बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड- नेपाल समूहको प्रदेश भेलामा ओलीले छरेको भ्रम चिर्नुपर्नेमा जोड, संघर्षका लागि तयार रहन निर्देशन

बिहीबार, १६ पुस २०७७, १९ : ५७
बिहीबार, १६ पुस २०७७

जनकपुर । नेकपाका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छर्ने कार्य गरिरहेकाले यस भ्रमलाई चिर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् । बिहीबार जनकपुरधाममा आयोजित प्रदेश भेलामा पूर्वमन्त्री समेत रहेका पोखरेलले पार्टीभित्रको आन्तरिक बहस र छलफललाई विवाद भएको नाममा संसद नै भंग गर्नु कुतर्क रहेकाले यस्ता भ्रमलाई चिर्न आवश्यकता रहेको स्पष्ट पारे ।

उनले ओलीले पार्टीभित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी भ्रम छरेको आरोप समेत लगाए । उनले भने, अहिले आएर ओलीले अध्यक्ष माधवजी बारेमा समेत अनेकन  भ्रमहरु फैलाइरेहेकाले यसलाई चिर्नु जरुरी छ । ओलीले जाली फटाहा र झुठको खेती गरेर असंवैधानिक कदम चाल्दै संसद भंग गनुभएको हो ।'

नेता पोखरेलले प्रतिगमन दोश्रो चरणमा प्रवेश भन्दै अहिलेको संविधान नै डेन्जर जोनमा रहेको बताए । उनले अहिलेको समयमा विभिन्न आन्दोलनकारी दलहरुसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संघर्षलाई व्यवस्थित र सशक्तरुपमा अघि बढ्नका लागि निर्देशन समेत दिए ।

प्रदेश नम्बर २ को ८ वटै जिल्लाका प्रतिनिधिहरुले गरेको रिपोर्टिङ सुनिसकेपछि स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले कम्यूनिष्ट पार्टीको नाममा ओलीले खल्तीबाट केन्द्रीय सदस्य र मन्त्री पद बार्गेनिङ स्वरुप वितरण गरेर भर्ना अभियान संचालन गरेको आरोप लगाए ।

उनले भने, 'पार्टी र जनताको लागि अघि बढौ । अहिले ओलिको पार्टीमा कुनै टेस्ट हुदैन, सिधै केन्द्रिय सदस्य नियूक्ति हुन्छ । केहि गर्नुपर्दैन योगदान, त्याग र समर्पणको अर्थ छैन र गर्दैन । उनीहरु कम्युनिस्ट नै होइनन् ।  अहिले ओली तर्फबाट मन्त्री पद नै बितरण भैइरहेकाले केही साथीहरु अझै पनि दोधारमा अलमलमै छन् ।'

उनले जस्तो सुकै परिस्थिति आए पनि आफूहरु सामना गर्न तयार रहेको बताए । उनले हरेक जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, 'हामी तम्तयार अवस्थामा रहौँ, आन्दोलनको सशक्त तयारीमा जुटौँ, यदी कतैबाट कसैले अवरोध खडा गरेमा प्रतिरोध अवस्था आएपनि सोको लागि समेत तयारी भएर रहौँ ।'

नेकपा विभाजन पश्चात प्रचण्ड–माधव समूहसँग बहुमत रहेकाले सुर्य चिन्ह र नेकपा पार्टीको नाम आफूहरुले पाउनेमा उनले स्पष्ट पारे । उनले भने, 'त्यही भएर जनताका लागि हामिले काम गर्नुपर्छ । माक्र्सवाद अनुसार अघि बढ्नुपर्छ । सुर्य छाप र पार्टीको नाम बहुमतले पाउछ । हामीले पाउछौँ, त्यसैले आन्दोलन बाहेकको विकल्प हामीसँग छैन ।'

पूर्वमन्त्री महेन्द्र पासवानले ओलीले संविधान भन्दामाथि रहेको भन्दै राजा बन्न खोजेको आरोप लगाए । उनले ओलीले संसद विघटन गरेर अवसान तर्फ उन्मुख भएको बताए । प्रदेश स्तयरीय वैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट प्रदेश समितिका नेता तथा सदस्यहरु, प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, जिल्ला ईन्चार्ज, सेक्रेटरी समेतको सहभागिता रहेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

कार्यक्रममा प्रदेश २ मा नेकपा तर्फबाट प्रदेशसभा सदस्य ३२ जना मध्ये २० जना, नेकपाका ४ जना स्थायी समिति सदस्य मध्ये ३ र ६८ जना केन्द्रीय सदस्य मध्ये ४५ जना प्रचण्ड–माधव समूह पक्षमा देखिएका छन् । यस बैठक तथा प्रशिक्षणबाट प्रदेश २ मा प्रदेश संघर्ष समिति १ हजार १ सदस्यीय समिति, सोबाट आन्दोलनका गतिविधि संचालनका लागि १ सय १ सदस्यीय सचिवालय समिति,  ६ सय १ सदस्यीय जिल्ला समिति गठन पुस १८ गतेसम्ममा गरिसक्नुपर्ने निर्णय भएको नेकपा प्रदेश २ का प्रदेश सदस्य उदय यादव बरबरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप