैङ्कमै थिइन् । अहिले उनी इक्रा क्रेटिट रेटिङ एजेन्सीको प्रमुख कार्यकारी अधिकृत छिन् ।

‘हाम्रो बैङ्कले धेरै महिला बैङ्कर उत्पादन गरिसकेको छ । तपाइँले हेर्नुभयो भने अहिले विभिन्न बैङ्कको उच्च व्यवस्थापनमा रहेका अधिकांश महिलाहरु नबिल बैङ्ककै प्रोडक्ट हुन्,’ जोखिम व्यवस्थापन विभागकी प्रमुख दीक्षित भन्छिन्, ‘नबिलले आफ्ना लागि मात्रै बैङ्कर उत्पादन गरेको छैन । समग्र बैंकिङ क्षेत्रका लागि पनि योग्य बैङ्कर दिएको छ ।’

आफूलाई पनि कयौं बैङ्कले आकर्षक अफर गरेको स्मरण गर्दै दीक्षित भन्छिन्, ‘बाहिरबाट थुप्रै अवसर आएका थिए । मेरो प्राथमिकता माथिल्लो पद हात पार्नु भएको भए म पनि अन्तै जान सक्थेँ । तर, बैंकिङ संस्कार र सेवा सुविधाको हिसाबले अरु बैङ्कका अफरहरु मलाई फिक्का लाग्यो । त्यसैले त्यतातिर मैले सोच्दै सोचिनँ ।’

दीक्षितले आफ्नै समकक्षीहरुले अरु बैङ्कमा गएर कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको समेत देखिसकेकी छिन् । तर, त्यस्तो पदको मोह आफूलाई कहिलै नभएको उनले सुनाइन् । सेवाकालको उत्तराद्र्धमा रहेकी उनी भन्छिन्, ‘मैले बैङ्कका थुप्रै विभागको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छु । यो जिम्मेवारीमा रहँदा मैले जुन ज्ञान र सीप हासिल गरेँ, अर्को पुस्तालाई हस्तान्तरण गर्नु नै मेरो अबको उद्देश्य हो ।’

दीक्षित आफूलाई कमजोर नठान्न र क्षमता प्रदर्शन गर्न सधै अग्रसर हुन सबै महिलालाई आग्रह गर्छिन् । नेपालमा अहिले पनि पारिवारिक कारणले महिला अघि बढ्न नसकेको भन्दै यसमा थप सुधार हुनुपर्ने खाँचो उनी औंल्याउँछिन् । ‘अहिले बैंकिङ्गमा ४०/४५ प्रतिशत महिलाहरु प्रतिस्पर्धामा छन् । पारिवारिक कारणले कति महिला अगाडि बढ्न सकेका छैनन् । परिवारले छोरालाई जस्तै छोरीबुहारीलाई साथ दिने हो भने यो संख्या बढ्न समय लाग्दैन’ दीक्षित भन्छिन्, ‘महिला आफैंले पनि आफ्नो करियरमा ध्यान दिनुपर्छ । जापान र युरोपेली देशमा करियरमा ब्रेक लाग्ने चिन्ताले कति महिला विवाह नै नगरी र कति महिला बच्चा नजन्माई बसेका हुन्छन् । पारिवारिक जीवनका लागि व्यवसायिक जीवन अन्त्य हुने अवस्था आउन नदिन हाम्रो देशमा पनि महिलाहरुले आफ्नो जीवनको बारेमा राम्रो योजना बनाउनुपर्छ ।’

तीन दशकदेखि नबिलमै रहेकी सम्झना श्रेष्ठ पनि नबिलको बैंकिङ्ग संस्कारले नै आफूलाई बाँधेर राखेको बताउँछिन् । श्रेष्ठ भन्छिन्, ‘नबिलको सबल पक्ष भनेको महिला पुरुष भनिँदैन । यदि कोही महिलामा प्रतिस्पर्धामा जान सक्ने क्षमताको छ भने महिला भएकै कारण पछि पर्नु पर्दैैन, यो सुरुदेखिको अभ्यास हो ।’ नबिलमा आएको यति लामो अवधिसम्म पनि कोही कर्मचारीमा कहिल्यै पनि मनमुटाव नभएको उनी बताउँछिन् । नबिलले कर्मचारीका लागि कहिल्यै पनि कम्प्रोमाइज नगरेको भन्दै आज नबिलले लिएको उचाई यसकै परिणाम भएको उनको भनाई छ ।

सम्झनाको अनुभवमा बैङ्कले महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा बलियो बनाउने मात्र काम गरेको छैन, क्षमता र दक्षतामा पनि महिलाहरु पुरुषभन्दा अझै माथि छन् भन्ने प्रमाणित गर्न मद्दत पनि गरेको छ । किनकी विभिन्न अबरोधका वावजुद पनि उनीहरु पुरुषसँग समान प्रतिस्पर्धामा छन् । तर, आफ्नै क्षमता र महत्व नबुझेर धेरै महिला पछि परेको उनको भनाई छ ।

बैङ्कको रणनीतिक योजना विभागकी प्रमुख अञ्जुली श्रेष्ठको भनाई पनि उस्तै छ । व्यवसायिक क्षेत्रमा काम गर्ने महिलालाई परिवारले उचित साथ र सहयोग गर्ने हो भने महिला भएकै कारण पछि पर्नुपर्ने दिन नआउने उनी बताउँछिन् । नबिल बैङ्कले आजसम्म महिला र पुरुष कर्मचारीमा विभेद नगरेको उनको भनाई छ ।

उता, २४ वर्षदेखि बैङ्कमा सक्रिय ट्रेजरी विभागकी प्रमुख भिनिशा श्रेष्ठ अहिले नबिल बैङ्क आफ्नै परिवारजस्तो लाग्ने भन्दै बैङ्कको सानो सफलताले पनि आफूलाई आफ्नै सफलताको बराबर खुसी बनाउने गरेको अनुभव सुनाउँछिन् । ‘नबिल त मेरो परिवार हो । यही हुर्किएँ, यहीँ परिपक्व भएँ । नबिलको बारेमा कसैले नराम्रो भन्यो निकै चित्त दुख्छ । प्रशंसा सुन्दा ज्यादै खुसी लाग्छ ।’

आफ्नो सफलताप्रति सन्तुष्ट रहेकी भिनिशा व्यवसायिक जीवनमा सफल हुन महिलाहरुले पारिवारिक जीवनमा केही हदसम्म त्याग गर्न सक्नुपर्ने बताउँछिन् । भन्छिन, ‘हामी महिला भएकै कारण घर परिवार बच्चाबच्ची भन्दै अनकन गरेर बस्न हुँदैन । उनको अनुभवमा पछिल्लो समय जोखिम बहनमा पनि निकै दक्ष देखिएका छन् । यो भाबी दिनमा बैंकिङ क्षेत्रमा महिला वर्चस्वको सशक्त बन्ने संकेत रहेको उनको बुझाई छ ।

पूर्वाधार तथा आयोजना ऋण विभागकी रिलेसनसिप म्यानेजर सरिना श्रेष्ठको अनुभवमा पछिल्लो समय महिलाहरु प्रविधिमा निकै अपडेट हुने गरेका छन् । यसले बैंकिङ क्षेत्रमा उनीहरुको सम्भावनालाई उच्च बनाएको छ । श्रेष्ठ भन्छिन्, ‘बैंकिङ्ग यस्तो क्षेत्र हो जहाँ कामको अनुभवले मात्रै काम गर्दैन । जो आफूलाई समयअनुसार अपडेट गर्दै नयाँनयाँ प्रविधिसँग खेल्न सक्छ । अहिले प्रविधिमा महिलाको सहभागिता राम्रो देखिएको छ । यसमा थप ध्यान दिनुपर्छ ।

व्यवसायिक क्षेत्रमा अघि बढ्न पारिवारिक व्यवस्थापनमा ध्यान दिनुपर्ने भनाईसँग उनको सहमति छ । १५ महिने बच्चालाई छाडेर कोठा थुनेर पढ्ने र कार्यालयको काम गर्ने गरेको अनुभव पनि उनीसँग छ । ‘हामी त जहिले पनि डबल रोल निभाइरहेका हुन्छौं । कार्यालयको र घरपरिवारको जिम्मेवारी सँगसँगै अगाडि बढाइरहेका हुन्छौं । मलाई लाग्छ महिला कुनै पनि एङ्गलबाट कमजोर हुँदैनन् ।’

नबिल बैङ्कका विभिन्न विभाग तथा शाखाहरुको नेतृत्वमा रहेका महिलाहरु 

निलम तुलाधरः केन्द्रीय प्रशोधन एकाई (सेन्ट्रल प्रोसेसिङ यूनिट) प्रमुख हुन् तुलाधर । बैंकिङ सेवाको उत्तरार्धमा रहेकी तुलाधरले ३६ वर्षे नबिल बैंकमा लगभग ३५ वर्ष सेवा गरीसकेकी छिन् । 

नमिता दीक्षितः हाल जोखिम व्यवस्थापन विभाग प्रमुखको रुपमा कार्यरत दीक्षितले पनि नबिलमा लगभग ३० वर्ष सेवा गरिसकेकी छिन् ।
अनिता गिरीः केन्द्रीय प्रशोधन केन्द्र (सेन्ट्रल प्रोसेसिङ सेन्टर) प्रमखको रुपमा कार्यरत ।
सम्झना श्रेष्ठः संस्थागत निक्षेप बजारीकरण (कर्पोरेट र संस्थागत डिपोजिट मार्केटिङ) विभाग म्यानेजर ।

अञ्जुली श्रेष्ठः हाल रणनीतिक विभाग (स्ट्र्याटेजी प्लानिङ) म्यानेजरको रुपमा विगत १२ वर्षदेखि कार्यरत छिन् श्रेष्ठ ।
सावित्री दाहालः हाल संचालन जोखिम व्यवस्थापन प्रमुख (अपरेशनल रिश्क म्यानेजमेन्ट, एएमएल/सीएफटी हेड)को जिम्मेवारी सम्हाली रहेकी दाहालले नबिलमा २७ वर्ष सेवा गरीसकेकी छिन् । 
चाँदनी श्रेष्ठः रिटेल लेण्डिङ विभाग प्रमुखको रुपमा कार्यरत ।

बिनिता ढुंगानाः कम्प्लायन्स म्यानेजरको रुपमा कार्यरत ।
सुनिता मल्ल (प्रधान):हाल आन्तरिक लेखापरिक्षण (इन्टरनर अडिट) म्यानेजर मल्ल पनि विगत २७ वर्षदेखि नबिलमा कार्यरत छिन् ।
भिनिशा श्रेष्ठः हाल ट्रेजरी हेडको रुपमा कार्यरत श्रेष्ठ विगत २५ वर्षदेखि नबिलमा कार्यरत छिन् ।
सरिना श्रेष्ठः हाल बैंकको पूर्वाधार (इन्फ्रास्ट्रक्चर) विभागमा म्यानेजरको रुपमा कार्यरत श्रेष्ठ २००८ देखि नबिलमा क्रियाशिल छिन् ।
भावना खड्काः भक्तपुर सुर्यविनायक स्थित शाखाकी शाखा प्रम्ख हुन् खड्का ।

मोना शर्माः काठमाडौं महाराजगंज शाखाकी प्रमुख हुन् मोना ।
मनिका श्रेष्ठः ललितपुर सातदोवाटो स्थित शाखाकी प्रमुख श्रेष्ठ पनि विगत २२ वर्षदेखि नबिलमा कार्यरत छिन् । 
प्रमिला श्रेष्ठः काठमाडौं सिनामंगल शाखा प्रमुखको रुपमा कार्यरत ।

नन्दिता मल्ल प्रधानाङ्गः काठमाडौं अनामनगर शाखा प्रमुख ।
अनिमा भण्डारीः काठमाडौं जोरपाटी शाखा प्रमुख ।
प्रिती सिंहः काठमाडौं त्रिपुरेश्वर शाखाकी प्रमखु हुन् सिंह । 
आभा रानाः काठमाडौं कपन स्थित शाखा प्रमुखको रुपमा कार्यरत राना विगत २१ वर्षदेखि नबिलमा कार्यरत छिन् ।
पूजा पोखरेलः प्रदेश १, विराटनगर स्थित महेन्द्र चोकमा रहेको शाखा प्रमुखको रुपमा कार्यरत छिन् पोखरेल । 

सिखा कटवालः गण्डकी प्रदेश, पोखरा अमरसिंह चोक स्थित शाखाकी प्रमुखको जिम्मेवारीमा छिन् कटवाल ।
स्मृती दाहालः विराटनगर कै कञ्चनबारी शाखाकी शाखा प्रमुखको रुपमा कार्यरत छिन् दाहाल ।
अनिता श्रेष्ठः काठमाडौं कै हात्तिगौंडा स्थित शाखा प्रमुख हुन् श्रेष्ठ ।
सञ्जु खड्काः नारायणगढ गैडाकोटमा रहेको शाखा प्रमुखको रुपमा कार्यरत ।
गीता उप्रेतीः चितवन पर्सा स्थित शाखा प्रमुखको रुपमा कार्यरत  

आस्था शाहः हाल ललितपुर कुमारीपाटी शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी शाह विगत १७ वर्षदेखि नबिल बैंकमा सेवारत छिन् ।
मेरिना मुनानकर्मीः हाल गोरखा जिल्ला स्थित शाखा प्रमुखको रुपमा कार्यरत छिन् मुनानकर्मी । 
सुदिना रञ्जितः हाल काभ्रेको धुलिखेल शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् रञ्जित ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप