मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘पञ्चरत्न’ बाछिटासङ्ग्रह विमोचित

यस्तो छ बाछिटाका १० आधारभूत मान्यता
शुक्रबार, १७ पुस २०७७, १७ : २७
शुक्रबार, १७ पुस २०७७

नेपाली साहित्यको नवीनतम विधामा लेखिएको पञ्चरत्न बाछिटासङ्ग्रह विमोचन गरिएको छ । खगेन्द्र बस्याल, भरत सिग्देल, केशव वैरागी माइलो, नारद आचार्य सुदामा र मधु घिमिरे गरी पाँच जना स्रष्टाद्वारा रचित उक्त सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा शिक्षाविद् डा. सदानन्द कडेलबाट विमोचन गरिएको हो । 

मातृभाषा संरक्षण समूह, अमेरिकाद्वारा प्रकाशित यस सङ्ग्रहमा बस्याल, सिग्देल, वैरागी माइलो,सुदामा र घिमिरे प्रत्येक स्रष्टाका १११ वटाका दरले  ५५५ वटा बाछिटा सङ्कलित छन् । जम्मा १३८ पृष्ठको यो कृतिको मूल्य ५५५ नै राखिएको छ । 

अलङ्कार प्रतिष्ठानको आयोजना विमोचित उक्त कार्यक्रममा लक्ष्मी थापा, विष्णु भट्टराई, भवानी पाण्डे, भरत सिग्देल, खगेन्द्र बस्यालका साथै वरिष्ठ पत्रकार ओम शर्मा लगायतका वक्तहरुले बाछिटा सङ्ग्रहका बारेमा मन्तव्य राखेका थिए । 

कार्यक्रममा थापाले कोरोना महामारीका बीच पनि भर्चुअल रचना कार्यक्रममार्फत यो विधाले जन्म पाएको र बाछिटाको रुपमा यो दोस्रो सङ्ग्रह भएको धारणा राखिन् । 
यस्तै भट्टराईले तीन जना स्रस्टा अमेरिकामा र २ जना स्रष्टा नेपालमा रहेर सिर्जना गरिएको यो सङ्ग्रह अत्यन्त गहकिलो र महत्त्वपूर्ण रहेको टिप्पणी गरे । 

यसैगरी रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार ओम शर्माले बाछिटाका सर्जक तथा बाछिटाकारले समाजमा चेतनाको राँको बाल्न सकून् भन्ने शुभकामना दिए । 
 उनले माइनस डिग्रीको चिसोमा पनि ताप उत्पन्न गराउन सक्नेखालका बाछिटाहरुको सिर्जना साहित्यकारहरुले गर्नुपर्नेमा जोड दिए ।  ‘बाछिटाकारले भन्न खोजेका कुराले पाठकमा ऊर्जा प्रदान गरोस् । तपाईंहरु जनताका मनमा पस्ने खालका बाछिटा लेख्नुहोस् । जो अमेरिकामा रहेका, दुःख पाएका, शासकहरुले खेदिएका  स्रष्टाहरु हुनुहुन्छ उहाँहरुले जीवन र जगतका बारेमा चेतना छर्ने काम यस सङ्ग्रहमार्फत गर्नुभएको छ’, उनले भने । 

यसैगरी काशीराज पण्डेले पञ्चरत्न बाछिटासङ्ग्रहले यस विधालाई स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएको र यो नेपाली साहित्यको नवीन विधा भएकाले स्रस्टाहरु अझ खारिन बाँकी रहेको बताए । 
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शेषनाथ पौडेलले बाछिटा सङ्ग्रका विविध पाटाबारे समीक्षात्मक टिप्पणी गरे । 

उनले बाछिटा लेखनको सुरुवात २०७७ साल जेठ २ गते स्रष्टा अमर त्यागी र खगेन्द्र बस्यालको निर्णयबाट औपचारिक रूपमा बाछिटा विधा प्रवर्तन भएको र यहीँबाट साहित्यको यो उपविधा सुरु भएको जानकारी दिए । ५ स्रष्टाको १११ वटाका दरले  ५५५ वटा बाछिटा सङ्कलन गरेर प्रकाशिक गरिएको आधारमै संग्रहको नाम ‘पञ्चरत्न’ जुराइएको नुवाकोटको तारुका श्रीकृष्ण क्याम्पसका प्रमुख समेत रहेका सिग्देलले जानकारी दिए । 

बाछिटाका दस आधारभूत मान्यता
१. तीन–पाँच–तीन लेख्य अक्षर संरचनाका तीन पङ्क्तिपुञ्जमा रचना ।

२. पहिले पङ्क्तिमा विषयको उठान ।

३. दोस्रा पङ्क्तिमा विषयको विस्तार ।

४. तेस्रो पङ्क्तिमा विषयको पुष्टि वा बैठान । 

५. प्रतीकात्मक (लक्षण, व्यञ्जना) शब्दशक्तिको प्रयोग ।

६. मूलतः प्रकृतिको बिम्ब वा झलकको प्रयोग (भावनाको तीव्रता एवं अनुभूतिको तीक्षणता, प्रतीकात्मक र मार्मिक रूपमा अभिव्यक्त भएमा प्रकृतिको बिम्ब वा झलक अनिवार्य नहुने)

७. स्तरीय व्याकरणिक संरचना वा हिज्जेयुक्त शब्दको प्रयोग ।

८. निपात, संयोजक जस्ता निष्क्रिय शब्दमा नियन्त्रण ।

९. पूर्ण वाक्य, वाक्यांश, वा उपवाक्यका टुक्रा तथा लोकोक्ति हुबहु लेखनमा नियोजन । 

१०. अभिव्यक्तिको एक्कै झोक्कामा गहन भाव सम्प्रेषण ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप