शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पुस्तक समीक्षा

पुस्तकालयको इतिहास बोल्ने ‘एकजोडी गौथली’को संस्मरणात्मक कृति

मङ्गलबार, २१ पुस २०७७, १५ : ००
मङ्गलबार, २१ पुस २०७७

:

काठमाडौं । पुस्तकालयले हजारौं इतिहासको ज्ञान बाँड्छ । योबीचमा पुस्तकालय आफैंले एउटा गौरवशाली इतिहासको निर्माण गरेको हुन्छ । तर, यो इतिहास बाँड्न भने पुस्तकालय अक्सर चुकिरहेको हुन्छ । किनकि विश्व इतिहासको खोज गर्नेहरु र त्यही इतिहासलाई पढ्न पुस्तकालयसम्म धाउनेहरु त्यही पुस्तकालयलाई बिर्सिरहेका हुन्छन् बत्तिमुनिको अँध्यारो जस्तै ।

तर, संसारलाई ‘तमसोमा ज्योतिर्गमय’ को पथमा अघि बढाउने पुस्तकालय आफ्नै इतिहासको अन्धकारमा रुमल्लिनु पक्कै पनि राम्रो होइन । यही कुरालाई मनन गर्दै शान्ति मिश्र र नारायणप्रसाद मिश्रले पुस्तक ल्याएका छन् । “त्रि.वि. केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा” नामक यो पुस्तकमा नेपालकै सबैभन्दा ठूलो पुस्तकालयको रुपमा रहेको त्रि.वि. केन्द्रीय पुस्तकालयको इतिहास र लेखकद्वयको संस्मरणलाई एकसाथ संयोजन गरिएको छ ।

शान्ति मिश्र त्रि.वि. केन्द्रीय पुस्तकालयकी सेवा निवृत्त लाइब्रेरियन हुन् । उनले अमेरिकी विश्वविद्यालयबाट लाइब्रेरी साइन्समा डिग्री हासिल गरेकी छिन् । त्यस्तै, नारायणप्रसाद मिश्र सोही लाइब्रेरीका सेवा निवृत्त प्रशासक हुन् । उनले पनि दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमै एम.ए. गरेका हुन् । यी दुई जोडीले पुस्तकालय विकासमा करिब ४१ वर्ष सेवा गरे । २००७ सालमा प्रजातन्त्र स्थापनापछि पुस्तकालयमा भएको विकासको सुरुवात, पञ्चायतकालमा भएको विकासक्रम र २०४७ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि त्रिविसँगै पुस्तकालयमा भित्रिएको राजनीतिसम्मको इतिहासका साक्षी हुन् लेखकद्वय । सेवाकालका यिनै आयामहरुलाई स–प्रमाण संश्लेषण गर्ने काम पनि यो पुस्तकले गरेको छ ।

नेपालकै ठूलो त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय आजको दिनसम्म सानो प्रयासबाट आएको छैन । वि.सं. २०१३ सालमा लालदरबारमा स्थापना भएको सेन्ट्रल लाइब्रेरी र त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि त्रिपुरेश्वरमा एउटा सानो टहरोमा सुरु भएको त्रिभुवन विश्वविद्यालयको पुस्तकालय एक आपसमा गाभिएर कसरी त्रि.वि. केन्द्रीय पुस्तकालय बनेका थिए  ? मर्जरको यो सिलसिलाको विस्तृत विवरण पुस्तकमा पाइन्छ ।

संस्मरणात्मक शैलीको यो पुस्तकमा नेपालमा पुस्तकालयको विकासक्रमको सामान्य जानकारीको लागि एउटा उपयोगी पुस्तक हो । यो पुस्तकमा पुस्तकालयको चर्चा मात्रै छैन, पुस्तकालयको विकास गर्न चाहने र नचाहनेबीचको अन्तसंघर्षका कथा पनि समेटिएका छन् । अन्तसंघर्षका बीच प्रगतिका रोचक कहानी पनि यसैभित्र समेटिएको छ ।

२०२६ सालताका नै बिबिसीले नेपालको पुस्तकालयलाई दक्षिण एशियाकै एक बेजोड पुस्तकालय भनेको थियो । १० वर्षको छोटो इतिहासमै यो सफलता कसरी प्राप्त भयो भन्ने विषय पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकालय संघको गठन गरेर देशभरका पुस्तकालयको क्षमता बढाउँदै लैजान गरेको प्रयास भएका विषयहरुबारेमा पनि पुस्तकले प्रकाश पारेकै छ ।

२०४६ पछि भने लाइब्रेरीको इतिहासमा निकै जालझेल र षडयन्त्र भएको लेखकद्वयले उल्लेख गरेका छन् । नयाँ व्यवस्थासँगै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको, नयाँ नियुक्तिका लागि पुराना कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाएर व्ययभार थप गरिएको र नचाहँदा नचाहँदै पनि आफूहरुले बाध्य भएर स्वेच्छिक अवकाश रोज्नुपरेको तथ्य समेत उल्लेख गरिएको छ ।

यो कृति लेखकहरुको पहिलो कृति भने होइन । यसअघि २०३८ सालमा ‘पुस्तकालय विज्ञानको रुपरेखा’ नामक पुस्तक प्रकाशन गरेका थिए । यसमा पुस्तकालयका सैद्धान्तिक पक्षहरुको चर्चा गरिएको थियो । यो पुस्तकालय विज्ञानको बारेमा जान्न चाहनेलाई निकै उपयोगी सावित भएको थियो ।

यो पुस्तकको अर्को विशेषता पनि छ । यसले पुस्तकालयसम्बन्धी इतिहासलाई संग्रहित गरेको छ । लेखोटहरु च्यातिन्छन्, हराउँछन् । यिनलाई संरक्षण गर्न पनि गाह्रो हुन्छ । यो पुस्तकमा पुस्तकालयको सम्बन्धमा भएका बिकासक्रमको सबैजसो गतिविधिहरुको प्रमाण समेत जस्ताको त्यस्तै राखिएको छ । जुन अध्ययनकर्ता वा शोधकर्ताको लागि ज्यादै उपयोगी हुन्छ । 

यो पुस्तक आफैंमा पुस्तकालय क्षेत्रको सम्पूर्ण ज्ञान चाहिँ होइन । व्यक्तिगत संस्मरणात्मक शैलीका कारण कतिपय लेखाइ व्यक्तिगत भावनामा केन्द्रित रहेको पनि देखिएको छ । लेखकद्वयले जसलाई जुन आँखाबाट हेरेका छन्, त्यही आँखाबाट सबैले नहेर्न पनि सक्छन् । यस्तो अवस्थामा पुस्तकमा निकालिएका निष्कर्षहरु यही नै हुनुपर्छ भन्ने चाहिँ छैन ।

तर, दिनमा लाग्ने पारिलो घामलाई कसैले न्यायो भन्ला, कसैले चर्को घाम भन्ला, ती अनुभव र विश्लेषणको विषय हो । तर, त्यही घामले दिने प्रकाशमा कसैको विमत्ति रहँदैन । यो पुस्तक लाइब्रेरी क्षेत्रको विकासक्रमको अध्ययनका लागि सूर्यको त्यही प्रकाशसरह हो, जसले उज्यालो बनाउँछ ।

लाइब्रेरीमा ४ दशक बिताएका यी जोडीको अर्को इतिहास पनि छ । कट्टर ब्राह्मण समुदायका नारायण र नेवार समुदायमा जन्मेकी शान्तिले त्यो बेलामा अन्तरजातीय विवाह गरेका थिए । विद्यमान समाजका लागि यो एउटा नौलो विषय पनि थियो । एउटा पत्रिकाले यी दुई जनालाई ‘लाइब्रेरीका एकजोडी गाैथली’को रुपमा चर्चा गरेको थियो । यही गौथलीको जोडीले ल्याएको इतिहास बोल्ने संस्मरणात्मक पुस्तक एउटा फरक शैलीको कृति पनि हो ।

पुस्तकको बारेमा

नाम : त्रि.वि. केन्द्रीय पुस्तकालय .को गौरवशाली कहानी र हाम्रो सेवा
विधा : संस्मरण
प्रकाशन : लेखक स्वयं
प्रकाशन मिति : वि. सं. २०७५
पृष्ठ संख्या : ४९५

मूल्य : ५००।–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप