बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चार वर्षीया दिदी भाइ ल्याउने बाटो हेरिरहेकी थिइन्, तर भाइसहित १० शिशु आगलागीमा परे

शनिबार, २५ पुस २०७७, २३ : ५६
शनिबार, २५ पुस २०७७

एजेन्सी । भारतको महाराष्ट्रको भण्डारा जिल्ला वरिपरिका १० गाउँ अहिले शोकमा डुबेका छन् । ती गाउँका १० परिवार जसले आफ्ना बच्चा गुमाए, जसले गर्दा उनीहरु आँसु र शोकमा डुबेका छन् । शुक्रबार राती अबेर जिल्ला अस्पतालको बिरामी नवजात केयर युनिट(एसएनसीयू) मा एक्कासि आगलागी हुँदा १० नवजात शिशुको जलेर मृत्यु भयो । अगालागी विद्युत सर्किट सर्ट भएर लागेको जनाइएको छ । अस्पतालको सो युनिटमा १७ नवजात शिशु राखिएको थियो, जसमा सात शिशुको भने सकुशल उद्दार गरिएको छ ।

जिल्लाको श्रीनगर गाउँ निवासी विकेश शिवदास एक मजदूर हुन् । अस्पतालमा आगलागी हुनुभन्दा ९ घण्टाअघि उनकी श्रीमती योगिताले शुक्रबार दिउँसो छोरो जन्माएकी थिइन् । बच्चाको तौल घटेका कारण परिवारलाई उनलाई जिल्ला अस्पताल पुर्याएर र एसएनसीयूमा भर्ना गरे । योगिताले आफ्नो बच्चालाई राम्रोसँग देख्न पनि पाएकी थिइनन् । अब उनको छोरा यति टाढा पुग्यो कि अब उ कहिल्यै फर्केर आउँदैन ।

विकेशकी चार वर्षीया छोरी आफ्नो भाइको आगमनले धेरै खुसी थिइन् । उनी भाइलाई अस्पतालबाट ल्याउने बाटो हेरिरहेकी थिइन् । छोरो जन्मिएपछि परिवारका सबै सदस्यहरु निकै खुसी थिए । शुक्रबार छोरो जन्मिएको अवसरमा विकेशले आफन्तहरुलाई मिठाई समेत बाँडेका थिए, तर उनको खुसी केही घण्टा पनि टिकेन, शोकमा परिणत भयो । उनीहरुका आँसु अहिले पनि रोकिएका छैनन् । विकेशको परिवारले आफ्नो छोरो छिट्टै निको भएर घर फर्किने आशा गरेका थिए । तर त्यो सपना अब सपनामा मात्र सिमित रहेको छ । 

त्यस्तै भण्डारा जिल्लाको भोजपुर गाउँ निवासी विश्वनाथले पनि आफ्नी छोरीलाई अस्पताल भर्ना गरेका थिए । उनले छोरीको वजन घटेका कारण करिब एक महिनाअघि देखि भर्ना गरेका थिए । छोरीको स्वास्थ्यमा सुधार आएपछि उनले डिस्चार्ज गर्ने तयारी गरिरहेका थिए । उनीहरु धेरै खुसी थिए । उनले भने– हामीले यो दुःखद खबर शनिबार बिहान ४ बजेतिर सुन्यौं ।’

विश्वनाथले भने–‘ यो खबर सुनेर हामी हतार हतार अस्पताल पुग्यौं, शुरुमा कसैले हाम्री छोरीको मृत्यु भएको बताएनन् । तर केही समयपछि अस्पतालका कर्मचारीले मृत्यु भएको पुष्टि गरे ।’ महाराष्ट्रका विधानसभा अध्यक्ष नाना पटो भोजपुर गाउँ पुगेर विश्वनाथको परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनले रु ५ लाखको चेक हस्तान्तरण गरिरहँदा शोकमा डुबिरहेका परिवारले विधानसभा अध्यक्षसँग आक्रोस र पीडा मिश्रित स्वरमा प्रश्न गरेका थिए– के यो पैसाले हाम्रो बच्चा फिर्ता गर्न सक्छ ? 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप