ad
केन्द्रीय संस्करण
पर्यटन

ब्ल्याक भिलेज अर्थात् गत्लाङ

गिनिजबुकमा नाम लेखाउन अग्रसर नेपालको एक अनुपम मानव बस्तीको चिनारी हराउँदै

person explore access_timeपुस २०, २०७७ chat_bubble_outline0

 

काठमाडौँ । झुरुप्प बस्ती । काला–काला छाना, र समान झुप्राहरू । हेर्दै अनौठो र मनमोहक लाग्ने मानव बस्ती ‘ब्ल्याक भिलेज’ अर्थात् कालो गाउँ । नेपालको विकट हिमाली जिल्लामध्ये एक जिल्ला हो– रसुवा । रसुवाकोे पनि अति विकट क्षेत्रमध्ये पर्छ स्वशासित चीनको तिब्बतसँग जोडिएको गाउँपालिका ‘आमाछोदिङ्मो’ गाउँपालिका । सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित गत्लाङ नै ब्ल्याक भिलेज अर्थात् कालो गाउँ हो ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्व राख्ने गत्लाङमा मानव बस्ती बस्ने तौरतरिकाले विश्वमा नै उक्त बस्ती ब्ल्याक भिलेज नामबाट प्रख्यात छ । त्यसो त उक्त गाउँलाई ब्ल्याक भिलेजकै नाममा गिनिजबुक (विश्व रेकर्डमा) नै समावेश गर्ने तयारीसमेत नभएको होइन । तर पछिल्लो समय गाउँलेहरूले काठ, ढुङ्गाका छाना विस्तारै विस्तापित गर्दै आफ्ना घरहरूमा टिन (जस्ता) का छाना लगाउन थालेपछि उक्त बस्तीको चिनारी नै हराउन थालेको छ ।

विशेषतः पुराना घर, काठ र ढुङ्गाले छाएका घर नै गत्लाङको प्रमुख आकर्षकको केन्द्र हो । करिब तीन, साढे तीन सय हारहारीमा रहेका झुरुप्प घर र ती घरहरूमा लगाइएको पुराना र काला छानाले देखाउने सगोल कालो बस्ती नै ब्ल्याक भिलेजको उपमा हो । त्यो नाम पनि घुमन्ते फिरन्ते विदेशी पर्यटकले राखिदिएका हुन् ।

ब्ल्याक भिलेज अर्थात् गत्लाङ समुद्र सतहदेखि करिब २३ सय मिटर उचाइमा पर्छ । सोही बस्तीकै अघिल्तिर निर्भीक लाङटाङ हिमाल ठडिएको छ र सोही स्थानमा गोसाइकुण्डसहित १०८ कुण्डमध्येको एक पार्वती कुण्ड गत्लाङमा नै पर्छ । त्यसैले पनि यस क्षेत्र धार्मिक एवं पदयात्रा रमाउने पर्यटकहरूको आकर्षणको केन्द्र हो ।

तामाङ हेरिटेज ट्रेल सम्भवतः काठमाडौँबाट सबैभन्दा नजिकको सांस्कृतिक पदमार्ग हो । स्याफ्रुबेँसी, गोल्जुङ, गत्लाङ, चिलिमे, तेताङ्चे, गोङगाङ, तातोपानी, नागथली, थुमन र ब्रिदिम यस मार्गका गाउँहरू त्यसभित्र पर्छन् । तामाङ आदिवासीको भाषा–संस्कृति, बोन र बौद्व धर्म संस्कृति तथा परम्परागत भेषभूषा, माने गुम्बाहरू यस पदमार्गको पर्यटकीय आकर्षण हुन् । यद्यपि यो ट्रेलमा अनुपम प्राकृतिक सौन्दर्यहरू जस्तैः पार्वती कुण्ड, लालीगुराँस र खरुका पोथ्रे जङ्गल, सान्जेन रिभर करिडोर, उच्च लेकाली खर्क र नागथलीजस्ता लाङटाङ हिमशृङ्खला देखिने भ्यु प्वाइन्ट छन् । तथापि यो ट्रेलको एक प्रमुख आकर्षण चाहिँ गत्लाङ नै हो । लस्करै जोडिएका ढुङ्गा र माटाका झुरुप्प घरहरू, काठमा कुँदिएका बुट्टेदार झ्यालढोका, पहिलो तलामा उक्लने काठकै लिस्नो, भुइँ तलामा बस्तुभाउ राख्ने गोठ र गाउँ नै कालो देखिने गरी काठ र ढुङ्गाका छाना छाइएका छन् । तर यो अनुपम बस्ती गत्लाङको चिनारी विस्तारै हराउँदै गएको छ ।

२०७२ सालको महाभूकम्पको प्रभाव पनि यो बस्तीमा पनि प¥यो । पुराना केहीँ घरहरू भत्किन पुगे । पुनर्निर्माणका क्रममा ती घरहरूमा काठ, ढुङ्गाको सट्टा टिनका छाना छाउन थालिए । जसका कारण अहिले उक्त गाउँ चिनारी नै सङ्कटमा परेको छ ।

पुनर्निर्माणका क्रममा स्थानीहरूले आफ्नो चिनारीलाई ख्याल नगर्दा सिङ्गो गाउँकै पहिचान गुम्ने खतरा भएको एक स्थानीय फुर्वा तामाङले बताए ।

‘पहिले गत्लाङका सबै घर काला थिए । हरेक घरका छाना ढुङ्गा र काठले मात्र छाइएका थिए । तर पछि भूकम्पले केही घरहरू भत्काइदियो । ती घरमा अहिले पुनर्निर्माणका क्रममा टिनका छाना लगाइएका छन् । यसले हाम्रो सिङ्गो गत्लाङको चिनारी नै हराउने हो कि भन्ने चिन्ता बढाएको छ’ तामाङले भने ।

त्यसो त गत्लाङको प्रमुख व्यावसायिक पेसा कृषि, पशुपालनबाहेक होटल, पर्यटन व्यवसाय नै हो । यहाँको आकर्षक बस्ती, धार्मिक धरोहर र पदयात्रकै कारण गत्लाङका होटल, होमस्टे, तथा स्थानीय कृषि उपजले बजार पाइरहेका छन् । स्थानीयहरूले गाइड पेसा पाइरहेका छन् । तर गाउँको पहिचान नै हराउने अवस्था आए कसरी पर्यटक आकर्षित होलान् ? अहिले स्थानीय व्यवसायीहरूको चिन्ताको विषय बन्न थालेको छ ।

पुनः ब्ल्याक भिलेजमा नै फर्काउने कोसिस

ब्ल्याक भिलेजको नामले परिचित गत्लाङलाई पुरानै अवस्थामा फर्काउन स्थानीय सरकारले पहल थालेको छ । उक्त बस्ती रहेको रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले बस्तीलाई पुरानै अवस्थामा फर्काउने गरी तयारी थालेको आमाछोङ्दिमो गाउँपालिकाका अध्यक्ष भुजुङ तामाङले रातोपाटीसँग बताए ।

‘अहिले गत्लाङको पहिचान संरक्षणको विषय प्रमुख चुनौतीको विषय बनेको छ । ब्ल्याक भिलेजको नाममा नेपालमा मात्र नभएर विदेशमा समेत परिचित यस गाउँको पहिचान विस्तारै हराउँदै गएको छ । भूकम्पपछि गाउँको स्वरूप नै परिवर्तन हुँदै गएको छ । यसतर्फ हाम्रो (गाउँपालिकाको) ध्यानाकर्षण भएको छ । यसको संरक्षणमा के गर्न सकिन्छ ? अहिले हामी गृहकार्यमा नै छौँ । सरोकारवालाहरूसँग निरन्तर छलफल र सहकार्यमा छौँ,’ अध्यक्ष तामाङले भने ।

त्यसो त पुनर्निर्माणका क्रममा स्थानीय सरकार र गाउँले समेत पहिचानको ख्याल गर्न नसक्दा अहिलेको अवस्था आएको अध्यक्ष तामाङको भनाइ छ । तर आफूहरूबाट गाउँलाई पुरानै शैलीमा फर्काउने प्रयत्न जारी रहने उनले बताए ।

यता होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशले समेत गत्लाङको पहिचान विस्तारै हराउँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । प्रदेशको एक प्रमुख पर्यटन गन्तव्यमध्येको एक रसुवाको अनुपम मानव बस्तीको चिनारी हराउँदै गएकोमा सङ्घले स्थानी सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको समेत ध्यानाकर्षण गरेको छ ।

विश्व जगतमा परिचित ब्ल्याक भिलेजको पहिचान फर्काउन तीनै तहको सरकारले पहल गर्नुपर्ने होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

यसका साथै सो क्षेत्रमा रहेका अन्य प्राकृतिक तथा एतिहासिक पर्यटकीय क्षेत्रहरूको संरक्षण, प्रवद्र्धन र पहिचानमा समेत सरकार लाग्नुपर्ने अध्यक्ष उप्रेतीले बताए ।

आमाछोदिङ्मो गाउँपालिका रसुवा जिल्लाको ५ गाउँपालिकामध्ये एक अति विकट तर पर्यटनका लागि प्रचुर सम्भावना भएको चीनसँग सीमा जोडिएको गाउँपालिका हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.