बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महामारी, चिसो र वायु प्रदूषणको ‘ट्रिपल अट्याक’ मा उपत्यकावासी

वायु प्रदूषणबाट जोगिन यसो गर्नुस्
बुधबार, २२ पुस २०७७, १५ : ३४
बुधबार, २२ पुस २०७७

काठमाडौं । उपत्यकावासी कोरोना महामारी, जाडो मौसम, वायु प्रदूषणको ‘ट्रिपल अट्याक’मा परेमा छन् । यसरी ‘ट्रिपल अट्याक’ मा पर्दा स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरु बताउँछन् । उपत्यकामा मंगलबार वायु प्रदूषणको मात्रा अत्यधिक बढ्यो । ३ दिन यता उपत्यकाको आकाशमा उडिरहेको प्रदूषित हावाले स्वास्थ्यमा निकै असर पु¥याउने त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जका छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास बताउँछन् ।

उपत्यकासँगै तराईका शहरी क्षेत्रमा उडिरहेको हावा पनि जनस्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । विशेष गरेर वायुमण्डलमा उडिरहेको प्रदूषित हावाले फोक्सोमा सिधै असर गर्छ । जाडो मौसममा श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामी बढ्ने गर्छन् । यही मौसममा अत्यधिक रुपमा वायु प्रदूषण बढ्दा फोक्सो सम्बन्धी समस्या भएका बिरामीलाई झन् असहज हुने डा. दास बताउँछन् । 
एकातिर फोक्सोमै समस्या भएका मानिसलाई कोरोनाभाइरस (कोभिड—१९) को त्रास, त्यसमाथि वायु प्रदूषणको नकारात्मक प्रभावले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुन सक्ने भएकाले सावधानी अपनाउन अत्यावश्यक भएको उनी बताउँछन् । 

‘चिसोका कारण फोक्सोका बिरामीको चाप बढ्दो छ,’ उनले भने, ‘प्रदुषित वायुले स्वस्थ मानिसलाई पनि अस्वस्थ बनाउने सम्भावना बढ्छ, त्यसैले सतर्कता आपनाऔं ।’
वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी समस्या भएका, सीओपीडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, दम, ब्रमटाइटिस, निमोनिया, कोभिड भएकालाई जाडामो झन् गाह्रो हुने उल्लेख गर्दै उनले त्यसमाथि पनि वायु नै प्रदूषण हुँदा उनीहरुको स्वास्थ्यमा अझ खतरा पर्न सक्ने बताए ।

प्रदूषित वायुले फोक्सोका बिरामीको फोक्सो सुनिने, फोक्सोको काम गर्ने क्षमतामा कमी आउन सक्ने उनको भनाइ छ । यी समस्या भएका व्यक्तिलाई वायु प्रदूषणले श्वास फुल्ने, छातीमा केहीले समातेजस्तो हुने उनले बताए । प्रदूषित वायुले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने भएकाले फोक्सोकै समस्या भएका व्यक्तिलाई अन्य रोगका भाइरसहरुले छिट्टै आक्रमण गर्न सक्ने डा.दास बताउँछन् ।

कोभिड—१९ ले संक्रमण गर्दा फोक्सोमा आक्रमण गर्छ । कोरोना निमोनिया भएका बिरामीलाई वायु प्रदूषणले झन् समस्या पर्ने उनले बताए । फोक्सोमा समस्या नभएका व्यक्तिलाई पनि वायू प्रदुषणले तत्कालीन समस्या देखिन सक्ने उनको भनाइ छ । श्वासप्रश्वासमा बाधा भएको महसुस हुने, छाती भारी हुने आदि हुन सक्ने उनले बताए । उनका अनुसार वायु प्रदूषणले नाक आँखा, छालामा तत्काल समस्या देखाउन सक्छ । 
दीर्घरोगी तथा मुटुको समस्या भएका बिरामीलाई पनि विभिन्न समस्या उत्पन्न हुन सक्ने उनी बताउँछन् । वायु प्रदूषणले फोक्सोको क्यान्सर हुने जोखिम पनि बढाउने उनले बताए ।

१० माइक्रोनभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को भनाइ छ । कण २.५ माइक्रोन भन्दा पनि कम व्यासको हुन्छ, त्यसैले यो कणले भावी दिनमा स्वास्थ्यमा असर पु¥याउन सक्ने डा. दास बताउँछन् । 


मानिसको कपालको चौडाइ बराबर ६१ वटा कण हुने उनले बताए । यति सानो कण फोक्सोभित्र बाट रक्त प्रणालीमा प्रवेश गर्नसक्ने भएकाले वायु प्रदूषणले फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्यामात्रै नभएर कालान्तरमा अन्य रोग बढाउनका लागि सहयोगी हुने फोक्सो रोग विशेषज्ञ डा.दास बताउँछन् । 

वायु प्रदूषणले प्रत्यक्ष रुपमा श्वासप्रश्वास प्रक्रियालाई असर पु¥याए झै आँखामा पनि नकारात्मक असर पार्ने उनले बताए । आँखामा एलर्जी हुनेहरुलाई विशेष ख्याल गर्न उनको आग्रह छ । वायु प्रदूषणले दीर्घरोगी, आँखा सुख्खा हुने, पोल्ने, रातो हुने आदि समस्या देखिन सक्ने उनले बताए ।

अत्यधिक वायु प्रदूषण भएका स्थानमा कोभिड भएका बिरामीमा प्रतिसय १७ देखि २१ को मृत्यु हुने अध्ययनहरुले देखाएको डा.दास बताउँछन् । तर, वायु प्रदूषणकै कारण ३ प्रतिशत कोभिड संक्रमितको मृत्यु भएको अध्ययनहरुले देखाएको छ । जाडो मौसम अवधिभर बिहानको समयमा सकेसम्म घर बाहिर शारीरिक अभ्यासको लागि ननिस्कन उनले सुझाव दिए । स्वास्थ्यमा समस्या भएका मानिसहरु यस्तो बेला अनावश्यक रुपमा बाहिर निस्कनै नहुने उनी बताउँछन् ।  

वायु प्रदूषणबाट यसरी जोगिन सकिन्छ
उपत्यकामा चारैतिर फैलिएको प्रदूषित हावाबाट जोगिन गाह्रो भए पनि शारिरीक, मानसिक रुपमा स्वस्थ्य हुनका लागि होसियारी अपनाउनुको विकल्प नभएको फोक्सो रोग विशेषज्ञ डा. दास बताउँछन् । 
उनका अनुसार निम्य उपाय अपनाएर वायु प्रदूषणबाट जोगिन सकिन्छ ।

—घरबाहिर निस्किँदा कोभिड र दूषित वायुबाट बच्न गुणस्तरीय मास्क लगाएर हिँड्ने ।

—मर्निङ वाक, इभिनिङ वाकमा घर बाहिर नस्किदै ननिस्कने ।

—अनावश्यक रुपमा घरबाहिर ननिस्कने ।

—वायू प्रदूषण भएका बेला कठिन खालका शारीरिक अभ्यास सकेसम्म नगर्ने ।

—घरबाहिर निस्किँदा वायु प्रदूषणबाट आँखालाई जोगाउनका लागि चश्मा लगाउने ।

—श्वासप्रश्वास प्रक्रियामा धेरै गाह्रो हुने, खोकी लाग्ने, छातीमा समस्या भएमा तत्कालै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।  

—फोक्सोमा समस्या, श्वासप्रश्वास प्रक्रियामा समस्या भएकाहरुले औषधि साथमा राख्ने, प्रशस्त पानी पिउने ।

– बिहान र बेलुका घरका झ्यालढोका सकेसम्म नखोल्ने ।

—बढी भीड र अत्यधिक सवारी भएको स्थानमा नजाने ।

—दिनमा दुई÷तीन पटकसम्म सफा पानीले आँखा पखाल्ने ।

– आँखा धेरै सुख्खा हुने, बिझाएजस्तो भएका तत्काल आँखा अस्पताल जाने ।

स्वास्थ्य, वन तथा वातावरण मन्त्रालयको आग्रह   
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेकाले केही दिनका लागि सकेसम्म घरबाहिर ननिस्कन, मर्निङ वाकमा ननिस्कन सर्वसाधारणलाई आह्वान गरेको छ । यो समयमा घरभित्रै शारीरिक अभ्यास गर्न भन्दै मन्त्रालयले अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

मन्त्रालयले उपत्यकावासीलाई अत्यावश्यक नभएसम्म सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ । अनावश्यक रुपमा सवारी साधन चलाउँदा स्वास्थ्यमा झन् असर पुग्ने मन्त्रालयको वातावरण शाखाको भनाइ छ । आगो ताप्नका लागि फोहोर नजलाउन, आगो नताप्न पनि उक्त शाखाले आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप