शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब्स्ट्राक्ट गन्थन : गोपी

मङ्गलबार, २१ पुस २०७७, १४ : ०७
मङ्गलबार, २१ पुस २०७७

 

 

“तरकारी पनि ज्युनार गर्ने मन भए बजारबाट ल्याइहाल्नू । नत्र फेरि ज्वानोको झोलको मात्र फेला परिएला है भन्द्या छ ।”, उनले ल्यापटपलाई चिल्ने हिसाबले आँखा तरेपछि जरकजरक गर्दै भान्साकोठातिर पसिन् । म ल्यापटपसँग खप्टिँदा आफू ल्यापआउट हुनुपरेको खटपटको रङ उनको अनुहारबाट घोप्टिएको थियो ।

उनको नजरले मभित्र उमारेको त्रास उनकै पछि लागेर भान्साभित्रै गैदिएपछी म ल्यापटपमा हाइसुख्ख घोप्टिइरहेँ ।
एक्कै छिनमा त्यो त्रास उनको अघि लागेर मसामु खडा भैहाल्योः “अझै निस्कनुभा छैन ? नौ बज्न थालिसक्यो ! आज पनि एक खुट्टामा जुत्ता र अर्को खुट्टामा चप्पल लगाएर भोकै अफिस निस्कनुपर्ला है ! कैले नचेत्ने यो कस्तो अर्धपागलजस्तो मान्छेको फेला परिएछ ?”

उनी यसपटक पनि भान्साको ढोकाबाटै मलाई तर्साएर फर्किलिन् भन्ने मेरो अनुमान यस पटक भने गलत सावित भैदियो । उनी त चिलले चल्लो झम्टिएजस्तै गरी निमेषभरमै ल्यापटपमा झ्याप्पै पर्न पो आइन्, “के छ आफू यो ठाँडोमा खप्टिने कुरो ? आज त म यो नफुटाली छोड्दिन ।”

उनको अनुहार रिसको तेजले यसरी कच्याकुचुक परेको थियो कि त्यो तेजले मात्र पनि यो ल्यापटपसमेत कच्याकुचुक पारिदिने सामथ्र्य राख्थ्यो । मेरो सातोपुत्लो उड्यो । म ल्यापटप जोगाउने उद्यममा जुटेँ । फलस्वरूप आफ्नै हातमा पार्न केही बेरसम्म उनीसँग घम्साघम्सी नै चल्यो ।

धन्न उनको हातबाट यथाहालतमा ल्यापटप खोस्न म सफल भएछु र स्पष्टीकरण दिन पनि भ्याएँछु, “तरकारी के पो ल्याउनु भनी यसमा सर्च गर्दै थिएँ कि ! मेरो मतलब तिमीलाई मन पर्ने कुनै नयाँ तरकारी । मरिगए कुरा नबुझ्नेसँग के कुरा गर्नु र !”

“बजारमा पाइने तरकारी पनि यो ठाँडोभित्र हुन्छ कहीँ ? दिमाग त सट्किएन यो लोग्ने भनाउँदो अर्को बिबिन्नो ठाँडोको ?”, उनले मेरो कँधालो समातेर खाटबाट तल ओरालिन् । उनलाई तान्न सजिलो होस् भन्नाको खातिर मैले आफूलाई निक्कै हलुको तुल्याइदिएँ र ल्यापटपको भार खाटमै छोडेर उनले तानेतिर लुरुलुरु गइदिएँ । मैले आफूलाई हल्का पार्नुको परिणाम भने निकै गह्रौँ निस्कियो । उनले त उत्तिखेरै आफूमा काइनेटिक शक्ति जम्मा गर्न पो भ्याइछिन् जुन कुरा आफू मूलढोकाबाट निक्कै पर हुत्तिएर तीनचार बल्ड्याङ खाँदै भुइँमा उत्तानोपरेपछि मात्र खुल्न आयो ।

मेरो जिउलाई भुइँमै केही बेर लडिरहेको हेर्ने उनको रहर एवं अभिमानलाई परास्त गर्नुपर्छ भन्ने चेत ममा फर्किसकेकोले हत्तपत्त जुरुक्कै उठेँ । ढलाइको मारवश हात–खुट्टा र जिउको जम्मै भाग चस्किएको जस्तो अनुभूत नभएको त होइन तर भरसक केही पनि नभएजस्तो भावभङ्गी प्रदर्शित गर्दै तोकिएबमोजिमको गन्तव्य अर्थात् तरकारी बजारतिर सोझिएँ । बाटोको कुइनेटामा पुगेपछि अलिकति कोल्टो फर्केर करिब आधाभन्दा थोरै नजरले मात्र उनको अनुहारको पछिल्लो भावभङ्गी चेक गरेँ । रिचेक गर्ने व्यवस्था भने अनिश्चित कालका लागि स्थगित गरिदिएको थिएँ ।

निकै न्यूनांश नजरले पनि उनको सर्वाङ्ग क्याच गर्न भ्याउँदोरहेछ । दुवै हात पछाडि बाँधेर उनी त मूलढोकामै ठमठम्ती उभिएर विजयोन्मादमा जस्तै शरीर हल्लाएर खितखिताइरहेकी रहिछन् । मैले उनको निम्ति फ्याँकेको कमजोर नजर उनका बलिया जोर नजरबाट उम्कन सकेनन् र त्यसको फाइदाजति आफ्नो पोल्टोमा पार्दै उनले पुनः आदेश जारी गर्न भ्याइन्, “राम्रोसँग सुन्नू त ! फेरि उही गोपी बोकेर नआउनू नि । र, काउली पनि नल्याउनू थाइराइड झन् बढाउँछ रे । आलु, फर्सी, लौका, घिरौँलाले सुगर ह्वात्तै बढाउँछ, ल्याउँदै नल्याउनू । गोलभेँडाजस्ता अमिला कुराहरूले युरिक एसिड बनाउँछ भन्ने थाहै होला । सागपात पखाल्नै झ्याउ लाग्छ । सिमीबोडीले तपाईँलाई समेत सर्दी बढाउँछ भन्ने ज्ञान नै होला । यीबाहेक अर्थोक नै ल्याउनू । बासी होइन है फेरि । ताजा ! एकदमै ताजा !” 

उनी बिग्रेको रेडियोजस्तै फतफताइरहेकी थिइन् । उनी एकैछिनमा रिसको शिखरबाट मायाको समथर फाँटमा ओर्लिसकेको देख्दा ममा असीम सन्तोष पैदा भयो । मेरा नजरले भने उनको नजरबाट तुरुन्तै उन्मुक्ति खोजेको थियोः “हस् ! हस् !” भन्दै उनको नजरबाट भरसक शिघ्रातिशिघ्र ओझेल हुनेगरी त्यहाँबाट सुइँकुच्चा ठोकिदिएँ । भुइँमा बजारिएको जिउलाई सुइँकुच्चाको गतिले गर्दा अरु भारी भैदिएकाले जति जति तरकारी बजार नजिकिँदै आयो उतिउति सास बेसरी बढेर आउन थाल्यो । ओठ सुकिसकेकाले फोक्सोले उनको अन्तिम लवजलाई तारन्तार रटिरहेको थियोः “ताजा ! ताजा ! ताजा ! ताजा ! ताजा ! ताजा !!”

बजार सन्निकट आइपुगेपछि आफैलाई मज्जासँग स्वतन्त्रतापूर्वक उभिने अवसर दिलाएँ र सासको गतिलाई घटाउँदै लगेँ । अनि मात्र उनले घोकाएको तरकारीको लिस्ट ताजा हुँदै गयो । आफू ओरै उभिएर नजरलाई मात्र बजारको पर परसम्म डुल्न पठाएँ ।

खोज्न पठाएका नजरहरू सुरुमै बासी बजारमा ठोक्किए । बजारबाट यस्तरी नमिठो, अमिलो, पिरो, सडेगलेको गन्ध आइरहेको थियो कि नाक स्वचालित मेसिन बिग्रिएझैँ बन्द हुनपुग्यो र गन्ध सुँघ्ने काम नजरले गर्न थाले । त्यहाँबाट परेलीको धुलो झार्दै उठेका नजर बासी व्यापारीका आकृतिहरूमा पुगेर ठोक्किए । कस्ता आकृति भने केही बेर अघिकी रणचण्डीको रूप धारण गरेकी पत्नीको कच्याककुचुक अनुहार जस्तै । नजर त्यहाँबाट पनि उठ्न सफल भए र बासी तरकारीका थुप्राहरूमा पुगेर ठोक्किए । व्यापारीभन्दा सौगुणा बढी बासी क्रेताहरूको नजरसँग ठेल्लम्ठेल र कोचाकोच गर्न थाले । यस्तो भैदियो कि कुन नजर आफ्ना हुन् कुन नजर अर्काका हुन् ठम्याउनै मुश्किल ! 

भएन फसाद ? नजरमा ठोक्किएका हरेक वस्तुहरूमा निजी मूल्यसहितको लेबल टाँस्न अभ्यस्त नजर आफूबाटै हराइदिएपछि खोजी गर्ने केले र कसरी ? बाहिरी नजर हराएपछि हत्तपत्त वैकल्पिक नजरको खोजतलास गरेँ । 
ठोक्किँदा ठोक्किँदा झण्डै काम नलाग्ने हालतमा गुज्रिएका नजरलाई परेलीले छोपछाप पारेँ र अन्तस्करणलाई झिकेर प्रयोगमा ल्याएँ । अन्तस्करणको जँचाइबाट तरकारीको लिष्ट मात्र ताजा जँच्यो, तर तरकारी भने एउटै ताजा जँचेन । 
ल्यापटप साथमा नभएकोले मस्तिष्कलाई ल्यापटपजस्तै नजरको काखमा ओछ्याएँ र ताजा तरकारीको नामहरू सर्च गर्न थालेँ । धर्मपत्नीले भिडाएको तरकारीको कर्णालीभन्दा लामो नकारात्मक सूची मानसपटलमा उत्रियो । सर्च गरेको थिएँ, सकारात्मक सूची तर मेरो कमजोर सर्च इन्जिनले घरिघरि नकारात्मक सूची मात्र देखाउन थाल्यो । सकारात्मक सूची भेट्टाउने मेरा सबै प्रयासहरू असफल भइगए ।

आँखा भने मनलाई छक्काएर घरिघरि बासी बजारमै पुगिरहेका थिए । फलस्वरूप केही चिज भेट्टाएपछि त्यसको फोटो खिचेर मगजको लिस्टसँग तुलना गराउन मेरो अघि हाजिर गराए ।
अन्तस्करणले त्यो रूप चिनेर उद्गार छोड्यो– “आहा श्वेत फूलको गुच्छा ! फूलगुच्छासहितको तरकारी, कमाल भयो यार् कमाल । सेतो त शान्तिको प्रतीक पो हो त ! यो त मेरी अर्धाङ्गनीलाई असाध्यै मन पर्नेछ ।”
म ‘युरेका ! युरेका !!’ मन्त्रोच्चारण सहित कुदै बजारभित्र पसेँ र एउटा पसलेलाई तात्तातै सोधिहालेँ, “साउजी, फूलगोपी छ ?”

ऊ अकमकाउँदै सकपकायो र अट्टहास छोड्यो । उसको हाँसोले नजिकका अनेक व्यापारीका हाँसोहरू जोरजुलुम गर्न समर्थ भयो ।

“बन्दा भन्न खोजेको होला यसले ।”, कसैले परबाट आफ्नो बौद्धिकता प्रदर्शन ग¥यो ।

“बन्दा ? साँच्चिकै कस्तो हुन्छ र बन्दा ? अनि नबन्दा कस्तो हुन्छ ?”

अहिले अभूतपूर्व निकै विस्फोटक हाँसो उत्पन्न भइदियो । यसपटकको त्यो हाँसोले सडकको सयौँ गाडीहरूको चर्को हर्नलाई समेत फिका तुल्याइदियो ।

एकजना निक्कै भद्र देखिने व्यापारीले बडेमानको बन्दागोपी मेरो नजरको सामुन्ने तेस्र्याइदियो ।

मैले प्रतिकार गरेँ, “सुरुमै यति ठूलो उदाहरण दिनुपर्छ त ? समझदार मान्छेले त सानोसानो उदाहरणबाट सुरुवात गरेको भए भैहाल्थ्यो नि !”

अर्को अझै इमानदार हुनुपर्छ त्यसचाहिँ व्यापारीले, “उसोभए यी यो हेरेर बुझ न त !” भन्दै प्याजको डल्लो आफ्नो हातमा नचाउन थाल्यो ।
मलाई प्याज देख्नेबित्तिकै एब्स्ट्राक्ट चिन्तन उग्र रूपमा बढ्न थाल्यो र प्याजको दुर्गन्धसँगै शङ्कर लामिछानेको प्याजजस्तो अनुहार झल्झली नजरमा नाच्न थालिहाल्यो ।

“प्याज देखाएर गोपीको अर्थ बुझिहालिन्छ भन्ने के ग्यारेन्टी छ ?” म अझै आफूलाई ती बासी व्यापारीहरूभन्दा एक कदम ताजा भएको देखाउन चाहेँ ।
“प्याज र गोपी दुवैको अन्तरालमा रहस्य लुकेको हुन्छ । त्यही रहस्य ढाक्न एकपछि अर्को पत्र, अर्कोपछि अर्को र यस्तै अनगिन्ति पत्रहरूले छोप्दै छोप्दै गोलाकार ठूलो डल्लो परेको वनस्पति हाम्रोसामु खडा भएको छ जसलाई हामी तरकारी भन्छौँ र काँचै खान पनि सक्छौँ वा पकाएर खान पनि सक्छौँ ।” अर्को व्यापारीले आफ्नो बासीपन ढाकछोप पार्न खोज्यो ।

“नचाहिने कुरा । असङ्ख्य पत्रहरू हुने भैदिए एकछाक तरकारीको काम मात्र भ्याउँथे यी डल्लाले ?”, यसरी प्रस्फुटित हुन सके पनि भित्रभित्रै भने शङ्कर लामिछानेको जस्तै प्याज र बन्दा दुवैका बाहिरी पत्रहरू खोतल्दैखोतल्दै म भित्रैभित्र पस्न थालिसकेको थिएँ र पुनः प्रस्फुटित भैहालेँ, “के ग्यारेन्टी छ यी तरकारीमा असङ्ख्य पत्रहरू छन् भन्ने ? जुन पत्ररूपी तरकारीले मेरो परिवारको असङ्ख्य दिनको असङ्ख्य भोक मेटाउन सकून् ?”
“यो जमानाको बजारमा कुनै थोकको पनि ग्यारेन्टी मिल्न असम्भव छ । वारेन्टी भने यी रहस्यमय डल्ले तरकारीमा पनि दिन सकिन्छ ।” उसले कुरा बङ्ग्यायो ।

हिजो आजको बजारको विशेषता नै हो कि वारेन्टी वा ग्यारेन्टीको लोभले आम उपभोक्ता ठाडै झुक्किहाल्छ र जाली व्यापारीको अगाडि लोभले झुकिहाल्छ । म पनि अर्को ड्याङको त थिइनँ । लोभिइहालेँ, “अलि धेरै समयसम्म

वारेन्टी हुने कुनै तरकारीको नाम सिफारिस गर्नुस् न त उसोभए ।” म पनि उसैको बाङ्गो तर्कतिर सोझिएँ ।

“बढी वारेन्टी त यस्तै काउली, बन्दा र प्याजमा नै पाउन सक्नुहुन्छ । बाहिरका एउटा पनि पात ड्यामेज नगराई एक वर्षसम्म फिर्ता ल्याएमा पचास प्रतिशतसम्म जर्ती कटाएर त्यही वर्गभित्र पर्ने अर्को तरकारी सित्तँैमा साट्न पाइने व्यवस्था छ ।”

साट्न पाइने भनेपछि म फुरुङ्गै भैहालेँ । एक प्रकारले तरकारीको निर्विकल्प छनोटको मानसिक सन्तापबाट तुरुन्तै मुक्ति पाएँ । अब यो भएन, ऊ भएन भनेर जति करकर गरे पनि पत्नीको मन राम्रैसँग बुझाउन सकिने कुरामा म ढुक्क भएँ ।

मैले प्याज र बन्दाका ओइलाएर चाम्रिइसकेका पातहरू छाम्दै सोधेँ, “उसोभए यिनीहरूको वारेन्टी कतिसम्म दिन सक्नुहुन्छ, साउजी ?”
“अहिलेसम्म त कम्पनीले बन्दा र काउली दुवैमा एक वर्षसम्मको वारेन्टी दिनसक्छ । तर निकट भविष्यमा हरेक तरकारीमा दस वर्षसम्मको वारेन्टी दिनसक्ने गरी नयाँ नयाँ रसायनहरूको अनुसन्धान पनि हुँदैछ भन्ने कुराको जानकारी पाएर खुसी हुनुस् ।” 

उसले भिडाइदिएको खुसी र सन्तोषको मारवश कुन तरकारी त्यो साउले मेरो हातमा थमाइदियो र मैले उसको मागबमोजिमको कति मूल्य भुक्तान गरी बाटो लागेँ हेक्कै रहेन ।

कता पो फर्कँदै थिएँ, म त गोपीको पत्रहरू छिचोल्दै झन् भित्र झन् गुह्य मार्गतिर पस्न पो थालेछु । गोपीका भित्री पातहरू एकपछि अर्को यसरी टाँसिएर रहेका थिए कि बाहिरको उज्यालोको एक कण पनि भित्र छिर्न नसकोस् । अतः मेरो गन्तव्य मार्गमा अँध्यारो झन् झन् गाढा हुँदै जानथाल्यो । जति अँध्यारो बढ्दै जानथाल्यो, उति मनमा डरको आकार पनि बढ्दै गयो । डरको आयतनलाई घटाउने उद्देश्यले सोधिहालेछुः “ए, भित्र को छ हँ ? कोही छ ?”
“म छु म ।” अझै भित्रबाट कसैले जवाफ फर्कायो । भित्र कोही छ भन्ने भरोसा भैदिएपछि डरभाग्नुको सट्टा म त खङ्ग्रङ्गै तर्सिएँ । मेरो सोध्नुको प्रयोजन कोही होवस् भन्ने छँदै थिएन । कोही नभएको सुनिश्चितता गरेर वश् अव्यक्त भयबाट मुक्ति चाहन्थेँ । तर भैदियो उल्टो । मन थाम्दै अर्को प्रश्न सोध्नुको विकल्प मसँग बाँकी रहेन, “यति अँध्यारोमा के गर्दै हो त त्याँ ? प्रयोजन के हो ?”

“तिम्रो जुन प्रयोजन हो, मेरो पनि त्यही प्रयोजन हो ।”

“म त यी पत्रहरू छिचोल्दै छिचोल्दै गोपीको भित्रैसम्म पस्न चाहन्थेँ तर बाटो भुलाउँदा यतै अड्किएको छु ।”
“म पनि त भित्रै पुग्न खोजेको अलमलिएर यतै छु नि त !”

“आखिर तिमी हौ को ?”

“म ? म ? साँच्चिकै भन्नुपर्दा म शङ्कर लामिछानेको मन हुँ ।” 
“नचाहिने कुरो । शङ्करले आफ्नो पार्थिव शरीर छोडेकै पाँचदशक बितिसक्यो । फेरि उनको मन त गोपीको पत्रभित्र छिर्न खोजेकै होइन, प्याजको भित्रपट्टि छिर्न खोजेको मात्र हो । शङ्करकै सक्कली मन भनेर कसरी पत्याऊँ म ?”
“के ती शङ्करले यस संसारमा अरूले ‘शङ्कर लामिछाने’ नाम पाउन सक्ने सम्भावनाको अन्त्य गराएर गएका थिए र ? अरू पनि त शङ्कर लामिछाने हुँदा हुन् केरे ! म मात्र होइन, यो गोपीभित्रको यात्रामा हजारौँ, लाखौँ शङ्कर लामिछानेहरू लामबद्ध छन् र उनीहरू यस महासमरको यात्रामा मभन्दा धेरै अगाडि पुगिसकेका छन् ।”

उसको यस तर्कले मेरो मनमा लज्जाबोध भयो । यो प्रश्न सोध्नुको सट्टा अरू कुनै प्रश्न सोधेको भए हुने जस्तो थक्क थक्क लाग्न थाल्यो । 
“एक्क्क एक्क्क,  आर्टिफिसियल शङ्कर लामिछानेहरू ? के तीमध्ये कसैले भेटाए त तिनीहरूको गन्तव्यस्थान ? माने, त्यो अन्तिम गन्तव्यभन्दा कति नजिक छौ त तिमी ?
“म त्यस रहस्यको एकदमै नजिक पुगिसकेँ । अरूहरू मभन्दा झन् निकट छन् रे ।”

एकदमै नजिक भनेको कति नजिक ? एकमिटर ? एकहात ? एक इन्च ? एक मिलिमिटर ?”
“त्यस्तो मापनीय केही होइन । जस्तो कि आकाशजत्तिकै । आकाश हामीहरूको हातको एकदमै नजिक रहेको हुन्छ । हाम्रो शिर झन् नजिक हुन्छ । नाकको झन् नजिक हुन्छ र सबभन्दा नजिक त आँखाकै हुन्छ । आँखा हुन्थेन भने आकाश नै हुन्थेन !”

“आँखा त कमिलाको पनि त हुन्छ । कमिलाका आँखा त मान्छेका आँखाभन्दा निकै तल हुन्छन्, यस हिसाबले त कमिलाको आँखाबाट आकाश धेरै टाढा हुनुपर्ने होइन र ?”

“त्यो तपाईंको कोणबाट हेर्दा भयो । कमिला स्वयंको आँखाबाट उसको आकाश मान्छेको आकाशभन्दा एकदमै नजिक देखिन्छहोला नि त ।”

“छोडौँ ती फासफुसे जीवका झासझुसे अजीव कुरा । त्यताबाट आकाशको रङ कस्तो देखिइरहेको छ त ?”

“कालो, कालो र झन् झन् निख्खर कालो । अहिलेसम्म उद्घाटित भएको रहस्य यति मात्र हो कि बन्दाको भित्री आकाश कालो हुँदो रहेछ । ब्ल्याकहोल जस्तै झन् झन् कालो, र सुरुङ जस्तै झन् झन् सानो हुँदै गइरहेछ ।”

“भैगो उसोभए । ब्ल्याकहोलबाट अलिकति बाहिर निस्कौँ अब । अँ साँच्चिकै, अहिले किन ओरिजिनल शङ्कर लामिछानेहरू पटक्कै जन्मन छाडे हँ ? तिमीलाई केही जानकारी छ ?”
“प्याजको भाउ निकै बढेकाले त होला !”

“त्यसो त सस्तो के नै छ र यो जमानामा ?”

“गोपी छ नि गोपी । त्यही भएर नै अर्वाचिन शङ्कर लामिछानेहरू सजिलो बाटो हिँड्न चाहन्छन् । मेरो भनाइको मतलब गोपीभित्रको सजिलो बाटो भएर प्याजको अक्करसम्म पुग्न खोज्दछन् ।”“अक्करमा पुगेर पनि केही नभेटिएमा के गर्लान् ती ठक्कर खानपुगेका लामिछानेहरूले ?”

“अर्को अब्स्ट्राक्ट चिन्तन लेख्लान् नि गोपीभित्रको । जस्तो कि प्याजभित्रको यात्रा दुर्गन्धै दुर्गन्धले जेलिएको हुन्छ भने गोपीभित्रको यात्रा एक प्रकारको बेग्लै चिप्लो सुगन्धले लेपिएको हुँदोरहेछ भन्ने निष्कर्ष वा यस्तैयस्तै अर्को कुनै निष्कर्षसहित ।” 

“शङ्कर लामिछाने यो जमानामा जन्म लिन पुगेको भए ‘अब्स्ट्राक्ट चिन्तन ः प्याज’ लेख्न छोडी ‘अब्स्ट्राक्ट चिन्तन ः फूलगोपी’ लेख्न पुग्थे होला त ?” 
“सायद लामिछानेको पालामा बन्दा र काउलीको आविष्कार नै भइसकेको थिएन कि ? नत्र भने फूलगोपीभित्रका सय लाखको हाराहारीमा हुने उपफूलहरूभित्र नछिरी जाबो दुई तीन दर्जनको हाराहारीमा हुने प्याजका पत्रमा किन अलमलिइराख्थे होलान् र उनी ?” 

“उसो भए गोपालप्रसाद रिमालले ‘त्यो अवश्य आउँछ आमा !’ भनेको यस्तै गोपीको एउटा प्रजातिलाई भनिएको पो थियो कि ?”
“जे पनि हुनसक्थ्यो । रिमालको त शब्दशक्ति नै चमत्कारिक । उनले ‘त्यो आउँछ !’ भन्ने गीत गाउँदै पूर्वतिर औँला के ठड्याइदिएका थिए अब्स्ट्राक्ट प्याज त के शङ्कर लामिछानेलाई समेत बिर्सेर सबका सबले पूर्वतिर नै हेर्न थाले । हेर्ने मात्र होइन फूलमाला र अबिर लिएर स्वागतार्थ पूर्वतिरको बाटोमा लामवद्ध भएर त्यसको प्रतिक्षा गर्न थालिहाले, जुन लाममा त्यो आइदिए हुन्थ्यो भन्नेहरूभन्दा बेसी त त्यो नआइदिए हुन्थ्यो भन्नेहरू नै सामेल भैदिएका थिए । फसाद के भैदियो भने जो आउनुपर्थ्यो त्यो आउँदै आइदिएन । रिमालले ‘त्यो आउँछ’ नै भनेर तोकेको समय त यसै गुज्रिएर गयो, त्यसपछिका दिन, हप्ता, महिना, वर्ष, गर्दै जुग नै बितेर गए तर त्यो आउने कुनै लक्षण देखाएन ।”
“‘त्यो आउँछ’ थोरै गीत थियो र ? खस्रो खालको गद्य कविता भएकोले पो त्यो नआएको हो कि ? अनि के भयो त ?”

“अनि राज्य नै यसरी समर्पित भइदियो कि गोपालप्रसाद रिमालहरू अत्यधिक मात्रामा उत्पादन गर्ने महासमरमा, ती रिमालहरूबाट नै ‘त्यो आउने’ सम्भावना द्रुत गतिमा बढाउँदै लैजाने । राज्यको सम्पूर्ण शक्ति लगाएर गोपालप्रसादहरू यसरी जन्माउने कि शङ्कर लामिछानेहरू जन्मने सम्भावना तत्कालका लागि स्थगित भइहालोस् ।”

“ओरिजिनल शङ्कर लामिछाने जन्मन छोड्नुको रहस्य त यस्तो पो रहेछ ! गोपालप्रसादहरू धेरै जन्मन थालेपछि शङ्करहरू यत्तिकै जन्मन छोड्दारहेछन् । तर अझै घैँटोमा घाम घुस्न सकेन । के गोपालप्रसाद जन्माउने कुनै कारखाना नै स्थापना गरेको छ र राज्यले ?”

“किन छैन ? त्यस्ता कारखानाहरू समानता र समावेशिताको मर्मभित्र छिरी हरेक नारी, पुरुषको पेटमा जडान गरिएको छ नि । यसरी कि यो देशको एउटा भिखारीदेखि राष्ट्रपतिसम्मले अनगिन्ती रिमाल जन्माइदिन सक्षम होऊन् । राष्ट्रपतिले नै इन्डक्टिभ मेथडअनुसार रिमाल जन्माइदिए प्रधानमन्त्रीले जन्माउन नसक्ने कुरै भएन । प्रधानमन्त्रीले जन्माउन सक्ने कुरो पुष्पकमलले सजिलै जन्माइदिन सक्छन् । यी त्रिमूर्तिले जन्माउन सक्ने कुरा शेरबहादुरले नजन्माउने कुरै भएन । सबैले जन्माउनसक्ने कुरो कमल थापाले नसक्ने कुरै आएन ।”

“अनि दलभित्रका गुटहरू के टुलुटुलु हेरे बस्छन् त ?”
“कहाँको बस्नू ? एकसे एक दलका एकसे एक गुटहरू, तिनीहरूका एकसे एक उपगुटहरू, तिनीहरूका एकसे एक हनुमानहरू, तिनीहरूका आआफ्ना कित्ताका एकसयएक जनताहरू र कित्ताकाटबाट उतापट्टि परेर जनता हुन वञ्चित एकसे एक अजनताहरू । यी जम्मै गरी कति भयो ? अनि ती सप्पैले जन्माउन सक्ने सम्भावित गोपालप्रसाद रिमाल कति भए ? डिडक्टिभ मेथडबाट हिसाब फाँट्नुस् त ?”
“१०१*१०१*१०१*१०१*१०१*१०१ * १०,६१,५२,०१,५०,६०१ !”

“स्यावास् । अर्थात् उक्त अङ्कलाई अक्षेरमा कन्भर्ट गर्ने हो भने दस खर्ब एकसठ्ठी अर्बभन्दा बढी । यस हिसाबले यो संसार नै नेपाली मार्काका गोपालप्रसाद रिमालहरूले ढाकिने प्रबल सम्भावना देखियो । निकट भविष्यमा पृथ्वीको मात्र होइन यो ब्रह्माण्डकै नाम नेपालको सट्टा रिमाल नरहला भन्न सकिँदैन ।”
“अनि त्यसपछि ‘त्यो’ आउँछ त ?”

“को त्यो ?”

“‘त्यो’ के ‘त्यो !’”

“को त्यो भनेको ? सर्वनामको सट्टा नामले नै प्याच्च तोक्नुस् न । अलि प्रष्ट भन्नुहोस् भनेको !”

“गोपालप्रसाद रिमालले सोधेको ‘आमा के त्यो आउँछ ?’ भित्रको ‘त्यो’ के !”

“ए, त्यो ? बुझेँ, बुझेँ । कुरा प्रष्टै छ नि, त्यसभित्रको त्यो त कसरी आउन सम्भव छ र ?”

“अहिले भर्खरै सप्पै कुरा सम्भव छ भन्दाभन्दै उत्तिखेरै कसरी असम्भव भयो त ? अनि गोपाल प्रसाद रिमालले ब्रह्माण्ड नै ढाक्नुको औचित्य के भयो त ?”

“गोपालप्रसाद नै नजन्मिएपछि त्यसभित्रको अमूर्त ‘त्यो’ को जन्म नै असम्भव छ नि बुद्धू ?”

“अनि अहिले भर्खरै तिमीले नै केही क्षणमै दस खरब गोपालप्रसाद रिमालहरू जन्मँदैछन् भनेको होइन त ?”
“मैले जन्मिन सक्छन् पो भनेको त ! जन्मिइसके थोरै भनेको छु र ? साराका सारा नेपालीले रिमाल नै जन्माउने गरी पेट बोकेका मात्र हुन् भनेको । तिनीहरूले अझै त्यसलाई जन्माइसकेका छैनन् नि त !”

“उसोभए गोपालप्रसाद रिमाल नजन्मन पनि सक्छन् ?”

“जन्मने झिनो सम्भावना होइन कि समय र परिस्थिति यही रहिरहे उनी जन्मन असम्भवप्रायः छ !”

“कसरी असम्भव छ त ?”

“कसरी भने एउटा पनि गोपाल प्रसाद जन्मियो भने सँगसँगै ‘त्यो’ पनि नजन्मी छोड्नेछैन । दस खर्ब गोपालका एक एकवटा ‘त्यो’ जन्मिन थाले भने यहाँ उत्पात हुनेवाला छ ! उत्पात भन्नाले प्रलय वा सो सरह भनी बुझे भयो । जस्तो कि त्यो जन्मियो भने यहाँ राष्ट्रपति रहनेछैनन् । राष्ट्रपति नरहे प्रधानमन्त्री रहँदैनन् । प्रधानमन्त्री नरहे पुष्पकमल रहँदैनन् । पुष्पकमल नरहे शेरबहादुर रहँदैनन् । शेरबहादुर नरहे कुनै पनि दलहरू बाँकी रहँदैनन् । दलहरू नरहे निर्दल पनि रहँदैनन् । दल र निर्दल दुवै नरहे गुटहरू रहँदैनन् । गुटहरू नरहे उपगुटहरू रहँदैनन् । उपगुटहरू नरहे हनुमानहरू रहँदैनन् । हनुमानहरू नरहे जनताहरू नै रहँदैनन् । जनताहरू नै नरहे अजनता पनि बाँकी रहन असम्भव छ । अब आफै कल्पना गर्नुहोस् त यो संसारमा मान्छेको जात नै रहेन भने गोपालप्रसाद जस्तो मान्छेको जात जन्मन कसरी सम्भव छ त ? 

अतः तिनीहरूले त जन्माउनसक्छौँ भनेर आफ्नो सामथ्र्यको घोषणा मात्र गरेका हुन् । यहाँ कोही पनि नरहने डरले उनीहरू कसैले पनि आआफ्नो गर्भबाट गोपालप्रसादलाई यो मुलुकमा पदार्पण गर्न कदापि दिनेवाला छैनन् ।” 
“अनि यतिबेरसम्म असम्भव कुराको मात्र गनथन गरेर बिनसित्ति केका लागि भुलाउन खोजेको त ?”

“गोपीभित्रको कालो रहस्यतिरको यात्रामा थ्योरी अफ प्रोब्याबिलिटीको प्रयोग गर्न पाइयो नि त । गर्भवत्ताहरूको पेटमा गोपालप्रसादको रिमालको भ्रुण त कहाँ समाप्त भएको छ र ? न तुहेको छ, न त बिलाएको छ । यसर्थ ‘गोपालप्रसाद’ र ‘त्यो’ दुवै जन्मन पो असम्भव छ भनेको त ! ‘यो’ जन्मने सम्भावना त अझै ज्यूँको त्यूँ बाँकी नै छ नि त !”
“‘यो’ भनेको के नि फेरि ?”

“नयाँ संस्करणको वर्णशङ्कर लामिछाने अर्थात् अब्स्ट्राक्ट चिन्तन ः गोपी !”

“कुन गोपी ?”

“फूलगोपी वा बन्दागोपी जुन बुझे पनि हुन्छ ।”

“फूलगोपी र बन्दागोपी दुवै कसरी एउटै हुनसक्छ ? फूलगोपी फूलैफूलको डल्लो हो, जबकि बन्दागोपी भनेको पातैपातको डल्लो हो ।”
“फूल केले बनेको हुन्छ ?”

“पत्रहरूले ।”

“पत्र भनेको के ?”

“पात ।”

“अनि त ? फूलगोपीभित्र हुने असङ्ख्य फूलहरूलाई माइक्रोस्कोपिक नजरले हेर्ने हो भने ती फूलका रेसाहरू फूल नभएर पात भएको देखिनेछन् । यस अर्थमा फूलगोपीलाई पनि पातको डल्लो र बन्दागोपीलाई पनि फूलकै डल्लो मानिदिए हुन्छ ।”

“मानिदिएर मात्र हुन्छ त ? मानकहरू चाहिएन ? आधार प्रमाण चाहिएन ? देख्नेले विश्वास गर्नुपरेन ?”
“वर्णशङ्कर लामिछाने नै जन्मिएपछि मानक केका लागि चाहियो ? शङ्करजस्तो अब्स्ट्राक्ट चिन्तन गर्न सक्ने वर्णशङ्कर जन्मिएपछि नेपालमा कुनै पनि सङ्गठन, संरचना, नियम, कानुन वा विधानको दरकार पर्ने छैन । यो गुह्य कुरा हरेक नेपालीहरूले हृदयङ्गम गर्नु अति जरुरी छ । गर्भवेत्ताहरूले गोपालप्रसादलाई कुन कुनामा लगेर सुटुक्क तुहाऊँ भनी हुल्लबुज्ज भइरहेको बखत सहज निकासको खाँचो छ । सहज निकासका लागि हरेकको पेटभित्रको गोपालको भ्रुणको जिन परिवर्तन गरेर शङ्कर बनाउनु आजको टड्कारो आवश्यकता हो । 

यो अत्याधुनिक वैज्ञानिक जमानामा जिन परिवर्तनबाट रिमाललाई लामिछानेमा सजिलै रूपान्तरण गर्न नसकिने कुरै भएन । गोपालप्रसाद जन्मन सक्ने परिमाणमा खर्बौं शङ्करहरू जन्माउन सकियो भने यहाँ चमत्कार नै भइजानेवाला छ । कस्तो चमत्कार भने सामाजिक साम्यवाद, आर्थिक साम्यवाद, धार्मिक साम्यवाद, वैज्ञानिक साम्यवाद, सांस्कृतिक साम्यवाद सबै एकैचोटि चुट्की बजाएसरी प्राप्त हुनेछन् । परिणामस्वरूप हाम्रो नेपाल प्याजले होइन अब गोपी नै गोपीले भरिनेवाला छ ।” 

गोपीभित्रको कालो आकाशमा अविरल यात्रा गरिरहेको शङ्करको मनले मलाई हुनुसम्मको बेहदको ज्ञान प्रदान गर्दै थियो । यति उत्कृष्ट ज्ञान प्राप्तीको खातिर बुद्धत्व नै प्राप्त भएसरि फुरुङ्ग पर्दै थिएँ कि, गोपीभित्र छिरेँ भनेको त आफ्नै घरको मूल ढोकाबाट भित्र छिरेको पत्तो पाइनछु । 

“फेरि आज पनि गोपी नै ल्या’को ?” भन्दै पत्नीले प्रहार गरेको डाडुले सातोपुत्लो खाइदिएपछि पो झसङ्ग झस्किएँ । मलाई यथास्थितिमा आइपुग्न कुनै विलम्ब भएन ।

आफूले बोकेर ल्याएको चिजलाई निज्याएर हेरेँ, म गलत थिइनँ, सर्वथा साँचो नै थिएँ । किनभने मेरो गन्थनको सार बन्दागोभी तुर्लुङ्ग मेरै हातमा झुण्डिरहेको थियो ! 

साथसाथै मेरो बल्ल होश फर्किएको थियो कि प्रिय पत्नीले यही चिज नल्याउनका लागि उनको प्रथम वाक्यको प्रथम शब्दोद्गारबाट नै मलाई निषेध गरिदिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पूर्ण ओली
पूर्ण ओली
लेखकबाट थप